Monday, August 15, 2016

‘भूमिगत’ पासाङ

नन्दकिशोर पुन ‘पासाङ’ को जीवनमा यतिबेला भूकम्प आएको छ । माओवादी फुटेर पाँच टुक्रामा विभाजन भएको छ । पूर्वलडाकूहरू धमाधम राजनीतिबाट पलायन भएका छन् । माओवादी पहिलोबाट तेस्रो शक्तिमा झरेको छ । उनी आफैंले चुनाव हारे । राजधानी उत्तर पूर्वी क्षेत्र कपन उचाइस्थित चर्किएको डेरामा पासाङमा लडाकू जोश खासै देखिंदैन । कुनै बेला उनको वरिपरि घुम्ने, सलाम गर्ने लडाकूहरू कोही खाडीको तातो भूमिमा पसिना बगाउँदै माओवादीलाई सरापिरहेका छन् । 

केही नेपाली सेनामा समायोजन भएका छन्, स्वैच्छिक अवकाशमा गएका कमै मात्र सम्पर्कमा छन् । धेरै आआफ्नो बाटो लागिसके । पासाङको डेरा पनि भूकम्पमा बस्नै नमिल्ने गरी चर्किएपछि उनी त्यसकै छेउमा टहरो बनाएर बसेका छन् । माओवादी लडाकूको व्यवस्थापन नभएको भए अहिले पनि पासाङ चर्चामा हुन्थे । उनी मुख्य भूमिकामै हुन्थे । लडाकूको व्यवस्थापन हुनु शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण कुरा थियो । भयो, त्यसमा उनलाई पश्चत्ताप छैन । ‘तर हामीले सोचेजस्तो समायोजन पटक्कै भएन, स्वैच्छिक अवकाशमा गएका, घाइते, अपांग र आयोग ठहर्‍याएको व्यवस्थापन नहुनु ठूलो कमजोरी रह्यो,’ उनी भन्छन् । पार्टीमा स्थायी समिति सदस्य भए पनि उनको खासै राजनीतिक जिम्मेवारी छैन । उनी फुर्सदिला छन्, तर त्यो फुर्सदले उनलाई असजिलो बनाइरहेको छ । संविधानसभाको पहिलो निर्वाचनमा भाग नलिएका उनी दोस्रो चुनावमा अड्डी कसेर रोल्पा जान सकेनन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसामु धर्ना दिएर टिकट मागेनन् ।
 काठमाडौं ४ मा टिकट पाए, हारे । पहिलो संविधानसभामा सभासद नभए पनि उनलाई खासै पछुतो थिएन, किनकि त्यसबेला माओवादीको दबदबा थियो । शिविरमा लडाकू थिए, पार्टी सबभन्दा ठूलो थियो । अहिले माओवादी कमजोर छ, आफूले पनि चुनाव हारेका छन् । ‘हारेर हरेस खानु हुँदैन, कुनै बेला त जितिएला नि,’ उनी सन्तोषको सास फेर्छन् । 

युद्धकालमा पासाङबारे धेरै किस्सा बनेका छन् । उनले नेतृत्व गरेको लडाकू टोलीले देशका ठाउँठाउँमा आक्रमण गर्न थालेपछि पासाङ निकै चर्चित थिए । यतिसम्म कि सुरक्षाकर्मीलाई तर्साउन स्थानीय लडाकूले समेत पासाङ नाम राख्ने लहरै चलेको थियो । आफ्नो नेतृत्वमा १७ मोर्चामा लडाइँ जितेको उनको ‘इतिहासका रक्तिम पाइला’ नामक पुस्तकमा उल्लेख छ । रुकुमको खारालगायत हारेका मोर्चा पनि उनले नेतृत्व गरेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि पनि पासाङको कम्ती चर्चा थिएन, सेना समायोजन, संयुुक्त अनुगमन समितिको सदस्य थिए । लडाकू शिविरको अनुगमनदेखि हतियार व्यवस्थापन गर्ने एक प्रमुख व्यक्ति थिए । लडाकू प्रमुखको हैसियतले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा थिए । 
लडाकूलाई राज्यले भरणपोषणको सुविधा दिएको थियो । पार्टीको आन्तरिक स्रोत छँदै थियो । त्यसबेला पासाङका लागि प्रतिकूल केही थिएन । अहिले उनी सेनाबिनाको पूर्वप्रमुख भएका छन् । ‘पूर्वलडाकू प्रमुख’ को जिम्मेवारी उनलाई पार्टीले दिएको छ । जबकि अधिकांश लडाकू उनको सम्पर्कमा छैनन् । माओवादी युद्धमा धेरै रगत बग्यो, माओवादी शान्ति प्रक्रियामा आएपछि देशका खोलाहरूमा धेरै पानी बग्यो । माओवादी उकालो लाग्यो, अनि ओरालो झर्‍यो । त्यसको ठाडो असर पूर्वलडाकू पासाङहरूलाई पर्‍यो । कोही पासाङ खाडीको मरुभूमिमा छन्, कोही पासाङ विस्थापित भएर सम्पर्कविहीन छन् । यतिबेला पासाङहरूका प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ भूकम्पले घर चर्केपछि टहरोमा विस्थापित भएका छन् । भूकम्पले घर चर्कनु स्वाभाविक हो, त्योभन्दा अस्वाभाविक रूपमा पासाङहरूका मन चर्किएका छन् । चर्केका घर टालिएलान्, पासाङहरूका चर्केका मन कहिले टालिने हुन्, दाहाल र भट्टराईसँग पनि जवाफ नहुन सक्छ ।

करिब तीन वर्षअघि पासाङ गम्भीर बिरामी भए, उनलाई उपचारका लागि विदेश लैजाने तयारी भयो । तर, उनले जोखिम मोलेर स्वदेशमै उपचार गर्ने अडान लिए । संयोगले उनको मृगौलाको रोग स्वदेशमै निको भयो । आफूलाई यहींकै चिकित्सकमा विश्वास भएको भन्दै उपचारका लागि विदेश जान अस्वीकार गरेका थिए । कतिपयले पासाङबारे टिप्पणी गर्छन्, ‘बढी आदर्शवादी र सोझो हुनु पासाङका लागि प्रतिकूल देखिएको छ । माओवादीले पनि चतुरलाई ठाउँ दिएको छ ।’ पासाङका समकालीन कतिपय नेतालाई एमाओवादी अध्यक्ष दाहाल निवास लाजिम्पाटमा दिनमा एकपटक जाने आदतै लागिसकेको छ । उनीहरूको प्रत्यक्ष प्रभाव दाहालमाथि पर्छ । उनीहरूको सुझाव, सल्लाहमा दाहालले निर्णय गर्छन्, बेलाबेला अप्ठ्यारोमा पनि पर्छन् । लाजिम्पाट स्रोतका अनुसार, पार्टीभित्र केही चतुर नेताको ‘घेराबन्दी’ मा छन् दाहाल । चतुर नेताहरू दाहाललाई फकाएर, घुर्काएर आफ्नो अनुकूल निर्णय गराएर छाड्छन् । 

‘नेतृत्वलाई कुनै न कुनै ढंगले घेराबन्दी गर्ने प्रवृत्ति पार्टीभित्र नभएको होइन, त्यसले पार्टीलाई घाटा गरेको छ,’ पासाङ भन्छन्, ‘शीर्ष नेता बिगार्ने र सपार्ने कार्यकर्तै हो । कतिपय हिजोका क्रान्तिकारीहरूमा पनि अवसरवाद घुसेको देखेको छु ।’ दाहालले बोलाएमा वा पार्टी बैठक पर्‍यो भने पासाङ लाजिम्पाट जान्छन् । अरू बेला उनले लाजिम्पाट धाउन आवश्यक ठान्दैनन् । इतिहासतिर कमै चियाउने दाहालको कमजोरी हो । पछिल्लो समय उनी पार्टीभित्र साँघुरो घेराभित्र रमाउँछन् । इतिहासमा टेकेर अघि बढ्ने प्रचण्डका खुट्किलाहरू पूर्वलडाकू पनि हुन् तर ती खुट्किला प्रचण्डले छोड्दै गएका छन् । 

त्यसको गतिला उदाहरण हुन् पासाङ । जो कपनको चर्किएको डेराबाट विस्थापित भएर टहरामा लगभग भूमिगतजस्तो जीवन गुजारा गरिरहेका छन् । पाँच वर्षका लागि टहरा बनाएको जग्गा भाडामा लिएको मौखिक सहमति गरे पनि जग्गाधनीले धोका दिएको उनले बताए । ‘खाली जग्गाको खोजीमा छु, भेटियो भने त्यहीं टहरा बनाएर बस्नुपर्ला,’ उनले भने । उनी अगाडि भन्छन्, ‘मलाई दैनिक गुजारा चलाउन गाह्रो छ, अरूलाई पनि गाह्रो होला,’ । रोल्पाको जग्गा बेचेर, आफन्तसँग सहयोग मागेर, सानो रूपमा माछापालन, बंगुर पालेर गुजारा चलिरहेको छ ।’

यस्तो छ प्रधानमन्त्रीको किचेन क्याबिनेट



प्रधानमन्त्री पुष्पकमल दाहाल बालुवाटारमा पूजा गरेर छिरे, यो चल्दै आएको परम्परा थियो । एक हिसाबले बालुवाटारमा रहदासम्म मन शान्ति गर्ने पूजा थियो । तर, उनी बालुवाटार छिरेदेखिनै चयनसँग सुत्ने अवस्था छैन । उनी बिहानै झिसमिसेमा उठ्छन्, राति अबेर सुत्छन् । बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म सरकारकै काममा हुन्छन् । मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेकाले योजना बनाउनमै व्यस्त छन् ।

उनलाई करिब नौ महिनाको समयमा केही गर्नेपर्ने ठूलो दबाव छ । यो दबावलाई कम गर्न उनी एक्लैले सक्दैनन्, त्यसका लागि उनको टीम अर्थात् किचेन क्याबिनेट महत्वपूर्ण भूमिका हुन्छ । कस्तो छ उनको किचेन क्याबिनेट ?

यो सरकार निर्माणमा रातदिन खट्ने नेताहरु हुन्, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा । यीमध्ये महरा अर्थमन्त्री भइसकेका छन् भने शर्मा मन्त्री हुने तरखरमा छन् । यो सरकारमा पुन मन्त्री हुने छैनन् । तर, उनको भूमिका कुनै मन्त्रीको भन्दा कम हुने छैन । किनकी उनी प्रधानमन्त्री दाहालका  छायाँमन्त्री हुन् । उनी प्रधानमन्त्रीको किचेन क्याबिनेटका एक नम्बर अघोषित मन्त्री हुन् । केही निर्णय लिनु परे, उनले पहिलो सल्लाह पुनबाटै लिन्छन् । दाहाल प्रधानमन्त्री भइसकेपछि नियमित बालुवाटार जाने नेतामा उनी नै पर्छन् । तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अर्थमन्त्री भएका पुन चतुर नेता मानिन्छन् ।

वैद्यलाई छाडेर माओवादी केन्द्रमा मिसिएका नेता रामबहादुर थापा दाहालका भरपर्दा सहयोगी हुन् । करिब तीन दसक सँगै राजनीति गरेकाले उनले थापालाई बढी विश्वास गर्छन् । केही निर्णय गर्नुअघि उनले थापासँग सल्लाह लिन्छन् । प्रधानमन्त्रीको किचेन र मन्त्रिपरिषद्मा पर्ने नेताहरु महरा र शर्मा हुन् । सरकारमा रही यी दुबै नेताले दाहाललाई सघाउँछन् । यी दुबै नेतासँग सरकार सञ्चालनको अनुभव भएकाले प्रधानमन्त्रीले नियमित परामर्श लिन्छन् । त्यसबाहेक नेता देब गुरुङ, प्रवक्ता पम्फा भुसालबाट पनि दाहालले सल्लाह लिन्छन् । उनले भाइ नारायण दाहालका लागि पनि बालुवाटारको ढोका सधैँ खुला राख्छन् । आवश्यक परे गोप्य कुरा गर्छन् । पूर्व स्वकीय सचिव चूडामणि खड्का पनि दाहालको दैलो सहजै टेक्ने नेतामा पर्छन् । हाली उनी गोरखा जिल्ला इन्चार्ज भए पनि राजधानी आउनेजाने गर्छन् ।

यो सरकारको निर्माणको बेला सामूहिक निर्णय नलिएको भन्दै असन्तुष्टि जनाएका वरिष्ठ  नेता नारायणकाजी श्रेष्ठसँग भने औपचारिक रुपमा सल्लाह लिन्छन् । ओली सरकार निरन्तरताको पक्षमा मत रहेका श्रेष्ठलाई दाहालले शंका र विश्वास दुबै गर्छन् ।

प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, पुत्र एवं स्वकीय सचिव प्रकाशलाई सधैँ आफ्नो वरिपरि राखेका छन् । लामो समय विद्यार्थी राजनीति गरेका अर्का स्वकीय सचिव रमेश मल्लले हालै दाहालको दैलो टेकेका छन् । रोल्पाका महरा दाहाल शान्ति प्रक्रियामा आएलगत्तै पनि स्वकीय सचिव थिए । महरा उनका विश्वासिला व्यक्ति हुन् । विशेषगरी प्रधानमन्त्रीलाई आवश्यक सबै सहयोग महरा र पुत्र प्रकाशले गर्दै आएका छन् । स्वकीय सचिव मल्लले भने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारका गतिविधिलाई व्यवस्थापन गर्छन् ।

प्रमुख स्वकीय सचिव महराले सरकारका प्राथमिकतामा रहेका पुनर्निर्माण, दैनिक जनताको जीवनसँग गासिएका, स्वास्थ्य, महँगी नियन्त्रणलगायत सम्बन्धित मन्त्रालयका कामकारबाही हेर्ने जिम्मा छ । प्रधानमन्त्री पुत्र प्रकाशले प्रधानमन्त्री निवास बालुवाटारको भेटघाटलगायतको व्यवस्थापन गर्छन् ।

प्रधानमन्त्रीले आर्थिक मामलामा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग सल्लाह लिन्छन् । उनले पूर्व राजदूत ऋषि अधिकारीबाट परराष्ट्रसम्बन्धी परामर्श गर्छन् ।

प्रधानमन्त्रीले आफ्नो सरकारका प्राथमिकताका विषयहरु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, पुनर्निर्माण र नवनिर्माणलाई अघि बढाउन, सुशासन कायम गर्ने, गरिका लागि सरकार पुष्टि गर्न कार्ययोजना तयार गर्न, भूकम्प प्रभावितलाई ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने, चिकित्सक नपुगेका स्वास्थ्यकेन्द्रमा तीन महिनाभित्र चिकित्सक पुर्‍याउन सरकारका सचिवलाई विशेष निर्देशन दिएका छन् । उनले यी कामबारे कार्ययोजना मन्त्रिपरिषद् कार्यालयमा पेश गर्न भनेका छन् । यी कामको फलोअप गर्न उनले निजी सचिवालाई निर्देशन दिएका छन् ।

२०६५ मा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाल काण्डबाट शिक्षा लिँदै सोचविचार गरी ठूला निर्णय गर्ने योजना बनाएका छन् । ‘सोचेर, विचार गरी निर्णय हुनेछन्,’ प्रधानमन्त्रीले भन्ने गरेका छन्, ‘काम ढिला गर्ने छु कसैलाई छैन ।’ उनले सरकारका सचिवहरुलाई विश्वासमा लिएर काम गर्ने रणनीति बनाएका छन् । करिब नौ महिनाको अवधिमा ‘देखिने गरी काम गर्न नसके’ माओवादीको राजनीति धरापमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीले काम गरेरै देखाउने दाबी गरेका छन् ।

इतिहासमा भूल धेरै पटक गरे क्षम्य हुन नसक्ने निश्कर्ष दाहालको छ । त्यसैले उनले बलबुताले भ्याएसम्म प्राथमिकताका काम अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताउँछन् । अनावश्यक कार्यक्रममा नजाने, अनावश्यक व्यक्तिलाई नभेट्ने, विज्ञहरुसँग अनौपचारिक सुझाव लिएपछि निर्णय गर्ने नीति लिएका छन् । उनले त्यही अनुसार व्यवस्थापन गर्न निजी सचिवालयलाई भनेका छन् ।

प्रधानमन्त्रीसँग चुनौती र महत्वकांक्षाका पहाड छन् । यी दुबै पहाड चढ्न सफल भए उनको नौ महिने कार्यकाल सम्झना लायक हुनेछ ।