Thursday, March 9, 2017

यो दुब्लो ज्यान




फाल्गुन १४, २०७३- मेरी आमा भन्नुहुन्छ, ‘यो सानो हुँदा यसको भुँडीका रोटीका टुक्राको छाया देखिन्थ्यो ।’ यसबाटै थाहा हुन्छ, सानो छँदा म कति दुब्लो थिएँ भनेर । कुवापानी टोलको सबभन्दा च्याँसे पनि मै थिएँ । म लिखुरे भएकै कारण धेरैले भन्थे, ‘यो धेरै दिन बाँच्न मुस्किल छ ।’ कतिले मेरै सामुन्ने त्यसो भन्दा निकै डर लाग्थ्यो । यस्तै केही कारणले पनि हुन सक्छ, मलाई घरमा सबभन्दा बढी माया गर्थे । माया पाएर म पुलपुलिएको थिएँ ।


हाम्रो किसान परिवारमा अरू दाजु, दिदीले घरमा निकै काम गर्नुपथ्र्यो । म साह्रै दुब्लो भएकाले काम गर्न सक्दैनथें । काम गराउने दुस्साहस पनि कसैले गरेनन् । मेरो काम घरमा बसेर बदमासी गर्ने हुन्थ्यो । कहिले बारीका सुन्तलाका बिरुवा काट्ने, कहिले रेडियोभित्र के छ भनेर खोल्ने, अरू के के बदमासी गर्ने । बदमासी गरे पनि अरूभन्दा कम पिटाइ खानुपथ्र्यो । त्यो मेरो सुविधा थियो ।
सानो छँदा मलाई असाध्यै माया गर्ने रोग थियो, पखाला । जहिलै हैरान । कति पटक त कट्टु पनि बाँकी रहेन । तैपनि प्रकृतिले साथ दिएका कारण ज्यानलाई केही भएन । सिर्फ दुब्लो बनायो । टोलमा सबै बलिया केटाकेटी थिए । बाआमालाई खेती किसानीको काममा सघाउन भारी बोक्थे । खेत जोत्थे । आफू भने मरनच्याँसे, त्यस्तो काम केही गर्न नसक्ने । बाआमाले आफूले दु:ख पाएर भए पनि मलाई माफ गरिदिएका थिए । यसले खेती गरेर, भारी बोकेर खान सक्दैन भनेर मलाई स्कुल भर्ना गरिदिए भन्ने सुनाइएको थियो । त्यसपछि मैले काम पाएँ । सरकारले नि:शुल्क दिएका किताब खुरुखुरु पढ्ने । अरू काम नभएपछि मेरो कामै पढ्ने भयो । अनि अरू नपढ्नेबीच प्रथम भइयो एक कक्षामा । लाटो देशको के जाति तन्नेरी भनेजस्तै मेरो महत्त्व ह्वात्तै बढ्यो घरमा । तैपनि त्यति बेलासम्म पढेर चिठीपत्र लेख्ने र पढ्ने मात्र काम हो भन्ने बुझाइ थियो गाउँमा । यसले काम गरेर खान सक्दैन, पढेर जागिर पनि पाइँदैन, के गर्ला ? भनेर मप्रति टीठ मान्नेहरू धेरै थिए । त्यति खेर दुब्लो मान्छेले काम गरेर खाना सक्दैन भन्ने आम बुझाइ थियो । जसको भुँडी ठूलो हुन्थ्यो, उसको साना नै बेग्लै । प्राय: हुनेखानेको भुँडी लागेको हुन्थ्यो । 
०००
म पाँच कक्षा पढ्ने बेला एक जना आफन्त हाम्रो घरमा आए । उनले मेरा हात समातेर भन्न थाले, ‘यी सिन्का हातले कसरी हलो जोत्लान्, कसरी बारी खन्लान् ? यी सिन्काजस्ता खुट्टाले कसरी भारी बोक्लान् ?’ मलाई यो कुरा सुनेर झनक्क रिस उठ्यो तर केही बोल्न सकिनँ । म पढाइमा राम्रो भए पनि ममाथि धेरैको विश्वास थिएन । पहाडमा राम्ररी हलो जोत्न नसके, बारी खन्न नसके, भारी बोक्न नसके, सल्याउन वा सुर्खेतबाट खाने नुन बोक्न नसक्नेको घर राम्ररी नचलेको मैले दखेको थिएँ । ती आफन्तको कुरा सुनेर मलाई आफू निकै कमजोर भएको महसुस गरें । कसैले नदेख्ने गरी रोएँ । किनकि मेरो दुब्लापातलो ज्यानलाई हिम्मत दिने कोही थिएन । मेरासामु चुनौती थियो, दुब्लो ज्यान कसरी पाल्ने ? म प्राथमिक तहमा पढ्ने बेला गाउमा कसैले पनि जागिर खाएको थिएन, पढाउने शिक्षकहरू अन्तै गाउँबाट आएका थिए । त्यसकारण पनि दुब्लो ज्यानले जागिरको आशा गर्ने कुरै थिएन । 
स्कुलमा हुने ककफाइटलगायत खेलमा म जहिले पनि पछारिने । दौड प्रतियोगितमा पछिपछि । गाउँमा कम्तीमा तीन किलोग्रामको ढुंगा फ्याँक्ने खेल (छेलो) भइरहन्थ्यो, विशेषगरी बलबाट जतिसक्यो टाढा फ्याँक्ने त्यो खेलमा मैले जित्ने कुरै थिएन । मेरो दुब्लो ज्यान बलले गर्ने कुनै काममा अग्रता लिन नसके पछि चिन्ता लाग्नु स्वाभाविक थियो । यतिसम्म कि ठूलो घाँसको भारी बोक्ने केटाकेटीको राम्रै चर्चा हुन्थ्यो गाउँमा । 
०००
 ज्यान मोटाउन के के गरिएन, खोरबाट चोरेर कुखुराको काँचो अण्डा खाइएन कि ? दूध, दहीको तर निकालेर भ्याइएन कि ? बेच्न तयार पारिएको घिउमा औंला हालिएन कि ? तर मरिगए ज्यान मोटाएन । 
उमेर बढ्दै जाँदा मेरो ज्यान बाँसजस्तो अग्लो मात्र देखियो । जीउमा मासु निकै दुर्लभ । युवा अवस्थामा मान्छे मोटाउँछ भनेर सान्त्वना पाएपछि मन खुसी हुन्थ्यो । बिस्तारै ज्यान युवा अवस्थामा प्रवेश गरे पनि पाखुरा, तिघ्रा बढेनन् । अरू जेजस्तो भए पनि पढाइमा कहिलै ब्रेक लागेन । किनकी मेरा बा आमाले मलाई घरको काममा लगाएनन्, मेरो कामै पढ्ने थियो । सायद, दुब्लो ज्यानको छोरो राम्ररी पढेकोमा सन्तोष लाथ्यो उनीहरूलाई । मेरा बाले पढेर खाओस् भनेर होइन, उत्साह पढाउन जहिले पनि कापी, कलम, मसीको अभाव हुन दिएनन् । यो मेरा लागि पढ्ने ठूलो अवसर थियो । किनकि ५० को दशकमा हाम्रो गाउँमा पढाउन खासै प्रेरित गर्ने चलन थिएन । यो ज्यानले दैनिक छ घण्टा टाढा स्कुल हिँडेर एसएलसी पास गर्‍यो । त्यति बेला हाम्रो परिवारका लागि खुसीको कुरा थियो । दाइको पढाइ मभन्दा पछि थियो, उनले पछि एसएलसी पास गरें । ज्यान भने उस्तै दुब्लो । त्यस्तो ज्यानले खेतीपाती गरेर खाने हिम्मत थिएन । उपाय थियो, अघि पढ्ने ।
०००
एसएलसीको गौंडा काटेपछि अलि कुरा बुझ्न थालियो । अलि बढी पढेपछि शिक्षकको जागिर कसो नपाइएला भन्ने आँट आउन थाल्यो । मेरो मोटा जीउका अधिकांश साथीहरूले बीचमै पढाइ छाडेर भारत कालापहाड गइसकेका थिए । उनीहरू दसैं, तिहारमा राम्रै कमाइ लिएर गाउँ आउँथे, बाजा (टेपरेकर्डर) बजाएर आउँथे । गाउँमा उनीहरूको सान नै बेग्लै । उनीहरूको झिल्केपन देख्दा लोभ लाग्थ्यो । कालापहाड गएर भारी बोक्ने र पैसा कमाउने आफ्नो ज्यान थिएन । दाङमा महेन्द्र क्याम्पस भर्ना भएपछि पनि दुब्लो ज्यानको टिप्पणी हुन छाडेन । कक्षामा सम्भवत: सबभन्दा पातलो म नै थिएँ । मलाई चिन्ने तरिका पनि पातलो ज्यान थियो । बीए पढ्दै गरेको बेला घरबेटीका छिमेकीले समेत ज्यान देखेर टिप्पणी गर्न भ्याएछन्, ‘त्यो दुब्लो केटाले बीए पढ्ने हो र ?’ हेर्नुस् पातलो ज्यानको पीर–मर्का ।
पातलो ज्यानले बिहे गर्न मुस्किल हुन्छ भनेर गाउँमा त्यति बेलै सुनेको हो । दुब्लो ज्यानलाई केटीले पत्याउँनदैनन् भनिन्थ्यो । अलिअलि मनमा चस्का पसेको हो त्यो कुरा । तर बिहे गर्ने ठूलो चिन्ता थिएन । किनकि त्यस बेला कांग्रेस नेता कृष्णप्रसाद भट्टराईबारे अलिअलि सुनेका थियौं । समय र परिस्थितिले बिहे नै नगरी बस्ने अवस्था भने सिर्जना गरेन । केहीले भन्थे, बिहे गरेपछि ज्यान लाग्छ । मलाई त्यो सिद्धान्त लागू भएन । कारण मलाई थाहा छैन । भेट्ने जो कोहीले भन्थे, ‘अलि मोटाउनुपर्‍यो ।’ बेलाबेला झोंक चल्थ्यो,  ‘मलाई मोटाएर पृथ्वीको भार हुनु छैन ।’ कीर्तिपुरमा एमए पढ्ने बेला नेवार घरबेटी दिदीले मेरो ज्यान देखेर भनिन्, ‘यो गंगा त खान नपाको जस्तो छ । अलि धेरै खानुपर्‍यो । अनि मोटाइन्छ ।’ खान त खाएकै हो । ‘भोकै बसेको हो र ?’ मेरो उत्तर थियो । तर मनमा मोटाउने रहर थियो । अहिले भने त्यो रहर छैन । अहिले मेरा केही साथी १ सय १० किलोग्रामसम्म वजनका छन् । मेरो त्यसको आधाभन्दा कम । अधिकांश मेरा साथी मेरोभन्दा धेरै वजनका छन् । सहअस्तित्व जमेकै छ ।
पत्रकारिता सुरु गरेपछि सहकर्मीको व्यंग्यमा आजका मितिसम्म पनि परिरहेको छु । कतिले मलाई दुब्ला पातला क्लब (डीपीसी) को अध्यक्ष बनाउनसमेत भ्याए । केहीले सिन्का संघको संयोजक तोके । हाल दुब्लापातला साथीहरूले दुब्ला पातला क्लब (डीपीसी) को सल्लाहकार भन्छन् । अहिलेचाहिं मलाई यस्तो भन्दा रिस उठ्दैन, रमाइलै लाग्छ । किनकि मैले मोटा साथीहरूको हविगत देखेको छु । ज्यान भुँडी घटाउन जति मिहिनेत गर्दा पनि असफल भएका छन् । कुनै बेला दुब्लो भएकोमा व्यंग्य कस्नेहरू नै भन्छन्, ‘तपाईंको जस्तो ज्यान राम्रो हो ।’ 
करिब चार वर्षअघि कान्तिपुर पब्लिकेसन्समा स्वास्थ्य शिविर भएको थियो । ज्यानको जाँच गराएका करिब तीन सयमध्ये अधिकांश सहकर्मीलाई डाक्टरले तौल घटाउन सिफारिस गरेका थिए । तर, म मात्रै त्यस्तो व्यक्ति हुँ, जसलाई डाक्टरले धेरै खान सिफारिस गरेका थिए । यो देखेर साथीहरूले फेरि व्यंग्य कँस्न सुरु गरे, दुर्लभ मनुष्य । 
नेपालीको औसत आयु बढेसँगै मोटाउने क्रम पनि बढेको छ । भ्यात्त भुँडी लाग्नेहरू आधाभन्दा धेरै छन् । अस्पतालमा नियमित जानेहरूमा दुब्लापातलाभन्दा मोटाहरू नै धेरै छन् । कुनै बेला मलाई मोटाउने रहर भएजस्तै उनीहरूलाई दुब्लाउने ठूलो रहर छ । आखिर रहर सजिलै कहाँ पूरा हुन्छ ?

फाल्गुन १४, २०७३



Published in Kantipur daily