Monday, April 30, 2012

संविधानसँगै सहमतीय सरकारको 'बार्गेनिङ'

गंगा बिसी,दुर्गा खनाल

काठमाडौ, वैशाख १७ -
प्रमुख तीन दल र मधेसी मोर्चाले संविधान निर्माणका विवाद टुंग्याउन राष्ट्रिय सहमतिको सरकारलाई फेरि 'बार्गेनिङ' को विषय बनाएका छन् ।

केही दिनदेखि शासकीय स्वरूप र संघीयतामा गहन छलफल गरिरहेका दलहरूले आइतबारबाट राष्ट्रिय सहमतिको सरकारको विषयतर्फ बढी ध्यान केन्दि्रत गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सरकारका विषयमा पनि सँगै सहमति जुटाएर अघि बढ्ने प्रस्ताव राखेपछि शनिबारको बैठक बढी सरकार निर्माणमा केन्दि्रत भयो ।

दलहरूबीच कात्तिक १५ गतेको सातबुँदे सहमतिमै राष्ट्रिय सरकार बनाउने भनेका थिए । दुई दलको अडान तीव्र भएपछि आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै संविधान निर्माणका नमिलेका विषय र राष्ट्रिय सहमतिको सरकार निर्माणमा प्याकेजमै सहमति खोज्ने पहल थाल्ने भन्दै प्रस्ताव गरेका हुन् ।

'शासकीय स्वरूप र राष्ट्रिय सहमतिको सरकारको विषयमा अत्यन्तै सकारात्मक कुरा भएको छ, पर्सिसम्म सहमति हुन्छ होला,' दाहालले भने, 'अब राष्ट्रिय सरकार बनाउने प्र्रक्रिया पनि अघि बढ्छ ।'

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि सरकारको विषयमा सकारात्मक छलफल सुरु भएको जानकारी दिए । 'प्रचण्डजी र प्रधानमन्त्रीले नै राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नुभएको छ,' बैठकपछि पौडेलले भने, 'तर कहिलेसम्म कसरी बनाउने भन्ने समय र प्रक्रियाको विषयमा सहमति हुन बाँकी छ ।'

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको सरकारका लागि माओवादी तयारै रहेको बताए । 'हामी राष्ट्रिय सहमतिको सरकार बनाउन तीव्रताका साथ लागेका छौं,' उनले भने, 'कसरी बनाउने विषयमा छलफल हुँदैछ ।'

कांग्रेसले बाबुरामपछि आफ्नो नेतृत्वको दाबी गर्दै आएको छ । संविधानसभा निर्वाचनपछि माओवादी र एमालेले दुई/दुई पटक नेतृत्व लिइसकेकाले स्वतः अब कांग्रेसले नेतृत्व पाउनुपर्ने उसको दाबी छ । तर कांग्रेसले मधेसी मोर्चाको साथबिना सरकार हटाउँदा आफ्नो नेतृत्व आउने सुनिश्चित आधार नपाएकाले बाबुरामलाई हटाउनभन्दा केही समयका लागि भट्टराईकै नेतृत्वमा जान सक्ने संकेत पनि दिएको छ । 

बिहानको बैठकमा पनि माओवादी अध्यक्ष दाहालले लोकतन्त्र बहालीपछि आफूहरू कांग्रेस नेतृत्वमा गएको, आफ्नो नेतृत्वमा एमाले पनि आएको तर कांग्रेस नआएको भन्दै छोटो समय अवधिका लागि भए पनि माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने प्रस्ताव गरेका थिए ।

भट्टराई नेतृत्वलाई हटाउँदा आफ्नो नेतृत्वमा सरकार आउने सुनिश्चित नभए 'जोखिम' नमोल्ने दिशामा छलफल भइरहेको कांग्रेसका एक नेताले बताए ।

'एमालेका केही नेता र माओवादीका वैद्य समूहले अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्छ भनेर तात्नु भएको छ । वैद्यजीहरूले आजै पनि हाम्रा नेताहरूलाई फोन गरेर अविश्वासको प्रस्ताव कहाँ पुग्यो भनेर सोध्दै हुनुहुन्थ्यो,' ती नेताले भने, 'अविश्वासको प्रस्ताव ल्याएर हटाउँदा कांग्रेसको नेतृत्वमा सरकार आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । त्यतिबेला मधेसी मोर्चाले कांग्रेसलाई साथ दिँदैन । त्यसले त्यो जोखिमभन्दा केही समय बाबुरामजीकै नेतृत्वमा जाने कुरा सहज हुन्छ ।'

त्यसका लागि कांग्रेसले भट्टराईलाई मन्त्रिमण्डल विघटन गर्न प्रस्ताव राखेको छ । 'तपाईंले मन्त्रिमण्डल विघटन गरेर सार्वजनिक रूपमा आह्वान गर्नुहोस्, त्यसो भयो भने तपाईंकै नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउने दिशामा छलफल हुन सक्छ भनेका छांै,' उनले भने । एमालेले भने बाबुरामकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने हो भने पनि राजीनामा दिएर बनाउन सकिने धारणा राखेको थियो । एमालेका एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको सरकार निर्माणका लागि आफूले मन्त्रिमण्डल विघटन गर्ने प्रस्तावसमेत राखेका थिए । माओवादी र मधेसी मोर्चा सम्मिलित मन्त्रिपरिषद् भंग गर्ने र त्यसपछि सबैको सहमतिमा राष्ट्रिय स्वरूप हुने गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने उनको धारणा थियो ।

एमालेले भने प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र वातावरण बन्ने, मन्त्रिमण्डल विघटनमा स्वीकार्य नहुने अडान राखेको छ  । 'प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र अर्को राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया सुरु हुन्छ, एउटा पदमा हुँदाहुँदै कसरी अर्को प्रधानमन्त्रीको कुरा गर्ने ?' एमाले नेता केपी ओलीले भने, 'गम्भीरतासाथ कुरा भएको छ, चारवटै पक्ष छिटो बनाउनेमा सहमत पनि छन् तर राष्ट्रिय सहमतिको सरकार बन्नुअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।'

प्रधानमन्त्रीले राजीनामा दिएपछि फेरि राष्ट्रिय सहमति बनेको अवस्थामा बाबुराम नै पनि हुन सक्नेमा सबै लचिलो छन् । तर यसपछिको नेतृत्व पुनः आफूले दाबी गर्न नमिल्ने भएकाले माओवादीको जोड भट्टराई नेतृत्वको मन्त्रिमण्डल नै पुनर्गठन गर्नेमा छ । मधेसी मोर्चाले भने जेठ १४ अघिसम्म सरकार परिवर्तन गर्न नहुनेमा जोड दिएको थियो । 'अहिले सरकार परिवर्तनतिर लाग्दा राम्रो हुँदैन,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भनेका थिए ।

सरकारको अडानले अन्य विषय पनि प्रभावित हुने भएपछि अब तीनवटै विषयमा प्याकेजमा सहमति हुने एम्ााले नेताहरूको दाबी छ । शासकीय स्वरूप र संघीयताको सहमति गर्दा त्यससँगसँगै प्रधानमन्त्री भट्टराईको राजीनामाको कुरा पनि जोडिने उनीहरूको दाबी छ । माओवादीले अनौपचारिक सहमति विपरीत १० प्रदेशको प्रस्ताव अघि सारेपछि कांग्रेस र एमालेले संविधान नबनाउने र सरकारलाई मात्र निरन्तरता दिएर अघि हिँड्ने दाउमा लागेको आशंका गरेका थिए । माओवादी र मधेसी मोर्चाको गठबन्धन बलियो रहेकाले संविधानका विषय टुंग्याउने बेलामा नै प्रधानमन्त्रीलाई राजीनामा गराउने उपयुक्त अवसर रहेको विपक्षी दलहरूको बुझाइ छ । विवादित विषय मिल्ने र संविधान पनि जारी हुने अवस्थ्ाा बन्यो भने त्यसपछि झन् माओवादी र मधेसी मोर्चाको गठबन्धन बलियो भएर सरकारले निरन्तरता पाउने डर विपक्षी दलमा छ ।

'मेरै नेतृत्वमा'

प्रधानमन्त्री भट्टराई


फेरि सहमतीय सरकारको कुरो आएछ नि ?

हो, ७ बुँदे सहमतिमा राष्ट्रिय सरकार गठन गर्ने भनिएको थियो । संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेकाले दलहरूबीच यसमा छलफल सुरु भएको हो । राष्ट्रिय सरकार बन्यो भने शान्ति प्रक्रिया र संविधान निर्माण टुंग्याउन सहज हुन्छ ।

कसरी बन्छ त त्यो सरकार ?

म प्रधानमन्त्री भएदेखि नै कांग्रेस-एमालेलाई सरकारमा सहभागी भई राष्ट्रिय सरकार बनाउने प्रयास भएको हो । उहाँहरू आउनुभएन ।

यतिबेला शान्ति र संविधान निष्कर्षमा पुग्नै लागेका बेलामा सहमतिको सरकार बनाएर अघि बढ्नुपर्छ भन्ने हो ।

तपाईंले राजीनामा दिएपछि मात्र राष्ट्रिय सरकार बनाउने अडान कांग्रेस-एमालेले राखेका छन् नि ?

प्रमुख दलहरूको बैठकमा उहाँहरूले पहिले राजीनामा अनि सहमतिको सरकारको कुरा गर्नुभएको छैन । संविधान निर्माण निष्कर्षमा पुग्न लागेका बेला पहिले राजीनामा दिनुपर्छ भन्ने कुरा सुहाउँदैन । त्यसो गरे फेरि सहमति खोज्न गाह्रो हुन्छ । मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्ने कुरा भइरहेको छ । बरु त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ । किनकि सबै पार्टी सरकारमा सहभागी हुँदा मन्त्रालय बाँड्नुपर्ने हुन्छ ।

उसो भए तपाईं राजीनामा गर्नु हुन्न ?

यही सरकार राष्ट्रिय सहमतिको बन्छ । पहिले राजीनामा दिने अनि सहमतिको सरकार बनाउने कुरा हुँदैन । मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनेपछि, त्यसपछि कांग्रेसको नेतृत्वमा सहमतिको चुनावी सरकार बन्छ । त्यसबारे छलफल भइरहेको छ ।

दलहरू सहमतिमा कहिले पुग्छन् ?

सबै छलफल सकारात्मक भएका छन् । राज्य पुनसंरचना, शासकीय स्वरूपबारे सहमति नजिक पुगेको छ । छिट्टै सहमति बन्ने विश्वास बढेको छ ।




प्रकाशित मिति: २०६९ वैशाख १८ ०४:२४

Friday, April 27, 2012

Maoist proposed 10 identity based federal state

काठमाडौ, वैशाख १४ - 
अन्तिम होइन, छलफलका लागि मात्र : दाहाल

संघीयताको नाममा उपहास हो : कांग्रेस नेता महत

कुनै हालतमा मान्य हुँदैन : एमाले नेता ओली

छलफलबाट सहमतिमा पुग्छौं : प्रधानमन्त्री भट्टराई



माओवादीले राज्य पुनसर्ंरचना सम्बन्धमा १० प्रदेशको प्रस्ताव अगाडि सारेको छ । कांग्रेस, एमालेले विगतका अनौपचारिक सहमतिबाट माओवादी पछाडि हटेको भन्दै विरोध गरेका छन् भने सत्तारूढ मधेसी मोर्चा सकारात्मक देखिएको छ । 

विवाद मिलाउन बिहीबार राजधानीको नयाँबानेश्वरस्थित विशेष समिति कार्यालयमा भएको बैठकमा माओवादीले १० प्रदेशको अवधारणा पेस गरेको हो । माओवादी प्रस्तावमा लिम्बुवान-मेची, किराँत-कोसी, ताम्सालिङ-इन्द्रावती, मधेस-विराट, नेवाः- वाग्मती, तमुवान-गण्डक, मगरात-धौलागिरि, लुम्बिनी-थारुवान, कणर्ाली र सेती-महाकाली छन् । चितवन जिल्ल्ाालाई कुनै प्रदेशमा नगाभी केन्द्रशासित क्षेत्रका रूपमा प्रस्ताव गरिएको छ । 

कणर्ाली र सेती-महाकाली प्रदेशबाहेक अन्यमा जातीय र भौगोलिक, धार्मिक सांस्कृतिक क्षेत्रलाई समेटेर नाम प्रस्ताव गरिएको छ । माओवादीले यो प्रस्तावमा पहिचानलाई मुख्य आधार बनाएको जनाएको छ । 

लिम्बुवान-मेचीमा मेची अञ्चलका सबै, धरान हंँुदै मोरङको पहाडी भेग, धनकुटा र संखुवासभाको केही भाग, किराँत-कोसीमा लिम्बुवानको पश्चिम लिखुदेखि अरुण क्षेत्र, ताम्सालिङ-इन्द्रावतीमा रामेछाप पश्चिम बुढीगण्डकीसम्म, मधेस-विराटमा मोरङको उत्तरी भेग छाडेर पर्सासम्म समेटिएको छ । नेवाः-वाग्मतीमा काठमाडौं उपत्यकासहित बनेपा, तमुवान-गण्डकमा गोरखा, कालिगण्डकीदेखि तनहँु दक्षिणका भाग, मगरात-धौलागिरिमा स्याङ्जा दक्षिणी भागबाट कालिगण्डकीको पश्चिम रुकुमसम्म पारिएको छ । 

कणर्ाली प्रदेशमा भेरी अञ्चलका सबै क्षेत्र, सेती-महाकालीमा कैलाली, कञ्चनपुरको केही उत्तरी भेगसहित माथिल्लो भाग र थारुवान-लुम्बिनी प्रदेशमा कञ्चनपुरदेखि परासीसम्मको भूभाग समेटेको जनाइएको छ । माओवादी प्रस्तावमा चितवन जिल्ला केन्द्रीय स्वशासित क्षेत्र र भोटे लामा तथा शेर्पालाई विशेष स्वायत्त क्षेत्र बनाउने भनिएको छ । माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले छलफलका लागि १० प्रदेश प्रस्ताव गरिएको संक्षिप्त प्रतिक्रिया 

दिए । 'यो छलफलका लागि गरिएको प्रस्ताव हो,' उनले कान्तिपुरसँग भने, 'औपचारिक/अनौपचारिक छलफलबाट हामी सहमतिमा पुग्छौं ।'

माओवादीले राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगका प्रतिवेदनहरूका आधारमा प्रस्ताव ल्याएको तर्क बैठकमा गरेको थियो । उसले यसअघि १४ प्रदेशमा अडान राखेकोमा १० प्रदेश प्रस्ताव गर्नुलाई नकारात्मक रूपमा लिन नहुने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव अन्तिम नभएको बैठकमा बताएका थिए । 'यो छलफलका लागि ल्याएको हो । १४ प्रदेश भन्दै आएका थियौं, त्यसबाट झरेर १० प्रदेशमा आएका छौं,' उनले बिहीबार रसियन कल्चरल सेन्टरमा आयोजित कार्यक्रमपछि संवाददातासँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'यो अन्तिम र निणर्ायक होइन, अझै छलफल हुनसक्छ ।'

कांग्रेस, एमालेको असहमति प्रमुख दलको बैठकपछि कांग्रेस नेता रामशरण महतले माओवादीे प्रस्तावलाई संघीयताको उपहास भनी टिप्पणी गरे । 'संघीयताको नाममा यो उपहास हो । प्रचण्डजीले केही दिनअघि नै ६ देखि ८ प्रदेशको कुरा गर्नुभएको थियो, त्यसबाट पछि हटिएको छ,' उनले भने, 'यो प्रस्तावमा सामथ्र्य छैन । केही जातिको पहिचानको कुरामात्र छ । पहिचानमात्रै महत्त्वपूर्ण हो, सामथ्र्य चाहिँदैन भन्ने हो भने २० देखि २५ वटासम्म प्रदेश हुनसक्छ ।' 

उनले सामथ्र्यलाई पनि ध्यान दिने हो भने ६ देखि ७ प्रदेश हुने बताए । 'यो १० प्रदेश मान्य हुँदैन्ा,' उनले भने, 'उहाँहरूले संघीयताको अन्तरवस्तु नै नबुझी क्षणिक रमाइलोका लागि यो प्रस्ताव ल्याउनु भएको छ ।'

एमाले नेता केपी ओलीले माओवादीको यो प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए । 'समय खेर फाल्ने, सरकारमा बस्ने र संविधानसभा/संसद्लाई सिध्याउने योजना माओवादीले गरिरहेको छ,' उनले भने, 'त्यसैका लागि यस्तो प्रस्ताव ल्याएको हो ।'

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हात्तीवन बैठकमा प्रदेशबारे कुनै सहमति नभएको उल्लेख गर्दै बिहीबार पहिचानलाई मुख्य आधार बनाएको १० प्रदेशको प्रस्ताव गरेको जनाए । 'हामी लचक भएर प्रदेशको संख्या घटाएका छांै,' उनले भने, 'अडानै राख्ने हो भने १४ नभई हुँदैन पनि भन्न सकिन्थ्यो नि ।' बैठकमा सहभागी सचिव पोस्टबहादुर बोगटीले संविधानसभामा भइरहेको छलफल र विभिन्न जाति, जनजातिबाट आइरहेको धारणालाई सम्बोधन गर्न प्रस्ताव ल्याएको तर्क गरे । 

'विभिन्न जनजातिका आवाज सम्बोधन गर्ने गरी अहिलेको विशिष्ट अवस्थामा यो प्रस्ताव हामीले उपयुक्त ठानेका छौं,' उनले भने, 'हामीले संविधानसभामा भएको छलफल, विषयगत समितिले ल्याएका रिपोर्ट, बाहिर उठेका आवाजहरूलाई ध्यान दिएर समाधान दिने हिसाबले ल्याएका हौं । मधेसी फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रस्तावमा सहमति जनाए । 'संघीयतामा जाने निश्चित भइसकेकाले अब ८ वा १० वटा संख्याको सवालले सहमति बन्नबाट रोकिँदैन,' उनले भने, 'उहाँहरूको १० वटा प्रदेशको प्रस्तावमा विभिन्न समुदाय, जाति, जनजाति, भाषा संस्कृतिलाई सम्बोधन गरेर नै ल्याएको जस्तो देखिन्छ ।' 



प्रस्तावित प्रदेश र त्यसको भूभाग

१.    लिम्बुवान-मेची -मेची अञ्चल सबै, धरान हुँदै मोरङको पहाडी भेग, धनकुटा र संखुवासभाको केही भाग)

२.    किराँत कोसी -लिम्बुवान पश्चिम लिखुदेखि अरुण क्षेत्र)

३.    ताम्सालिङ इन्द्रावती -रामेछाप पश्चिम बुढीगण्डकीसम्म) 

४.    मधेस विराट -मोरङको उत्तरी भेग छाडेर पर्सासम्म)

५.    नेवा वाग्मती -काठमाडौं उपत्यकासहित बनेप-धुलिखेल)

६.    तमुवान गण्डक -गोरखा कालिगण्डकीदेखि तनहुँ दक्षिणका भाग) 

७.    मगरात धौलागिरि -स्याङ्जा दक्षिणी भागबाट कालिगण्डकीको पश्चिम रुकुमसम्म)

८.    कणर्ाली प्रदेश -भेरीको उत्तरी भेगदेखि कणर्ाली सबै) 

९.    सेती महाकाली -कैलाली कञ्चनपुरको केही उत्तरी भेगसहित माथिल्लो भाग

१०.    थारुवान लुम्बिनी -कञ्चनपुरदेखि परासीसम्म) 



    चितवन जिल्ला केन्द्र स्वशासित क्षेत्र हुने 

 

प्रकाशित मिति: २०६९ वैशाख १५ ०९:०८

Friday, April 20, 2012

माओवादीमा कहाँ पुग्यो अन्तरसंघर्ष ?

काठमाडौ, वैशाख ८ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले सेना समायोजनका छलफलमा भाग लिन छाडेको धेरै समय भइसकेको छ । यो प्रक्रिया करिब टुंगिइसकेको अवस्थामा वैद्य पक्षको ध्यान संविधानतिर छ । संविधान निर्माणमा सशक्त सहभागिता जनाएर संस्थापनले लगाएको संविधानविरोधी आरोप खण्डन गर्न उक्त पक्ष चाहन्छ । त्यसैले गत साता वैद्यपक्ष हात्तीवन बैठकमा सहभागी पनि भयो ।
बैठकस्थलबाटै वैद्यपक्षीय स्थायी समिति सदस्य देव गुरुङले अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचान सहितको संघीयता छाड्न लागेको 'एसएमएस' गरी जातीय संगठनलाई जानकारी दिएको चर्चा पनि चल्यो । जसका कारण प्रमुख दलहरू पार्टीभित्रका जातीय सगठनसँग छलफल नगरी संघीयताबारे निर्णय नगर्ने निष्कर्षमा पुगे । यसमा वैद्यपक्ष सन्तुष्ट छ ।
सेना समायोजनबारे भन्दा पहिचानसहितको संघीयताको कुरा उठाउँदा विभिन्न जातीय संगठनहरूको समर्थन प्राप्त हुने विश्वास वैद्यपक्षको छ । यसको प्रतिवाद गर्न अध्यक्ष पुष्पकमल दाहालले बुधबार संस्थापनको प्रशिक्षणमा पहिचान र सामथ्र्यका आधारमा प्रदेश हुने बताए । पार्टी निर्णयविपरीत संस्थापनले प्रदेश घटाउन अनौपचारिक सहमति गरेको भन्दै वैद्यपक्षले आफ्नो समूहभित्र व्यापक छलफल सुरु गरेको छ । वैद्यपक्षीय सचिव सीपी गजुरेलले जनताको संविधान बनाउन आफ्नो पहल निरन्तर जारी रहने बताए । 'बन्छ भन्नेमा अझै शंका छ, उनले भने ।
देशव्यापी आन्तरिक प्रशिक्षण सकिसकेको वैद्य पक्षले जेठ १४ पछि के रणनीति अपनाउने भन्नेमा छलफल गरिरहेको स्रोतले जनायो । छुट्टै सांगठनिक संरचना र कार्यक्रम बनाए पनि ऊ तत्काल पार्टी नफुटाउने मनस्थितिमा पुगेको छ । उसले वैशाख ८ देखि जेठ १ सम्म दबाबमूलक कार्यक्रम घोषणा गरिसकेको छ ।
 आफ्ना तर्फबाट पार्टी फुटेको घोषणा नगरेपछि संस्थापन पक्ष कमजोर हुँदै जाने दाबी वैद्य पक्षको छ । सचिव गजुरेलले संस्थापन नै समानान्तर संगठन बनाउँदै हिँडेकाले आफ्नो पक्षसँग दूरी नघटेको जनाए । उनले भने, 'दूरी घट्नु र बढ्नु केही छैन ।' पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले अब माओवादी पार्टी नरहेको दाबी गरे । 'नयाँ पार्टी निर्माणको आवश्यकता टड्कारो छ,' उनले भने, 'सबै घटनाक्रमले अब माओवादी उही रहेन ।'
संस्थापन पक्षका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले वैद्यपक्षको कार्यक्रम प्रभावकारी नभएकाले नरम नीति अपनाउन बाध्य भएको आरोप लगाए । 'उहाँहरूले समानान्तर संगठन र कार्यक्रम गरिरहनुभएको छ,' उनले भने, 'यसले आफ्नो समूहभित्र झन् निराशा हालेको छ ।'
बैद्य पक्षले देशब्यापी प्रशिक्षण चलाएपछि संस्थापनले आन्तरिक रुपमा आफूलाई बलियो बनाउने कसरत जारी राखेको छ । वैद्य पक्षले उठाएका मुद्दालाई निस्तेज पार्ने संस्थापनको रणनीति हो ।
वैद्य पक्षलाई कारबाही गर्नु त परै जाओस्, कुनै विधिले नबाँधे पनि आफैं उदांगो हुँदै जाने भन्दै संस्थापनले खासै कदम चालेको छैन ।

प्रकाशित मिति: २०६९ वैशाख ८ ०८:५९

Monday, April 16, 2012

रिसोर्ट बैठकमा पनि जुटेन सहमति

हात्तीवन (काठमाडौं), वैशाख ५ - शान्ति प्रक्रिया अघि बढेपछि संविधानका विवाद मिलाउन दुई दिन चलेको आवासीय रिसोर्ट वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । हात्तीवन रिसोर्टमा आइतबार र सोमबार आवासीय बैठक गरेका नेताहरूले बाहिरिँदै गर्दा विवादित विषयहरूमा अत्यन्त निकट पुगेको र आगामी छलफलबाट निष्कर्षमा पुग्ने दाबी गरेका छन् ।
'छलफलबाट भिन्नताहरू धेरै साँघुरिएका छन्, सहमतिका निकट छन्,' एमाले अध्यक्ष झलनाथ खनालले भने, 'विश्वास बढेको छ, अब चाँडै सहमति हुन सक्छ ।'
संविधानसभाको कार्यतालिकाअनुसार वैशाख ५ गतेभित्र संविधानका विवाद मिलाइसक्नुपर्ने थियो । तर दुईर् दिने रिसोर्ट बैठकले ठोस निष्कर्ष ननिकालेपछि उनीहरूले सभामुखसँग थप पाँच दिन समय माग्ने निर्णय गरेका छन् ।
संविधानका विवादित विषयहरूमा पार्टीभित्रकै विभिन्न संघ/संगठनहरूले पनि फरक-फरक धारणा राखिरहेकाले उनीहरूलाई समेत मिलाउनका लागि थप केही दिन पर्खन लागेको नेताहरूले बताएका छन् । 'आ-आफ्नो पार्टी सरोकारवालाहरू र विभिन्न जातीय संघसंस्थाहरूसँग छलफल गरेर निष्कर्षमा पुग्दा राम्रो हुन्छ भनेर अहिले नै सहमति गरेनौं,' बैठकपछि गृहमन्त्री विजयकुमार गच्छदारले भने । उनीहरूले संविधानका पाँच प्रमुख विवादित मुद्दाहरू संघीयता, शासकीय स्वरूप, न्यायप्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषय ठोस धारणासहित सहमतिको अधिकतम विन्दु पहिल्याउने प्रयास गरेका थिए ।
नेताहरूका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिने मिश्रति मोडलमा सहमति हुने सम्भावना बढेको छ  । संसद्बाट निर्वाचित प्रधानमन्त्री राख्नेमा करिब सबै दलबीच सहमति जुटेको
छ । राष्ट्रपति चयन गर्न माओवादीले प्रत्यक्ष र कांग्रेसले निर्वाचक मण्डल (इलोक्ट्रोरल कलेज) बाट हुनुपर्ने अडान राखेका थिए । 'अरू विषयमा कुरा मिलेमा शासकीय स्वरूपमा लचिलो हुनुपर्छ भन्ने हामीभित्रै पनि छलफल भएको छ,' बैठकमा सहभागी कांग्रेसका एक नेताले भने, 'संघीयतामा कुरा मिलेमा सम्भवतः अर्को बैठकमा मिश्रति मोडलको शासकीय स्वरूपमा नै कुरा मिल्न सक्छ ।' कांग्रेसले मिश्रति मोडलमा सहमति हुने संकेत गरे पनि बैठकमा सहभागी कांग्रेस सदस्यहरूबीच भएको छुट्टै बैठकमा समेत केही नेताहरूले अरू विषयलाई मिलाएर यसमा लचिलो हुनुपर्ने भनाइ राखेका थिए । तर सभापति सुशील कोइरालाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जान हतार गर्न नहुने अडान राखेका कारण त्यसमा सहमति जुट्न सकेको थिएन ।
त्यस्तै माओवादीको छुट्टै बैठकमा उपाध्यक्ष मोहन वैद्य पक्षले पहिचानसहितको राज्य पुनर्संरचना हुनुपर्ने अडान राखेको थियो । अध्यक्ष पुष्पकमल दाहालले भने शासकीय स्वरूप लगायतमा कांग्रेस लचक भए १४ प्रदेश टुट्न सक्ने संकेत गरेका थिए । बैठकमा सहभागी माओवादी सभासद खिमलाल देवकोटाले राज्य पुनर्संरचनाअन्तर्गत पहिचानको परिभाषा दलहरूले स्पष्ट गरेकाले संख्यामा समस्या नहुने बताए । संघीयताको पहिचानमा जाति, समुदाय र भाषा कुनै पनि भूगोलमा रहने भएकाले प्रदेशको संख्यामा समस्या नहुने देवकोटाले बताए । 'पहिचानको परिभाषा स्पष्ट भएको हुनाले अब प्रदेशको संख्यामा ठूलो विवाद रहेन,' उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधानका प्रमुख विषयमा गहिरिएर छलफल भएको बताउँदै सबै विषयमा सहमतिको निकटतामा पुगेको दाबी गरे । 'सबै विषयमा विकल्पका सोचहरू प्रस्तुत भएका छन्,' केसीले भने, 'दुई दिनसम्म चलेको बैठकले एकले अर्कोलाई बुझ्ने र दूरी घटाउने काम गरेको छ । अबको बैठकमा सहमति नगरी सुख छैन ।'
संघीयतामा ६ देखि ८ प्रदेश बनाउनुपर्ने धारणाहरू आएका थिए । कांग्रेसले ६, एमालेले  ७ देखि ८ वटा र माओवादीले आधिकारिक १४ नै भए पनि तल र्झन सकिने धारणा राखेको थियो । माओवादी नेताहरूले अनौपचारिक रूपमा ८ वटासम्ममा र्झन सक्ने संकेत गरेका थिए । कांग्रेस, एमाले नेताहरूका अनुसार संघीयतामा ७ वटासम्ममा मिल्ने सक्ने देखिन्छ । माओवादीले भनेजस्तो अग्राधिकार र आत्मनिर्णयको विपक्षमा कांग्रेस-एमाले देखिएका थिए ।
'आत्मनिर्णयको अधिकार राज्यको हकमा होइन, व्यक्तिको हकमा मात्र लागू हुन्छ,' एमाले नेता सुरेन्द्र पाण्डेले भने, 'नाम र सीमांकनहरूमा पनि सबैको पहिचान हुने गरी साझा विषय खोज्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।'
अग्राधिकार, आत्मनिर्णयको अधिकार छाडेर प्रदेशको संख्या कम बनाउन माओवादी तयार भएमा शासकीय प्रणालीमा मिश्रति मोडलमा जान सक्ने कांग्रेसले संकेत गरेको हो । अग्राधिकार र आत्मनिर्णयको अधिकार छाड्न नहुनेमा भने माओवादी नेताहरू मोहन वैद्य, रामबहादुर थापा र देव गुरुङको जोड थियो । कांग्रेस-एमालेले जातीय बिउ रोप्ने गरी राज्यको नामकरण गरिन नहुनेमा जोड दिएका थिए । उनीहरूले ऐतिहासिक र सांस्कृतिक आधारमा नामकरण राखिनुपर्ने नभए सम्बन्धित प्रान्तीय सभालाई नाम राख्ने अधिकार छोड्नु राम्रो हुने बताएका थिए । 'केन्द्र संसद् बहुभाषिक, बहुजाति, बहुसांस्कृतिक हुन्छ, त्यस्तै प्रदेश सभा पनि हुनुपर्छ भन्नेमा हाम्रो जोड रह्यो,' केसीले थपे ।
निर्वाचन प्रणालीका बारेमा यसअघि नै सहमति भने पनि प्रत्यक्ष र समानुपातिक कति/कति सिट राख्ने भन्नेमा भने बैठकमा सहमति हुन सकेन । बैठक प्रत्यक्ष निर्वाचनका लागि २ सय ५ र १ सय ५ निर्वाचन क्षेत्र कायम राख्नुपर्ने दुई धारणा आएका थिए । समानुपातिकमा भने निर्वाचन क्षेत्रको ३० प्रतिशत राख्ने सहमति बनेको छ ।
'यो संविधान बन्नेतर्फको संकेत हो, हामी सबैले संविधानसँग सम्बद्घ सवालहरूमा व्यापक छलफल गर्‍यौं,' स‌दभावना पार्टी अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले भने, 'शासकीय स्वरूपमा भने सामथ्र्य र पहिचानको आधारमा संघीयताबारे समेत छलफल भयो ।' तर प्रान्त कुन आधारमा बनाइने भन्नेबारे निर्णय गर्न बाँकी छ ।
दुई दिनसम्म नेताहरूले द्विपक्षीय र त्रिपक्षीय छलफल गरेका थिए । दुई पटक सबै नेतासहितको बैठक बसेको थियो । अरू बेला शीर्ष नेताले एक/एक जना सहयोगी राखेर छलफल गरेका थिए । त्यो समयमा बाहिर रहेका दोस्रो तहका नेताहरूले छुट्टै छलफलमार्फत सहमति खोज्ने प्रयास गरेका थिए । 'यति गम्भीर ढंगले अहिलेसम्म छलफल भएको थिएन,' एमाले नेता पाण्डेले भने, 'अब सहमतिमा सबै विषय टुंगिने आधार तयार भएको छ ।'
रिसोर्टमा बैठक चलिरहेका बेला सोमबार जातीय प्रदेशको माग गर्दै आदिवासी जनजाति संगठनहरूले सडकमा दिनभर नाराबाजी गरेका थिए । फर्पिङ सडकमा रहेको रिसोर्टको गेटबाहिर उनीहरूले
चर्का नाराबाजी गरेका थिए । जनजातिहरूले जातीय आधारमा राज्य बनाउनुपर्ने माग गरेका थिए । जातीय राज्यका विरुद्घ नेताहरूले सहमतिगर्न खोजेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए ।
सूचना प्रवाहमा गैरजिम्मेवार
आइतबार र सोमबार दुई दिनसम्म लाखै खर्च गरी बैठक गरेका प्रमुख दलका नेताहरूले एउटा पनि औपचारिक निर्णय गर्न सकेनन् । यसलाई ढाकछोप गर्न नेताहरू सूचना प्रवाहमा समेत गैरजिम्मेवार देखिए । बिनानिर्णय फर्किने बेला उनीहरूले अव्यवस्थित रूपमा सडकमै उभिएर प्रतिक्रिया दिए । सहमतिका लागि अवरोध हुने भन्दै एकान्त र सुविधासम्पन्न हात्तीवन रिसोर्टमा पुगेका नेताहरूले अन्ततः एउटा पनि औपचारिक निर्णय गर्न सकेन् । करिब १६ घन्टा छलफल गरेका उनीहरूले रिसोर्टबाट बाहिरिने बेला विगतमा जस्तै सहमति नजिक पुगेको प्रतिक्रिया दिए ।
दुई वर्षसम्म संविधान निर्माणका विषयमा छलफल गरेका उनीहरूले बल्ल एकअर्काका धारणा बुझेको बताए । 'एकआपसका दृष्टिकोणलाई गहिराइबाट बुझेका छौं । विश्वास के बढेको छ भने अब चाँडै सहमति हुन सक्छ,' बैठकबाट बाहिरिने क्रममा एमाल अध्यक्ष खनालले भने ।
सञ्चारमाध्यमलाई करिब एक किलोमिटर टाढा राखेका दलहरूले संयुक्त आधिकारिक सूचना दिए । बाहिरिने बेला नेताहरूले सहमतिको नजिक पुगे पनि आ-आफ्नो पार्टीको धारणा राखेका थिए । करिब डेढ वर्षअघि पनि सहमति खोज्ने भन्दै त्यही रिसोर्टमा गएका उनीहरू रित्तो हात फर्किएका थिए ।

के-केमा कुरा मिलेन ?
१. संघीयता
माओवादी    :    १४ प्रदेश । सहमतिमा थपघट गर्न तयार । नाममा जातीय पहिचान हुनुपर्ने । पुनर्विचार गर्न तयार ।
कांग्रेस    :    ६ प्रदेश । उत्तर दक्षिण प्रदेश बनाउने प्रस्ताव । जातीय प्रभाव
आउन नहुने । 
एमाले    :    ७/८ प्रदेशसम्म । साझा नामांकन हुनुपर्ने ।
मोर्चा    :    एक मधेस प्रदेशको सैद्घान्तिक अडान । तलमाथि गर्न तयार ।  आफ्नोभन्दा अरू दलको अडान बुझ्न केन्दि्रत ।

२. शासकीय स्वरुप
माओवादी    :    प्रत्यक्ष निर्वाचित राष्ट्रपति । मिश्रतिमा जान सक्ने संकेत ।
कांग्रेस    :    सुधारिएको संसदीय प्रणाली । संघीयतामा कुरा मिले लचक हुने संकेत ।
एमाले     :    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । सहमति भए अन्य विकल्पमा तयार ।
मोर्चा    :    मिश्रति प्रणालीमा जानुपर्ने धारणा ।

३. न्यायप्रणाली
माओवादी    :    छुट्टै संवैधानिक अदालत आवश्यक पर्ने अडान ।
कांग्रेस    :    सर्वोच्च अदालतमा अस्थायी बेन्चको व्यवस्था गरिनुपर्ने ।
एमाले    :    सर्वोच्च अदालतमा स्थायी बेन्च । नियुक्ति प्रक्रिया छुट्टै । राष्ट्राध्यक्षलाई छुट्टै रिपोर्ट बुझाउने व्यवस्था । 
मोर्चा    :    ५ वर्षका लागि संविधानमै संवैधानिक अदालतको व्यवस्था,
त्यसपछि खारेज ।

मिलेका कुरा
१. निर्वाचन प्रणाली
मिश्रति प्रणालीमा
सहमति । त्यसभित्र
कुल सिट संख्याको
दुई तिहाइ प्रत्यक्ष निर्वाचनबाट र एक
तिहाइ समानुपातिकबाट चयन हुने व्यवस्थामा सहमति नजिक ।
माथिल्लो सभा करिब
६० जनाको र तल्लो सभा प्रदेशको संख्या टुंगो लागेपछि तय हुने । मिश्रतिभित्र समानान्तर
वा क्षतिपूर्तिसहितको प्रणालीमा जानेबारे टुंगो लाग्न बाँकी ।

२. नागरिकता
महिला र पुरुषबीच विभेद नगरी व्यवस्था गर्ने ।
प्रकाशित मिति: २०६९ वैशाख ५ ०८:५२

Sunday, April 15, 2012

दलहरू निर्णायक कसरतमा

गंगा बिसी,कुलचन्द्र न्यौपाने,दुर्गा खनाल

हात्तिवन , वैशाख ३ -
काठमाडौं पश्चिम दक्षिणमा पर्ने हात्तिवनको डाँडामा रहेको एक रिसोर्टमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरू 'निणर्ायक' छलफलमा जुटेका हुन् । नेताहरूले सोमबार बेलुकासम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा पार्टीका प्रमुख नेताहरूले आआफ्नो पार्टीको धारणा राख्दै यही साताभित्र सहमति खोज्नुपर्नेमा जोड दिएको एक सहभागी नेताले बताए । बैठकको सुरुमा माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानका नमिलेका विषयअन्तर्गत राज्य पुनसर्ंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिका र राष्ट्रिय सरकारबारे विषय प्रवेश गराएका थिए ।

उनले आयोजक र सरकार प्रमुखको हैसियतले विषय प्रवेश गराउँदै शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजन निष्कर्षमा पुगिसकेको हुनाले तोकिएकै समयमा संविधान निर्माण गर्नुको विकल्प नभएको बताएका थिए । उनले सबै दल लचक भएर यही साता सहमति खोज्न आवश्यक भएको बताएको एक नेताले जनाए ।

बैठकमा सहभागी माओवादी सभासद खिमलाल देवकोटाले आइतबार संविधान निर्माणका विषयमा आआप्mनो धारणा राखेपछि सामूहिक र त्यसपछि छुट्टाछुट्टै बैठक भएको बताए । 'नेताहरू सहमति निकाल्न गम्भीर देखिनुभएको छ,' उनले भने, 'मिल्ने विषयमा सहमति र बाँकीमा लेनदेन गरी सम्झौता गर्नुपर्नेमा सबैको जोड थियो ।'

तीन चरणको बैठकमा पहिले प्रमुख पार्टीको सामूहिक बैठक, त्यसपछि आआफ्नो पार्टी र लगत्तै पार्टी-पार्टीबीच छुट्टाछुट्टै छलफल भएको थियो ।

पहिलो चरणमा प्रमुख दलका प्रमुख नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले आआफ्नो पार्टीको धारणा राखेका थिए ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पहिलो दिनमा आआफ्नो धारणा राखेको बताए । 'आज सबै दलका नेताहरूले आफ्नो धारणा राख्ने काम भएको छ । त्यसपछि आन्तरिक र शीर्ष तहका नेताहरूबीच दुई पक्षीय र त्रिपक्षीय छलफलहरू भइरहेका छन्,' सिटौलाले कान्तिपुरसँग भने, 'सोमबार बिहान ९ बजे सुरु हुने बैठक सहमति कसरी गर्न सकिन्छ भन्नेमा केन्दि्रत

हुन्छ ।' संवैधानिक समितिको म्याद ५ गतेसम्म मात्रै रहेकाले सकभर सबै विषयलाई सोमबारै टुंग्याउने प्रयास हुने सिटौलाले बताए ।

बैठकमा दाहालले यसअघि माओवादीले अघि सारेको १४ प्रदेश उल्लेख गर्दै त्यसलाई घटाउनेबारे छलफल गर्न सकिने बताएका थिए । संघीयताको आधार पहिचान र सामथ्र्य हुनुपर्ने उल्लेख गर्दै दाहालले प्रदेशको संख्या घटाउने आधार खोज्न सकिने जनाएका थिए ।

'प्रदेश कति बढाउन र घटाउन सकिन्छ भन्ने विषयमा छलफल गरौं,' उनले भने, 'सामथ्र्य र पहिचानका आधारमा प्रदेशको वैज्ञानिक आधार खोजांै ।' उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्ले चयन गर्ने प्रधानमन्त्री हुनुपर्ने जनाए ।

कांग्रेस सभापति सुशील कोइलालाले प्रजातान्त्रिक मूल्यमान्यता सहितको शासकीय स्वरूप निर्धारण गर्नुपर्ने जनाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार उनले 'पुरानै संसदीय व्यवस्था नभई प्रजातान्त्रिक मूल्यमान्यता सहितको शासकीय स्वरूपमा जोड' दिएका थिए ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री सिटौलाले पहिलो दिनमा सबै दलहरूले आआफ्नो पार्टीको धारणा राख्ने काम मात्रै भएको बताए । कांग्रेसले सुधारसहितको संसदीय प्रणाली र एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा धारणा राखेको जानकारी दिए ।

कांग्रेसले विगतका अस्थिरता नियन्त्रण गर्न अभ्यास गरिरहेको संसदीय प्रणालीमा आमूल सुधार गर्न तयार रहेको बताएको थियो । बैठकले उसले प्रधानमन्त्री निर्वाचित भएको एक वर्ष र अन्तिम वर्षमा अविश्वासको प्रस्ताव राख्न नपाइने, एकपटक अविश्वासको प्रस्ताव राखेपछि एक वर्षसम्म पुनः प्रस्ताव ल्याउन नपाइने, अविश्वासबाट प्रधानमन्त्री हटाउँदा भावी प्रधानमन्त्रीसमेत प्रस्तुत गर्नुपर्ने, संसद् विघटन गर्न संसद्ले अनुमोदन गर्नुपर्नेजस्ता प्रावधान राख्न सकिने बताएको थियो । तर कांग्रेसको संसदीय प्रणालीमा माओवादी तयार नभएमा कांग्रेस कुन विकल्पमा जाने भन्ने विषयमा समेत रिसोर्टमा छुट्टै छलफलसमेत भएको थियो ।

बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा सहमति खोज्नु उपयुक्त हुने धारणा राखेका थिए । 'मिश्रति प्रणालीअन्तर्गत प्रत्यक्ष प्रधानमन्त्री बनाउन के हुन्छ,' उनको भनाइ थियो, 'संविधान निर्माणका लागि सबैले लचकता अपनाउन जरुरी छ ।'

एमालेले विगतका अस्थिरता र निरंकुशतालाई पनि रोक्न सक्ने शासकीय प्रणालीमा जान उपयुक्त हुने र त्यस्तो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली हुने धारणा राखेको थियो । नेपालको विविधतालाई सम्बोधन गर्न आलंकारिक राष्ट्रपति र सरकारको स्थायित्व दिन जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहमतिको मिलनविन्दु हुन सक्ने तर्क एमालेले गरेको थियो ।

स्रोतका अनुसार सुधारसहितको संसदीय प्रणालीमा माओवादीलाई ल्याउन नसकेमा कांग्रेसले मिश्रति मोडलको शासकीय प्रणालीमा सहमति गर्न सक्ने संकेत दिएको छ । मिश्रति मोडलमा यसअघि माओवादी र एमालेले सहमति जनाइसकेका थिए । कांग्रेसले आन्तरिक रूपमा समेत राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई कार्यकारी अधिकार दिने मिश्रति मोडलमा कसरी जान सकिन्छ भन्नेबारे समेत छलफल गरेको थियो । राष्ट्रपतिलाई सीमित अधिकार दिएर कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिन तयार भएमा मिश्रति मोडलमा सहमति जनाउ सकिनेमा कांग्रेस नेताहरू पुगेका छन् । 'संसद्बाट निर्वाचित प्रधानमन्त्रीले कार्यकारी अधिकार पूर्णउपभोग गर्न पाउने अवस्था निर्माण भएमा त्यसले संसदीय व्यवस्थालाई बलियो बनाउँछ,' कांग्रेसका एक नेताले भने ।

त्यस्तै कांग्रेस-एमालेले संघीयताको संख्या ६ भन्दा बढी हुन नपर्ने बताएका छन् । मुलुकले धान्न नसक्ने संघीयता अहिले बनाउँदाभन्दा विकासक्रमसँगै पछि थप्न सकिने प्रावधान राख्न सकिने तर्क कांग्रेसले राखेको थियो । माओवादीले भने प्रदेशको संख्या घटाउन सकिने भनाइ राखेको थियो ।

मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताले संघीयताको विषयमा मोर्चालाई आशंका भएको बताएका थिए । उनले संघीयताबारे ठूला पार्टीले स्पष्ट गर्नुपर्नेमा जोड दिएका थिए । मोर्चाको घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबेर साँझ कान्तिपुरसँग वार्ता सकारात्मक दिशामा गइरहेको जनाएका हुन् ।

बैठकमा माओवादीका तर्फबाट दाहाल, प्रधानमन्त्री भट्टराई, उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य देव गुरुङ, पोलिटब्युरो सदस्य हितमान शाक्य र सभासद खिमलाल देवकोटा छन् ।

 बैठकमा नेपाली कांग्रेसबाट सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, रामशरण महत, विमलेन्द्र निधि र मिनेन्द्र रिजाल सहभागी छन् ।

 एमालेका तर्फबाट अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोख्रेल, नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल सहभागी भएका थिए ।

वैद्य पनि वार्तामा

माओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर संगठन र कार्यक्रम बनाएका उपाध्यक्ष मोहन वैद्य पक्षलाई पनि वार्तामा सहभागी गराएका छन् । शान्ति प्रक्रियामा पूरै असहमति राखेका वैद्य पक्षलाई संविधान निर्माणको 'निणर्ायक' वार्तामा सहभागी बनाउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले छलफलको विषय प्रवेश गराएलगत्तै वैद्यले राज्य पुनसर्ंरचनाबाट छलफल सुरु गर्न आग्रह गरेका थिए । त्यसपछि छलफल त्यही दिशामा अघि बढेको थियो ।

बैठकमा वैद्यसहित महासचिव रामबहादुर थापा, स्थायी समिति देव गुरुङ र पोलिटब्युरो सदस्य हितमान शाक्य पनि छन् । संविधान निर्माणबारे उनीहरूले जमेर भाग लिएको एक सहभागीले जनाए ।



रमाइलो बन्यो हात्तिवन

सिंहदरबारदेखि करिब १५ किलोमिटर टाढा हात्तिवन रिसोर्टमा मुख्य दलका नेताहरू पसेपछि माहौल झन् रमाइलो भयो । आइतबार मध्याह्न राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री र सुरक्षाकर्मी त्यहाँ पुगेका थिए ।

 रिसोर्ट स्रोतका अनुसार नेताहरूले सामूहिक र अलग-अलग बैठक गरे । रिसोर्ट पस्नेबित्तिकै उनीहरूले त्यहाँबाट केहीबेर राजधानीको दृश्यावलोकन गरे । सामान्य चियापानपछि उनीहरू बैठक हलमा गएका थिए । रिसोर्टका पाहुनालाई शनिबार बेलुकादेखि अन्तै सारिएको थियो । सरकारले दुई दिनका लागि होटल बुकिङ गरेकाले नेता, उनका सीमित सहयोगी र सुरक्षाकर्मी मात्र रिसोर्टमा

छन् । उनीहरूका लागि फरक-फरक कटेजमा करिब तीन दर्जन कोठा बुकिङ गरिएको छ । नेताहरू बस्ने कोठाको एक रातको मूल्य करिब ६ हजार रुपैयाँ पर्छ ।

'यहाँको वातावरण रमाइलो छ,' रिसोर्टका एक कर्मचारीले भने, 'नेताहरू कहिले भित्र कहिले बाहिर गर्नुहुन्छ ।'

नेताहरूको सुरक्षाका लागि रिसोर्ट वरिपरिको जंगलमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Monday, April 9, 2012

माओबादीमा आआफ्नो दौड

काठमाडौ, चैत्र २४ -
माओवादीका लागि यस पटकको चैत २४ जनआन्दोलन दिवस तीतो दिनका रूपमा रह्यो । विगतमा एउटै मञ्चबाट 'क्रान्तिकारी' कुरा गर्ने माओवादी नेताहरूले यो वर्ष करिब ५ सय मिटर टाढाबाट छुट्टाछुट्टै सभा गरी एकअर्कालाई आरोप लगाए । संस्थापन पक्षले राजधानीको वसन्तपुरमा र उपाध्यक्ष मोहन वैद्य पक्षले साना पार्टीहरूसँग मोर्चा बनाई रत्नपार्कमा सभा गर्‍यो । विगतमा हजारौं सर्वसाधारण सडकमा उतारेको माओवादीको सभामा यसपल्ट कमै व्यक्ति सहभागी भए ।

दुवै पक्षका नेताहरूले अधिकांश समय अर्को पक्षलाई गाली गर्न खर्चिए । संस्थापनले वैद्य पक्षलाई जडसूत्रवादी, संकीर्णवादीको बिल्ला भिरायो भने वैद्य पक्षले संशोधनवादी, अवसरवादी र अभिजात वर्गको संज्ञा दियो । संस्थापनभन्दा वैद्य पक्ष बढी आक्रामक देखियो । वैद्यले भाषणको सुरुमै संस्थापनले पार्टी अनधिकृत रूपमा चलाएको आरोप लगाए । उनले संस्थापनलाई माओवादी पार्टी भन्ने हकसमेत नभएको बताए । वैद्यले यही अवस्थामा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै आवश्यक परे पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिए ।

वसन्तपुरमा बोल्ने संस्थापनका नेताहरू प्रधानमन्त्री बाबुराम भट्टराई र स्थायी समिति सदस्य वर्षमान पुनले वैद्य पक्षले हाल लिएको जनविद्रोह कार्यदिशा 'ठोस परिस्थितिको गलत विश्लेषण' भएको बताए । वैद्य पक्षले पहिल्यै कार्यक्रम घोषणा गरेपछि संस्थापनले पनि कार्यक्रम तय गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले नामै नलिई वैद्य पक्षले 'सशस्त्र युद्धको धङधङी' बकेको बताए । 'हाम्रा जडसूत्रवादी, संकीर्णवादी सोच राख्ने साथीहरूलाई सशस्त्र युद्धमा फर्किनुपर्छ भन्ने धङधङी छ,' उनले भने, 'सशस्त्र विद्रोह गरेर २० आंै शताब्दीमा क्रान्ति पूरा गर्न सकिने उहाँहरूमा सोच छ । प्रचण्ड, बाबुरामले धोका दिए भन्नु भावनात्मक आक्रोश हो ।'

उनले शान्तिपूर्ण आन्दोलनबाट पनि परिवर्तनलाई निष्कर्षमा पुर्‍याउन सकिने बताए । 'सशस्त्र होइन, शान्तिपूर्ण बाटोबाट परिवर्तनलाई निष्कर्षमा पुर्‍याउन सकिन्छ,' उनले भने, 'क्रान्ति र विद्रोह कसैको लहैलहैमा हँुदैन, परिस्थिति परिपक्व नभई विद्रोह गर्नु भनेको प्रतिक्रान्ति हो । यसो गर्नु भनेको १० महिनामा जन्मने बच्चा ५ महिनामै चाहियो भनेजस्तै हो ।'

वैद्य पक्षले लगाएको 'राष्ट्रघाती' को आरोपलाई भट्टराईले आफू थोत्रो राष्ट्रवादको पक्षमा नभएको जनाए । 'मुलुकलाई थोत्रो राष्ट्रवाद चाहिएको छैन, त्यो नक्कली राष्ट्रवाद हो,' उनको भनाइ थियो, 'मुलुकमा ठूला कारखाना खोलेर समृद्धितिर लानुपर्छ ।' शान्ति प्रक्रिया चैतभित्र सकिने र जेठ १४ भित्र संविधान बन्ने उनले बताए । 'अब बन्ने संविधान सम्झौताको बन्छ,' उनले भने, 'यो न हामीले भनेजस्तो जनवादी, न कांग्रेस-एमालेले भनेजस्तो संसदीय संविधान बन्छ ।'

उनले क्रान्तिको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै जनताका अधिकार संस्थागत नभएसम्म आन्दोलन जारी राख्ने जनाए । 'आन्दोलनको स्वरूप फेरिएको हो, सकिएको छैन,' उनले भने, 'जेठ १४ भित्र संविधान निर्माण गर्न दबाबमूलक कार्यक्रम आवश्यक छ ।'

स्थायी समिति सदस्य वर्षमान पुनले तुरुन्तै क्रान्ति गर्न खोज्नु भनेको पहरामा टाउको ठोक्काउनु जस्तै हो भन्दै वैद्य पक्षले मनोगत विश्लेषणका आधारमा जनविद्रोहको कुरा गरेको जनाए । 'सजिलै क्रान्ति गर्न सकिन्छ भन्ने सोच्नु पहरामा टाउको ठोक्काउनु हो,' उनको भनाइ थियो, 'कोठामा दुई-चार जना मान्छे बसेर अरूलाई गद्दार देखेर सराप्दैमा क्रान्ति हुँदैन ।'

ँकम्तीमा ६ हजार लडाकु समायोजन’ सेना समायोजन विशेष समिति सदस्यसमेत रहेका पुनले कम्तीमा ६ हजार लडाकु समायोजनमा जाने बताए । उनले लडाकुलाई विसर्जन गराएको वैद्य पक्षले आरोप लगाए पनि ती सबै भ्रम मात्र भएको टिप्पणी गरे ।

'अध्यक्ष र प्रधानमन्त्रीले जनमुक्ति सेनालाई विघटन गरे भन्नु भ्रम हो,' उनले भने, '६ हजार जनमुक्ति सेना समायोजन हुनेछन् । त्यसलाई जनमुक्ति सेनाले सम्मान गर्छ ।' दक्षिणपन्थी र उग्रवामपन्थी सोच भएको शक्तिले राजतन्त्र फर्काउने सोचाइ राख्नु भ्रमबाहेक केही नभएको उनले जनाए । 'जेठ १४ भित्र शान्ति र संविधान निष्कर्षमा पुग्नेछ,' उनले भने, 'कसैले धमिलो पानीमा माछा मार्न खोजेको छ भने त्यो असफल हुनेछ ।'



पार्टी बिगि्रए विद्रोह ः वैद्य

काठमाडौं- माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टीको नेतृत्व -अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई) को चर्को आलोचना गर्दै पछि नलाग्ने बरु विद्र्रोह गरेर अघि बढ्ने घोषणा गरेका छन् । जनआन्दोलन दिवसका अवसरमा वैद्य पक्षीय माओवादी नेतृत्वको संयुक्त संघर्ष समितिले राजधानीको रत्नपार्कमा गरेको सभालाई सम्बोधन गर्दै उनले १० वर्ष 'जनयुद्घ' गरे पनि फेरि २०४७ साल ब्युँताउने खेल भइरहेको बताए ।

 'नेतृत्व बिग्रेर गयो भने हामी सती जाँदैनौं, विद्रोह गर्छौं,' वैद्यले भने, 'हामीले जनयुद्घ गरेर पनि फेरि २०४७ सालमै घुम्दैछौं, अर्को धोका हुँदैछ ।' उनले नेतृत्वले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न खोजेको आरोप लगाए । 'पार्टीमा दुई लाइन संघर्ष, बहस चल्छ । जुन पक्षले विचार, सिद्घान्त र कार्यदिशा छोड्छ त्यसलाई पार्टीमा बस्ने हक हुँदैन,' वैद्यले संस्थ्ाापन पक्षतर्फ संकेत गर्दै भने, 'हामीले विचार, कार्यदिशा र सिद्घान्त छोडेका छैनौं, त्यसैले यो हाम्रो पार्टी हो ।' उनले पार्टीभित्र गलत वर्ग र विचार बढ्दै गएको उल्लेख गर्दै त्यसकै विरुद्घको विद्रोहको रूपमा जनआन्दोलन दिवसका अवसरमा शुक्रबार दुई कार्यक्रम भएको बताए ।

'आजको कार्यक्रम दुइटा हुनुको अर्थ छ,' वैद्यले भने, 'हाम्रो विचार समूहको पार्टीमा बढ्दै गएको गलत वर्गका विरुद्घ र दलाल, पुँजीपति र अभिजात वर्गविरुद्घ विद्रोह हो ।' सभामा उनले अरू दिनभन्दा संस्थापन पक्षविरुद्घ चर्को शैलीमा अभिव्यक्ति दिएका थिए । नेतृत्वले क्रान्तिलाई बीचैमा छोडेर हिँड्न खोजेपछि मृत्युपर्यन्त आफूहरूले क्रान्तिका झन्डा नझुकाउने वैद्यको भनाइ थियो ।

उनले जनताको संविधान बनाउने नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसमा कांग्रेस, एमाले र आफ्नै पार्टीको 'अभिजात वर्ग' संलग्न रहेको आरोप लगाए । 'संविधान बन्न नदिने यथास्थितिवादी र पुराना संवादवादी हुन्,' वैद्यले भने, 'अझ भन्नुपर्दा जनताको संविधान बन्न नदिने कांगे्रस, एमाले र हाम्रै पार्टीको अभिजात वर्ग पनि हो ।' आफूहरूलाई शान्ति र संविधानविरोधीका रूपमा आफ्नै साथीहरूले दुष्प्रचार गरिरहेको र छापामार युद्घ गर्न थालिसके जसरी चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

'निश्चित रूपमा हामी शान्ति चाहन्छौं तर मुर्दा शान्ति होइन,' वैद्यले भने । पहिचानमा आधारित संघीयतासहित महिला, आदिवासी जनजाति दलितलगायतका अधिकार दिइएन भने त्यस्तो संविधान नस्वीकार्ने उद्घोष गर्दै वैद्यले त्यस्तो अवस्थ्ाामा आफूहरूले मोर्चाले अधिकारका लागि सबैलाई साथ दिने बताए । उनले संस्थापन पक्षप्रति लक्षित गर्दै ठूलो भएको दम्भ

प्रदर्शन नगर्ने चेतावनी दिए । 'इतिहासमा जसले ठूलो भन्दै त्यो सानो र सानोचाहिँ ठूलो हुन सक्छ,' उनले भने ।

माधव नेपालको सरकार जस्तै बाबुराम भट्टराई नेतृत्वको पनि 'कठपुतली' सरकार नै भएको वैद्यले आरोप लगाए । 'हामीले माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भन्यौं तर हाम्रै माओवादी नेतृत्वको सरकार पनि कठपुतली रहेछ,' उनले भने, 'किनभने कांग्रेस-एमालेलाई पनि उछिनेर बिप्पालगायत राष्ट्रघाती सम्झौता गर्‍यो ।'

 सभाको सुरुमै वैद्य पक्षीय सचिव सीपी गजुरेलले जनताको संविधान र स्वाधीनताको रक्षा गर्ने समूहका रूपमा आफूहरूको कार्यक्रम रत्नपार्कमा भएको घोषणा गरे । 'जनविरोधी र बाहिरी प्रभावको संविधान स्वीकार्नेहरू' को सभा अर्को ठाउँमा भएको उनले संस्थापन पक्षलाई आरोप लगाए ।

वैद्य पक्षीय मोर्चामा सहभागी अन्य ११ घटकका प्रतिनिधिले पनि सभामा सम्बोधन गरेका थिए । माओवादी छोडेर छुट्टै पार्टी बनाएका मातृका यादव पनि वैद्य पक्षीय मोर्चामा छन् । यादवले पनि सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचनामै धेरै समय खर्चिए । उनले नेता वैद्यलाई भने आफ्नो पनि गुरुका रूपमा चित्रण गरेका थिए । यादवले सम्बोधनका क्रममा दाहाल र भट्टराईलाई 'तँ' को भाषा र वैद्यलाई 'तपाईं' सम्बोधन गरेका थिए । 'प्रचण्डले मनमोहन सिंहको अगाडि आन्दोलन बेचिसकेको छ,' यादवले आरोप लगाए, 'प्रचण्डपथ अहिले चेकपथ भएको छ, ऊ प्रतिक्रियावादीको कित्तामा गइसकेको छ ।' उनले दाहाल परिवर्तन हुने अवस्था नरहेकाले अर्को पार्टी बनाउन वैद्यलाई आग्रह गरे ।

सभामा मोर्चामा आबद्घ एकीकृतका परी थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खगेन्द्र माखिम, ताम्सालिङ पार्टीका पर्शुराम तामाङलगायत वक्ताहरूले संघीयतासहितको संविधान जारी नभए आफूहरू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । झन्डै ३ घन्टा चलेको सभाको अन्त्यमा नेताहरूले १९५० को नेपाल-भारत मैत्री सन्धिदेखि अहिलेसम्म भएका विभिन्न राष्ट्रघाती सम्झौता खारेजीको माग राख्दै सभास्थलमै नाराबाजी र पुतला दहन गरेका थिए ।



पखाला लागेको भन्दै कतै गएनन् दाहाल



संस्थापन पक्षको कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने तय गरिए पनि अन्तिम समयमा परिवर्तन गरी भट्टराईलाई बनाइएको थियो । कार्यक्रम सञ्चालक नेवाः राज्य समिति सचिव नारायण दाहालले अध्यक्षलाई पखाला लागेकाले कार्यक्रममा आउन नसकेको जानकारी दिएका थिए । संस्थापनको कार्यक्रममा दाहालको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा लिइएको छ । अध्यक्ष नै पार्टीको अर्को समूहविरुद्ध सडकमा उत्रिएपछि झन् दूरी बढ्ने भएकाले कार्यक्रममा नआएको अधिकांशको अनुमान छ ।



प्रकाशित मिति: २०६८ चैत्र २५ ०८:३९

लडाकुको कर्णेल हुने दौड

गंगा बीसी
काठमाडौ, चैत्र २७ - माओवादीले सेना समायोजन निष्कर्षमा पुग्न लागेको भन्दै सैन्य इञ्चार्ज, लडाकु प्रमुख र पूर्वडेपुटी कमान्डरहरूलाई कर्णेल हुन जाने लडाकु चयन गर्न निर्देशन दिएको छ । समायोजनमा जाने लडाकुले एक कर्णेल र दुई लेफि्टनेन्ट कर्णेल पाउने करिब सहमति भएको भन्दै माओवादीले लडाकुको उमेर र शिक्षा हेरी उपयुक्त व्यक्ति चयन गर्न निर्देशन दिएको स्रोतले जनायो ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केही कमान्डरसहित स्थायी समितिको अनौपचारिक बैठकले लडाकु प्रमुख नन्दकिशोर पुन र प्रवक्ता चन्द्रप्रकाश खनाललाई उमेर र योग्यता हेरी कर्णेल हुने लडाकु छान्न निर्देशन दिएको हो । 'एक कर्णेल र दुई लेफि्टनेन्ट कर्णेल छान्न निर्देशन दिइएको छ,' स्रोतले भन्यो, 'शान्ति प्रक्रिया निष्कर्षमा पुग्नै लागेकाले यस्तो निर्देशन दिइएको हो ।'
माओवादीले समायोजनमा जाने ६ हजार ५ सय लडाकु छान्न कमान्डरहरूको बैठक सोमबारदेखि राजधानीमा बोलाएको छ । त्यसको जिम्मा लडाकु प्रमुख पुन, डेपुटी कमान्डर खनालका साथै सैन्य इञ्चार्ज वर्षमान पुन र पूर्वडेपुटी कमान्डरलाई बैठकले दिएको छ ।
प्रमुख राजनीतिक दलसँग भएको सहमतिअनुसार ६ हजार ५ सय लडाकु तोकिएको मापदण्ड पूरा गरी समायोजनमा जाने सहमति भएको थियो ।
लडाकुबाट कर्णेल हुने दौडमा डिभिजन कमान्डरहरू तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्की, सातांै डिभिजन कमान्डर सन्तु दराई, पहिलोका यमबहादुर अधिकारी र चौथो डिभिजन कमान्डर तेजबहादुर ओली छन् । मास्की, दराई र ओली पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
सैन्य इञ्चार्ज पुन र लडाकु प्रमुख नन्दकिशोर मास्कीलाई, अध्यक्ष पुष्पकमल दाहाल दराईलाई र लडाकु प्रवक्ता खनाल अधिकारीलाई 'फुल कर्णेल' बनाउने मनस्थितिमा छन् । छैटौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही अस्वस्थ, पाँचौं डिभिजन कमान्डर कालीबहादुर खाम निलम्बनमा परेका र दोस्रो डिभिजन कमान्डर सुकबहादुर रोकाले समायोजनमा जान अनिच्छा देखाएका छन् ।
सेना समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुबाट जाने एकजना कर्णेल रहने अनौपचारिक सहमति भएको माओवादीको दाबी छ । चार लडाकु कमान्डरका नाममा छलफल भए पनि अन्तिममा दाहालले चाहेको कमान्डरले कर्णेल हुने मौका पाउने छन् । उनले चाहेकै व्यक्ति परे भने लामो समय उनको सुरक्षामा खटिएका दराई कर्णेल हुनेछन् । मोरङको टाँडीमा रहेको शिविरमा केही लडाकुले अधिकारीलाई कर्णेल बनाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
कर्णेल हुने लडाकु चयन गर्ने विषयमा पार्टीभित्र विवाद नभएको माओवादीले जनाएको छ । 'कर्णेल हुने लडाकु चयन गर्ने विषयमा विवाद छैन,' एक माओवादी नेताले भने, 'अन्त्यमा पार्टीले जसलाई निर्णय गर्छ, त्यही हुनेछ ।'
स्थायी समितिको अनौपचारिक बैठकमा दाहालले समायोजनको ढाँचाअनुसार लडाकु समायोजनमा जाने उल्लेख गर्दै छिट्टै टुंगिने बताएका थिए । उनले समायोजनमा कांग्रेस सकारात्मक भए पनि एमालेले निहँु खोजेको बताएका थिए । 'सम्मानजनक समायोजनमा कांग्रेस सकारात्मक भए पनि एमालेले निहुँ खोज्छ,' दाहालको भनाइ थियो, 'तर अन्तिम समयमा एमालेले समायोजन रोक्न सक्दैन ।' उनले आगामी सेना समायोजन विशेष समिति बैठकले समायोजनको कुरा टुंग्याउने बताएको एक नेताले जनाए ।
बैठकपछि सैन्य इञ्चार्ज वर्षमान पुनले चैत ३० गतेभित्र लडाकुका शिविर खाली भई समायोजन सुरु हुने बताए । '३० गतेभित्र शिविर खाली हुनेछन्,' उनले भने, 'दर्जा निर्धारण लगभग अन्तिम अवस्थामा पुगेको छ ।'
प्रकाशित मिति: २०६८ चैत्र २७ ०८:४६

Wednesday, April 4, 2012

लडाकुहरूको समायोजन कार्ययोजन


माओवादी सेनाका लडाकुहरूको समायोजन कार्ययोजन                    






माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन पुनर्स्थापनसम्बन्धी
विशेष समिति
२०६८ चैत

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४६ बमोजिम गठित विशेष समितिको मिति २०६८।१२।२२ को निर्णयअनुसार माओवादी सेनाका लडाकुहरूको लागि समायोजनको कार्ययोजना र कार्यतालिका देहायबमोजिम तय गरिएको छ :
१.      समायोजनका लागि देहायबमोजिम केन्द्रहरू निर्धारण गरिएको छ:-
हाल मुख्य तथा सहायक शिविरहरूमा रहेका माओवादी सेनाका लडाकुहरूलाई समायोजन कार्यको लागि नेपाली सेनासग समन्वय गरी पायक पर्ने निम्नअनुसारका समायोजन केन्द्रहरू निर्धारण गरिएको छ ।
(क) अधिकृत तहका लागि: मध्य पृतनाअन्तर्गत शम्सेर दल गण,  भरतपुर
(ख) अन्य दर्जाको लागि:
                                I.            पूर्वी पृतना हेडक्वाटर, ईटहरी:               i.  चुलाचुली, ईलाम – मुख्य शिविर
                                                                                    ii.  टाँडी, मोरङ सहायक शिविर
                              II.            ९ नं बाहिनी अड्डा, सिन्धुली:                 i.  दुधौली, सिन्धुली – मुख्य शिविर
            ii.  बेलसोत, उदयपुर – सहायक शिविर
                            III.            मध्य पृतना, सुपारीटार, हेटौंडा:             i.  शक्तिखोर, चितवन – मुख्य शिविर
                                                                                    ii.  गैरीवारी, चितवन – सहायक शिविर
                           IV.            २२ नम्बर बाहिनी अड्डा, बुटवल:          i.  झ्यालटुङडाँडा, नवलपरासी – मुख्य शिविर
                                    ii.  हात्तिखोर, नवलपरासी – सहायक शिविर
                             V.            मध्य पश्चिम पृतना हेडक्वाटर, सुर्खेत:       i.  दशरथपुर, सुर्खेत – मुख्य शिविर
                                    ii.  लेखफर्स, सुर्खेत– सहायक शिविर
                           VI.            १९ नं बाहिनी अड्डा, दाङ:                      i.  दहवन, रोल्पा – मुख्य शिविर
                                    ii.  उवा, मसिना – सहायक शिविर
                         VII.            ५ नं बाहिनी अड्डा, तेघरी, कैलाली:           i.   तालबन्द,कैलाली– मुख्य शिविर
ii.            बढैपुर, कैलाली – सहायक शिविर
iii.          गोरङ्गे, कैलाली– सहायक शिविर
            पुनश्च:- नेपाली सेनाको प्रस्तावअनुसार समायोजन केन्द्रहरू थप हुन सक्नेछन् ।



२.      समायोजन प्रक्रियाको व्यवस्थापन देहायबमोजिम हुनेछ :
(क)        समायोजन केन्द्रसम्म लडाकुहरूलाई पु¥याउने व्यवस्था:
         समायोजन हुने लडाकुहरूको बन्दोबस्ती तथा व्यवस्थापन (यातायात, खाना तथा आवास) नेपाली सेनाको सम्बन्धित व्यारेकसग समन्वय गरी सचिवालय र शिविर व्यवस्थापनले मिलाउने ।
(ख)  भत्ता र रासनको व्यवस्था:
         समायोजन कार्य सम्पन्न नभएसम्म लडाकुहरूले साविकमा खाईपाई आएको भत्ता र रासन शिविर व्यवस्थापन कार्यालयहरूले सम्बन्धित व्यारेकलाई उपलब्ध गराउने ।
३.      लडाकु,  शिविर र हतियार सम्बन्धमा देहायबमोजिम हुनेछ:
समायोजन रोजेका तर स्वैच्छिक अवकाशमा जान चाहने लडाकुहरूलाई चेक वितरण गर्ने, पुनर्स्थापनमा जानेहरूलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मा दिने कार्य सम्पन्न गरी समायोजन प्रक्रियामा सहभागी हुने लडाकुहरू, शिविरहरू तथा सम्पूर्ण हतियारहरू नेपाल सरकार मातहत ल्याउने व्यवस्था मिलाउने ।
४.      समायोजनको प्रक्रियाबाट फर्किने लडाकुहरूको सम्बन्धमा देहायबमोजिम हुनेछ:
समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकुहरूलाई अन्य लडाकुसरह विकल्प रोज्ने अवसर दिइनेछ ।
५.     तालिम सञ्चालन देहायबमोजिम हुनेछ :
समायोजन छनौट प्रक्रिया परा गरी दर्जाअनुसार समायोजन प्रक्रियामा गएका अधिकृत तथा अन्य दर्जाका हकमा नेपाली सेनाका विभिन्न शिक्षालय,  तालिम केन्द्र,  पृतना, तालिम शिक्षालय, बाहिनी र गणहरूमा तालिम सञ्चालन गरिनेछ ।
६.      पदस्थापन: निर्धारित तालिमहरू सफलतापूर्वक सम्पन्न गरेकाहरूलाई दर्जाअनुसार पदस्थापन गरिनेछ।
७.     समायोजन कार्यसग सम्बन्धित सम्पूर्ण प्रक्रिया बारे सम्बन्धित सबै लडाकुहरूलाई पूर्व जानकारी गराने

८.      समायोजन कार्यको लागि प्रत्येक शिविरमा देहायबमोजिम जनशक्ति खटाइने छ :  
                (क)         सचिवालय सदस्य – १ वा २ जना
               (ख)         कर्मचारीहरूः
o    अधिकृतस्तर – ३ जना (करारसमेत)
o    लेखापाल – १ जना
o    कम्प्यूटर अपरेटर (करार) – ५ जना
o    सवारी चालक – १ जना
o    कार्यालय सहयोगी – १ जना
o    शिविरमा रहेका अनुगमन टोलीका कर्मचारीहरू
९.      स्वैच्छिक अवकाश र पुनर्स्थापनामा जाने लडाकुहरूको लागि विगतमा अपनाईएको निम्न विधिअनुरप नै कार्यसम्पादन गरिनेछ ।
                   (क)               नयाँ फारम भर्नुपर्ने
                  (ख)               पुरानो फिर्ता लिई नयाँ परिचयपत्र वितरण गर्ने
                   (ग)               चेक वितरण गर्ने
                   (घ)               बाटो खर्च वापतको रकम नगदै उपलब्ध गराउने
१०. तालिमको चरण देहायबमोजिम हुनेछः
                   (क)            आधारभुत तालिम (Basic Training):    छनौट चरण पार गरिसकेपछि अधिकृत र अन्य दर्जाको लागि छुट्टा-छट्टै तालिमहरू सञ्चालन हुनेछन् ।
                  (ख)            Rank Specific/Bridging तालिमः दर्जाअनुसारको नियुक्तिसम्बन्धी तालिम 
दिइनेछ                                              
११.     महानिर्देशनालयको गठन बारे आगामी बैठकबाट निर्णय गरिनेछ ।
१२.    दर्जा निर्धारणका सम्बन्धमा सात बुँदे सहमतिअनुरूप आगामी बैठकबाट निर्णय गरिनेछ ।
१३.    ब्रिजिङ कोर्स र तालिमको अवधि सम्बन्धमा अर्को बैठकबाट निर्णय गरिनेछ ।
१४.    छनोट समितिको गठन बारे अर्को बैठकबाट निर्णय गरिनेछ ।


१५.    समायोजन प्रक्रियाका लागि देहायबमोजिमको कार्यतालिका पारित गरियोः
कार्यतालिका
क्र.सं.
मिति / बार
कामको विवरण
स्थान
जिम्मेवार निकाय
२०६८।१२।२४,  शुक्रबार
काठमाडौंबाट प्रस्थान
मुख्य शिविर
सचिवालय टोली
२०६८।१२।२५,  शनिबार
१.       समन्वय
२.      शिविर पुग्ने र समन्वय
"          "
"               "
२०६८।१२।२६,  आइतबार
स्वैच्छिक अवका र पुनर्स्थापनाको कार्य प्रारम्भ
"          "
"               "
२०६८।१२।२७,  सोमबार
आइतबारको कार्यको निरन्तरता
"               "
"               "
२०६८।१२।२८, मङ्गलबार
सहायक शिविर प्रस्थान
सहायक शिविर
"               "
२०६८।१२।२९, बुधबार
स्वैच्छिक अवका र पुनर्स्थापनाको कार्य प्रारम्भ
"               "
"               "
२०६८।१२।३०, बिहीबार
बुधबारको कार्यको निरन्तरता
"               "
"               "
२०६८।१२।३०, बिहीबार
१.       शिविरको बर-बुझारथ
२.      हतियार कन्टेनरमा राख्ने
३.      हतियार कन्टेनरमा राख्ने
४.      हतियार र कन्टेनर नेपाली सेनालाई बुझाउने
५.     लडाकुहरू नेपाली सेनाको ब्यारेकतर्फ प्रस्थान
सहायक र मुख्य सहायक शिविर
मुख्य शिविर
मुख्य शिविर

मुख्य र सहायक शिविरबाट
सचिवालय,
सुरक्षा टोली,
लडाकु कमाण्डर



नेपाली सेना
"               "