Friday, January 31, 2014

एमाओवादीको दुई साताका करिब डेढ सय बैठक


काठमाडौं, माघ १७ - कुनै राजनीतिक पार्टीले दुई सातामा कति बैठक गर्न सक्ला ? एमाओवादीले त्यति अवधिमा करिब डेढ सय बैठक गरेको छ । यी बैठकबाट उसले संविधान निर्माण, राष्ट्रिय सम्मेलन र पार्टी निर्माणलगायत करिब एक दर्जन निर्णय गर्दै छ ।
बिहीबार पनि उसको बैठक जारी रह्यो । अध्यक्ष पुष्पकमल दाहाल माघ २ यता हरेक दिन कम्तीमा पार्टीका १० औपचारिक/अनौपचारिक बैठकमा सहभागी भएका छन् । उनी केन्द्रीय समिति, राज्य समितिलगायत अन्य साना बैठकमा दिनभर व्यस्त रहँदै आएका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीले ठूलो हार खाएपछि त्यसको समीक्षा गर्न सुरु केन्द्रीय समिति लम्बिएपछि बैठकको संख्या पनि बढ्दै गएको हो । नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षका अलगअलग बैठक जोड्ने हो भने यो संख्या अझै बढ्छ । हुन त तीन वर्ष अघि उसले लगातार एक महिना बैठक गरेको रेकर्ड छ ।
'अध्यक्ष हरेक दिन एक दर्जन पार्टी बैठकमा सहभागी हुनुहुन्छ,' दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने ।
दुई सातामा करिब डेढ सय बैठक भए पनि निर्णयमा पुग्न अझै एक/दुई दिन लाग्ने देखिएको छ । सबै बैठक पार्टी पुनर्गठन, जिम्मेवारी बाँडफाँड, पराजयपछि पार्टीले लिने बाटोमा केन्दि्रत छन् । केन्द्रीय समिति बैठकमा ९८ जनाले अध्यक्ष दाहालको राजनीतिक दस्ताबेजमाथि टिप्पणी गरिसकेका छन् । पूर्व पोलिटब्युरो बैठकमा करिब तीन दर्जन तिनै नेताहरुले धारणा राखे । राज्य संयोजकको बैठकमा दुई दर्जन नेताले आफ्नो कुरा राखेका छन् ।
नेताद्वय भट्टराई र श्रेष्ठले दाहालको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाएपछि सुरु भएको बैठकमा पार्टी पराजयको कारण खोतल्ने प्रयास भयो । सुरुमा धाँधलीका कारण पराजय भएको भनिए पनि राजनीतिक दस्ताबेजमा भने आन्तरिक कारण प्रमुख भएको निष्कर्ष निकालिएको थियो । भट्टराई र श्रेष्ठले पार्टी पुनर्निर्माणको प्रश्नमा दाहालभन्दा फरक मत राखेपछि बहस सुरु भएको थियो ।
प्रवक्ता अग्नि सापकोटाले सैद्धान्तिक बहसमा धेरै समय खर्च भएको जानकारी दिए । 'बैठकको अधिकांश समय सैद्धान्तिक बहसमा केन्दि्रत भएको छ । निर्वाचनपछि पार्टीलाई कसरी अघि लैजाने भन्ने चुनौती भएकाले यसका केन्दि्रत हुनुपरेको हो,' उनले कान्तिपुरसँग भने, 'बाँकी समय कार्यविभाजनमा खर्च भएको छ ।'
आगामी कार्यभार : संविधान निर्माण
भट्टराईले स्कुल, प्रचारप्रसार, संविधान निर्माण र श्रेष्ठले अन्तर्राष्ट्रिय, जनपरिचालन र संविधान निर्माणको जिम्मा लिने र आगामी दिनमा पार्टी संविधान निर्माणमा केन्द्रित हुने निर्णय गर्दै केन्द्रीय समिति बैठक शुक्रबार सकिँदै छ । दुई साता चलेको बैठकले संविधान निर्माण पार्टीको कार्यदिशा भएको उल्लेख गर्दै त्यसमै केन्द्रित हुने निर्णय गर्न लागेको हो ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको हेडक्वाटर (केन्द्रीय कार्यालय) बैठकले मुख्य कार्यभार संविधान निर्माणलाई बनाउने निष्कर्ष निकालेको हो । बैठकले दाहाललाई संसदीय दलको नेता बनाउने टुंगो लगाएको छ । भट्टराईलाई संसदीय दलको उपनेता हुन आग्रह गरिए पनि नमानेको स्रोतको भनाइ छ । भट्टराईले संविधान नबनेसम्म कुनै पनि पदमा नबस्ने घोषणा गरेकाले उपनेता हुन नमानेका हुन् ।
'दल नेता अध्यक्षलाई बनाउने टुंगो भएको छ,' एक नेताले भने । दलको मुख्य सचेतक र सचेतकको टुंगो लगाउन बाँकी छ । प्रमुख सचेतकमा नेताहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोख्रेल र जनार्दन शर्माको नाममा छलफल भएको छ । सचेतक भने नेतृ ओनसरी घर्ती हुने सम्भावना छ ।
पार्टीको कार्यभिजानमा भट्टराईले स्कुल विभाग, प्रचारप्रसार, संविधान निर्माण, नेता श्रेष्ठले अन्तराष्ट्रिय विभाग, जनपरिचालन र संविधान निर्माणको जिम्मा लिने पक्का भएको छ । तीन नेताबीच शक्ति बाँडफाँडलाई शुक्रबार बिहान छलफल गरी अपराह्न बस्ने केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् ।
वैशाखमा सांगठनिक राष्ट्रिय सम्मेलन
एमाओवादीले वैशाखको दोस्रो साता नेतृत्व चयन गर्न सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसबेला सम्म यही केन्द्रीय समितिलाई निरन्तरता दिइनेछ । सम्मेलनपछि ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।
शुक्रबार राज्य र जिल्ला समिति भंग गर्ने निर्णय हुनेछ ।
'पार्टी पुनर्निर्माणका लागि निर्णय गर्दै बैठक सकिनेछ' प्रवक्ता सापकोटाले भने, 'विशेष गरी संगठन सानो बनाउने प्रयत्न हुनेछ ।' केन्द्रीय समितिले उत्पादन र निर्माणसँग सम्बन्धित कार्यक्रमलाई प्रमुखताका साथ उठाउने उनले बताए । त्यस्तै, नेता तथा कार्यकर्ताको कार्यशैली सुधारका लागि आचारसंहिता बनाइनेछ ।
प्रकाशित मिति: २०७० माघ १७ १२:३३
-

Saturday, January 25, 2014

Prachanda, Baburam tied-up

काठमाडौ, माघ ११ - एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व 'मान्दिन' नभनेको प्रस्ट्याउँदै अन्य सांगठनिक क्षेत्रमा शक्ति बाँडफाँड गर्नुपर्ने बताएका छन् । शुक्रबार आफ्नो निवास सानेपामा दाहालसँग 'लन्च' बैठकमा उनले पार्टी चलाउन सामूहिक नेतृत्वको अवधारणा बसाल्न चाहेको धारणा राखेका हुन् । लगातार दुई दिनसम्म दुई नेताबीच भएको छलफल सकारात्मक दिशातिर गएको
छ । शनिबार र आइतबार फेरि छलफल गरी निष्कर्षमा पुग्ने स्थिति आएको एक नेताले बताए ।
भट्टराईले पार्टीमा सकारात्मक सोचसाथ कार्यदिशा कार्यान्वयन गर्ने कुरा गर्दा पद खोजेको आरोपले आफूलाई दुःखी बनाएको दाहालसमक्ष बताए । उनले आफूले पदका लागिभन्दा पार्टी बलियो गराउनु एकमात्र स्वार्थ भएको उल्लेख गर्दै अध्यक्ष पद नै ताकेको नठान्न भनेका थिए । भट्टराई निकट देवेन्द्र पौडेलले दुई नेताबीच पार्टीको कार्यदिशा कार्यान्वयनमा केन्दि्रत कुरा भएको जानकारी दिए । 'बाबुरामजीले अध्यक्षको नेतृत्व मान्दिन भन्नुभएको होइन,' उनले कान्तिपुरसँग भने, 'अरू सांगठनिक विषयमा शक्ति बाँडफाँड हुनुपर्छ मात्रै भन्नुभएको हो ।' उनले दुवै नेताबीच पार्टीको आगामी कार्यदिशा समृद्ध बनाउने विषयमा लगातार छलफल भएको जनाए । दाहालले पार्टीमा एकाधिकार जमाउन खोजेको चर्चा गलत भएको उल्लेख गर्दै दुई नेताबीच सहकार्यबाट समस्याको समाधान निस्कने जनाए । उनले लामो समयदेखि दुई नेताको सहकार्यले नै पार्टी अघि बढेकाले अब पनि आवश्यकता भएको बताए । 'सामूहिक नेतृत्व पद्धतिबाट पार्टी चलाउने हो, मैले मात्र एकाधिकार जमाउने कुरा होइन' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'संघर्ष, रूपान्तरण र एकताबाट पार्टी अघि बढ्छ ।'
भट्टराईले केन्द्रीय समिति बैठक बस्नुअघि फेसबुकबाट एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने बताएपछि सम्बन्ध चिसिन सुरु भएको थियो । त्यसपछि उनले दाहालले स्टालिनजस्तो तानाशाही शैली अपनाउन लागेको केन्द्रीय समिति बैठकमा धारणा राखेका थिए । यसबारे दाहालले केन्द्रीय समिति बैठकमा आफ्नो औपचारिक धारणा राख्न बाँकी छ । तर त्यसअघि उनले केन्द्रीय समिति बैठक स्थगन गरी भट्टराईसँग एक्लै सहमतिको प्रयास थालेका छन् ।
दाहाल र भट्टराईबीच संविधानसभाको बाटोबाट अघि बढ्ने कार्यदिशामा मतभेद नभएकाले शक्ति बाँडफाँडमा मात्र विवाद छ । दाहाल निकट नेताहरूले 'जसको शक्ति जति छ, उसले त्यति पद पाउनुपर्ने' अभिव्यक्ति दिएपछि भट्टराई पक्ष झनै असन्तुष्ट बनेको थियो । दाहाल पक्षले भट्टराईले संसदीय दलको नेता खोजेको भन्दै त्यो नदिएपछि विवाद झिकेको बताएको थियो । भट्टराईले आफू दलको नेता हुन चाहेको नभई पार्टीमा आफ्नो पक्षका नेताले सम्मानजनक पद पाउनुपर्ने प्रस्ताव दाहालसमक्ष राखेका छन् । समानुपातिक सांसदको अन्तिम सूची आफू एक्लैले बुझाए पनि आउँदा दिनमा सहमतिका आधारमा अघि बढ्ने दाहालले आश्वासन दिएका छन् ।

प्रकाशलाई ँहेडक्वाटर’ बाट हटाउन माग

पार्टी केन्द्रीय कार्यालय बैठकमा एक दर्जनभन्दा बढी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशलाई 'हेडक्वाटर' बाट हटाउन दबाब दिएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य रेणु चन्दले प्रकाशको कार्यक्षेत्र परिवर्तन गरी हेडक्वाटरबाट हटाउन माग गरिन् । त्यसपछि कृष्ण धिताल र श्रीप्रसाद जवेगुले पनि प्रकाशलाई 'तह लगाउन' माग गरे ।
प्रकाशले बिना मगरसँग दोस्रो विवाह गरेपछि दाहालसमेत आलोचित छन् । 'अध्यक्षले प्रकाशको कार्यक्षेत्र बदलिदिनुस्' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'प्रकाशको विकासका लागि पनि त्यो आवश्यक छ ।' उनले पार्टीमा सांस्कृतिक विचलनलाई रोक्नसमेत माग गरिन् ।
धितालले दाहाल निवास र प्रकाशबारे प्रश्न उठेकाले समाधान गर्न आग्रह गरेका थिए । जगेवुले प्रकाशलाई तह लगाउन दाहालसमक्ष आग्रह गरे । 'अध्यक्ष कमरेड छोरालाई तह लगाउनुहोस्' उनको भनाइ थियो, 'मैले मेरो छोरा तह लगाएको छु, तपाईं पनि हिम्मत गर्नुहोस् ।'
नेता विश्वनाथ साहले शीर्ष नेतालगायत सबै रूपान्तरण भएमात्र पार्टी बन्ने धारणा राखेका थिए ।

Sunday, January 19, 2014

एमाओवादीमा शंकाको राजनीति झाँगिदै





 

दाहाल र भट्टराईबीच सार्वजनिक रुपमै सवालजवाफ

काठमाडौं, माघ ६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच एकअर्काप्रति आशंका बढ्दै गएको छ । पछिल्लो पटक संविधानसभा निर्वाचनपछि दुई नेताबीच शंका बढ्दै जाँदा बिश्वासको संकट बढ्दै गएको हो ।
दुबै नेताले एकले अर्कालाई बिश्वासभन्दा शंकाको आँखाले हेर्न थालेपछि सम्बन्ध चिसिएको मात्र छैन, शक्ति बाँडफाँडको संघर्ष समेत सुरु भएको छ । शनिबार भट्टराईले जारी केन्द्रीय समिति बैठकमा 'शक्ति बाँडफाँड' हुनुपर्ने धारणा राखेपछि दाहाल चिढिएका छन् । उनले भट्टराईले भनेजस्तो 'बुर्जवा नैतिकता' देखाएर पार्टी नेतृत्व नछाड्ने जवाफ फर्काएका छन् ।
एक अर्काप्रति अविश्वास बढ्दै जाँदा दुबैले ल्याएका उचित प्रस्ताव समेत स्वीकार गर्न गाह्रो परेको छ । दाहालले निर्वाचनमा पराजयको मुख्य जिम्मा आफूले लिने प्रस्तावसहितको दस्ताबेज ल्याउँदा भट्टराईले सुधारवादी भएको टिप्पणी गरे । भट्टराईले नेताहरु रुपान्तरण र शुद्धिकरणको कुरा गर्दा दाहालले पद खोजेको बताए । दुबै नेता शंका र उपशंकाले ग्रस्त भएपछि पार्टी बैठक बाहेक प्रमुख दलका बैठकमा संगै जान छाडे ।
समानुपातिक सभासद्को अन्तिम सूची तयार गर्ने बेला दुई नेताबीच सुरु भएको बिवाद केन्द्रीय समिति बैठकसम्म आइपुग्दा झ्न चर्किएको छ । भट्टराईले नेतृत्व लिन खोजेको भन्दै दाहाल सशंकित हुन पुगेका छन् । भट्टराईले मुखै खोलेर दाहाललाई स्टालिन जस्तै निरंकुश हुन खोजेको 'गंभीर' आरोप लगाएका छन् । फरक मत राख्न खोज्नेलाई दाहालले पेलेको आरोप उनको छ ।
भट्टराईले खुला चुनौती दिन थालेपछि दाहाल शक्ति प्रयोग गरेरै भए पनि भट्टराईलाई ठेगान लगाउने मनस्थितिमा पुगेको निकट स्रोतको भनाइ छ । पार्टीले ठूलो पराजय भोगेको बेला बिवाद निकाल्नुको पछाडि षड्यन्त्रको गन्ध आएको दाहाल पक्षको भनाइ छ । 'पार्टीले ठूलो हार खाएको बेला बिवाद किन निकालियो ?' दाहाल निकट एक नेताले भने, 'यसले अध्यक्षलाई झ्न गंभीर बनाएको छ ।'
निर्वाचनले पार्टी कमजोर भएका बेला बिवाद निकाल्नु पार्टी झ्न कमजोर बनाउने नीति भट्टराईले लिएको निश्कर्ष दाहालको छ । पार्टी कमजोर बनाएर आफू बलियो हुन खोजेको भन्दै दाहाल पक्षका नेताहरुले केन्द्रीय समिति बैठकमा 'अराजकतावादी' आरोप लगाउने तयारी गरेका छन् । 'पार्टीलाई अझ कमजोर बनाउने नीति देखिन्छ' दाहाल निकट नेताको भनाइ छ ।
शान्ति र संविधानसभाको कार्यदिशा कार्यदिशाको सुत्राधार आफू भए पनि दाहालले उचित शक्ति बाँडफाँड नगरेको भन्दै भट्टराई पार्टीभित्रै रहेर संघर्ष गर्ने नीति लिएका छन् । गत साउनमा उपाध्यक्षबाट राजीनामा दिनुको कारण दाहाललाई 'तर्साउने' रणनीति थियो । त्यसले दाहाललाई झ्न फाइदा पुगेपछि निर्वाचनमा पार्टीले हारेको मौकामा पारी मुख्य जिम्मेवारी दाहाललाई लिन भट्टराईले बाध्य पारे । हारको मुख्य जिम्मा लिएपछि अध्यक्षमा बसिरहन नैतिक प्रश्न उठ्न सक्ने भन्दै भट्टराईले प्रश्न तेस्र्याएका थिए ।
२० वर्षभन्दा बढी दाहालको संगत गरेका भट्टराईले सहयोगी मात्र भएर नहुने रहेछ भन्ने निश्कर्षमा पुगेका छन् । त्यसैले उनले बिस्तारै पार्टी नेतृत्वको दाबी गर्न थालेका छन्, जुन दाहालका लागि अपि्रय हुनु स्वभाविक हो । दुई दसकभन्दा बढी मूल नेतृत्वमा रमाएका दाहालले आफ्नो हातको पार्टी सत्ता कुनै हालतमा गुम्न दिने पक्षमा छैनन् । त्यसका लागि बरु भट्टराईलाई 'कुनै न कुनै कार्बाही' गर्ने पक्षमा छन् ।
पार्टीको नेतृत्व चयन गर्ने सांगठनिक राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट भट्टराई पक्षलाई बढार्ने नीति उनले लिनेछन् । स्थानीय तहदेखि प्रत्यक्ष निर्वाचनबाट नेता चयन हुनुपर्ने प्रस्ताव भट्टराईले गरेपछि त्यो रणनीतिक हतियार लिन दाहाललाई सजिलो छ ।  हालै केन्द्रय समिति बैठकमा प्रस्तुत राजनीतिक दस्ताबेजमा समेत त्यो कुरा उल्लेख गरेका छन् ।
एमाओवादी नेता राम कार्की दुई नेता (दाहाल र भट्टराई) मिलेर अघि बढ्दा पनि सोचेजस्तो सफलता पाउन नसकिने निश्कर्षमा पुगेको हुन सक्ने बताए । 'त्यसकारण दुबै नेता पुरानो सम्बन्धको समीक्षा गर्न बाध्य भएका हुन सक्छन्' उनले भने, 'खुला राजनीतिमा आइसकेपछि नेताहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक हो ।' उनले एक अर्काबाट अलग भएर दुबै नेताले आफूलाई 'असलसिद्ध' गर्न कठिन हुने उनको भनाइ छ । उनले दुई नेताबीच दूरी बढ्न गुटबन्दी मौलाउनु मुख्य कारण भएको बताए ।
नेतृत्व छाड्दिनः दाहाल
नेता बाबुराम भट्टराईले पार्टीमा शक्ति बाँडफाँडको माग भइरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण नहुने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी समस्यामा परेका बेलामा नेतृत्व परिवर्तन गर्न नहुने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणको माग जायज नभएको टिप्पणी गरे । इलामको लारुम्बामा आयोजित किराँत धर्मसम्बन्धी कार्यक्रममा सहभागी जाने क्रममा आएका उनले संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुका कारणबारे समीक्षा भइरहेको बताए । पार्टी पराजित भएको स्थितिमा नेतृत्वलाई अझ बलियो बनाएर लैजानुपर्ने धारणा उनले राखे । पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार नेता बाबुराम भट्टराईले पार्टीमा वैचारिक र सांगठनिक सत्ता एउटै व्यक्तिको हातमा भए निरंकुशता बढ्ने भन्दै शक्ति बाँडफाँडको माग गरेका थिए ।
'यति बेला पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्‍याउने रणनीति हो,' दाहालले भने, 'पार्टी हारेका बेलामा नेतृत्व भाग्न मिल्दैन ।' पार्टी अप्ठ्यारोमा परेका बेला नेतृत्वले अझ बढी जिम्मेवारी लिएर अघि बढ्नुपर्ने उनले बताए । कम्युनिस्ट आन्दोलनमा कुनै एउटा चुनाव हार्दैमा नेतृत्वले राजीनामा दिनुपर्ने आवश्यकता नभएको भन्दै दाहालले बुर्जुवा पार्टीको जस्तो 'तथाकथित नैतिकताको प्रश्न' कम्युनिस्ट पार्टीमा नउठ्ने जिकिर गरे ।
आफूलाई स्टालिनसँग तुलना गरेको सन्दर्भमा उनले खण्डन गर्दै स्टालिन शैलीको विपक्षमा आफूले युद्धकालमा ल्याएको दस्तावेज बाबुराम भट्टराई र मोहन वैद्यको सहयोगमा पारित गरेको स्मरण गर्दै अहिले त्यो आरोपमा कुनै सत्यता नभएको दाबी गरे । 'स्टालिन शैलीको संगठनको विपक्षमा दस्तावेज आएपछि भट्टराई र वैद्यले नै प्रचण्डपथका रूपमा विकसित विचार आएको भन्दै प्रशंसा गर्नेहरूले यति बेला त्यही पुरानो आरोप लगाउनुको कुनै तुक छैन,' दाहालले भने । दाहालले ठूला दलका हैसियतले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति र सरकारका विषयमा कुनै चासो नराखी एक वर्षभित्र संविधान निर्माण गर्नेतर्फ पार्टीको ध्यान केन्द्रित गर्ने बताए ।

प्रकाशित मिति: २०७० माघ ६, from  Kantipur daily