Monday, April 9, 2012

माओबादीमा आआफ्नो दौड

काठमाडौ, चैत्र २४ -
माओवादीका लागि यस पटकको चैत २४ जनआन्दोलन दिवस तीतो दिनका रूपमा रह्यो । विगतमा एउटै मञ्चबाट 'क्रान्तिकारी' कुरा गर्ने माओवादी नेताहरूले यो वर्ष करिब ५ सय मिटर टाढाबाट छुट्टाछुट्टै सभा गरी एकअर्कालाई आरोप लगाए । संस्थापन पक्षले राजधानीको वसन्तपुरमा र उपाध्यक्ष मोहन वैद्य पक्षले साना पार्टीहरूसँग मोर्चा बनाई रत्नपार्कमा सभा गर्‍यो । विगतमा हजारौं सर्वसाधारण सडकमा उतारेको माओवादीको सभामा यसपल्ट कमै व्यक्ति सहभागी भए ।

दुवै पक्षका नेताहरूले अधिकांश समय अर्को पक्षलाई गाली गर्न खर्चिए । संस्थापनले वैद्य पक्षलाई जडसूत्रवादी, संकीर्णवादीको बिल्ला भिरायो भने वैद्य पक्षले संशोधनवादी, अवसरवादी र अभिजात वर्गको संज्ञा दियो । संस्थापनभन्दा वैद्य पक्ष बढी आक्रामक देखियो । वैद्यले भाषणको सुरुमै संस्थापनले पार्टी अनधिकृत रूपमा चलाएको आरोप लगाए । उनले संस्थापनलाई माओवादी पार्टी भन्ने हकसमेत नभएको बताए । वैद्यले यही अवस्थामा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै आवश्यक परे पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिए ।

वसन्तपुरमा बोल्ने संस्थापनका नेताहरू प्रधानमन्त्री बाबुराम भट्टराई र स्थायी समिति सदस्य वर्षमान पुनले वैद्य पक्षले हाल लिएको जनविद्रोह कार्यदिशा 'ठोस परिस्थितिको गलत विश्लेषण' भएको बताए । वैद्य पक्षले पहिल्यै कार्यक्रम घोषणा गरेपछि संस्थापनले पनि कार्यक्रम तय गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले नामै नलिई वैद्य पक्षले 'सशस्त्र युद्धको धङधङी' बकेको बताए । 'हाम्रा जडसूत्रवादी, संकीर्णवादी सोच राख्ने साथीहरूलाई सशस्त्र युद्धमा फर्किनुपर्छ भन्ने धङधङी छ,' उनले भने, 'सशस्त्र विद्रोह गरेर २० आंै शताब्दीमा क्रान्ति पूरा गर्न सकिने उहाँहरूमा सोच छ । प्रचण्ड, बाबुरामले धोका दिए भन्नु भावनात्मक आक्रोश हो ।'

उनले शान्तिपूर्ण आन्दोलनबाट पनि परिवर्तनलाई निष्कर्षमा पुर्‍याउन सकिने बताए । 'सशस्त्र होइन, शान्तिपूर्ण बाटोबाट परिवर्तनलाई निष्कर्षमा पुर्‍याउन सकिन्छ,' उनले भने, 'क्रान्ति र विद्रोह कसैको लहैलहैमा हँुदैन, परिस्थिति परिपक्व नभई विद्रोह गर्नु भनेको प्रतिक्रान्ति हो । यसो गर्नु भनेको १० महिनामा जन्मने बच्चा ५ महिनामै चाहियो भनेजस्तै हो ।'

वैद्य पक्षले लगाएको 'राष्ट्रघाती' को आरोपलाई भट्टराईले आफू थोत्रो राष्ट्रवादको पक्षमा नभएको जनाए । 'मुलुकलाई थोत्रो राष्ट्रवाद चाहिएको छैन, त्यो नक्कली राष्ट्रवाद हो,' उनको भनाइ थियो, 'मुलुकमा ठूला कारखाना खोलेर समृद्धितिर लानुपर्छ ।' शान्ति प्रक्रिया चैतभित्र सकिने र जेठ १४ भित्र संविधान बन्ने उनले बताए । 'अब बन्ने संविधान सम्झौताको बन्छ,' उनले भने, 'यो न हामीले भनेजस्तो जनवादी, न कांग्रेस-एमालेले भनेजस्तो संसदीय संविधान बन्छ ।'

उनले क्रान्तिको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै जनताका अधिकार संस्थागत नभएसम्म आन्दोलन जारी राख्ने जनाए । 'आन्दोलनको स्वरूप फेरिएको हो, सकिएको छैन,' उनले भने, 'जेठ १४ भित्र संविधान निर्माण गर्न दबाबमूलक कार्यक्रम आवश्यक छ ।'

स्थायी समिति सदस्य वर्षमान पुनले तुरुन्तै क्रान्ति गर्न खोज्नु भनेको पहरामा टाउको ठोक्काउनु जस्तै हो भन्दै वैद्य पक्षले मनोगत विश्लेषणका आधारमा जनविद्रोहको कुरा गरेको जनाए । 'सजिलै क्रान्ति गर्न सकिन्छ भन्ने सोच्नु पहरामा टाउको ठोक्काउनु हो,' उनको भनाइ थियो, 'कोठामा दुई-चार जना मान्छे बसेर अरूलाई गद्दार देखेर सराप्दैमा क्रान्ति हुँदैन ।'

ँकम्तीमा ६ हजार लडाकु समायोजन’ सेना समायोजन विशेष समिति सदस्यसमेत रहेका पुनले कम्तीमा ६ हजार लडाकु समायोजनमा जाने बताए । उनले लडाकुलाई विसर्जन गराएको वैद्य पक्षले आरोप लगाए पनि ती सबै भ्रम मात्र भएको टिप्पणी गरे ।

'अध्यक्ष र प्रधानमन्त्रीले जनमुक्ति सेनालाई विघटन गरे भन्नु भ्रम हो,' उनले भने, '६ हजार जनमुक्ति सेना समायोजन हुनेछन् । त्यसलाई जनमुक्ति सेनाले सम्मान गर्छ ।' दक्षिणपन्थी र उग्रवामपन्थी सोच भएको शक्तिले राजतन्त्र फर्काउने सोचाइ राख्नु भ्रमबाहेक केही नभएको उनले जनाए । 'जेठ १४ भित्र शान्ति र संविधान निष्कर्षमा पुग्नेछ,' उनले भने, 'कसैले धमिलो पानीमा माछा मार्न खोजेको छ भने त्यो असफल हुनेछ ।'



पार्टी बिगि्रए विद्रोह ः वैद्य

काठमाडौं- माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टीको नेतृत्व -अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई) को चर्को आलोचना गर्दै पछि नलाग्ने बरु विद्र्रोह गरेर अघि बढ्ने घोषणा गरेका छन् । जनआन्दोलन दिवसका अवसरमा वैद्य पक्षीय माओवादी नेतृत्वको संयुक्त संघर्ष समितिले राजधानीको रत्नपार्कमा गरेको सभालाई सम्बोधन गर्दै उनले १० वर्ष 'जनयुद्घ' गरे पनि फेरि २०४७ साल ब्युँताउने खेल भइरहेको बताए ।

 'नेतृत्व बिग्रेर गयो भने हामी सती जाँदैनौं, विद्रोह गर्छौं,' वैद्यले भने, 'हामीले जनयुद्घ गरेर पनि फेरि २०४७ सालमै घुम्दैछौं, अर्को धोका हुँदैछ ।' उनले नेतृत्वले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न खोजेको आरोप लगाए । 'पार्टीमा दुई लाइन संघर्ष, बहस चल्छ । जुन पक्षले विचार, सिद्घान्त र कार्यदिशा छोड्छ त्यसलाई पार्टीमा बस्ने हक हुँदैन,' वैद्यले संस्थ्ाापन पक्षतर्फ संकेत गर्दै भने, 'हामीले विचार, कार्यदिशा र सिद्घान्त छोडेका छैनौं, त्यसैले यो हाम्रो पार्टी हो ।' उनले पार्टीभित्र गलत वर्ग र विचार बढ्दै गएको उल्लेख गर्दै त्यसकै विरुद्घको विद्रोहको रूपमा जनआन्दोलन दिवसका अवसरमा शुक्रबार दुई कार्यक्रम भएको बताए ।

'आजको कार्यक्रम दुइटा हुनुको अर्थ छ,' वैद्यले भने, 'हाम्रो विचार समूहको पार्टीमा बढ्दै गएको गलत वर्गका विरुद्घ र दलाल, पुँजीपति र अभिजात वर्गविरुद्घ विद्रोह हो ।' सभामा उनले अरू दिनभन्दा संस्थापन पक्षविरुद्घ चर्को शैलीमा अभिव्यक्ति दिएका थिए । नेतृत्वले क्रान्तिलाई बीचैमा छोडेर हिँड्न खोजेपछि मृत्युपर्यन्त आफूहरूले क्रान्तिका झन्डा नझुकाउने वैद्यको भनाइ थियो ।

उनले जनताको संविधान बनाउने नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसमा कांग्रेस, एमाले र आफ्नै पार्टीको 'अभिजात वर्ग' संलग्न रहेको आरोप लगाए । 'संविधान बन्न नदिने यथास्थितिवादी र पुराना संवादवादी हुन्,' वैद्यले भने, 'अझ भन्नुपर्दा जनताको संविधान बन्न नदिने कांगे्रस, एमाले र हाम्रै पार्टीको अभिजात वर्ग पनि हो ।' आफूहरूलाई शान्ति र संविधानविरोधीका रूपमा आफ्नै साथीहरूले दुष्प्रचार गरिरहेको र छापामार युद्घ गर्न थालिसके जसरी चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

'निश्चित रूपमा हामी शान्ति चाहन्छौं तर मुर्दा शान्ति होइन,' वैद्यले भने । पहिचानमा आधारित संघीयतासहित महिला, आदिवासी जनजाति दलितलगायतका अधिकार दिइएन भने त्यस्तो संविधान नस्वीकार्ने उद्घोष गर्दै वैद्यले त्यस्तो अवस्थ्ाामा आफूहरूले मोर्चाले अधिकारका लागि सबैलाई साथ दिने बताए । उनले संस्थापन पक्षप्रति लक्षित गर्दै ठूलो भएको दम्भ

प्रदर्शन नगर्ने चेतावनी दिए । 'इतिहासमा जसले ठूलो भन्दै त्यो सानो र सानोचाहिँ ठूलो हुन सक्छ,' उनले भने ।

माधव नेपालको सरकार जस्तै बाबुराम भट्टराई नेतृत्वको पनि 'कठपुतली' सरकार नै भएको वैद्यले आरोप लगाए । 'हामीले माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भन्यौं तर हाम्रै माओवादी नेतृत्वको सरकार पनि कठपुतली रहेछ,' उनले भने, 'किनभने कांग्रेस-एमालेलाई पनि उछिनेर बिप्पालगायत राष्ट्रघाती सम्झौता गर्‍यो ।'

 सभाको सुरुमै वैद्य पक्षीय सचिव सीपी गजुरेलले जनताको संविधान र स्वाधीनताको रक्षा गर्ने समूहका रूपमा आफूहरूको कार्यक्रम रत्नपार्कमा भएको घोषणा गरे । 'जनविरोधी र बाहिरी प्रभावको संविधान स्वीकार्नेहरू' को सभा अर्को ठाउँमा भएको उनले संस्थापन पक्षलाई आरोप लगाए ।

वैद्य पक्षीय मोर्चामा सहभागी अन्य ११ घटकका प्रतिनिधिले पनि सभामा सम्बोधन गरेका थिए । माओवादी छोडेर छुट्टै पार्टी बनाएका मातृका यादव पनि वैद्य पक्षीय मोर्चामा छन् । यादवले पनि सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचनामै धेरै समय खर्चिए । उनले नेता वैद्यलाई भने आफ्नो पनि गुरुका रूपमा चित्रण गरेका थिए । यादवले सम्बोधनका क्रममा दाहाल र भट्टराईलाई 'तँ' को भाषा र वैद्यलाई 'तपाईं' सम्बोधन गरेका थिए । 'प्रचण्डले मनमोहन सिंहको अगाडि आन्दोलन बेचिसकेको छ,' यादवले आरोप लगाए, 'प्रचण्डपथ अहिले चेकपथ भएको छ, ऊ प्रतिक्रियावादीको कित्तामा गइसकेको छ ।' उनले दाहाल परिवर्तन हुने अवस्था नरहेकाले अर्को पार्टी बनाउन वैद्यलाई आग्रह गरे ।

सभामा मोर्चामा आबद्घ एकीकृतका परी थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खगेन्द्र माखिम, ताम्सालिङ पार्टीका पर्शुराम तामाङलगायत वक्ताहरूले संघीयतासहितको संविधान जारी नभए आफूहरू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । झन्डै ३ घन्टा चलेको सभाको अन्त्यमा नेताहरूले १९५० को नेपाल-भारत मैत्री सन्धिदेखि अहिलेसम्म भएका विभिन्न राष्ट्रघाती सम्झौता खारेजीको माग राख्दै सभास्थलमै नाराबाजी र पुतला दहन गरेका थिए ।



पखाला लागेको भन्दै कतै गएनन् दाहाल



संस्थापन पक्षको कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने तय गरिए पनि अन्तिम समयमा परिवर्तन गरी भट्टराईलाई बनाइएको थियो । कार्यक्रम सञ्चालक नेवाः राज्य समिति सचिव नारायण दाहालले अध्यक्षलाई पखाला लागेकाले कार्यक्रममा आउन नसकेको जानकारी दिएका थिए । संस्थापनको कार्यक्रममा दाहालको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा लिइएको छ । अध्यक्ष नै पार्टीको अर्को समूहविरुद्ध सडकमा उत्रिएपछि झन् दूरी बढ्ने भएकाले कार्यक्रममा नआएको अधिकांशको अनुमान छ ।



प्रकाशित मिति: २०६८ चैत्र २५ ०८:३९

No comments: