Saturday, January 25, 2014

Prachanda, Baburam tied-up

काठमाडौ, माघ ११ - एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व 'मान्दिन' नभनेको प्रस्ट्याउँदै अन्य सांगठनिक क्षेत्रमा शक्ति बाँडफाँड गर्नुपर्ने बताएका छन् । शुक्रबार आफ्नो निवास सानेपामा दाहालसँग 'लन्च' बैठकमा उनले पार्टी चलाउन सामूहिक नेतृत्वको अवधारणा बसाल्न चाहेको धारणा राखेका हुन् । लगातार दुई दिनसम्म दुई नेताबीच भएको छलफल सकारात्मक दिशातिर गएको
छ । शनिबार र आइतबार फेरि छलफल गरी निष्कर्षमा पुग्ने स्थिति आएको एक नेताले बताए ।
भट्टराईले पार्टीमा सकारात्मक सोचसाथ कार्यदिशा कार्यान्वयन गर्ने कुरा गर्दा पद खोजेको आरोपले आफूलाई दुःखी बनाएको दाहालसमक्ष बताए । उनले आफूले पदका लागिभन्दा पार्टी बलियो गराउनु एकमात्र स्वार्थ भएको उल्लेख गर्दै अध्यक्ष पद नै ताकेको नठान्न भनेका थिए । भट्टराई निकट देवेन्द्र पौडेलले दुई नेताबीच पार्टीको कार्यदिशा कार्यान्वयनमा केन्दि्रत कुरा भएको जानकारी दिए । 'बाबुरामजीले अध्यक्षको नेतृत्व मान्दिन भन्नुभएको होइन,' उनले कान्तिपुरसँग भने, 'अरू सांगठनिक विषयमा शक्ति बाँडफाँड हुनुपर्छ मात्रै भन्नुभएको हो ।' उनले दुवै नेताबीच पार्टीको आगामी कार्यदिशा समृद्ध बनाउने विषयमा लगातार छलफल भएको जनाए । दाहालले पार्टीमा एकाधिकार जमाउन खोजेको चर्चा गलत भएको उल्लेख गर्दै दुई नेताबीच सहकार्यबाट समस्याको समाधान निस्कने जनाए । उनले लामो समयदेखि दुई नेताको सहकार्यले नै पार्टी अघि बढेकाले अब पनि आवश्यकता भएको बताए । 'सामूहिक नेतृत्व पद्धतिबाट पार्टी चलाउने हो, मैले मात्र एकाधिकार जमाउने कुरा होइन' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'संघर्ष, रूपान्तरण र एकताबाट पार्टी अघि बढ्छ ।'
भट्टराईले केन्द्रीय समिति बैठक बस्नुअघि फेसबुकबाट एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने बताएपछि सम्बन्ध चिसिन सुरु भएको थियो । त्यसपछि उनले दाहालले स्टालिनजस्तो तानाशाही शैली अपनाउन लागेको केन्द्रीय समिति बैठकमा धारणा राखेका थिए । यसबारे दाहालले केन्द्रीय समिति बैठकमा आफ्नो औपचारिक धारणा राख्न बाँकी छ । तर त्यसअघि उनले केन्द्रीय समिति बैठक स्थगन गरी भट्टराईसँग एक्लै सहमतिको प्रयास थालेका छन् ।
दाहाल र भट्टराईबीच संविधानसभाको बाटोबाट अघि बढ्ने कार्यदिशामा मतभेद नभएकाले शक्ति बाँडफाँडमा मात्र विवाद छ । दाहाल निकट नेताहरूले 'जसको शक्ति जति छ, उसले त्यति पद पाउनुपर्ने' अभिव्यक्ति दिएपछि भट्टराई पक्ष झनै असन्तुष्ट बनेको थियो । दाहाल पक्षले भट्टराईले संसदीय दलको नेता खोजेको भन्दै त्यो नदिएपछि विवाद झिकेको बताएको थियो । भट्टराईले आफू दलको नेता हुन चाहेको नभई पार्टीमा आफ्नो पक्षका नेताले सम्मानजनक पद पाउनुपर्ने प्रस्ताव दाहालसमक्ष राखेका छन् । समानुपातिक सांसदको अन्तिम सूची आफू एक्लैले बुझाए पनि आउँदा दिनमा सहमतिका आधारमा अघि बढ्ने दाहालले आश्वासन दिएका छन् ।

प्रकाशलाई ँहेडक्वाटर’ बाट हटाउन माग

पार्टी केन्द्रीय कार्यालय बैठकमा एक दर्जनभन्दा बढी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशलाई 'हेडक्वाटर' बाट हटाउन दबाब दिएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य रेणु चन्दले प्रकाशको कार्यक्षेत्र परिवर्तन गरी हेडक्वाटरबाट हटाउन माग गरिन् । त्यसपछि कृष्ण धिताल र श्रीप्रसाद जवेगुले पनि प्रकाशलाई 'तह लगाउन' माग गरे ।
प्रकाशले बिना मगरसँग दोस्रो विवाह गरेपछि दाहालसमेत आलोचित छन् । 'अध्यक्षले प्रकाशको कार्यक्षेत्र बदलिदिनुस्' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'प्रकाशको विकासका लागि पनि त्यो आवश्यक छ ।' उनले पार्टीमा सांस्कृतिक विचलनलाई रोक्नसमेत माग गरिन् ।
धितालले दाहाल निवास र प्रकाशबारे प्रश्न उठेकाले समाधान गर्न आग्रह गरेका थिए । जगेवुले प्रकाशलाई तह लगाउन दाहालसमक्ष आग्रह गरे । 'अध्यक्ष कमरेड छोरालाई तह लगाउनुहोस्' उनको भनाइ थियो, 'मैले मेरो छोरा तह लगाएको छु, तपाईं पनि हिम्मत गर्नुहोस् ।'
नेता विश्वनाथ साहले शीर्ष नेतालगायत सबै रूपान्तरण भएमात्र पार्टी बन्ने धारणा राखेका थिए ।

No comments: