Monday, November 5, 2012

राष्ट्रपतिले दाहाललाई भने- कुनै कदम चाल्दिनँ

काठमाडौ, कार्तिक २० - एमाओवादी नेता एवं अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादव सक्रिय हुन कूटनीतिक र सुरक्षा निकायमार्फत 'मुभ' गर्न खोजेको बताएपछि राष्ट्रपतिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग 'दलहरूको सहमतिबेगर कुनै निर्णय नलिने' जनाएका छन् ।
राष्ट्रपति यादव र दाहालबीच शीतल निवासमा कुरा भइरहेका बेला पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रवक्ता अग्नि सापकोटा भने राष्ट्रपति सक्रिय हुन चाहेको 'विश्वस्त' जानकारी प्राप्त भएको बताइरहेका थिए । दाहालसँगको भेटमा राष्ट्रपतिले आफू सक्रिय हुन खोजेको भन्ने हल्ला गलत भन्दै आशंका नगर्न भनेका थिए । 'बाहिरको हल्लाका पछि नलाग्नुस्, दलहरूको सहमतिबिना म कुनै निर्णय लिन्नँ भनेर उहाँले प्रस्ट पार्नुभयो,' राष्ट्रपतिसँगको भेटपछि दाहालले भने ।
राष्ट्रपतिले सरकारलाई बर्खास्त गरी सक्रिय हुन खोजेको भन्दै गत साता एमाओवादी स्थायी समिति बैठकमा छलफल भएको थियो । त्यसको दुई दिनपछि अर्थमन्त्री पुनले राष्ट्रपति सक्रिय हुन खोजेको अभिव्यक्ति दिएका थिए । एमाओवादी स्रोतले राष्ट्रपतिले युरोपियन युनियन र भारतीय कूटनीतिज्ञसँग आफूले कदम चाल्न थालेको बताएको र नेपाली सेनाका उच्च अधिकारीसँग पनि परामर्श गरेको दाबी गरेको छ ।
'राष्ट्रपतिले युरोपियन युनियन र भारतीय कूटनीतिज्ञसँग आफूले सरकारविरुद्ध कदम चाल्ने बताएको हामीले स्पष्ट जानकारी पायौं,' एमाओवादीका एक वरिष्ठ नेताले दाबी गरे, 'साथै उहाँले नेपाली सेनाका उच्च अधिकृतसँग पनि परामर्श गर्नुभएको छ । सेनाले वैधानिक निर्णय मात्र मान्ने बताएको पनि थाहा पायौं ।' राष्ट्रपतिले भारतीय उच्च अधिकारीलाई आफ्नो कदममा साथ दिन गरिएको आग्रहबारे केही नबोलेको स्रोतको दाबी छ ।
नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटा राष्ट्रपतिविरुद्ध आक्रामक देखिन्थे । 'तत्कालीन राजा ज्ञानेन्द्र जस्तै राष्ट्रपतिले म चुप लागेर बस्दिनँ भन्न थाल्नुभएको छ,' उनले भने, 'यदि राजनीतिक निर्णय मान्दिनँ भन्न थाल्नुभयो भने उहाँको हालत ज्ञानेन्द्रको जस्तै हुनेछ ।' उनले राष्ट्रपति 'अनावश्यक' चिन्तित भएको टिप्पणीसमेत गरे । 'उहाँले दलहरूलाई आग्रह गर्ने हो, बढी चिन्ता लिनुपर्दैन,' उनले भने, 'राजनीतिक निकास निकाल्ने दलहरूले नै हो ।'
उनले सहमतिका लागि पार्टीले ल्याएको प्रस्तावलाई कमजोरी ठाने कठोर कदम चाल्ने चेतावनीसमेत दिए । 'हामीले सहमतिका लागि ल्याएको प्रस्तावलाई कमजोरी ठाने हामी कठोर कदम चाल्ने छौं,' उनले भने, 'त्यसबेला हाल स्थगित गरेका जनपरिचालनका कार्यक्रम सुरु गर्छौं र जनतालाई भन्दिन्छौं ।' केही दिनभित्र राजनीतिक सहमति नभए संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले जनपरिचालनका कार्यक्रम तय गर्ने उनको भनाइ थियो । उनले पूर्ण बजेटका पक्षमा सहमतिका साथै जनमत बनाउने जानकारीसमेत दिए । शीतल निवास जानुअघि दाहालले एमाले अध्यक्ष झलनाथ खनालसँग राष्ट्रपतिले कुनै कदम चाल्न खाजेको जानकारी पाउनु भएको छ कि भनेर फोनमा सोधेका थिए । दाहालले राष्ट्रपतिले कदम चाले मुलुक दुर्घटनामा पर्ने भन्दै दलहरूले छिट्टै सहमति निकाल्नुपर्ने बताएका थिए ।


प्रकाशित मिति: २०६९ कार्तिक २० ०८:३२

No comments: