प्रधानमन्त्री पुष्पकमल दाहाल बालुवाटारमा पूजा गरेर छिरे, यो चल्दै आएको परम्परा थियो । एक हिसाबले बालुवाटारमा रहदासम्म मन शान्ति गर्ने पूजा थियो । तर, उनी बालुवाटार छिरेदेखिनै चयनसँग सुत्ने अवस्था छैन । उनी बिहानै झिसमिसेमा उठ्छन्, राति अबेर सुत्छन् । बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म सरकारकै काममा हुन्छन् । मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेकाले योजना बनाउनमै व्यस्त छन् ।
उनलाई करिब नौ महिनाको समयमा केही गर्नेपर्ने ठूलो दबाव छ । यो दबावलाई कम गर्न उनी एक्लैले सक्दैनन्, त्यसका लागि उनको टीम अर्थात् किचेन क्याबिनेट महत्वपूर्ण भूमिका हुन्छ । कस्तो छ उनको किचेन क्याबिनेट ?
यो सरकार निर्माणमा रातदिन खट्ने नेताहरु हुन्, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा । यीमध्ये महरा अर्थमन्त्री भइसकेका छन् भने शर्मा मन्त्री हुने तरखरमा छन् । यो सरकारमा पुन मन्त्री हुने छैनन् । तर, उनको भूमिका कुनै मन्त्रीको भन्दा कम हुने छैन । किनकी उनी प्रधानमन्त्री दाहालका छायाँमन्त्री हुन् । उनी प्रधानमन्त्रीको किचेन क्याबिनेटका एक नम्बर अघोषित मन्त्री हुन् । केही निर्णय लिनु परे, उनले पहिलो सल्लाह पुनबाटै लिन्छन् । दाहाल प्रधानमन्त्री भइसकेपछि नियमित बालुवाटार जाने नेतामा उनी नै पर्छन् । तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अर्थमन्त्री भएका पुन चतुर नेता मानिन्छन् ।
वैद्यलाई छाडेर माओवादी केन्द्रमा मिसिएका नेता रामबहादुर थापा दाहालका भरपर्दा सहयोगी हुन् । करिब तीन दसक सँगै राजनीति गरेकाले उनले थापालाई बढी विश्वास गर्छन् । केही निर्णय गर्नुअघि उनले थापासँग सल्लाह लिन्छन् । प्रधानमन्त्रीको किचेन र मन्त्रिपरिषद्मा पर्ने नेताहरु महरा र शर्मा हुन् । सरकारमा रही यी दुबै नेताले दाहाललाई सघाउँछन् । यी दुबै नेतासँग सरकार सञ्चालनको अनुभव भएकाले प्रधानमन्त्रीले नियमित परामर्श लिन्छन् । त्यसबाहेक नेता देब गुरुङ, प्रवक्ता पम्फा भुसालबाट पनि दाहालले सल्लाह लिन्छन् । उनले भाइ नारायण दाहालका लागि पनि बालुवाटारको ढोका सधैँ खुला राख्छन् । आवश्यक परे गोप्य कुरा गर्छन् । पूर्व स्वकीय सचिव चूडामणि खड्का पनि दाहालको दैलो सहजै टेक्ने नेतामा पर्छन् । हाली उनी गोरखा जिल्ला इन्चार्ज भए पनि राजधानी आउनेजाने गर्छन् ।
यो सरकारको निर्माणको बेला सामूहिक निर्णय नलिएको भन्दै असन्तुष्टि जनाएका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भने औपचारिक रुपमा सल्लाह लिन्छन् । ओली सरकार निरन्तरताको पक्षमा मत रहेका श्रेष्ठलाई दाहालले शंका र विश्वास दुबै गर्छन् ।
प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, पुत्र एवं स्वकीय सचिव प्रकाशलाई सधैँ आफ्नो वरिपरि राखेका छन् । लामो समय विद्यार्थी राजनीति गरेका अर्का स्वकीय सचिव रमेश मल्लले हालै दाहालको दैलो टेकेका छन् । रोल्पाका महरा दाहाल शान्ति प्रक्रियामा आएलगत्तै पनि स्वकीय सचिव थिए । महरा उनका विश्वासिला व्यक्ति हुन् । विशेषगरी प्रधानमन्त्रीलाई आवश्यक सबै सहयोग महरा र पुत्र प्रकाशले गर्दै आएका छन् । स्वकीय सचिव मल्लले भने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारका गतिविधिलाई व्यवस्थापन गर्छन् ।
प्रमुख स्वकीय सचिव महराले सरकारका प्राथमिकतामा रहेका पुनर्निर्माण, दैनिक जनताको जीवनसँग गासिएका, स्वास्थ्य, महँगी नियन्त्रणलगायत सम्बन्धित मन्त्रालयका कामकारबाही हेर्ने जिम्मा छ । प्रधानमन्त्री पुत्र प्रकाशले प्रधानमन्त्री निवास बालुवाटारको भेटघाटलगायतको व्यवस्थापन गर्छन् ।
प्रधानमन्त्रीले आर्थिक मामलामा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग सल्लाह लिन्छन् । उनले पूर्व राजदूत ऋषि अधिकारीबाट परराष्ट्रसम्बन्धी परामर्श गर्छन् ।
प्रधानमन्त्रीले आफ्नो सरकारका प्राथमिकताका विषयहरु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, पुनर्निर्माण र नवनिर्माणलाई अघि बढाउन, सुशासन कायम गर्ने, गरिका लागि सरकार पुष्टि गर्न कार्ययोजना तयार गर्न, भूकम्प प्रभावितलाई ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने, चिकित्सक नपुगेका स्वास्थ्यकेन्द्रमा तीन महिनाभित्र चिकित्सक पुर्याउन सरकारका सचिवलाई विशेष निर्देशन दिएका छन् । उनले यी कामबारे कार्ययोजना मन्त्रिपरिषद् कार्यालयमा पेश गर्न भनेका छन् । यी कामको फलोअप गर्न उनले निजी सचिवालाई निर्देशन दिएका छन् ।
२०६५ मा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाल काण्डबाट शिक्षा लिँदै सोचविचार गरी ठूला निर्णय गर्ने योजना बनाएका छन् । ‘सोचेर, विचार गरी निर्णय हुनेछन्,’ प्रधानमन्त्रीले भन्ने गरेका छन्, ‘काम ढिला गर्ने छु कसैलाई छैन ।’ उनले सरकारका सचिवहरुलाई विश्वासमा लिएर काम गर्ने रणनीति बनाएका छन् । करिब नौ महिनाको अवधिमा ‘देखिने गरी काम गर्न नसके’ माओवादीको राजनीति धरापमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीले काम गरेरै देखाउने दाबी गरेका छन् ।
इतिहासमा भूल धेरै पटक गरे क्षम्य हुन नसक्ने निश्कर्ष दाहालको छ । त्यसैले उनले बलबुताले भ्याएसम्म प्राथमिकताका काम अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताउँछन् । अनावश्यक कार्यक्रममा नजाने, अनावश्यक व्यक्तिलाई नभेट्ने, विज्ञहरुसँग अनौपचारिक सुझाव लिएपछि निर्णय गर्ने नीति लिएका छन् । उनले त्यही अनुसार व्यवस्थापन गर्न निजी सचिवालयलाई भनेका छन् ।
प्रधानमन्त्रीसँग चुनौती र महत्वकांक्षाका पहाड छन् । यी दुबै पहाड चढ्न सफल भए उनको नौ महिने कार्यकाल सम्झना लायक हुनेछ ।
No comments:
Post a Comment