Sunday, March 25, 2012

वैद्य पक्षभित्रै दुई धार

काठमाडौं, चैत्र १२ - माओवादी संस्थापनलाई दबाब दिँदै आएको उपाध्यक्ष मोहन वैद्य पक्ष समूह आफैं दुई धारमा विभाजित भएको छ । पार्टी फुटाउने कि नफुटाउने भन्ने विषयमा उक्त समूहभित्र दुई खेमा बनेको हो ।
अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएर 'जनविद्रोह' को कार्यदिशामा ल्याउने तर पार्टी फुट्नबाट जोगाउने पक्षमा वैद्यलगायत केही नेता रहेका छन् भने वैद्य पक्षकै अर्को खेमा भने संस्थापनलाई दबाबबाट सच्याउन नसकिने भन्दै पार्टी फुटाएरै 'क्रान्तिकारी' पार्टी गठनको मनस्थितिमा देखिएको छ ।
संस्थापनविरुद्ध आन्दोलन घोषणा गरे पनि त्यस्ता सार्वजनिक कार्यक्रममा वैद्य हालसम्म सहभागी नहुनुको कारण पनि अन्तिम समयसम्म पार्टीलाई फुट्नबाट जोगाउनु रहेको उनीनिकट स्रोतले बतायो । वैद्य समूहकै नेता तथा पार्टी सचिव सीपी गजुरेल भने माओवादी छाडेर गएका मातृका यादव, मणि थापालगायत साना पार्टीसँग मोर्चा बनाएर आन्दोलनमा उत्रिएका छन् ।
संस्थापनले लिएको शान्ति र संविधानको कार्यदिशाप्रति गम्भीर असहमति राखे पनि वैद्यले अझै दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईसँग औपचारिक कुराकानी जारी राखेका छन् । शनिबार दाहाल र वैद्यबीच लाजिम्पाटमा विवाद मिलाउनेबारे छलफल भए पनि कुरा मिलेन । दुवै नेता पार्टीभित्र आ-आफ्नो कार्यनीति लिएर भए पनि पार्टी जोगाउन सहमत भएको लाजिम्पाट स्रोतले जनाएको छ । वैद्यले पनि जेठ १४ सम्मका लागि 'पर्ख र हेर' को नीति लिएका छन् ।
दाहालसँगको भेटपछि उनले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । 'मैले पार्टी एकताका लागि भूमिका खेलिरहेको छु,' उनले भने, 'अन्तरसंघर्ष भए पनि पार्टी फुट्दैन ।' संस्थापनले सोमबार बोलाएको केन्द्रीय समिति बैठक वैद्य पक्षले बहिष्कार गर्ने भएको छ । 'हामीसँग सल्लाह नगरी केन्द्रीय समिति बैठक बोलाएकाले सहभागी हुन नसक्ने जानकारी मैले अध्यक्षलाई दिएँ,' उनले भने, 'उहाँहरू पनि बैठक गर्नु हुन्छ, हामी पनि गर्छौं ।' वैद्यले चर्को बोलेर विवाद बढाउने पक्षमा आफू नभएको भन्दै पार्टीभित्रै संघर्ष जारी राख्ने बताए । 'बाहिर धेरै नबोल्ने विचार गरेको छु,' उनले भने, 'अहिले बाहिर धेरै बोलेर राम्रो हुँदैन ।' माओवादीमा उनी वरिष्ठ उपाध्यक्ष र 'गुरु नेता' का रूपमा चिनिन्छन् ।
संस्थापनले वैद्य, स्थायी समिति सदस्य देव गुरुङ, पोलिटब्युरो सदस्य पम्फा भुसाल राजनीतिक र वैचारिक मतभेद भए पनि पार्टी फुटाउन नहुने पक्षमा र महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द दाहाल-भट्टराई दक्षिणपन्थी संशोधन भासमा फसेको भन्दै पार्टी फुटाउने तयारीमा लागेको आरोप लगाएको छ ।
'किरण (वैद्य), गुरुङजीहरू अन्तरसंघर्ष गरेर भए पनि पार्टी जोगाउने पक्षमा देखिनु भएको छ,' संस्थापन पक्षका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने, 'विप्लव (चन्द) जीहरूको लाइन अलग हुने देखिन्छ ।' पछिल्लो समयमा थापा, गजुरेल र चन्द संस्थापनविरुद्ध खरो उत्रिँदै आएका छन् । महासचिव थापा संस्थापनबाट टाढिए पनि वैद्यपछि नेता हुने अभियानमा लागेको संस्थापनको आरोप छ । थापा, गजुरेल र चन्दले संस्थापन नै पार्टी फुटाउने बाटोमा लागेका आरोप लगाउँदै आएका छन् ।
वैद्य पक्ष सहभागी नभए पनि संस्थापन केन्द्रीय समिति बैठकले शान्ति र संविधानका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने तयारी गरेको छ ।

शान्ति र संविधान कसैले रोक्न सक्दैन : प्रधानमन्त्रीमाओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले आन्दोलन घोषणा गरिरहेकै बेला अर्का पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रिया कसैले रोक्न नसक्ने बताएका छन् । उनले शान्ति प्रक्रिया टुंगोमा पुग्नेबित्तिकै संविधान निर्माणले पनि गति लिने बताए । 'शान्ति र संविधान निर्माण प्रक्रिया अब कसैले रोक्न सक्दैन,' शनिबार बिहान बालुवाटारमा महिला पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'केही दिनभित्र शान्ति प्रक्रिया टुंगिन्छ र संविधान पनि तोकिएकै समयमा अघि बढ्छ ।

No comments: