Saturday, November 17, 2012

उनले यसरी प्रचण्डलाई थप्पड हाने

काठमाडौ, मंसिर १ - 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एक युवकले शुक्रबार थप्पड हानेका छन् । नेपाल सम्वत् ११३३ का अवसरमा राजधानीको भृकुटीमण्डपमा एमाओवादीद्वारा आयोजित चियापान सकिन १० मिनेट बाँकी हुँदा दाहाललाई थप्पड हानिएको हो । 

चियापन कार्यक्रम शुक्रबार ४ बजे समापन हुँदै थियो । अध्यक्ष दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरू मञ्चमा लहरै उभिएका थिए । प्रमुख दलका शीर्ष नेताहरूको शुभकामना मन्तव्य सकिएको करिब १० मिनेटपछि मञ्चमा एमाओवादीका शीर्ष नेताहरू मात्र थिए । कांग्रेस-एमालेलगायतका नेताहरू शुभकामना दिएर फर्किसकेका थिए ।

एमाओवादीका नेताहरूलाई शुभकामना दिन पहेंलो ज्याकेट लगाएका युवक पदम कुँवर दाहाल नजिक आए । उनले दाहालसँग हात मिलाए र शुभकामना दिएलगत्तै देब्रे गालामा थप्पड हाने । दाहालको चस्मा भुइँमा खस्यो । त्यसपछि दाहाल र प्रधानमन्त्रीका सुरक्षाकर्मीले ती युवकलाई मञ्चबाट तल झारेका मात्र के थिए एम्ााओवादीका कार्यकताले उनलाई भकाभक कुट्न थाले । त्यसबेला दाहाललाई कुट्ने युवकलाई जोगाउन प्रहरीलाई हम्मे परेको थियो । प्रहरी नियन्त्रणमा रहेकै बेला पनि कुँवरमाथि एमाओवादीका कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए । 

दाहालमाथि थप्पड प्रहार भएलगत्तै प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले मञ्चबाट 'कुत्सित मनसाय' भएका व्यक्ति मञ्चमा प्रवेश गरेको भन्दै शान्त रहन आग्रह गरे । 'कुत्सित मनसाय भएका व्यक्ति प्रवेश गरेका हुन्, हाम्रो चियापान जारी छ । तपाईंहरू शान्त रहनुस्,' उनले माइकबाट भनेका थिए ।

दाहाललाई थप्पड हानिएपछि पनि करिब तीन हजार व्यक्तिले दाहाल, भट्टराईलगायत शीर्ष नेताहरूसँग हात मिलाएर शुभकामना आदानप्रदान गरेको पौडेलले जनाए । नेवाः राज्य समितिका संयोजकसमेत रहेका चियापान समारोहका आयोजक पौडेलले थप्पड हान्ने युवक कुँवर नमस्कार गर्दै मञ्चमा पसेको बताए । 

'शुभकामना दिन नमस्कार गर्दै त्यो व्यक्ति मञ्चमा प्रवेश गर्‍यो, त्यसपछि हात मिलाएर हातपात प्रयास गर्‍यो,' उनले भने, 'त्यसपछि करिब तीन हजार व्यक्तिले अध्यक्ष, प्रधानमन्त्री लगायत नेतासँग हात मिलाएर शुभकामना आदानप्रदान गर्नुभयो ।' उनले चियापान कार्यक्रम व्यवस्थित भए पनि अन्त्यमा आएर 'अलिकति नराम्रो' भएको बताए ।  अपराह्न ४ बजेपछि एमाओवादीको चियापान समापन गरी अघि-अघि प्रधानमन्त्री भट्टराई र त्यसपछि दाहाल चियापानस्थल भृकुटीमण्डपबाट बाहिरिएका थिए । त्यसबेला वाईसीएलका कार्यकर्ताले नाराबाजी गरी सवारी आवागमन अवरुद्ध पारेका थिए । 



'नियोजित षड्यन्त्र’

एमाओवादीले दाहालमाथिको आक्रमणलाई 'नियोजित षड्यन्त्र' भन्दै शीर्ष नेताहरूको सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ ।

शुक्रबार अपराह्न दाहाल निवास लाजिम्पाटमा बसेको शीर्ष नेताहरूको बैठकले थप्पड हानिनु 'प्रतिगामीहरूको षड्यन्त्र भएको' निष्कर्ष निकालेको हो । 'यो प्रतिगामीहरूको नियोजित षड्यन्त्र हो,' प्रवक्ता अग्नि सापकोटाले भने, 'शीर्ष नेताहरू सुरक्षामा सतर्क हुनुपर्छ भन्ने देखाएको छ ।' उनले शीर्ष नेताहरूमाथि हुने आक्रमणलाई निरुत्साहित गर्नुपर्ने बताए । 'यो अध्यक्षमाथि आक्रमण गर्ने दुष्प्रयास हो,' उनले भने, 'यस्तो घटनालाई निरुत्साहित गर्नुपर्छ ।' उनले कुँवर नेकपा-माओवादी भ्रातृ संगठन जनस्वयंसेवक जिल्ला समिति बागलुङका सदस्य भएको प्रारम्भिक जानकारी पाएको बताए । भृकुटीमण्डपबाट एमाओवादीका नेताहरू सीधै दाहाल निवास लाजिम्पाट गई चियापानमा भएको उक्त घटनाको समीक्षा गरेका थिए ।



नेकपा-माओवादीको आपत्ति

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले एमाओवादी अध्यक्ष दाहालमाथि आक्रमण प्रयासमा आफ्नो पार्टीको 'अप्रत्यक्ष' संलग्नता रहेको आरोप लगाउनु आपत्तिजनक भएको बताएको छ । माओवादी महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठकपछि सचिव नेत्रविक्रम चन्दले आरोप खण्डन गरेका हुन् । 'हाम्रो पार्टीलाई मुछेर बढाईचढाई नगर्न र जोडेर दोषारोपण गर्नु हुँदैन,' उनले भने, 'जिम्मेवार पार्टीका जिम्मेवार नेताले यस्तो आरोप लगाउन सुहाउँदैन ।' उनले दाहालमाथि आक्रमणको प्रयास दुःखद भएको प्रतिक्रिया दिए । उनले दाहाललाई थप्पड हान्ने व्यक्ति निराश हुँदै हिँडेको आफूले सुनेको उल्लेख गर्दै उनी आफ्नो पार्टीको संगठित सदस्य नभएको बताए ।





यसअघिका कुटपिट शृंखला

२०६७ माघ ७ गते- एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ताबाटै थप्पड

२०६९ साउन ३ गते— भृकुटीमण्डप प्लेनममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरूमाथि असन्तुष्ट लडाकुबाट कुर्सी प्रहार 

२०६९ असोज १३ गते- कांग्रेस सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताबाट कुर्सी प्रहार, बायाँ हरमा सामान्य चोट

२०६८ वैशाख १९ गते- तत्कालीन माओवादी सभासद झक्कु सुवेदीमाथि तीनकुनेमा झापड प्रहार

२०६८ मंसिर २१ गते- राज्यव्यवस्था समितिका तत्कालीन सभापति रामनाथ ढकालको गाडीमा पुतलीसडकमा ढुंगा प्रहार

२०६८ मंसिर २५ गते राति- शासकीय स्वरूप निर्धारण समितिका सभापति शम्भु हजारा दुसादमाथि अज्ञात समूहबाट रड प्रहार 





को हुन् कुँवर ?



बागलुङ -कास)- एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको पूरै परिवार 'जनयुद्ध' अवधिभर माओवादी पार्टीमै सक्रिय थियो । राजकुत-२ कुटनेटा घर भएका कुँवर माओवादी भूमिगत अवस्थामा छँदा लडाकु र पछिल्लो समय वाईसीएल गाउँ इञ्चार्ज थिए । उनका बाबु,, दाजु र माइली दिदी पनि माओवादीका पूर्णकालीन सदस्य थिए । वाईसीएल गाउँ इञ्चार्ज रहेका कुँवर पार्टी विभाजनपछि भने कुनै गुटमा नलागेको छिमेकीले बताए । कुँवरका बाबु प्रेमबहादुरसहित परिवार नै पार्टीमा समर्पित थिए । उनका जेठा दाइ सुन्दर र माइली दिदी साधना माओवादीका पूर्णकालीन सदस्य हुन् । पार्टी एक छँदा साधना जिल्ला सचिवालय सदस्य थिइन् । 'सशस्त्र युद्ध' को पूर्ण समय लडेकी उनी पछिल्लो समयमा काठमाडौं सरुवा भएको पार्टीका कार्यकर्ताले बताए । सुन्दर पनि पूरै समय भूमिगत रूपमा माओवादीमा संलग्न थिए । उनी अहिले गाउँमै पसल गरेर बसेका छन् । पार्टी विभाजनपछि कुँवर भने जापान जाने तयारी गरी काठमाडौंको याक एन्ड यती होटलमा तालिम लिँदै आएको प्रहरी नायब उपरीक्षक कृष्ण सिवाकोटीले जानकारी दिए ।

No comments: