Monday, April 9, 2012

लडाकुको कर्णेल हुने दौड

गंगा बीसी
काठमाडौ, चैत्र २७ - माओवादीले सेना समायोजन निष्कर्षमा पुग्न लागेको भन्दै सैन्य इञ्चार्ज, लडाकु प्रमुख र पूर्वडेपुटी कमान्डरहरूलाई कर्णेल हुन जाने लडाकु चयन गर्न निर्देशन दिएको छ । समायोजनमा जाने लडाकुले एक कर्णेल र दुई लेफि्टनेन्ट कर्णेल पाउने करिब सहमति भएको भन्दै माओवादीले लडाकुको उमेर र शिक्षा हेरी उपयुक्त व्यक्ति चयन गर्न निर्देशन दिएको स्रोतले जनायो ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केही कमान्डरसहित स्थायी समितिको अनौपचारिक बैठकले लडाकु प्रमुख नन्दकिशोर पुन र प्रवक्ता चन्द्रप्रकाश खनाललाई उमेर र योग्यता हेरी कर्णेल हुने लडाकु छान्न निर्देशन दिएको हो । 'एक कर्णेल र दुई लेफि्टनेन्ट कर्णेल छान्न निर्देशन दिइएको छ,' स्रोतले भन्यो, 'शान्ति प्रक्रिया निष्कर्षमा पुग्नै लागेकाले यस्तो निर्देशन दिइएको हो ।'
माओवादीले समायोजनमा जाने ६ हजार ५ सय लडाकु छान्न कमान्डरहरूको बैठक सोमबारदेखि राजधानीमा बोलाएको छ । त्यसको जिम्मा लडाकु प्रमुख पुन, डेपुटी कमान्डर खनालका साथै सैन्य इञ्चार्ज वर्षमान पुन र पूर्वडेपुटी कमान्डरलाई बैठकले दिएको छ ।
प्रमुख राजनीतिक दलसँग भएको सहमतिअनुसार ६ हजार ५ सय लडाकु तोकिएको मापदण्ड पूरा गरी समायोजनमा जाने सहमति भएको थियो ।
लडाकुबाट कर्णेल हुने दौडमा डिभिजन कमान्डरहरू तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्की, सातांै डिभिजन कमान्डर सन्तु दराई, पहिलोका यमबहादुर अधिकारी र चौथो डिभिजन कमान्डर तेजबहादुर ओली छन् । मास्की, दराई र ओली पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
सैन्य इञ्चार्ज पुन र लडाकु प्रमुख नन्दकिशोर मास्कीलाई, अध्यक्ष पुष्पकमल दाहाल दराईलाई र लडाकु प्रवक्ता खनाल अधिकारीलाई 'फुल कर्णेल' बनाउने मनस्थितिमा छन् । छैटौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही अस्वस्थ, पाँचौं डिभिजन कमान्डर कालीबहादुर खाम निलम्बनमा परेका र दोस्रो डिभिजन कमान्डर सुकबहादुर रोकाले समायोजनमा जान अनिच्छा देखाएका छन् ।
सेना समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुबाट जाने एकजना कर्णेल रहने अनौपचारिक सहमति भएको माओवादीको दाबी छ । चार लडाकु कमान्डरका नाममा छलफल भए पनि अन्तिममा दाहालले चाहेको कमान्डरले कर्णेल हुने मौका पाउने छन् । उनले चाहेकै व्यक्ति परे भने लामो समय उनको सुरक्षामा खटिएका दराई कर्णेल हुनेछन् । मोरङको टाँडीमा रहेको शिविरमा केही लडाकुले अधिकारीलाई कर्णेल बनाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
कर्णेल हुने लडाकु चयन गर्ने विषयमा पार्टीभित्र विवाद नभएको माओवादीले जनाएको छ । 'कर्णेल हुने लडाकु चयन गर्ने विषयमा विवाद छैन,' एक माओवादी नेताले भने, 'अन्त्यमा पार्टीले जसलाई निर्णय गर्छ, त्यही हुनेछ ।'
स्थायी समितिको अनौपचारिक बैठकमा दाहालले समायोजनको ढाँचाअनुसार लडाकु समायोजनमा जाने उल्लेख गर्दै छिट्टै टुंगिने बताएका थिए । उनले समायोजनमा कांग्रेस सकारात्मक भए पनि एमालेले निहँु खोजेको बताएका थिए । 'सम्मानजनक समायोजनमा कांग्रेस सकारात्मक भए पनि एमालेले निहुँ खोज्छ,' दाहालको भनाइ थियो, 'तर अन्तिम समयमा एमालेले समायोजन रोक्न सक्दैन ।' उनले आगामी सेना समायोजन विशेष समिति बैठकले समायोजनको कुरा टुंग्याउने बताएको एक नेताले जनाए ।
बैठकपछि सैन्य इञ्चार्ज वर्षमान पुनले चैत ३० गतेभित्र लडाकुका शिविर खाली भई समायोजन सुरु हुने बताए । '३० गतेभित्र शिविर खाली हुनेछन्,' उनले भने, 'दर्जा निर्धारण लगभग अन्तिम अवस्थामा पुगेको छ ।'
प्रकाशित मिति: २०६८ चैत्र २७ ०८:४६

No comments: