Saturday, September 14, 2013

Secret meeting between two maoist| मुख्य समाचार

दाहाल निवासमा दुई माओवादी वार्ता | मुख्य समाचार

Sunday, September 8, 2013

एमाओवादीको आँखा मधेसतिर

काठमाडौं, भाद्र २४ - आउने संविधानसभाको दोस्रो निर्वाचनमा एमाओवादीको आँखा मधेसतिर केन्दि्रत भएको छ । संविधानसभा निर्वाचनमा मधेसबाट नराम्रो पराजयको स्वाद चाखेकाले उसको आँखा तराई मधेसमा केन्द्रित भएको हो ? या मधेसमा भोट बैंक देखर हो ? के ऊ मधेसका समस्याप्रति साँच्चिकै गम्भीर भएर हो ?
एमाओवादीका शीर्ष नेताहरूको यतिबेला अनौठो ढंगले मधेस मोह बढेको छ कि प्रत्यक्ष निर्वाचनमा करिब आधा दर्जन प्रमुख नेताहरूले निर्वाचनमा मधेस-तराईबाट उठ्दैछन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल धनुषा क्षेत्र नम्बर १ वा ६ वा सिराह ५, नेताहरू बाबुराम भट्टराई रूपन्देही ५, नारायणकाजी श्रेष्ठ बारा ६ वा पर्साको कुनै क्षेत्र, पोस्टबहादुर बोगटी बाूके वा बर्दिया, वर्षमान पुन झापा ७, गोपाल किराँती सुनसरीबाट उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि संविधानसभा निर्वाचनमा यी नेताहरू पहाडी जिल्लाबाट उम्मेदवारी दिएका थिए । दाहाल, भट्टराई, श्रेष्ठ, पुन, बोगटी यो निर्वाचनमा पहाडी क्षेत्रबाट पनि उम्मेदवारी दिनेछन् ।
यसपकट किन त ? एमाओवादीले मधेस तराईलाई रणनीतिक रूपमा राजनीतिक केन्द्र बनाएको हो । 'तराई र मधेसलाई यो निर्वाचनमा महत्त्व दिनु रणनीतिक कारण छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'यसको बहुआयामिक महत्त्व छ ।'
तराई र मधेसमा मुलुकको आधाभन्दा बढी जनसंख्या छ । मतदाता सबभन्दा बढी पनि त्यहीं छन् र पछि पनि हुनेछन् । भोट बैंकको रूपमा रहेको तराई मधेसलाई उसले निर्वाचनको माध्यमबाट कब्जा गर्न चाहन्छ ।
सशस्त्र युद्धका बेला जातीय नारा दिएर आदिवासी, जनजाति र मधेसीलाई उकासेको उसले अब भने पहिचानसहितको संघीयताको नाममा मधेस तराईका जनतालाई उचालेको छ । मधेस तराईमा उसको मुख्य एजेन्डा पनि त्यही छ । मुख्य गरी संघीयताको एजेन्डा लिएर त्यो क्षेत्रमा जाँदैछ । नेता विश्वनाथ साहले भने, 'हाम्रा शीर्ष नेता मधेसमा जानु भोट बैंक भएमात्र होइन, मधेसको एजेन्डा नै हामीले बोकेका हौं ।'
गएको संविधानसभा निर्वाचनमा माओवादीले ६६ मा ११ सिटमात्र जितेको थियो । जसका कारण उसले सरकार गठन र संविधान निर्माणका क्रममा पटक-पटक धक्का खानु परेको स्मरण गर्दै मधेस केन्दि्रत राजनीतिलाई अघि बढाएको छ । मात्रिका यादव बाहिरिएपछि पार्टीमा मधेसी नेताको खाँचो टार्न रामचन्द्र झालाई तान्यो । यही साता सकिएको केन्द्रीय समितिले उनलाई मधेस इञ्चार्ज बनायो ।
मधेससूग आफ्नो 'लभ' परेको भन्दै दाहालले निर्वाचन घोषणा भएदेखि नै निर्वाचनमा उठ्ने घोषणा गरेका थिए । यसपटक एमाओवादीले मधेसबाट कम्तीमा ३० सिट जित्ने दाबी गरेको छ । यदि उसको दाबी सही भयो भने समानुपातिकमा समेत उसका सभासदहरू ह्वात्तै बढ्ने छन् । मधेसको जनसंख्याका कारण निर्वाचनमा बहुमत ल्याउन सहज हुनेछ । 'हामीले बहुमत ल्याउन मधेस तराईलाई विशेष केन्दि्रत गर्नुपर्ने अवस्था आएको हो,' प्रवक्ता सापकोटाको भनाइ छ, 'हाम्रा शीर्ष नेता त्यहाँबाट निर्वाचनमा उठ्नु र केन्दि्रत हुनुको कारण धेरै छन् ।'
संविधानसभा, त्यसपछिको सरकारलाई ध्यानमा राखी उसले मधेसमा तालमेलको प्रस्ताव अघि सारेको छ । उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरमसूग तालमेल गर्ने उसले औपचारिक घोषणासमेत गरिसकेको छ । त्यो पनि मधेसमा निर्वाचनमा आफूप्रति माहौल बनाउने रणनीति जोडिएको छ । जसरी हुन्छ, मधेस तराईको भोट बैंकलाई आफ्नो पक्षमा तान्ने रणनीतिअनुसार एमाओवादीको आँखा त्यता केन्द्रित भएको देखिन्छ ।

प्रकाशित मिति: २०७० भाद्र २४ १२:२७