Thursday, June 19, 2014

एमाओवादीमा क्यासको अभाव

काठमाडौ, असार ५ - -    पार्टी तेस्रो स्थानमा झरेपछि आम्दानी र सहयोग ह्वात्तै घट्यो
-    नेताहरूलाई खर्च चलाउन हम्मे-हम्मे
-    'आर्थिक दुःख’ पर्दा दाहाल निवास धाउनेहरू थुप्रै  
-    भट्टराईले समेत खर्च चलाउन 'दाहालबाटै लिने’
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भए पनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले 'सस्तो प्रचार' भने पनि खर्च अभावले नेताहरू छटपटिन थालेको स्रोतले बतायो ।
संविधानसभामा तेस्रो पार्टीमा झरेपछि एमाओवादीको वैधानिक आम्दानी ह्वात्तै घटेको हो । पहिलो संविधानसभामा २ सय ४० सभासदबाट मासिक १० हजारका दरले लेबी लिइन्थ्यो । हाल ८० सभासदबाट मासिक १२ हजार लिइन्छ । उसको देखिने आम्दानी यति मात्र हो । यो रकम केन्द्रीय कार्यालय र कार्यरत कर्मचारीका लागि खर्च हुन्छ । कहिलेकाहीं केही नेतालाई खर्च पनि दिइन्छ तर अधिकांश नेताले खर्च आफैं व्यवस्थापन गर्दै आएका छन् । 'निर्वाचनमा पार्टी तेस्रो भएपछि आर्थिक स्रोत पनि सुक्दै गएको छ,' स्रोतले भन्यो ।