Thursday, February 14, 2019

माओवादी ‘जनयुद्ध’ दिवस/ फागुन एकको सम्झना, बिर्सन...

फागुन एकको सम्झना, बिर्सन...

माओवादी ‘जनयुद्ध’
गंगा बीसी
काठमाडौँ — फागुन १ पूर्व माओवादीका लागि महान् दिन हुन सक्छ । कांग्रेस  र पूर्व एमालेका लागि पनि सम्झनालायक दिन होइन । अझ मोहन वैद्यले नेतृत्व गरेको माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीका लागि गौरवशाली दिन हुन सक्छ । पूर्व राजाका लागि बिर्सनलायक दिन । माओवादीले राजतन्त्रमाथि धावा बोलेको दिन भएकाले । 

फागुन १ गते सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, यसले धेरै हुरी ल्यायो। करिब १३ हजार मान्छे मारिए, हजारौँ घाइते भए। युद्धले धेरै डोबहरू बनायो। धेरै घाउ बनायो। ती डोबहरू, घाउहरू अझै पनि पुरिएका छैनन्।
रोल्पा, रुकुमलगायतका जिल्लाहरूमा युद्धमा मारिएका व्यक्तिका ‘सहिद’ गेट, शिलालेख र सालिकहरू जस्ताका त्यस्तै छन्। सहिद गेट र सालिक स्थिर छन्। ती सजीव व्यक्तिका निर्जीव वस्तु हुन्। उनीहरू बोल्दैनन्, चाल पनि छैन। उनीहरूको सन्देश भने अवश्य छ, खास गरी पूर्व माओवादीका नेताहरूलाई।

ती सालिकमा हरेक वर्ष फागुन १ गते गेट र सालिकमा माला र टीका लगाइन्छ। उनीहरूको सपना पक्कै पनि दुनियाँ बदल्ने थियो। सपनाले उनीहरूलाई सहिद बनायो, मृत्युको मुखमा पुर्‍यायो। माओवादी र त्यसका नेताहरूले ती सपना बाँडेका थिए। सपनालाई बिपनामा बदल्ने ठुलो रहर थियो उनीहरूको। ‘सहिद’ का सालिक र गेट केही समयपछि पुराना हुँदै जानेछन्। सहिदका सपनाहरू सालिक र गेटसँग बिलाउँदै जाने स्पष्ट सङ्केत देखिएका छन्। सशस्त्र युद्धको नेतृत्व गरेको माओवादी अब पूर्व माओवादी भइसक्यो। माओवादी इतिहासमा छुटिसकेका छ। अधिकांश नेताहरू फेरिएका छन्। मुलुक नेपाल खास बदलिएको छैन। ‘मुलुक बदल्छौँ भन्थे आफै बदलिए’ पूर्व माओवादीका नेताहरू लक्षित भनाइ रोल्पा, रुकुमतिर सुन्न पाइन्छ।

नेता बदलिए। व्यवहार बदलियो। सर्वहारापन हराउँदै गयो। सर्वहाराहरू सधैँ सर्वहारा नै रहे। नेताहरू सर्वहारा रहेनन्। सर्वहाराका नेताहरू पुँजीवादी नेतामा रूपान्तरण भए। भन्न त उनीहरू अझै समाजवादमा जाने भन्दैछन्। समाजवादको बाटो रोल्पा, रुकुमको सडकजस्तै अप्ठ्यारो छ। गधा धोएर गाई बनाउने सिद्धान्त अँगालेको आरोप लाग्दैछ। दूधको दूध पानीको पानी छुट्ट्याउने क्षमता जनतासँग छ। जनताले यो निर्वाचनमा दुई तिहाइ दिएको पनि आड र भरोसाले हो।
सर्वहारा भइरहन अब नेपाली जनतालाई मन छैन। सायद सर्वहाराको नाममा रानजीति जनतालाई मन पर्दैन। किनकि सर्वहारा आफैमा दु:खीपन हो। तर दु:खुलाई पार लगाउने पूर्व माओवादी र एमालेको मिलनपछि जन्मिएको नेपाल कम्युनिस्ट पार्टीले कुरा गरेको छ। यो सरकारमा २०५२ फागुन १ बाट सुरु भई १० वर्ष चलेको सशस्त्र युद्धको रगत र पसिना मिसिएको छ।

‘सर्वहारा’ नेताहरू सरकारमा पुगे। विगतका कार्यशैली सरकारको कार्यशैली। जनताका दु:ख बदलिएका छैनन्। तर, नेताको जीवनशैली बदलिएको छ। जनताको जीवन खासै नबलिनु तर नेताको जीवनशैली बदलिँदै जाने हो भने समाजवादको मार्ग कोरिन्छ कि नाइ? यो प्रश्नको उत्तर रोल्पा, रुकुमलगायत जिल्लामा रहेका सहिदका गेट र सालिकले दिन सक्दैनन्।

युद्धमा मारिएका परिवारको अवस्था खासै सुधार भएको छैन। स्वाभाविक विकासका कामहरू गाउँमा भएका छन्। युद्धमा बन्दुक बोकेका केही व्यक्ति गाउँ फर्किएका छन्। धेरै काम खोज्दै विदेश पुगेका छन्। रगत र पसिनाको मूल्य के हो? बन्दुक बाकेर हाल गाउँ फर्केका पूर्व लडाकु र माओवादी कार्यकर्तालाई सोधे हुन्छ। रगत र पसिना बग्यो, खोला र नदीजस्तै। युद्धमा बगेको रगत र पसिनाको मूल्यले पूर्व लडाकु र कार्यकर्ताको जीवनस्तर फेरिनु पर्ने हो। नेताको जीवनस्तर फेरियो।

युद्ध इतिहासमै सीमित भएको बेश हो। माओवादी युद्ध पनि सम्झना र बिर्सनको दोसाँधमा छ। यद्यपि युद्धका डोबहरू रहिरने छन्। युद्ध शान्तिमा रूपान्तरण भएकोले चिन्ता गर्नुपर्ने अवस्था छैन। चिन्ता त छ केवल सर्वहारा जीवनको। केवल प्रश्न छ, ‘के अझै सर्वहारा भइरहने हो? के सर्वहाराको नाममा राजनीति भइरहने हो?प्रकाशित : फाल्गुन १, २०७५ १८:३८

Thursday, March 9, 2017

यो दुब्लो ज्यान




फाल्गुन १४, २०७३- मेरी आमा भन्नुहुन्छ, ‘यो सानो हुँदा यसको भुँडीका रोटीका टुक्राको छाया देखिन्थ्यो ।’ यसबाटै थाहा हुन्छ, सानो छँदा म कति दुब्लो थिएँ भनेर । कुवापानी टोलको सबभन्दा च्याँसे पनि मै थिएँ । म लिखुरे भएकै कारण धेरैले भन्थे, ‘यो धेरै दिन बाँच्न मुस्किल छ ।’ कतिले मेरै सामुन्ने त्यसो भन्दा निकै डर लाग्थ्यो । यस्तै केही कारणले पनि हुन सक्छ, मलाई घरमा सबभन्दा बढी माया गर्थे । माया पाएर म पुलपुलिएको थिएँ ।


हाम्रो किसान परिवारमा अरू दाजु, दिदीले घरमा निकै काम गर्नुपथ्र्यो । म साह्रै दुब्लो भएकाले काम गर्न सक्दैनथें । काम गराउने दुस्साहस पनि कसैले गरेनन् । मेरो काम घरमा बसेर बदमासी गर्ने हुन्थ्यो । कहिले बारीका सुन्तलाका बिरुवा काट्ने, कहिले रेडियोभित्र के छ भनेर खोल्ने, अरू के के बदमासी गर्ने । बदमासी गरे पनि अरूभन्दा कम पिटाइ खानुपथ्र्यो । त्यो मेरो सुविधा थियो ।
सानो छँदा मलाई असाध्यै माया गर्ने रोग थियो, पखाला । जहिलै हैरान । कति पटक त कट्टु पनि बाँकी रहेन । तैपनि प्रकृतिले साथ दिएका कारण ज्यानलाई केही भएन । सिर्फ दुब्लो बनायो । टोलमा सबै बलिया केटाकेटी थिए । बाआमालाई खेती किसानीको काममा सघाउन भारी बोक्थे । खेत जोत्थे । आफू भने मरनच्याँसे, त्यस्तो काम केही गर्न नसक्ने । बाआमाले आफूले दु:ख पाएर भए पनि मलाई माफ गरिदिएका थिए । यसले खेती गरेर, भारी बोकेर खान सक्दैन भनेर मलाई स्कुल भर्ना गरिदिए भन्ने सुनाइएको थियो । त्यसपछि मैले काम पाएँ । सरकारले नि:शुल्क दिएका किताब खुरुखुरु पढ्ने । अरू काम नभएपछि मेरो कामै पढ्ने भयो । अनि अरू नपढ्नेबीच प्रथम भइयो एक कक्षामा । लाटो देशको के जाति तन्नेरी भनेजस्तै मेरो महत्त्व ह्वात्तै बढ्यो घरमा । तैपनि त्यति बेलासम्म पढेर चिठीपत्र लेख्ने र पढ्ने मात्र काम हो भन्ने बुझाइ थियो गाउँमा । यसले काम गरेर खान सक्दैन, पढेर जागिर पनि पाइँदैन, के गर्ला ? भनेर मप्रति टीठ मान्नेहरू धेरै थिए । त्यति खेर दुब्लो मान्छेले काम गरेर खाना सक्दैन भन्ने आम बुझाइ थियो । जसको भुँडी ठूलो हुन्थ्यो, उसको साना नै बेग्लै । प्राय: हुनेखानेको भुँडी लागेको हुन्थ्यो । 
०००
म पाँच कक्षा पढ्ने बेला एक जना आफन्त हाम्रो घरमा आए । उनले मेरा हात समातेर भन्न थाले, ‘यी सिन्का हातले कसरी हलो जोत्लान्, कसरी बारी खन्लान् ? यी सिन्काजस्ता खुट्टाले कसरी भारी बोक्लान् ?’ मलाई यो कुरा सुनेर झनक्क रिस उठ्यो तर केही बोल्न सकिनँ । म पढाइमा राम्रो भए पनि ममाथि धेरैको विश्वास थिएन । पहाडमा राम्ररी हलो जोत्न नसके, बारी खन्न नसके, भारी बोक्न नसके, सल्याउन वा सुर्खेतबाट खाने नुन बोक्न नसक्नेको घर राम्ररी नचलेको मैले दखेको थिएँ । ती आफन्तको कुरा सुनेर मलाई आफू निकै कमजोर भएको महसुस गरें । कसैले नदेख्ने गरी रोएँ । किनकि मेरो दुब्लापातलो ज्यानलाई हिम्मत दिने कोही थिएन । मेरासामु चुनौती थियो, दुब्लो ज्यान कसरी पाल्ने ? म प्राथमिक तहमा पढ्ने बेला गाउमा कसैले पनि जागिर खाएको थिएन, पढाउने शिक्षकहरू अन्तै गाउँबाट आएका थिए । त्यसकारण पनि दुब्लो ज्यानले जागिरको आशा गर्ने कुरै थिएन । 
स्कुलमा हुने ककफाइटलगायत खेलमा म जहिले पनि पछारिने । दौड प्रतियोगितमा पछिपछि । गाउँमा कम्तीमा तीन किलोग्रामको ढुंगा फ्याँक्ने खेल (छेलो) भइरहन्थ्यो, विशेषगरी बलबाट जतिसक्यो टाढा फ्याँक्ने त्यो खेलमा मैले जित्ने कुरै थिएन । मेरो दुब्लो ज्यान बलले गर्ने कुनै काममा अग्रता लिन नसके पछि चिन्ता लाग्नु स्वाभाविक थियो । यतिसम्म कि ठूलो घाँसको भारी बोक्ने केटाकेटीको राम्रै चर्चा हुन्थ्यो गाउँमा । 
०००
 ज्यान मोटाउन के के गरिएन, खोरबाट चोरेर कुखुराको काँचो अण्डा खाइएन कि ? दूध, दहीको तर निकालेर भ्याइएन कि ? बेच्न तयार पारिएको घिउमा औंला हालिएन कि ? तर मरिगए ज्यान मोटाएन । 
उमेर बढ्दै जाँदा मेरो ज्यान बाँसजस्तो अग्लो मात्र देखियो । जीउमा मासु निकै दुर्लभ । युवा अवस्थामा मान्छे मोटाउँछ भनेर सान्त्वना पाएपछि मन खुसी हुन्थ्यो । बिस्तारै ज्यान युवा अवस्थामा प्रवेश गरे पनि पाखुरा, तिघ्रा बढेनन् । अरू जेजस्तो भए पनि पढाइमा कहिलै ब्रेक लागेन । किनकी मेरा बा आमाले मलाई घरको काममा लगाएनन्, मेरो कामै पढ्ने थियो । सायद, दुब्लो ज्यानको छोरो राम्ररी पढेकोमा सन्तोष लाथ्यो उनीहरूलाई । मेरा बाले पढेर खाओस् भनेर होइन, उत्साह पढाउन जहिले पनि कापी, कलम, मसीको अभाव हुन दिएनन् । यो मेरा लागि पढ्ने ठूलो अवसर थियो । किनकि ५० को दशकमा हाम्रो गाउँमा पढाउन खासै प्रेरित गर्ने चलन थिएन । यो ज्यानले दैनिक छ घण्टा टाढा स्कुल हिँडेर एसएलसी पास गर्‍यो । त्यति बेला हाम्रो परिवारका लागि खुसीको कुरा थियो । दाइको पढाइ मभन्दा पछि थियो, उनले पछि एसएलसी पास गरें । ज्यान भने उस्तै दुब्लो । त्यस्तो ज्यानले खेतीपाती गरेर खाने हिम्मत थिएन । उपाय थियो, अघि पढ्ने ।
०००
एसएलसीको गौंडा काटेपछि अलि कुरा बुझ्न थालियो । अलि बढी पढेपछि शिक्षकको जागिर कसो नपाइएला भन्ने आँट आउन थाल्यो । मेरो मोटा जीउका अधिकांश साथीहरूले बीचमै पढाइ छाडेर भारत कालापहाड गइसकेका थिए । उनीहरू दसैं, तिहारमा राम्रै कमाइ लिएर गाउँ आउँथे, बाजा (टेपरेकर्डर) बजाएर आउँथे । गाउँमा उनीहरूको सान नै बेग्लै । उनीहरूको झिल्केपन देख्दा लोभ लाग्थ्यो । कालापहाड गएर भारी बोक्ने र पैसा कमाउने आफ्नो ज्यान थिएन । दाङमा महेन्द्र क्याम्पस भर्ना भएपछि पनि दुब्लो ज्यानको टिप्पणी हुन छाडेन । कक्षामा सम्भवत: सबभन्दा पातलो म नै थिएँ । मलाई चिन्ने तरिका पनि पातलो ज्यान थियो । बीए पढ्दै गरेको बेला घरबेटीका छिमेकीले समेत ज्यान देखेर टिप्पणी गर्न भ्याएछन्, ‘त्यो दुब्लो केटाले बीए पढ्ने हो र ?’ हेर्नुस् पातलो ज्यानको पीर–मर्का ।
पातलो ज्यानले बिहे गर्न मुस्किल हुन्छ भनेर गाउँमा त्यति बेलै सुनेको हो । दुब्लो ज्यानलाई केटीले पत्याउँनदैनन् भनिन्थ्यो । अलिअलि मनमा चस्का पसेको हो त्यो कुरा । तर बिहे गर्ने ठूलो चिन्ता थिएन । किनकि त्यस बेला कांग्रेस नेता कृष्णप्रसाद भट्टराईबारे अलिअलि सुनेका थियौं । समय र परिस्थितिले बिहे नै नगरी बस्ने अवस्था भने सिर्जना गरेन । केहीले भन्थे, बिहे गरेपछि ज्यान लाग्छ । मलाई त्यो सिद्धान्त लागू भएन । कारण मलाई थाहा छैन । भेट्ने जो कोहीले भन्थे, ‘अलि मोटाउनुपर्‍यो ।’ बेलाबेला झोंक चल्थ्यो,  ‘मलाई मोटाएर पृथ्वीको भार हुनु छैन ।’ कीर्तिपुरमा एमए पढ्ने बेला नेवार घरबेटी दिदीले मेरो ज्यान देखेर भनिन्, ‘यो गंगा त खान नपाको जस्तो छ । अलि धेरै खानुपर्‍यो । अनि मोटाइन्छ ।’ खान त खाएकै हो । ‘भोकै बसेको हो र ?’ मेरो उत्तर थियो । तर मनमा मोटाउने रहर थियो । अहिले भने त्यो रहर छैन । अहिले मेरा केही साथी १ सय १० किलोग्रामसम्म वजनका छन् । मेरो त्यसको आधाभन्दा कम । अधिकांश मेरा साथी मेरोभन्दा धेरै वजनका छन् । सहअस्तित्व जमेकै छ ।
पत्रकारिता सुरु गरेपछि सहकर्मीको व्यंग्यमा आजका मितिसम्म पनि परिरहेको छु । कतिले मलाई दुब्ला पातला क्लब (डीपीसी) को अध्यक्ष बनाउनसमेत भ्याए । केहीले सिन्का संघको संयोजक तोके । हाल दुब्लापातला साथीहरूले दुब्ला पातला क्लब (डीपीसी) को सल्लाहकार भन्छन् । अहिलेचाहिं मलाई यस्तो भन्दा रिस उठ्दैन, रमाइलै लाग्छ । किनकि मैले मोटा साथीहरूको हविगत देखेको छु । ज्यान भुँडी घटाउन जति मिहिनेत गर्दा पनि असफल भएका छन् । कुनै बेला दुब्लो भएकोमा व्यंग्य कस्नेहरू नै भन्छन्, ‘तपाईंको जस्तो ज्यान राम्रो हो ।’ 
करिब चार वर्षअघि कान्तिपुर पब्लिकेसन्समा स्वास्थ्य शिविर भएको थियो । ज्यानको जाँच गराएका करिब तीन सयमध्ये अधिकांश सहकर्मीलाई डाक्टरले तौल घटाउन सिफारिस गरेका थिए । तर, म मात्रै त्यस्तो व्यक्ति हुँ, जसलाई डाक्टरले धेरै खान सिफारिस गरेका थिए । यो देखेर साथीहरूले फेरि व्यंग्य कँस्न सुरु गरे, दुर्लभ मनुष्य । 
नेपालीको औसत आयु बढेसँगै मोटाउने क्रम पनि बढेको छ । भ्यात्त भुँडी लाग्नेहरू आधाभन्दा धेरै छन् । अस्पतालमा नियमित जानेहरूमा दुब्लापातलाभन्दा मोटाहरू नै धेरै छन् । कुनै बेला मलाई मोटाउने रहर भएजस्तै उनीहरूलाई दुब्लाउने ठूलो रहर छ । आखिर रहर सजिलै कहाँ पूरा हुन्छ ?

फाल्गुन १४, २०७३



Published in Kantipur daily

Sunday, January 15, 2017

बहुचर्चित चुनवाङमा सेल्फीको वर्षा

१२ वर्षपछि प्रचण्ड चुनवाङ फर्कंदा...

-

माघ २, २०७३- चुनबाङ जाने रहर धेरै पहिलेदेखि नै हो । मौका मिलेको थिएन । चार साताअघि जाने मौका मिल्यो । आफैमा चुनबाङ केही थिएन, त्यो रुकुमको एउटा दूर्गम गाउँ बाहेक केही होइन । कुनै ठाउँ एकाएक चर्चामा आउछन् र पछि पछिसम्म पनि सम्झनामा आइरहन्छन् । चुनबाङ पनि त्यस्तै एउटा गाउँ हो, जसलाई माओवादीले एकाएक चर्चामा ल्याइदियो । यति मात्र होइन, माओवादीले चुनवाङमा बैठक गर्नु संयोग थियो र त्यो संयोगले माओवादीको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा डोर्‍यायो । नेपालीका लागि त्यो सुखद संयोग हुन गयो । युद्धको सुरक्षित अवतरण नभएको भए हालसम्म लाख मान्छे मारिसक्थे सायद । त्यसैले मान्छेले चुनवाङलाई सम्झन्छन् । जहा युद्ध समाप्त गर्ने रेखा कोरिएको थियो ।
कुनैबेला चुनवाङ चर्चित भए पनि विस्तारै ओझेल पर्दै गएको थियो । किनकी माओवादी ऐतिहासक केन्द्रीय समिति बैठक भए पनि यो स्थानलाई खासै वास्ता गरिएन भन्ने गुनासो थियो । युद्धको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि चुनवाङ सुरक्षित स्थान थियो । त्यसकारण पनि भूमिगत कालमा प्रचण्ड लुकिछिपी एक साता हिडेर त्यहा पुगेकमा थिए । प्रचण्डलाई माया त लागेको होला बिगतमा सुरक्षित रुपमा बसेको स्थानको । शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डलाई सायद भूमिगतकालमा बसेकमा सबै स्थान सम्झने फुर्सद छैन । मनमा भए पनि जान सक्ने समय र अवस्था कमै हुन्छ । १२ बर्षपछि बगेको खोला फर्कन्छ भन्ने पुरानो भनाइ छ । समय र कालले मान्छे बाँचिरहे भने नफर्कने कुरै हुँदैन । त्यस्तै भयो प्रचण्डका लागि पनि चुनवाङ । प्रचण्ड राजधानी पसेपछि चुनावाङ पुग्न १२ बर्ष कुर्नु पर्‍यो । तल चुनवाङ खोला उस्तै गरी निरन्तर बगिरहेको छ । यो रोकिने छैन । उसले कसैलाई पर्खदैन ।
त्यस दिन माहौल तातेको थियो । चुनवाङको भेडीगोठ सानो गाउ झिलिमिली सिंगारिएको थियो । वरिपरिका गाउबाछ मान्छे ओइरिएका थिए । पानी नपरेकाले बारीमा गहुँ राम्ररी हुर्कन पाएको थिएन । चिसो मौसमले चुनवाङ डाँडालाई चिस्याएको थियो । माथिको वन झोक्रिएको देखिन्थ्यो । रुखका पात झर्न सुरु भइसकेका थिए । आकाश भने अचाक्ली खुलेको, सुन्दर युवतीको मुहारजस्तो । सूर्यले चुनवाङलाई छरेको उज्यालो रहर लाग्दो । त्यसदिन चुनवाङ भेडीगोठले काँचुली फेरेको थियो । ध्वजापताका, सरसफाइ छदै थियो, त्यहा आएका युवायुवती र अरुको जिउमा पनि पनि सुकिला लुगा थिए । किनकी त्यसदिन मुलुकको कार्यकारी अर्थात् प्रधानमन्त्री प्रचण्ड ओर्लनेवाला थिए । सबैको आँखा आकाशतिरै थिए । रुकुमे भाषामा भटभटे अर्थात् हेलिकप्टर आउनेवाला थियो । कहिलै हेलिकप्टर नजिकबाट नदेखेकाहरुका लागि त्यो गजबको मौका पनि थियो हेलिकप्टर हेर्ने ।
काठमाडौं सेनाको हवाइ अड्डाबाट एमआइ १७ हेलिकप्टर उडेपछि माओवादी नेताले स्मार्ट फोनबाट निरन्तर तस्विर लिइरहेका थिए । माओवादी वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु बर्षमान पुन, गणेशमान पुनले रमाइलो दृश्य देखिनेबित्तिकै हेलिकप्टरको झ्यालबाट तस्बीर लिन व्यस्त देखिन्थे । माओवादी नेता पूर्ण घर्तीको हातमा ठूलो क्यामेरा थियो । तस्बीर लिन सबभन्दा व्यस्त पनि उनीनै देखिन्थे । उनी माओवादी आन्दोलनमा संगीतका साधनसंग रमाएका एक शौखिन नेता पनि हुन् । उनी खासमा चुनवाङका बासिन्दा पनि हुन् । उनी त्यसदिन बढी उत्साही पनि देखिन्थे । प्रचण्ड पुत्र प्रकाश प्रविधिमा सिपालु छन् । उनी गुगुलम्यापबाट हेलिकप्टर कुन ठाउको आकाशमा छ भनेर देखाउदै थिए । बेलाबेला बुवा प्रचण्डलाई ठाउको ब्याख्या गर्थे । थवाङको आकाशमाथि हेलिकप्टर पुगेपछि भने प्रधानमन्त्री प्रचण्डलगायत सबै नेता हेलिकप्टरको दाया झ्यालतिर झुम्मिए । तस्बीर लिने प्रतिस्पर्धा जस्तै चल्यो केहीबेर ।
मधुरो हेलिकप्टरको आवाज सुनियो आकाशमा । सबैका कान ठाडा भए । अब पक्का भो, प्रचण्ड आउने । पंचायतकालदेखिनै चर्चामा रहेको रोल्पाको थवाङको आकाश चुमेर हेलिकप्टर रुकुमको महत हुदै चुनवाङतिर लाग्यो । आकाशबाट देखियो माओवादी शान्ति प्रक्रियामा जाने निर्णय भएको चुनवाङको भेडीगोठ भन्ने स्थान । रंगीबिरंगी फूलफुलेजस्तो मान्छे बिभिन्न पहिरनमा झुमि्मएका थिए । हेलिकप्टरले चुनवाङको आकाशमा एक फन्को लगाएर बारीको पाटामा बस्दाको माहौल रमाइलो थियो । त्यहा भेला भएका अधिकांश युवायुवतीको हातमा स्मार्ट फोन थिए । उनीहरुले स्मार्ट फोनले स्मार्ट ढंगले भिडियो र तस्बीर लिइरहको दृश्य गजब थियो । नेपालको भौतिक पूर्वाधारको विकास धिमा गतिले चलिरहे पनि प्रविधिमा भने छलाङ मारेको दृश्य चुनवाङमा पनि देखियो । मुलुकको कुनै पनि कुनामा जसको हातमा पनि यतिबेला स्मार्ट फोन छ र त्यसले विविध काम गरिरहेको छ ।
 
......
प्रचण्ड चुनवाङमा ओर्लिएपछि सबभन्दा बढी युवायुवतीहरु जोशिएका थिए । आफू फुच्चे हुदा सुनेका प्रचण्डलाई देख्ने गजबको मौका त्यही थियो । हेलिकप्टर ओर्लिएको बारीको पाटाबाट कार्यक्रम स्थलसम्म आउने दुई मिनेटको बाटोमा ती युवायुवतीले मोबाइलबाट प्रशस्त तस्बीर लिइसकेका थिए । धेरैले सेल्फी लिइसकेका थिए । केहीको हातमा सेल्फी स्टिक थियो । अरु दिनमा हातमा हँसिया, डोको नाम्लो लिने युवायुवतीहरु त्यसदिन भने सेल्फी स्टीक लिएका थिए । तस्बीर धमाधम सेल्फी, वफी लिइरहेको दृश्य साच्चिकै रोचक थियो । माओवादीको राजनीतिक क्रान्तिभन्दा प्रविधिको क्रान्तिले धेरै छलाङ मारिसकेको छ । कुनै बेला माओवादी नेता तथा कार्यकर्ताको हातमा भरुवा बन्दुकदेखि एके ४७ सम्मका अत्याधुनिक हतियार थिए । ती हतियार थन्किसकेका छन् । हाल माओवादी युवायुवतीको हातमा प्रविधिका हतियार छन्, मोबाइल, क्यामेर आदि आदि । ्
युवाको भिडमा मिसिएर गफ गर्ने मनसायले म त्यता लागे । फरासिला युवायुवती खुलेका थिए । उनीहरुले अरु जेजस्तो भए पनि विकास गाउ पुग्नु पर्ने चाह पोखे । अरु राजनीतिबारे खासै मतलब थिएन । विकास, शिक्षा, रोजगार बढी चासो त्यही थियो । युवाको समूह त्यसदिन प्रधानमन्त्री प्रचण्डलगायत नेताहरुलाई स्थानीय सांस्कृतिक झाँकी देखाउन आएको थियो । भाषणको कार्यक्रम चल्दै थियो । युवायुवती भाषणमा त्यति रमेका थिएनन् । छोटो गफ सकिएपछि उनीहरुले भने, ‘दाइ एउटा सेल्फी लिऔ न ।’ उनीहरु मेरो मोबाइल अगाडि भुम्मिए । दुई तीन सेल्फी चल्यो । ती युवायुवती लालीगुरासजस्ता भरिला थिए । चुनवाङमा माघ फागुनमा जसरी फुल्छ लालीगुरास, त्यसरीनै उनीहरु झुम्मिएका थिए । अब उनीहरुका हातमा स्मार्ट फोन छुट्ने छैन किनकी उनीहरुले जीवनका धेरै तस्बीर कैद गर्नुछ । फेसबुकमा जीवनका तस्बीर अपलोड गर्नुछ । जीवनलाई एउटा बिशाल दुनियामा प्रवेश गराउन चुनवाङी युवायुवतीले सिकिसकेका छन् । पछाडि फर्कने फुर्सद उनीहरुलाई छैन । गीतको लयमा भन्दै थिए, .... चुनवाङको मायाले ल्यायो डोऱ्याउदै । नेताहरुलाई पनि १२ बर्षपछि चुनवाङको मायाले डोर्‍याएर त्यहा पुर्‍याएको थियो । 
.............
माओवादी युद्धमा सहभागी नभएका नेता नारायणकाजी श्रेष्ठ पहिलोपटक चुनवाङ ओर्लिएका थिए । माओवादी शान्ति प्रक्रियामा आउन सहजकता बनेका उनी हाल माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । केही दर्जन तस्बीर उनले पनि लिए । सायदउनलाई पनि रमाइलै लाग्यो उनलाई । माओवादीका प्रभावशाली नेता वर्षमान पुन चुनवाङ बैठक भएको गोठमा जुन स्थानमा बसेका थिए, त्यही थचक्क बसेर केही बेर के के सोचे । अरुलाई भनेनन् । १२ बर्ष अघि उनी ३५ वर्षका थिए, लडाकू कमान्ड । केही बेर नेताहरुले सामूहिक तस्बीर लिए । वाचा गरे, ‘फेरि फर्के आउनेछौ ।’
 
..........
नेपाली सेनाको हेलिकप्टरले चुनवाङको जमिन छोड्दा प्रधानमन्त्री प्रचण्ड भावुक देखिन्थे । त्यसको केहीबेर अघि भाषण गर्ने क्रममा उनको बोली अवरुद्ध भएको थियो । साथ दिंदै स्थानीय पनि सुक्कसुक्क गरेको देखिन्थ्यो । मान्छे किन रुन्छ ? हृदयमा कुनै तरंग आएपछि । सायद प्रचण्डलाई चुनवाङको मायाले त्यसदिन तरंग पैदा गरेको थियो । त्यसदिन प्रचण्ड पत्नी सीता दाहाललाई पनि चुनवाङको मायाले त्यहा पुर्‍याएको थियो । कस्तो लाग्यो १२ बर्षपछि चुनवाङ आउदा ? प्रचण्डले प्याट्टै भने, ‘भावुक बनायो ।’ राजनीतिलाई नयाँ दिशा दिने केही विचार आयो ? उनले थपे, ‘केही न केही उर्जा त अवश्य पैदा भएको छ ।’ जुन जगले प्रचण्डलाई शक्ति र सत्तामा पुर्‍यायो, त्यही जग भुल्न गाह्रो पनि हुन्छ । चुनवाङ एउटा त्यस्तै जग हो  । हेलिकप्टरले चुनवाङका आकाश छोड्दासम्म प्रचण्डले स्थानीयलाई हात हल्लाएर अभिवादन गरिरहे । उनको बडिल्याङ्गेजले भन्दै  थियो, ‘चुनवाङको मायाले ल्यायो डोर्‍याउदै ।’

प्रकाशित: माघ २, २०७३