Saturday, March 31, 2012

मोहन वैद्यको शक्ति कति ?



काठमाडौ, चैत्र १८ - चारिक लडाइँमा अल्पमत/बहुमतको खास महत्त्व हुँदैन । बहुमत छ कि छैन भन्ने मुख्य कुरा होइन, विचार सही छ कि छैन भन्ने मुख्य प्रश्न हो,' माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले पार्टीमा बहुमत/अल्पमतको कुरा उठ्दा यस्तो तर्क गर्छन् । दाहाल र भट्टराई मिल्दा पार्टीमा स्पष्ट बहुमत भएकाले वैद्य पक्षले विचारलाई जोड दिन थालेको हो ।
पार्टी केन्द्रीय समिति र संसदीय दलमा करिब ३५ प्रतिशत पकड भए पनि अलग्गै 'क्रान्तिकारी' पार्टी गठन गरी 'जनविद्रोह' मा जान सकिने वैद्य पक्षको विश्वास छ ।
संस्थापन (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई) पक्षसँग चर्को राजनीतिक र वैचारिक मतभेद भएपछि वैद्य पक्ष बहुमत जुटाउनुभन्दा आफ्नो जनविद्रोहको कार्यदिशालाई सुरक्षित बनाउने बाटोमा अघि बढेको छ । संस्थापनले संसद्वादी दलसँग आत्मसमर्पण गरेको भन्दै वैद्य पक्ष जनविद्रोह वा अर्को कुनै युद्धको तयारीमा जुटिसकेको पछिल्लो प्रमाण हो, भ्रष्टाचारी र सामन्तवादीलाई कारबाही गर्ने तयारी । आफूले भनेजस्तो 'जनसंविधान' नबन्ने निष्कर्षमा पुगेपछि उनीहरू जनसत्ता ब्युँताउने, सैन्य संगठन बनाउने तयारीमा जुटेका छन् ।
संविधान बन्ने निश्चित भए जेठ १४ कै आसपासमा वैद्य पक्षले भ्रष्टाचारी र सामन्तको पहिचान र घोषणा गर्दै कारबाही गर्ने रणनीति बनाएको स्रोतले जनाएको छ । सुरुमा नयाँ संविधान जलाएर विद्रोहको थालनी गर्ने, विभिन्न क्षेत्रमा प्रदर्शन गर्ने र त्यसमा राज्यको तर्फबाट दमन भएमा प्रतिरोधमा उत्रने उसको तयारी छ । विभिन्न जाति, क्षेत्रका कुरा संविधान नसमेटिएको भन्दै सबै असन्तुष्ट पक्षलाई समेटेर विद्रोहको थालनी गर्न सकिने विश्वास पनि वैद्य पक्षको छ । त्यसको तयारीका लागि उसले हालै देशव्यापी प्रशिक्षण चलाएको छ भने 'जनसंविधान' को पक्षमा भन्दै अभियान चलाएको छ ।
माओवादीले २०५०/५१ तिर चलाएजस्तो सांस्कृतिक अभियान पनि उसले देशव्यापी रूपमा चलाइसकेको छ, जसमा 'जनविद्रोह' प्रमुख प्रस्तुतिमा राखेको छ । वैद्य पक्षको राजनीतिक दस्तावेज, गतिविधि हेर्दा दलीय छलफलमा सहमति गर्न खोजिएको स्वरूपको संविधान स्वीकार गर्ने सम्भावना एकदम कम छ । अब बन्ने संविधान स्वीकार नगर्ने उसले स्पष्ट संकेतसमेत दिइसकेको छ । शुक्रबार अन्तिम चरणमा पुगेको सेना समायोजन प्रक्रियालाई पनि वैद्य पक्षले मान्यता दिएका छैनन् ।
पछिल्लो पटक प्रमुख दलबीच शान्ति र संविधान निर्माणका विषयमा हुने छलफलमा वैद्य पक्ष जानै छाडेको छ । यो प्रक्रियामा पूरै विमति राखेका छन् । वैद्य पक्षीय पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोला संस्थापन पक्षबाट 'जनसंविधान' बन्ने आशा निकै कम भएको बताउँछन् । 'अहिले प्रकृति हेर्दा 'जनमुखी' संविधान बन्ने सम्भावना देखिँदैन,' उनले कान्तिपुरसँग भने, 'हाम्रो बहस तुरुन्त पार्टी फुटाइहाल्ने, बन्दुक बोकिहाल्ने र जनविद्रोहमा गइहाल्ने भन्ने होइन । जनसंविधान बन्नुपर्छ भन्ने हो ।'
आफूले भनेजस्तो 'जनसंविधान' बनेन भने विद्रोह गर्ने पार्टीकै आधिकारिक नीति भएको उनको भनाइ छ । '२०४७ सालको संविधान दोहोर्‍याएर ल्याए विद्रोह गर्ने कि नगर्ने ?' उनले भने, 'त्यसो भए विद्रोह गर्ने पार्टीको आधिकारिक लाइन हो ।' अर्का केन्द्रीय सदस्य महेन्द्र पासवानले दाहाल र भट्टराईले 'जनता र राष्ट्रको एजेन्डा छाडेकाले' सँगै जाने अवस्था न्यून हुँदै गएको बताए ।
पार्टी एक हुने करिब आस मारिसकेको वैद्य पक्षले समानान्तर संरचना मात्र बनाएको छैन, देशव्यापी रूपमै छुट्टै पार्टी कार्यालय खडा गरी कार्यक्रम अघि
बढाएको छ । जसअनुसार उसले कमान्ड तोकी इन्चार्जसमेत तोकेको छ । पूर्वी इन्चार्जमा सीपी गजुरेल, मध्यमा महासचिव रामबहादुर थापा र पश्चिममा स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई जिम्मा दिएको छ । उसले तीनवटै क्षेत्रमा छुट्टै प्रशिक्षण चलाउँदै 'जनविद्रोह' का लागि सबै तयारी गर्न निर्देशन दिइसकेको छ ।
संसदीय दल प्रमुख सचेतक वैद्य पक्षीय देव गुरुङ छन् । त्यस्तै भ्रातृ संगठनहरू महिला, दलित, शिक्षक, सांस्कृतिक, उद्योग, कर्मचारी, पत्रकार र खेलकुद अध्यक्ष पनि वैद्य पक्षीय छन् । विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, प्रवास, प्राध्यापक अध्यक्ष संस्थापन पक्षका छन् ।
 हाल वैद्य पक्षसँग १ सय ४९
मध्ये ४४ जना केन्द्रीय सदस्य चुस्त छन् भने उसले थप चार जना पनि आफूसँग रहेको दाबी गरेको छ । पोलिटब्युरो सदस्य बास्तोलाले केन्द्रीय समितिमा ३९ देखि ४५ प्रतिशतसम्म आफ्नो पक्षमा भएको दाबी गरे । संस्थापनले भने वैद्य पक्षसँग करिब ३० प्रतिशतभन्दा कम केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । माओवादीका २ सय ३६ सांसदमध्ये वैद्य पक्षसँग करिब ७२ जना छन् । दुवै पक्षले कतै नलागेका सांसदहरू आफ्नो पक्षमा भएको दाबी गर्दै आएका छन् ।

वैद्य पक्षमा को को ?
केन्द्रीय सदस्यहरू
उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल, स्थायी समित सदस्यहरू देव गुरुङ, नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्यहरू पम्फा भुसाल, हितमान शाक्य, नारायणप्रसाद शर्मा, हरिभक्त कँडेल, खड्गबहादुर विश्वकर्मा, कुलप्रसाद केसी, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, केन्द्रीय सदस्यहरू जयपुरी घर्ती, सूर्य सुवेदी, उमा भुजेल, कुमार दाहाल, अनिल शर्मा, कृष्णध्वज खड्का, रेखा शर्मा, महेश्वर दाहाल, चन्द्रहरि सुवेदी, अमृता थापामगर, सुरेश आले, पवनमान श्रेष्ठ, ईश्वरी दाहाल, सरला रेग्मी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, भरत बम, दिनेश शर्मा, राम आचार्य, जोखबहादुर महरा, हर्कबहादुर शाही, दिलीप प्रजापति, यशोदा सुवेदी, पदम राई, कृष्णदेव सिंह दनुवार, महेन्द्र पासवान, सावित्री काफ्ले, सन्तोष बुढामगर, पूर्ण घर्ती, ओम पुन र  बाबुराम नेपाली
(छाड्नेहरू: हिमाल किराँती, किसन शर्मा, ईश्वरी भट्टराई, धर्मचन्द्र लावती -वैद्य पक्षद्वारा चारै जना आफूसँगै रहेको दाबी )
राज्य समिति इन्चार्ज
नेवा- हितमान शाक्य
थारुवान- हरिभक्त कँडेल
भेरी-कर्णाली-खड्गबहादुर विश्वकर्मा
तमुवान- हितराज पाण्डे
सेती-महाकाली- धर्मेन्द्र बास्तोला
प्रवास- इन्द्रमोहन सिग्देल
-१४ मध्ये बाँकी राज्य समिति इन्चार्ज संस्थापन पक्षका छन् ।)
भ्रातृ संगठन प्रमुखहरू
महिला- जयपुरी घर्ती
दलित- तिलक परियार
शिक्षक- गुणराज लोहनी
सांस्कृतिक- ईश्वरचन्द्र ज्ञवाली
उद्योग- शिव कट्टेल
कर्मचारी- रुक्म लामिछाने
पत्रकार- महेश्वर दाहाल
खेलकुद- जयन्द्र चन्द