Monday, May 12, 2014

भट्टराई बुर्जुवाकरण हुँदै गएको प्रचण्डको आरोप


UCPN Maoist

काठमाडौं, वैशाख २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहमतिमा ल्याउन 'गोलमेच सम्मेलन' गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले मोहन वैद्य नेतृत्वको माओवादीलाई सहमतिमा ल्याए मात्र संविधान लेखन सहज हुने जनाए ।
'उहाँहरू (वैद्य) ले गोलमेच सभाबाट संविधानको अन्तरवस्तुमा सहमति भयो भने संविधान बनाउने कुराको विरोधी होइनौं भनिरहेको स्थिति छ । शान्ति सम्झौताको हस्ताक्षरकर्ता, परिवर्तनको प्रमुख नेता हुनुको नाताले सबैलाई समेटौं र संविधान बनाऔं, कसैलाई पाखा लगाउने, कसैलाई धकेल्दिने नगरौं,' उनले भने, 'यो कुरालाई सकरात्मक रूपमा किन हेरिँदैन ? परिवर्तन संस्थागत गर्ने, शान्ति प्रक्रिया टुंग्याउने र संघीय गणतन्त्रको संविधान बनाउने कुरा गर्दा किन आरोपित गरिन्छ ?'