Friday, March 16, 2012

Raising intra-conflict in UCPN Maosit

गंगा बीसी
काठमाडौ, चैत्र ३ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले छुट्टै कार्यक्रम घोषणा गर्ने बताएपछि पार्टीभित्र फेरि अन्तरसंघर्ष बल्झिएको छ । संस्थापन पक्षले वैद्य पक्षसँग यसबारे स्पष्टीकरण लिने तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बिहीबार संस्थापन पक्षका स्थायी समिति सदस्य र केही वरिष्ठ पोलिटब्युरो सदस्यहरूको अनौपचारिक बैठकले वैद्य पक्षको छुट्टै देशव्यापी कार्यक्रम घोषणा गर्ने कुरालाई गम्भीर रूपमा लिँदै आफ्नो पक्षका केन्द्रीय सदस्यको भेला बोलाउने निर्णय गरेको छ । वैद्य पक्ष पछिल्लो केन्द्रीय समिति बैठकले तय गरेको विधिलाई उल्लंघन गरी अघि बढेकाले संस्थापनबाट आवश्यक कदम चाल्न आवश्यक भएको बैठकको निष्कर्ष छ ।
बुधबार दाङको लमहीमा केन्द्रीय कार्यालयलाई जानकारी नदिई वैद्य पक्षले स्वैच्छिक अवकाशमा गएका करिब ६ सय लडाकु भेला गरेकोमा बैठकले आपत्ति जनाएको छ । पूर्वलडाकुको भेलाले सैन्य संरचनाको झल्को दिने गरी संगठन बनाएको छ । यसलाई संस्थापन पक्षले गम्भीर रूपमा लिँदै स्पष्टीकरण लिने निष्कर्ष निकालेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले कान्तिपुरलाई बताए । 'भेलामा अध्यक्ष र लडाकु प्रमुख नन्दकिशोर पुन (पासाङ) आउने हल्ला चलाएर स्वैच्छिक अवकाशमा गएका लडाकुलाई बोलाइएछ,' उनले भने, 'यसबारे उहाहरूसँग स्पष्टीकरण लिने कुरा भएको छ । पूर्वलडाकुको भेलाबारे अध्यक्ष र पासाङलाई जानकारी रहेनछ ।'
यही साता राजधानीमा वैद्य पक्ष निकटले केन्द्रीय सदस्यको भेला गरी संस्थापनले जनपरिचालनको कार्यक्रम नबनाएको भन्दै छुट्टै कार्यक्रम घोषणाको निर्णय गरेको थियो । जसअन्तर्गत राष्ट्रियतासम्बन्धी आन्दोलन चर्काउने, प्रधानमन्त्रीको राजीनामा माग्नेलगायत छन् । दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा दिलाउन नसकेको, जनपरिचालनका कार्यक्रम तय नगरेको आरोप वैद्य पक्षको छ ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले वैद्य पक्षले छुट्टै कार्यक्रम घोषणा गर्ने र सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अभिव्यक्तिले गम्भीर बनाएको बताए । 'किरण (वैद्य) जीहरूका यस्ता अभिव्यक्तिले पार्टीलाई गम्भीर बनायो,' उनले कान्तिपुरसँग भने, 'उहाँहरू -वैद्य) जीहरूले भेला जारी राखेको हुनाले हामीले पनि संस्थापनका केन्द्रीय सदस्यको भेला गरी अघि बढ्ने कुरा भएको छ ।'
वैद्य पक्षका कार्यक्रमप्रति संस्थापन सहमत हुन नसक्ने भन्दै फरक विचार भए पनि पार्टी निर्णय मान्नुपर्ने उनको भनाइ थियो । 'पार्टीमा बहुमतको निर्णय मान्ने कुरा हुन्छ, अल्पमतको हुँदैन,' उनको प्रतिक्रिया थियो, 'त्यसकारण उहाँहरूको निर्णय संस्थापनले मान्ने कुरा हुँदैन ।'
वैद्य पक्षले प्रधानमन्त्री भट्टराईको राजीनामाको माग चर्काउने निर्णय गरिरहेकै बेला संस्थापनको बैठकले राजीनामा दिने अवस्था भइनसकेको निष्कर्ष निकालेको छ । 'सरकारका सबै काम सन्तोषलाग्दा नभए पनि प्रधानमन्त्रीको राजीनामा दिने स्थिति भइसकेको छैन,' अर्का स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले भने । उनले वैद्य पक्षको कार्यक्रमबारे सम्बन्धित पक्षसँग छलफल गरी संयुक्त कार्यक्रम तय गर्ने प्रयास गरिने उल्लेख गरे ।
बैठकमा सहभागी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले वैद्य पक्षले संस्थापन पक्षसँग छलफल नै नगरी आफैं कार्यक्रम घोषणा गर्नु गलत भएको टिप्पणी गर्दै सरकारको विकल्प तयार नभएको जनाए । 'संस्थापनसँग छलफल नै नगरी एकपक्षीय रूपमा कार्यक्रम घोषणा गर्नु राम्रो हुँदैन,' उनले भने, 'सरकार पुनर्गठन गरेर भए पनि सहमति खोज्ने विकल्प छ । उहाँहरूले पुनः सडकबाट राजीनामा माग्ने हतार गर्नु हुँदैन ।'
बैठकमा दाहालले सेना समायोजन र संविधान निर्माणबारे अन्य दलसँग भएका छलफलबारे जानकारी गराएका थिए । उनले सेना समायोजनको काम छिट्टै टुंगिने उल्लेख गर्दै संविधान निर्माणलाई पनि अघि बढाइने बताए । बैठकमा दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईका साथै उपलब्ध स्थायी समिति सदस्यहरू र केही पोलिटब्युरो सदस्यको सहभागिता थियो ।
माघ पहिलो साता भएको केन्द्रीय समिति बैठकले फरक विचार सार्वजनिक रूपमा लैजाने अस्थायी समाधान निकालेको थियो । दुई महिना शान्त देखिएको वैद्य पक्ष संस्थापन पक्षले समस्या समाधानमा चासो नदेखाएको भन्दै आक्रोशित भएको हो । वैद्य, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेललगायत नेताहरूको बैठकले छिट्टै देशव्यापी घोषणा गर्ने कार्यक्रम बनाउने तय गरेका छन् ।

प्रकाशित मिति: २०६८ चैत्र ३ १०:४०

No comments: