Friday, April 20, 2012

माओवादीमा कहाँ पुग्यो अन्तरसंघर्ष ?

काठमाडौ, वैशाख ८ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले सेना समायोजनका छलफलमा भाग लिन छाडेको धेरै समय भइसकेको छ । यो प्रक्रिया करिब टुंगिइसकेको अवस्थामा वैद्य पक्षको ध्यान संविधानतिर छ । संविधान निर्माणमा सशक्त सहभागिता जनाएर संस्थापनले लगाएको संविधानविरोधी आरोप खण्डन गर्न उक्त पक्ष चाहन्छ । त्यसैले गत साता वैद्यपक्ष हात्तीवन बैठकमा सहभागी पनि भयो ।
बैठकस्थलबाटै वैद्यपक्षीय स्थायी समिति सदस्य देव गुरुङले अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचान सहितको संघीयता छाड्न लागेको 'एसएमएस' गरी जातीय संगठनलाई जानकारी दिएको चर्चा पनि चल्यो । जसका कारण प्रमुख दलहरू पार्टीभित्रका जातीय सगठनसँग छलफल नगरी संघीयताबारे निर्णय नगर्ने निष्कर्षमा पुगे । यसमा वैद्यपक्ष सन्तुष्ट छ ।
सेना समायोजनबारे भन्दा पहिचानसहितको संघीयताको कुरा उठाउँदा विभिन्न जातीय संगठनहरूको समर्थन प्राप्त हुने विश्वास वैद्यपक्षको छ । यसको प्रतिवाद गर्न अध्यक्ष पुष्पकमल दाहालले बुधबार संस्थापनको प्रशिक्षणमा पहिचान र सामथ्र्यका आधारमा प्रदेश हुने बताए । पार्टी निर्णयविपरीत संस्थापनले प्रदेश घटाउन अनौपचारिक सहमति गरेको भन्दै वैद्यपक्षले आफ्नो समूहभित्र व्यापक छलफल सुरु गरेको छ । वैद्यपक्षीय सचिव सीपी गजुरेलले जनताको संविधान बनाउन आफ्नो पहल निरन्तर जारी रहने बताए । 'बन्छ भन्नेमा अझै शंका छ, उनले भने ।
देशव्यापी आन्तरिक प्रशिक्षण सकिसकेको वैद्य पक्षले जेठ १४ पछि के रणनीति अपनाउने भन्नेमा छलफल गरिरहेको स्रोतले जनायो । छुट्टै सांगठनिक संरचना र कार्यक्रम बनाए पनि ऊ तत्काल पार्टी नफुटाउने मनस्थितिमा पुगेको छ । उसले वैशाख ८ देखि जेठ १ सम्म दबाबमूलक कार्यक्रम घोषणा गरिसकेको छ ।
 आफ्ना तर्फबाट पार्टी फुटेको घोषणा नगरेपछि संस्थापन पक्ष कमजोर हुँदै जाने दाबी वैद्य पक्षको छ । सचिव गजुरेलले संस्थापन नै समानान्तर संगठन बनाउँदै हिँडेकाले आफ्नो पक्षसँग दूरी नघटेको जनाए । उनले भने, 'दूरी घट्नु र बढ्नु केही छैन ।' पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले अब माओवादी पार्टी नरहेको दाबी गरे । 'नयाँ पार्टी निर्माणको आवश्यकता टड्कारो छ,' उनले भने, 'सबै घटनाक्रमले अब माओवादी उही रहेन ।'
संस्थापन पक्षका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले वैद्यपक्षको कार्यक्रम प्रभावकारी नभएकाले नरम नीति अपनाउन बाध्य भएको आरोप लगाए । 'उहाँहरूले समानान्तर संगठन र कार्यक्रम गरिरहनुभएको छ,' उनले भने, 'यसले आफ्नो समूहभित्र झन् निराशा हालेको छ ।'
बैद्य पक्षले देशब्यापी प्रशिक्षण चलाएपछि संस्थापनले आन्तरिक रुपमा आफूलाई बलियो बनाउने कसरत जारी राखेको छ । वैद्य पक्षले उठाएका मुद्दालाई निस्तेज पार्ने संस्थापनको रणनीति हो ।
वैद्य पक्षलाई कारबाही गर्नु त परै जाओस्, कुनै विधिले नबाँधे पनि आफैं उदांगो हुँदै जाने भन्दै संस्थापनले खासै कदम चालेको छैन ।

प्रकाशित मिति: २०६९ वैशाख ८ ०८:५९

No comments: