Sunday, January 19, 2014

एमाओवादीमा शंकाको राजनीति झाँगिदै





 

दाहाल र भट्टराईबीच सार्वजनिक रुपमै सवालजवाफ

काठमाडौं, माघ ६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच एकअर्काप्रति आशंका बढ्दै गएको छ । पछिल्लो पटक संविधानसभा निर्वाचनपछि दुई नेताबीच शंका बढ्दै जाँदा बिश्वासको संकट बढ्दै गएको हो ।
दुबै नेताले एकले अर्कालाई बिश्वासभन्दा शंकाको आँखाले हेर्न थालेपछि सम्बन्ध चिसिएको मात्र छैन, शक्ति बाँडफाँडको संघर्ष समेत सुरु भएको छ । शनिबार भट्टराईले जारी केन्द्रीय समिति बैठकमा 'शक्ति बाँडफाँड' हुनुपर्ने धारणा राखेपछि दाहाल चिढिएका छन् । उनले भट्टराईले भनेजस्तो 'बुर्जवा नैतिकता' देखाएर पार्टी नेतृत्व नछाड्ने जवाफ फर्काएका छन् ।
एक अर्काप्रति अविश्वास बढ्दै जाँदा दुबैले ल्याएका उचित प्रस्ताव समेत स्वीकार गर्न गाह्रो परेको छ । दाहालले निर्वाचनमा पराजयको मुख्य जिम्मा आफूले लिने प्रस्तावसहितको दस्ताबेज ल्याउँदा भट्टराईले सुधारवादी भएको टिप्पणी गरे । भट्टराईले नेताहरु रुपान्तरण र शुद्धिकरणको कुरा गर्दा दाहालले पद खोजेको बताए । दुबै नेता शंका र उपशंकाले ग्रस्त भएपछि पार्टी बैठक बाहेक प्रमुख दलका बैठकमा संगै जान छाडे ।
समानुपातिक सभासद्को अन्तिम सूची तयार गर्ने बेला दुई नेताबीच सुरु भएको बिवाद केन्द्रीय समिति बैठकसम्म आइपुग्दा झ्न चर्किएको छ । भट्टराईले नेतृत्व लिन खोजेको भन्दै दाहाल सशंकित हुन पुगेका छन् । भट्टराईले मुखै खोलेर दाहाललाई स्टालिन जस्तै निरंकुश हुन खोजेको 'गंभीर' आरोप लगाएका छन् । फरक मत राख्न खोज्नेलाई दाहालले पेलेको आरोप उनको छ ।
भट्टराईले खुला चुनौती दिन थालेपछि दाहाल शक्ति प्रयोग गरेरै भए पनि भट्टराईलाई ठेगान लगाउने मनस्थितिमा पुगेको निकट स्रोतको भनाइ छ । पार्टीले ठूलो पराजय भोगेको बेला बिवाद निकाल्नुको पछाडि षड्यन्त्रको गन्ध आएको दाहाल पक्षको भनाइ छ । 'पार्टीले ठूलो हार खाएको बेला बिवाद किन निकालियो ?' दाहाल निकट एक नेताले भने, 'यसले अध्यक्षलाई झ्न गंभीर बनाएको छ ।'
निर्वाचनले पार्टी कमजोर भएका बेला बिवाद निकाल्नु पार्टी झ्न कमजोर बनाउने नीति भट्टराईले लिएको निश्कर्ष दाहालको छ । पार्टी कमजोर बनाएर आफू बलियो हुन खोजेको भन्दै दाहाल पक्षका नेताहरुले केन्द्रीय समिति बैठकमा 'अराजकतावादी' आरोप लगाउने तयारी गरेका छन् । 'पार्टीलाई अझ कमजोर बनाउने नीति देखिन्छ' दाहाल निकट नेताको भनाइ छ ।
शान्ति र संविधानसभाको कार्यदिशा कार्यदिशाको सुत्राधार आफू भए पनि दाहालले उचित शक्ति बाँडफाँड नगरेको भन्दै भट्टराई पार्टीभित्रै रहेर संघर्ष गर्ने नीति लिएका छन् । गत साउनमा उपाध्यक्षबाट राजीनामा दिनुको कारण दाहाललाई 'तर्साउने' रणनीति थियो । त्यसले दाहाललाई झ्न फाइदा पुगेपछि निर्वाचनमा पार्टीले हारेको मौकामा पारी मुख्य जिम्मेवारी दाहाललाई लिन भट्टराईले बाध्य पारे । हारको मुख्य जिम्मा लिएपछि अध्यक्षमा बसिरहन नैतिक प्रश्न उठ्न सक्ने भन्दै भट्टराईले प्रश्न तेस्र्याएका थिए ।
२० वर्षभन्दा बढी दाहालको संगत गरेका भट्टराईले सहयोगी मात्र भएर नहुने रहेछ भन्ने निश्कर्षमा पुगेका छन् । त्यसैले उनले बिस्तारै पार्टी नेतृत्वको दाबी गर्न थालेका छन्, जुन दाहालका लागि अपि्रय हुनु स्वभाविक हो । दुई दसकभन्दा बढी मूल नेतृत्वमा रमाएका दाहालले आफ्नो हातको पार्टी सत्ता कुनै हालतमा गुम्न दिने पक्षमा छैनन् । त्यसका लागि बरु भट्टराईलाई 'कुनै न कुनै कार्बाही' गर्ने पक्षमा छन् ।
पार्टीको नेतृत्व चयन गर्ने सांगठनिक राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट भट्टराई पक्षलाई बढार्ने नीति उनले लिनेछन् । स्थानीय तहदेखि प्रत्यक्ष निर्वाचनबाट नेता चयन हुनुपर्ने प्रस्ताव भट्टराईले गरेपछि त्यो रणनीतिक हतियार लिन दाहाललाई सजिलो छ ।  हालै केन्द्रय समिति बैठकमा प्रस्तुत राजनीतिक दस्ताबेजमा समेत त्यो कुरा उल्लेख गरेका छन् ।
एमाओवादी नेता राम कार्की दुई नेता (दाहाल र भट्टराई) मिलेर अघि बढ्दा पनि सोचेजस्तो सफलता पाउन नसकिने निश्कर्षमा पुगेको हुन सक्ने बताए । 'त्यसकारण दुबै नेता पुरानो सम्बन्धको समीक्षा गर्न बाध्य भएका हुन सक्छन्' उनले भने, 'खुला राजनीतिमा आइसकेपछि नेताहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक हो ।' उनले एक अर्काबाट अलग भएर दुबै नेताले आफूलाई 'असलसिद्ध' गर्न कठिन हुने उनको भनाइ छ । उनले दुई नेताबीच दूरी बढ्न गुटबन्दी मौलाउनु मुख्य कारण भएको बताए ।
नेतृत्व छाड्दिनः दाहाल
नेता बाबुराम भट्टराईले पार्टीमा शक्ति बाँडफाँडको माग भइरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण नहुने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी समस्यामा परेका बेलामा नेतृत्व परिवर्तन गर्न नहुने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणको माग जायज नभएको टिप्पणी गरे । इलामको लारुम्बामा आयोजित किराँत धर्मसम्बन्धी कार्यक्रममा सहभागी जाने क्रममा आएका उनले संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुका कारणबारे समीक्षा भइरहेको बताए । पार्टी पराजित भएको स्थितिमा नेतृत्वलाई अझ बलियो बनाएर लैजानुपर्ने धारणा उनले राखे । पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार नेता बाबुराम भट्टराईले पार्टीमा वैचारिक र सांगठनिक सत्ता एउटै व्यक्तिको हातमा भए निरंकुशता बढ्ने भन्दै शक्ति बाँडफाँडको माग गरेका थिए ।
'यति बेला पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्‍याउने रणनीति हो,' दाहालले भने, 'पार्टी हारेका बेलामा नेतृत्व भाग्न मिल्दैन ।' पार्टी अप्ठ्यारोमा परेका बेला नेतृत्वले अझ बढी जिम्मेवारी लिएर अघि बढ्नुपर्ने उनले बताए । कम्युनिस्ट आन्दोलनमा कुनै एउटा चुनाव हार्दैमा नेतृत्वले राजीनामा दिनुपर्ने आवश्यकता नभएको भन्दै दाहालले बुर्जुवा पार्टीको जस्तो 'तथाकथित नैतिकताको प्रश्न' कम्युनिस्ट पार्टीमा नउठ्ने जिकिर गरे ।
आफूलाई स्टालिनसँग तुलना गरेको सन्दर्भमा उनले खण्डन गर्दै स्टालिन शैलीको विपक्षमा आफूले युद्धकालमा ल्याएको दस्तावेज बाबुराम भट्टराई र मोहन वैद्यको सहयोगमा पारित गरेको स्मरण गर्दै अहिले त्यो आरोपमा कुनै सत्यता नभएको दाबी गरे । 'स्टालिन शैलीको संगठनको विपक्षमा दस्तावेज आएपछि भट्टराई र वैद्यले नै प्रचण्डपथका रूपमा विकसित विचार आएको भन्दै प्रशंसा गर्नेहरूले यति बेला त्यही पुरानो आरोप लगाउनुको कुनै तुक छैन,' दाहालले भने । दाहालले ठूला दलका हैसियतले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति र सरकारका विषयमा कुनै चासो नराखी एक वर्षभित्र संविधान निर्माण गर्नेतर्फ पार्टीको ध्यान केन्द्रित गर्ने बताए ।

प्रकाशित मिति: २०७० माघ ६, from  Kantipur daily 

No comments: