काठमाडौ, फाल्गुन १७ - आजभोलि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अनुहारमा चमक हराएको छ । ६० वर्ष टेकेका उनको अनुहार चाउरिन थालेको छ । पहिलेजस्तो 'बाघ गर्जन' पनि हराउँदै गएको छ । जुँगा र कपालको चमक पनि हराएजस्तो देखिन्छ । उनको हुलियाको यो पविर्तन हेर्दा लाग्छ, प्रचण्ड साँच्चिकै 'घेराबन्दी' मा परेका छन् । सशस्त्र युद्धको बेलासमेत घेराबन्दीमा नपरेका उनी शान्ति प्रक्रियामा आएपछि भने थरीथरीको घेराबन्दीमा परेका छन् । पराईमात्र होइन, आफ्नैबाट पनि घेराबन्दीमा परे ।
सर्वहारा चिन्तन बोकेका उनलाई 'पुँजीवाद' ले घेरा हाल्यो । जसले उनलाई लाजिम्पाट बङ्गलामा पुर्यायो । त्यही लाजिम्पाट बंगला उनका लागि 'अशुभ' भयो । त्यसको छतबाट उनले आफ्नो पार्टी धेरै तल ओरालो झरेको पनि देखे, आफ्नो शक्ति क्षय हुँदै गएको महसुस गरे । सशस्त्र युद्धका बेला 'प्रचण्ड' ले जिल्ला सदरमुकाम घेराबन्दी गरी आक्रमण गरे तर शान्ति प्रक्रियामा आएपछि भने उनी आफैंले घेराबन्दीमा आएको पटकपटक बताएका छन् । 'कथाव्यथा भन्यो भने रुनुपर्ने अवस्था छ, कस्तो शक्तिले कसरी घेराबन्दी गर्दोरहेछ भन्ने कुरा गहिरै हुँदो रहेछ,' फागुन ९ गते प्रचण्डले कतारमा नेपालीको कार्यक्रममा फेरि घेराबन्दीमा परेको बताए । प्रचण्डलाई यतिबेला राजनीतिक तनाव त छँदैछ, पारिवारिक तनाव पनि उस्तै छ । निर्वाचनमा नराम्ररी पराजय भएको पार्टीलाई विवादबीच सम्हाल्नु छ, त्यस्तै छोरा प्रकाशका कारण उब्जिएका विवादको असर मेट्नु छ । क्यान्सरग्रस्त जेठी छोरीको चिन्ता पनि उनलाई छ । प्रचण्डको एउटै छोरा प्रकाश युद्धमा होमिएका थिए । शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी बाबु प्रचण्डकै वरिपरि रहे । थोरैतिनै विवाद र चर्चामा आइरहेका प्रकाश 'सांस्कृतिक विचलन'मा लागेपछि पार्टीको कारबाहीमा परे । विद्यार्थी नेतृ विना मगरसँगको प्रकाशको सम्बन्धले प्रचण्ड परिवारलाई बेग्लै किसिमको विवादमा तान्यो । यसको असर प्रकाशलाई भन्दा प्रचण्डलाई पर्यो । उनले आफ्नो राजनीतिक दस्ताबेजमै यो कुरा लेख्नुपर्यो ।
आफ्नैको घेराबन्दी
प्रचण्ड निवास लाजिम्पाटमा हरेक दिन पुग्ने थोरै व्यक्तिहरू छन् । ती व्यक्ति बिहान वा बेलुका एकपटक प्रचण्डको 'दर्शन' गर्न पुग्छन् । ती व्यक्ति प्रचण्डका स्वकीय सचिव पनि होइनन् । तर पनि निरन्तर भेट्छन् । उनीहरूले प्रचण्डलाई भेट्न सचिवालयबाट समय पनि लिनु पर्दैन । बरु पार्टीका केन्द्रीय सदस्य प्रचण्डलाई भेट्न खोज्दा हप्तौं पाउँदैनन् । हरेक दिन प्रचण्डलाई भेटेर सहयोग पुर्याउने उनीहरूको उद्देश्य होइन, मात्र ती व्यक्तिको उद्देश्य चाकरी गर्दै प्रचण्ड शक्तिको दुरुपयोग गर्नु हो ।
प्रचण्डलाई नेपालको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनकै नेता भएको भन्दै फुक्र्याउनेहरू पनि छन् । एक दशकभन्दा प्रचण्डको संगत गरेका एक नेताका अनुसार प्रचण्ड आफूलाई प्रशंसा गर्ने व्यक्तिलाई निकै रुचाउँछन् । उनलाई सीधै आलोचना गर्ने व्यक्तिलाई उनी रुचाउँदैनन् । कसैले सामुन्ने आलोचना गर्यो भने मन नपरेको संकेत उनको हाउभाउ र अनुहारबाट प्रस्ट झल्किन्छ । 'आफूलाई मन नपर्ने कुरा गर्यो भने अनौठो आवाज निकाल्ने बानी प्रचण्डको छ,' ती नेताले भने । उनका अनुसार दोस्रो संविधानसभामा एमाओवादीले बहुमत ल्याउँछ भन्नेहरूलाई प्रचण्डले आफ्नो नजिक राखे । जसले पार्टी पराजित हुँदै छ भने तिनका लागि 'लाजिम्पाट दरबार' विरानो हुँदै गयो ।
पार्टीभित्रका उनका सहयोगी नेताहरू पनि प्रचण्डको आलोचना गर्न हिच्किचाउँछन् । किनकि स्वस्थ आलोचना गर्नेहरूलाई प्रचण्डले आगामी दिनमा 'हुक' नगर्ने सम्भावना हुन्छ । आलोचनाभन्दा चाकडी र प्रशंसा मन पराउने स्वभाव बुझेका दोस्रो तहका नेताहरूले उनलाई चाकडी गर्न नसके पनि तीतो आलोचना गर्दैनन् । आलोचना र सत्य सुनाउन सक्नेहरूबाट टाढा पुगेपछि प्रचण्ड आफूले थाहै नपाएको मिथ्या प्रशंसाको घेराबन्दीमा परेका छन् ।
बोल्यो कि पोल्यो
शान्ति प्रक्रियामा आइसकेपछि आवश्यकताभन्दा चर्को बोल्दा प्रचण्ड घेराबन्दीमा परेका छन् । २०६४ बालुवाटारमा सार्वजनिक हुँदा उनले तत्कालीन शाही नेपाली सेनाबारे दिएको अभिव्यक्ति अहिले पनि नेपाली सेनालाई झस्काउँछ । त्यही अभिव्यक्तिका कारण नेपाली सेनासँग उनको सम्बन्ध सुमधुर हुन सकेन । उनी प्रधानमन्त्री हुँदाको 'कटवाल काण्ड' ले पनि उनलाई घेराबन्दीमा पार्यो ।
एमाले नेता माधवकुमार नेपाल २०६६ जेठमा प्रधानमन्त्री भएपछि भारतविरुद्ध चर्को बोलेर प्रचण्डले आफ्ना लागि अर्को घेराबन्दीको निर्माण गरे । त्यसैबेलाको राजधानी घेराउ कार्यक्रम असफल भएपछि राजधानीबासीलाई 'सुकिलामुकिला' भन्दै उनले आक्रोश पोखे । यसले पनि उनलाई फाइदा गरेन । सशस्त्र युद्धका बेला गाउँदेखि सहर घेर्ने नीति लिएका उनले शान्ति प्रक्रियामा आइसकेपछि पनि घेराबन्दी निर्माण गर्ने त्यो बानी छोडेनन् । अरूलाई घेरा हाल्ने रणनीतिमा अघि बढ्दाबढ्दै उनी पटकपटक आफैं घेराबन्दीमा परे । पछिल्लो केन्द्रीय समिति बैठकपछि उनले कम बोल्ने र सोचविचार गरेर बोल्ने नीति लिएका छन् ।
विश्वास दिन नसक्नु
१० वर्षे युद्धकालमा 'एक ठाउँ हल्ला गरेर अर्को ठाउँ आक्रमण गर्ने' रणनीति हुन्थ्यो । प्रचण्डले पनि त्यही गरे । शान्ति प्रक्रियामा आइसकेपछि भने त्यो रणनीति काम लागेन । उनले हतारमा आफ्ना कुरा भन्ने र फुर्सदमा पछुताउने काम गरे । जस्तो, उनले संविधान निर्माणको विषयमा संविधानसभा विघटन हुनुअघि २०७० जेठ दुई गते संघीयता र शासकीय स्वरूपमा सहमति गरे । त्यसको केही दिनमा नै सहमतिबाट पछि हटे । त्यसबेला संविधान जारी भएको भए एमाओवादीका संघीयतालगायत धेरै एजेन्डा समेटिने सम्भावना थियो ।
यस्ता प्रकरणबाट उनले बिस्तारै भरोसा गुमाउन थाले । २०६६ पुस १ गते राजधानीको नयाँ बानेश्वरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई 'कठपुतली' प्रधानमन्त्री भन्दै वार्ता नगर्ने घोषणा गरे । कार्यकर्ताको ताली पनि पाए । तर, त्यही दिन बेलुकी प्रधानमन्त्री नेपालसँग 'डिनर' गरे । त्यो तस्बिर सार्वजनिक भइसकेपछि उनको गर्जनमा तुषारापात भएको महसुस कार्यकर्ताले गरे । यतिसम्म कि उनले कतिपय निर्णय वरिष्ठ नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग परामर्श नगरी गर्छन् । संविधानसभाका समानुपातिक सभासदको अन्तिम सूची बुझाउँदा उनले त्यस्तै गरे ।
घेरा तोड्न सक्छन् तर....
प्रचण्डसँग जस्तोसुकै घेरा तोड्न सक्ने साहस भने छ । उनले त्यो साहसलाई विवेकपूर्ण तरिकाले प्रयोग गर्न जरुरी छ । उनको राजनीतिक गति कहिले चाहिनेभन्दा बढी कडा र कहिले चाहिनेभन्दा नरम छ । त्यसले उनलाई कहिले हिरो र कहिले भिलेन बनाइदिएको छ । पार्टी तेस्रो भएपछि अहिले प्रचण्डको हैसियत 'साइड हिरो'को जस्तो देखिएको छ । संसद्मा सभामुख दाबी गरे पनि एमाओवादीले उपसभामुखमा चित्त बुझाएको छ । तर, यो नै प्रचण्डको समाप्ति होइन । संविधान निर्माणमा उनले कस्तो भूमिका गर्छन्, क-कसलाई घेराबन्दीमा पार्छन् र क-कसका घेराबन्दी तोड्न सक्छन्, यसैबाट उनी साइड हिरोबाट 'हिरो' हुन्छन् कि 'भिलेन' बन्छन् भन्ने थाहा हुनेछ ।
कान्तिपुरमा प्रकाशित मिति: २०७० फाल्गुन १७ ०१:३१
कान्तिपुरमा प्रकाशित मिति: २०७० फाल्गुन १७ ०१:३१