Sunday, March 18, 2012

माओवादीमा गम्भीर मतभेद

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने दाबी
गंगा बीसी
काठमाडौ, चैत्र ४ -
माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले शान्ति प्रक्रियामा आएपछि विघटन गरिएको 'जनसत्ता' ब्युँताउने गरी 'संयुक्त राष्ट्रिय जनपरिषद्' गठन गरेको छ । सचिव सीपी गजुरेल अध्यक्ष रहेको जनपरिषद्ले पहिलो पटक औपचारिक रूपमा पार्टीको स्वीकृतिबिना संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

स्वैच्छिक अवकाशमा गएका पूर्वलडाकुको यही साता दाङ भेलाले 'सैन्य संरचना' बनाएलगत्तै वैद्य पक्षले जनसत्ताको झल्को दिने संरचना घोषणा गरेको हो । शनिबार राजधानीको लाजिम्पाटस्थित पाँचतारे र्‍याडिसन होटलमा गजुरेलले जनपरिषद्का हैसियतले पत्रकार सम्मेलन गरी आफ्नै पार्टी नेतृत्वको सरकार र नेतृत्वविरुद्ध संघर्षको घोषणा गरेका हुन् । संस्थापन पक्षले यसलाई पार्टी निर्णयविपरीत भन्दै फुटको बाटोमा गएको आरोप लगाएको छ ।

वैद्य र महासचिव रामबहादुर थापा उपस्थित भए पनि दुवैको निर्देशनमा सचिव सीपी गजुरेलले संघर्षका कार्यक्रम घोषणा गरे । 'संयुक्त राष्ट्रिय संघर्ष समिति' का संयोजक समेत रहेका गजुरेलले पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रहारको निशाना बनाएका थिए । उनले दाहालले सरकार ढाल्न प्रयास नगरेको, सम्मानजनक सेना समायोजन र जनसंविधान बनाउन दबाब दिन जनपरिचालन नगरेको र प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग राष्ट्रघाती सन्धि गरेको, महँगी बढाएकोजस्ता आरोप लगाए ।

'अध्यक्षले एक सातामा सरकार ढाल्ने कुरा गर्नुभएको थियो, चार साता बितिसक्दा पनि ढाल्न सक्नुभएन,' उनले भने, 'उहाँले न केन्द्रीय समितिको निर्णयअनुसार जनपरिचालनका कार्यक्रम नै ल्याउनु भयो ।' उनले सरकार ढाल्न सबै उपाय प्रयोग गर्ने चेतावनी दिए । त्यसका लागि सदन, सडक र अन्य उपाय खोज्ने जनाए । 'हाम्रो विचार समूहका सांसद साथीहरूले संसद्मा अविश्वास प्रस्ताव ल्याउनुहुनेछ,' उनले भने ।

उनले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने बताए पनि नेतृत्वबारे खुलाएनन् । उसले घोषणा गरेको आन्दोलनमा सहमतीय सरकारको पहल गर्ने, पार्टी सरकारबाट फिर्ता हुन दबाब दिने, सरकारको विरोधमा सदनमा पनि संघर्ष अघि बढाउनेलगायत छन् । वैद्य पक्षले अघि बढेको सेना समायोजनको विरोध गर्दै अबको प्रक्रियामा खास चासो राखेको छैन । 'शिविरमा रहेका जनमुक्ति सेना अब रहेनन्, निशस्त्रीरकण गरिएको छ,' गजुरेको भनाइ थियो, 'दाङको लमहीमा भेला भएका साथीहरू पूर्वजनमुक्ति सेना हुन् । हामी उनीरूलाई उचित जिम्मेजारी दिन्छौं ।'

संविधान निर्माण र शान्ति प्रक्रियामा भएको प्रगतिलाई वैद्य पक्षले पूरै अस्वीकार गरेको छ । 'जनविरोधी एकथान संविधान बनाउने तयारी तीव्र चलेको छ । सीमा अतिक्रमणलगायत राजनीतिक र आर्थिक हस्तक्षेप बढ्दै गएको अवस्थ्ामा बाबुराम भट्टराई नेतृत्वको सरकारले बिप्पाजस्तो राष्ट्रघाती सन्धि गरेको छ । वैद्य पक्षले भारतविरोधी आन्दोलन चर्काउने संकेत पनि गरेको छ । उक्त समूहले राष्ट्रियतासम्बन्धी आन्दोलनका क्रममा विवादित सीमा क्षेत्रमा प्रदर्शन गर्ने तय गरेको छ । पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध सडक संघर्ष गर्ने भएको छ ।

"पूर्वराजावादीसँग मोर्चा’

वैद्य पक्षले राष्ट्रिय स्वाधीनताका लागि साना पार्टीबाहेक देशभक्त र राष्ट्रवादीसँग संयुक्त मोर्चा बनाउने बताएका छन् । 'देशभक्त र राष्ट्रवादी संगठनसँग मिलेर संयुक्त मोर्चा बनाउँदैछौं,' गजुरेलले भने, 'त्यसपछि हामी ठोस कार्यक्रम घोषणा गर्नेछौं ।' अध्यक्ष दाहालले पार्टी जोगाउन संघर्ष गरिरहेको दाबी गरेका छन् ।

'हामी पार्टी फुटाउन चाहँदैनौ,' सचिव गजुरेलले भने ।

वैद्य पक्षले ठोस कार्यक्रम भने संविधानसभाको म्याद सकिने जेठ १४ लगत्तै सार्वजनिक गर्ने रणनीति लिएको छ । कार्यक्रममा स्थायी समिति सदस्यद्वय देव गुरुङ, नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्यहरू र सभासदको उपस्थिति थियो ।

'पार्टी फुटाउन खोजियो'

माओवादी प्रवक्ता दीनानाथ शर्माले वैद्य पक्षले पार्टी निर्णयविपरीत कार्यक्रम घोषणा गरी फुटाउने बाटोमा अघि बढेको आरोप

लगाएका छन् । 

'उहाँहरूले पार्टीभित्र पार्टी गठन गरिसक्नुभएको छ,' उनले मन्त्री निवास पुल्चोकमा कान्तिपुरसँग भने, 'उहाँहरू पार्टी फुटाउनतिर हिँड्नुभएको छ ।' उनले पार्टीमा फरक विचार राख्ने विधि भए पनि अलग्गै कार्यक्रम घोषणा गर्नु गम्भीर भएको टिप्पणी गरे । संस्थापन पक्षले छिट्टै कार्यक्रम बनाएर त्यसको प्रतिवाद गर्नेसमेत उनले जनाए ।

'संस्थापन पक्षले पनि छिट्टै वैचारिक कार्यक्रम बनाएर कार्यकर्तामाझ लैजाने छ,' उनले भने, 'अल्पमतले कार्यक्रम घोषणा गरेपछि बहुमत संस्थापन पक्षले कार्यक्रम ल्याउनुपर्छ ।' उनले वैद्य पक्षको गतिविधिलाई अराजकताको संज्ञा

दिए । 'हालसम्म अराजक गतिविधिलाई संस्थापनले सहदै आयो,' उनको भनाइ थियो, 'अब पार्टीभित्र वैचारिक लडाइँ लड्नुपर्छ भन्ने निर्णय भएको छ ।' संस्थापन पक्षका केन्द्रीय सदस्यको छिट्टै भेला गर्ने निर्णय भइसकेको छ ।

No comments: