Monday, May 12, 2014

भट्टराई बुर्जुवाकरण हुँदै गएको प्रचण्डको आरोप


UCPN Maoist

काठमाडौं, वैशाख २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहमतिमा ल्याउन 'गोलमेच सम्मेलन' गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले मोहन वैद्य नेतृत्वको माओवादीलाई सहमतिमा ल्याए मात्र संविधान लेखन सहज हुने जनाए ।
'उहाँहरू (वैद्य) ले गोलमेच सभाबाट संविधानको अन्तरवस्तुमा सहमति भयो भने संविधान बनाउने कुराको विरोधी होइनौं भनिरहेको स्थिति छ । शान्ति सम्झौताको हस्ताक्षरकर्ता, परिवर्तनको प्रमुख नेता हुनुको नाताले सबैलाई समेटौं र संविधान बनाऔं, कसैलाई पाखा लगाउने, कसैलाई धकेल्दिने नगरौं,' उनले भने, 'यो कुरालाई सकरात्मक रूपमा किन हेरिँदैन ? परिवर्तन संस्थागत गर्ने, शान्ति प्रक्रिया टुंग्याउने र संघीय गणतन्त्रको संविधान बनाउने कुरा गर्दा किन आरोपित गरिन्छ ?'
उनले विदेशी शक्तिले एमाओवादीलाई राजनीतिक प्रक्रियाबाट पर धकेल्ने खोजेको आरोप लगाए । 'केही विदेशी शक्ति र यथास्थितिवादी शक्तिहरूले साँच्चै संविधान बन्न दिन चाहेका छैनन् । एमाओवादीले संविधान बनाउन लागेको र शान्ति प्रक्रिया टुंग्याउन लागेकाले बदनाम गर्न त खोजेको होइन ? परिवर्तनलाई पन्छाउन खोज्ने हावी हुँदैछन्,' उनको आक्रोश थियो, 'एमाओवादीलाई राजनीतिक भूमिकाबाट पन्छाइदिने, पर धकेल्ने प्रयास देखिएको छ । एमाओवादीलाई माइनस गरे, त्यो दुर्भाग्य हुन्छ ।'
माओवादीसँगको एकताले संविधान निर्माण प्रक्रियामा असर पर्छ भन्ने प्रश्नमा दाहाल आक्रोशित बने । 'उहाँहरूसँग एकता गर्नु भनेको शान्ति र संविधान नबनाउन खोज्नु भनिएको छ । त्यो विल्कुल अहिलेको राजनीतिक जटिलता नबुझ्ने, कम्युनिस्ट विभाजन, रूपान्तरण नबुझ्नेको कुरा हो,' उनले भनाइ थियो, 'वैद्यजीसँग एकता तुरुन्तै भइहाल्छ भनेको होइन । शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले संविधान बनाउने प्रक्रियामा परिवर्तन संस्थागत गर्नुपर्ने भएकाले वैद्यजीहरूले सर्वदलीय सम्मेलन भनिराख्नुभएको छ । कार्यगत एकता गर्न एमाओवादीले संविधानसभा छाड्नुपर्छ भन्ने उहाँहरूको भनाइ छैन ।'
उनले शान्ति र संविधान निर्माण प्रक्रियामा सदन र सडकबाट संघर्ष गर्ने बताए । 'शान्ति र संविधानका लागि संघर्ष गर्ने कुरामा कुनै अलमल छैन,' उनले भने, 'क्रान्तिकारी पार्टी बनाएरै शान्ति र संविधानको सफल पार्ने भनेको हो ।'
'बाबुरामजीसँग सहमति हुन्छ'
अध्यक्ष दाहालले भट्टराई पक्षका १५ नेताबिना ८४ सदस्यीय केन्द्रीय समिति गठन गरे पनि भट्टराईसँगको सहमतिमा १ सय ५१ पुर्‍याउने दाबी गरे । भट्टराईकै सहमतिमा प्रस्तावित १५ जनाको नाम हटाएको दाबी गर्दै उनले विवादबारे करिब २५ मिनेट स्पष्टीकरण दिएका थिए ।
'केन्द्रीय समिति पनि अन्ततः एकमतले पारित भएको हो । पार्टी एकता बचाएर आएको छ,' उनले भने, 'बाबुरामजीसँग सहमति हुन्छ किनभने ५२ जना थप्ने बेला मिलाइन्छ ।'
भट्टराईसँग सहमतिको कुरा गरे पनि आफ्नै ढंगले अघि बढ्न चाहेको संकेत दाहालले दिए । 'आफ्नो नाम हटाएर पेस गर्नुस् भन्नुभयो, बाबुरामजीले । मैले बस्दिनँ भनेकालाई पनि राखेर पेस गर्छु भनें,' उनले थपे, 'त्यसो भए अध्यक्षले आफ्नो इच्छाअनुसार फुल हाउसमा पेस गर्ने सहमति भएको हो । उहाँहरूको सहमतिले लिस्टबाट नाम हटाउने कुरा भएको हो । अहिले अन्त, अन्त कतै सिङ पलायो, जुरा हाल्यो भने म जान्दिनँ ।' उनले महाधिवेशन पार्टीका लागि कोसेढुंगा सावित भएको बताए ।
पत्रकार सम्मेलनमा उनले वैचारिक राजनीतिक र सांगठनिक हिसाबले पार्टीले नयाँ उचाइ प्राप्त गरेको दाबी गरे । 'हाम्रो मूल लाइनमा विवाद भएको होइन,' उनले भने, 'बरु संगठन जस्तो हुनुपथ्र्यो, त्यो हुन सकेन ।' उनले भट्टराई पक्ष 'इमानदार कम्युनिस्ट' नभएको संकेत गरे । 'इमानदार कम्युनिस्ट हुने हो भने जनवादी केन्द्रीयता सम्भव छ,' उनले भट्टराईको आन्तरिक लोकतान्त्रीकरणबारे भने, 'आत्मकेन्द्रित भइयो भने आन्तरिक लोकतान्त्रीकरणको कुरा बढी हुन्छ । कम्युनिस्ट बिग्रेपछि बुर्जुवा हुन्छ ।' उनले भट्टराई बुर्जुवाकरण हुँदै गएको संकेत गर्दै आएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2071/1/28/full-story/388988.html#sthash.EcJIh0KA.dpuf

No comments: