Sunday, November 4, 2012

राष्ट्रपति कामचलाउ: अर्थमन्त्री वर्षमान पुन

संविधानसभा भंग भएदेखि सत्तापक्ष र विपक्षीबीच जारी द्वन्द्व अगाडि बढाउने कारण यतिखेर बजेट बनेको छ । निर्वाचनयता चौथोपटक बजेटलाई सत्तामा जाने र टिकाइराख्ने सिंढीका रुपमा दलहरुले उपयोग गर्न खोजिरहेका छन् । राजनीतिक अवस्था विगतभन्दा तरल रहेको अवस्थामा राष्ट्रपतिले पनि बजेटबारे चासो दिइरहेका छन् । राजनीतिक खिचातानीका बीच बजेट निर्माणको अवस्था र सहमतिको प्रयासबारे कान्तिपुरका गोकर्ण अवस्थीगंगा बीसीले अर्थमन्त्री वर्षमान पुनसँग शनिबार बिहान गरेको कुराकानीः

दुई वर्षअघि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक तृतीयांश बजेट ल्याएर मंसिरमा पूरा बजेट संविधानसभामा पेस गर्न खोज्दा माओवादी सभासदले हातपात गरे । अहिले तपाईंहरू त्यस्तै अवस्थामा पुगेर पूरा बजेट ल्याउन एमाले, कांग्रेसकै सहमति खोज्दै हुनुहुन्छ । कस्तो महसुस भइरहेछ ?
भूमिकाहरू त बदलिरहन्छन् नै । समग्रमा भन्नुपर्दा त्यतिखेर भिन्नै राजनीतिक परिवेश थियो । हामीसँग संसद् थियो । संविधान बनिरहेको थियो । त्योभित्र आन्दोलनका कार्यक्रम थिए हाम्रा । अहिले सभा नभएको र संविधान नबनिरहेको अवस्थामा राजनीतिक संक्रमण र आर्थिक जटिलता पनि बढ्दै गएकाले हामी फरक र गम्भीर मोडमा छौं । यो अवस्थामा विगतको पनि समीक्षा गरौं तर अहिलेको धरातलमा उभिएर बजेटमा छलफल गरौं भन्ने सरकारको धारणा हो ।
तर पनि बजेट भन्ने कुरा त संसद् हुँदा र नहुँदा पनि बराबरै महत्त्वपूर्ण रहेछ भन्ने मन्त्री भएपछि अनुभूति भयो होला नि ?
महत्त्व त्यतिखेर पनि बुझेकै हो । सुरुमा एक तृतीयांश ल्याउन उहाँहरूलाई सहज गरिदिएकै हो । त्यसपछि हाउसमा बजेट प्रस्तुत गर्ने तर राजनीतिक निकास नखोज्ने अवस्था बन्दा आक्रोशजस्तो देखिएको थियो । त्यसबेला उहाँहरूले अध्यादेशबाट बजेट ल्याउनुभयो र त्यसलाई स्विकारेकै हो । त्यही सन्दर्भमा यस वर्ष पनि असारमा हामी एक तिहाइ ल्याएर पछि हट्यौं । अब उहाँहरूले पनि अर्थतन्त्र जटिल अवस्थामा पुगेकाले सहमति गर्नुपर्छ । सहमतिको प्रयास हुँदाहुँदै पनि उहाँहरूका विरोध छन् भने गर्दै गर्नुस् हामी बजेट ल्याउँछौं ।
संविधानसभाको निर्वाचनयता एकपटक बाहेक समयमा बजेट आएन । त्यसबेला बजेटलाई सत्ता र प्रधानमन्त्री पद पाउने माध्यम मात्रै बनाइयो । यसमा तपाईं आपmनो पार्टी र आफूलाई दोषी देख्नुहुन्न ?
हामीले किन एकपटक मात्रै समयमा बजेट ल्याउन सक्यौं, यसबारे सबैले 'रिभ्यु' गर्नुपर्छ । हामी पनि आफैंलाई रिभ्यु गर्न तयार छौं । सबैले राजनीतिक र आर्थिक सहमति खोज्नुपर्छ । गत वर्ष पनि अहिलेकै सरकारले पुरानै बजेट मानेर जिम्मेवारी देखाउन सकेकाले समयमा बजेट आएको हो । हामीले एमालेले ल्याएको बजेट मान्यौं । त्यस आधारमा पनि अहिले नैतिक रूपमा समेत पूर्ण बजेट ल्याउन सबैले सघाउनुपर्ने हो ।
वर्तमान सरकारलाई पूरा बजेट ल्याउन दिन विपक्षीहरू तयार छैनन् । तर तलबभत्तालगायत विकास निर्माणमा समस्या देखिइसकेको तपाईंहरू बताउनुहुन्छ । कसरी मिल्छ कुरा ?
पहिलो कुरो बृहत्तर राजनीतिक सहमति हुन्छ र त्योभित्र बजेट आउँछ । वैशाख दोस्रो साता निर्वाचन गर्ने भन्नेबारे छलफल भइरहेको छ । त्यो पनि भएन भने बजेटमा मात्रै सहमति हुन्छ । सबै दलका विज्ञ सहभागी भएर तयार पारिन्छ । र, यसमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम हँुदैनन् । सबै दलबाट बजेटबारे छलफल गर्न प्रतिनिधि पठाइदिन पत्राचार गरिसकेका छौं । तीन वर्षअघि योजना आयोगले तोकेको ४ खर्ब २९ अर्ब रुपैयाँकै सीमामा बजेट आउँछ । त्यति पनि भएन भने जोजो साथीहरू सहभागी हुनुहुन्छ, उहाँहरूको सल्लाह, सुझाव लिन्छौं । सहमति नभए पनि प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गरेर बजेट ल्याउँछौं ।
सरकार पनि विपक्षीका सामु बजेट देखाएर सत्ता टिकाउने खेलमा लागेको देखिन्छ नि ?
१४ महिना पूर्ववर्ती सरकारको बजेट बोकेको सरकारलाई अहिले आएर बजेटलाई हतियार बनाउनु जरुरत छैन ।
शुक्रबार राष्ट्रिय योजना अयोगका उपाध्यक्षले बजेट आकार बढ्न सक्ने भन्नुभयो । निर्वाचन, अन्य कुनै क्षेत्रमा बजेट खर्च गर्ने योजना छ ?
तीन वर्षअघि ४ खर्ब २९ अर्ब रुपैयाँको बजेट प्रक्षेपण थियो । हाम्रा मुख्य योजना र नियमित कार्यक्रम त्यहींभित्रै राख्छौं । ८, १० अर्ब चुनावी खर्च आउन सक्छ । त्यस्तै, पेट्रोलियम आपूर्तिका लागि कोष बनाउने कुरा छ । लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा दुई, तीन अर्ब लाग्ने देखिन्छ । त्यसैगरी गरिबलाई परिचयपत्र बाँड्ने र सुधारका काममा जाने कुरा छ । शान्ति प्रक्रियासँग सम्बन्धित दुई, तीन अर्बका कुरा छन् । सबै कुरा त्योभित्र आउँदैन । यो रकम बढ्छ । सैद्धान्तिक रूपमा हामी ४ खर्ब २९ अर्बभित्रै बस्छौं । तर सबै जोड्दा ४ खर्ब ५० अर्बदेखि ४ खर्ब ६० अर्बसम्म बजेट जान सक्छ । सकेसम्म हामी बजेटको आकार कम गर्ने कोसिस गर्छौं ।
राष्ट्रपतिले सहमतिमै बजेट ल्याउनुस् भन्नुभएको छ । तपाईंले सहमति नगरी ल्याउनुभो भने उहाँले फिर्ता पठाइदिने सम्भावना पनि त होला ?
उहाँले सहमति भन्नुभएको छ, त्यो ठिकै छ, हामी पनि त सहमतिमै ल्याउने भनिरहेका छौं । तर मानौं, सहमति हुँदै भएन भने बजेटबिना त मुलुक अगाडि बढ्न सक्दैन । बजेट ल्याउनु सरकारको दायित्व हो । बजेटविहीनतामा मुलुक रहन सक्दैन । सेना, प्रहरीको तलबभत्ता, कैदीको रासनलगायत सबै रोकिन्छ । त्यति मात्रै होइन, राष्ट्रपतिकै चुलो बल्दैन, प्रधानमन्त्रीकै चुलो बल्दैन, जनताकै चुलो बल्दैन । त्यो अवस्था भनेको भयावह हो । मलाई लाग्छ, राष्ट्रपतिज्यूले पनि त्यो अवस्था आओस् भन्ने ठान्नुभा छैन ।
प्याकेजमै सहमति हुन्छ त ?
राम्रो कुरो प्याकेजमै सहमति हुनु हो । सहमति बने राष्ट्रिय सरकारले नै बजेट ल्याओस्, त्यसले सबैको स्वामित्व पनि स्थापित गर्छ । नहँुदा पनि सबैको स्वामित्व महसुस हुनेगरी हामी बजेट बनाउँछौं । त्यो पनि नहुँदा, उठेका कुरालाई सम्बोधन गरेर बजेट तयार गर्छौं । विपक्षी साथीहरूले अलिअलि 'पब्लिक कन्जम्सन' का लागि विरोध गरेजस्तो देखिए पनि सहमति हुन्छ भन्ने मलाई लाग्छ ।
तपाईंहरू सरकारचाहिं नछोड्ने तर सहमति गरौं भन्ने, कसरी हुन्छ ?
राष्ट्रिय सरकार छोडेर मात्रै बन्ने होइन । अस्ति भर्खर बाबुरामजीको नेतृत्वमा राष्ट्रिय सरकार बनेकै हो । मन्त्रीहरूले छोडे, उहाँले त छोडनु परेन नि र बाबुरामजीकै नेतृत्वमा पनि त राष्ट्रिय सरकार बन्न सक्छ वा अन्य कुनै विकल्प छ भने त्यसमा छलफल होस् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षीहरूलाई प्रधानमन्त्रीको उम्मेदवार दिन आग्रह गर्नुभएको छ, तपाईंहरूले नाम साँच्चै मागेको हो ?
यहाँ विश्वासको संकट पनि छ । केही दिनअघि विपक्षीले चुनावमा जाने भन्नुभयो । जब कि हामीले जेठ १४ मै चुनाव घोषणा गरेका हौं । मंसिर ७ मा घोषणा गरेको चुनावको विरोध गरेर संविधानसभा पुनःस्थापनाको कुरा भयो । त्यसपछि हामीले पुनःस्थापनाको कुरा गर्दा कम खर्चिलो पनि हुन्छ, सभासदको इज्जत पनि जोगिन्छ भनेर त्यसमा जोड दियौं । अनि कांग्रेस, एमालेका साथीहरू फेरि चुनावमा जानुभयो । हामीले चुनावमै जाऔं भन्दा पनि त्यति इच्छुक देखिरहनुभएको छैन । हामीले संविधान जारी गरौं र सरकारको नेतृत्व लिनुस् भन्यौं । खासगरी कांग्रेसभित्रको संघर्षले उम्मेदवार दिन सक्नुभएको छैन । अहिले पनि उहाँहरूले उम्मेदवार दिन सक्नुभयो भने हामीलाई के आपत्ति छ र ?
कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दियो भने तपाईंहरू सरकारको नेतृत्व दिनुहुन्छ ?
हामीले नेतृत्वमा सहमति गरौं भनेका छौं । विपक्षीहरूले उम्मेदवार ल्याए भने छलफल गर्छौं । संविधानको विषयमा केही पनि नबोलीकन सरकार छाड्ने कुरा हुँदैन । अहिले जति पनि संविधानमा टुंगिएको विषय छ, तिनलाई आन्तरिक रूपमा लिपिबद्ध गर्ने काम भइरहेको छ । संविधानसभामा बहस भएका कुराहरू आन्तरिक रूपमा मिलाउने काम भइरहेको छ । पार्टीहरूले विश्वासका साथ गरिरहेका छन् । कांग्रेस, एमालेका साथीहरूले उम्मेदवार दिने, यताबाट मिलाउने काम हुँदै छ । कुरा मिल्यो, संविधान जारी गर्ने अवस्था भयो भने काम अघि बढ्छ । त्यो भएन भने चुनावमा जाने हुन्छ । हाम्रो कोसिस यही सरकारले चुनाव घोषणा गर्ने भन्ने हुन्छ । चुनावमा जाने यही सरकारको लाइन हो । अन्तर्राष्ट्रिय र लोकतान्त्रिक परम्परा पनि त्यही हो । यसमा सबै पार्टीको सहभागिता हुन्छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिका लागि भन्दै प्रस्ताव ल्याउनुभयो, त्यो एमाओवादी अध्यक्षसँग सल्लाह गरी ल्याएको भनिन्छ नि ?
अहिले धेरै प्रस्ताव आएका छन् । माधवजीले ल्याएको प्रस्ताव आधारभूत रूपमा ठिकै छ । त्यसैले पनि भित्र गृहकार्य भइरहेको छ । संविधानमा टुंगिएको विषय लिपिबद्ध गर्ने काम पनि भइरहेको छ । निष्कर्षमा पुग्यौं भने सरकार परिवर्तन हुन्छ । टुंगिएका विषय लिपिबद्ध गरेर जाऔं भन्नुको अर्थ संग्रहमा राख्न होइन ।
संविधानमा भएका सहमति कायम राख्ने सहमति भयो भने यो सरकार परिवर्तन हुन्छ ?
हुन्छ । अर्को सरकार बन्छ नै । विगतमा मिलेका विषय लिपिबद्ध भए र संविधानको रूपमा जारी हुने अवस्था भयो भने यो सरकारले स्वतः छोड्छ, अर्को सरकार आउँछ ।
संघीयताको विषय जटिल भएर गएको छ, कसरी मिलाउने ?
संघीयताको विषय आउने व्यवस्थापिका संसद्ले संविधानसभाको काम गर्ने गरी मिलाउँछ । जति टुंगिएका छन्, टुंगिए । प्रदेशको नाम, संख्या, सीमाको कुरा अनुसूचीमा रहन्छ । संविधानसभा समितिको १४, आयोगको १० आयोग र अन्य ६ प्रदेश या यस्तै फरक मत पनि रहन्छ । पहिचानसहितको संघीयताको आधार दिइन्छ, अनुसूचीमा बाँकी मत राखिन्छ । मत कसैले छोड्नु पर्दैन । भोलि जनताले पक्ष-विपक्षमा मत दिन्छन् ।
अहिले राजनीतिक सहमतिको बाधक सरकार हो कि अरू कोही ?
कुरो गर्दै जाँदा संघीयताका विषयमा नमिलेको हो । संघीयतालाई पछाडि मिलाउने भनेपछि सरकारको नेतृत्वमा कुरा नमिलेको हो । हामीले सरकारको नेतृत्व छाड्दा पनि कांग्रेसभित्र नेतृत्व संघर्ष देखिन्छ । कांग्रेसबाट सामान्यतया प्रधानमन्त्रीको उम्मेदवार सुशीलजी हुनुपर्ने हो । संसद् पुनःस्थापनापछि देउवा र रामचन्द्रजीको बहुमत हुन्छ र उहाँ बन्नुहुन्न भनेर ती नेतावरिपरिका व्यक्तिहरूलाई लागेको छ । अनि कांग्रेसभित्रको नेतृत्व संघर्षले संसद् पुनःस्थापनामा सहमति हुन नसकेको हो । होइन भने ७८ सांसद एकातिर हुँदा पनि कांग्रेसले पुनःस्थापनामा मानेन ।
आन्तरिक किचलोले गर्दा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिन सक्दैन भन्ने सोचेरै एमाओवादी अध्यक्षले नाम मागेको देखियो नि ?
हामीले बाहिरबाट हस्तक्षेप गर्ने कुरा भएन । उहाँहरूले सहमति गर्नुहोला भन्ने लागेको छ । हामीले सहज किसिमले समाधान आओस् भनेर गरेको हो ।
केही दिनअघि एमाओवादीले संविधानसभा पुनःस्थापनाको कुरा जोडतोडले उठाएको थियो, अहिले आएर फेरि चुनावमा जाने भन्दै छ । एमाओवादी अब चुनावतिरै ढल्केको हो ?
हाम्रो पार्टी नेतृत्वको सरकारले निर्वाचनको घोषणा गरेको हो, त्यसकारण नैतिक रूपमा हामी निर्वाचनमा जोड दिन्छौं । दुई वर्षका लागि भनिएको संविधानसभाको म्याद चार वर्ष गयो । लोकतन्त्र भनेको आवधिक निर्वाचन, आवधिक प्रतिनिधि पठाउने हो । त्यस अर्थमा निर्वाचनमा जोड हो ।
तर फेरि अर्को संविधानसभा निर्वाचनमा जनतामाझ के भनेर जाने ? सबै पार्टीलाई अप्ठ्यारो छ । पूर्वसभासदहरूलाई झन् अप्ठ्यारो छ, उम्मेदवार उठ्ने कि नउठ्ने ? फेरि जनता अर्को संविधानसभा निर्वाचनका लागि तयार छैनन् । यस्तो अवस्थामा टुंगिएको विषयलाई समेटेर संविधान जारी गर्ने र संघीयता मुद्दालाई अर्को निर्वाचनमा टुंगो लगाउने गरी जान सकिन्छ । यसो गर्दा सबै पार्टी र नेताहरूलाई पनि राम्रो हुन्छ । यसरी पुनःस्थापनामा जनमत बनेको हो । त्यसैले अब पार्टीहरू जुन एजेन्डामा आए पनि हामी खुला नै छौं । खासमा हाम्रो यही भन्ने 'पोजिसन' छैन । हामी दुवै विकल्पमा तयार छौं ।
निर्वाचनमा जाने सहमति भयो भने यसको प्रक्रिया कस्तो हुन्छ ?
यसमा दुइटा बाटा छन् । एउटा, बाधा अड्काउ फुकाउने तरिकाले अध्यादेशमार्फत गर्ने हो । अर्को, संसद् पुनःस्थापना गरेर अन्तरिम संविधान संशोधन गरी निर्वाचनमा जाने । संसद् पुनःस्थापना गर्दा संविधानसभा पुनःस्थापना किन नगर्ने मत पनि होला । त्यसबेला नेताहरू फेरि जागिर खान, कुर्सीको खेल खेल्न थाले भन्ने आरोप पनि आउन सक्छ । सम्भवतः बाधा अड्काउ फुकाएर ताजा निर्वाचनमा जानेखालको हुन सक्छ ।
अब हुने निर्वाचन संसद् कि संविधानसभाको ?
संविधान जारी भयो भने पनि, संविधान जारी हुन नसक्दा पनि अर्को चुनाव संविधानसभाकै हुन्छ । त्यसले निश्चित अवधि संविधानसभाको काम गर्छ, त्यसपछि संसद्को । आगामी वैशाखमा जस्तोसुकै अवस्थामा पनि चुनाव हुन्छ, अरू केही उपाय छैन ।
राष्ट्रपतिले दलहरूलाई निर्वाचनमा जान आग्रह गरिरहनुभएको छ, एमाओवादीलाई कस्तो लाग्छ ?
राष्ट्रपतिलाई आरोप लगाउनेहरूले राष्ट्रपतिजीले आफ्नो कार्यकाल एक, दुई वर्ष लम्ब्याउन खोज्नुभयो भनेका छन् । संविधान जारी भयो भने वैशाखमा उहाँको कार्यकाल सकिन्छ । त्यसपछि अर्को राष्ट्रपति वा अर्को व्यवस्था भएर जान्छ । उहाँले अर्को संविधानसभाको चुनाव भयो भने एक, दुई वर्ष कार्यकाल लम्ब्याउन खोज्नुभयो भन्ने भनाइ पनि आएका छन् । यो मेरो भनाइभन्दा पनि अरूको कुरा हो । जेठ १४ गते राष्ट्रपतिज्यूको कार्यकाल पनि सकियो । उहाँ पनि कामचलाउ नै हो, जसरी एक ढंगले सरकार कामचलाउ रहेको छ । जेठ १४ पछि राष्ट्रपतिज्यूलाई निर्वाचित गर्ने संविधानसभा छैन । संविधानले स्पष्ट गरी उहाँको कार्यकाल संविधानसभाले अर्को संविधान नबनाउँदासम्म भनेको छ । त्यो संविधानसभा विघटन भयो । राष्ट्रपति स्वतः कामचलाउ हुनुभयो । यो संविधानमा अर्को संविधानसभा नभएजस्तै अर्को राष्ट्रपतिको पनि परिकल्पना छैन ।
तपाईंहरूको स्थायी समिति बैठकमा राष्ट्रपति सक्रिय हुन खोजेको निष्कर्ष निकालिएछ नि ?
राष्ट्रपतिजीले अन्तर्राष्ट्रिय कूटनीतिक 'मुभ' गर्नुभयो । अलिकति सुरक्षा निकायतिर मुभ गर्नुभयो । सरकार हटाएर आफैंले लिन खोज्ने मुभ पनि गर्नुभयो । त्यो असाध्यै असंवैधानिक कदम हो । अहिलेको सबै प्रक्रिया गणतन्त्र, धर्मनिरपेक्षता सबै कुरा खतम गर्ने कदम हुन्छ त्यो त । लोकतन्त्रवादी राष्ट्रपतिले यस्तो कुरा कसरी सोच्नुभयो ? आश्चर्यजनक छ । सुरुमा मान्छेले भन्दा विश्वास लागेको थिएन, तर तथ्य भेटिएपछि हामी आफैं आश्चर्यमा परेका छौं । सक्रिय हुन धेरैसँग उहाँले कुरो पनि गर्नुभएछ । उहाँले कदम चाल्नुभयो भने कि पूर्वराजाकामा जान्छ कि चाहिँ गृहयुद्धतिर जान्छ । देश कल्पनै नगर्ने अवस्थामा जान्छ ।
प्रसंग बदलौं, अनमिनले अयोग्य प्रमाणित गरेका लडाकुलाई राज्यकोषबाट रकम दिई सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप छ नि ?
पहिले राज्यकोषबाट उनीहरूले तलबभत्ता खाइसकेका हुन् । पकेट खर्च लिएर शिविरमा बसिसकेका हुन् । यो माओवादी पार्टीको मात्र समस्या होइन, राज्यकै समस्या हो । त्यतिखेर बहिर्गमनमा परे, विगतमा सम्झौताका कारणले परे । त्यसबेला राज्यले यूएनडीपीको सहयोगमा करिब ८० करोड शान्ति मन्त्रालयमार्फत तालिम, प्याकेज बनाएर खर्च गरेको हो । के त्यो नीतिगत भ्रष्टाचार थियो ? त्यसले सम्बोधन गरेन भनेर बहिर्गमनमा परेकाहरूले बारम्बार आन्दोलन गरे, सहमति पनि भयो । तर समस्या समाधान भएन । अहिलेको सरकारले केही न केही सम्बोधन नगर्दा राज्यको समस्या हुने भो । अहिले सम्बोधन नगर्दा ठूलो मूल्य चुकाउनुपर्छ भनेर केही न केही सम्बोधन गरौं भनेर सोचेका हौं । 

No comments: