Friday, November 30, 2012

बनेन सरकारको चित्र

संविधानका अन्तरवस्तु र निर्वाचन प्रक्रियामा सहमति भए कोइरालालाई मान्न एमाओवादी तयार
 
काठमाडौ, मंसिर १६ - राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि अर्को सात दिन म्याद थपे पनि आगामी सरकारको चित्र स्पष्ट हुन सकेको छैन । एमालेको समेत समर्थन रहेको कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गरेपछि मात्र आगामी सरकारको खाका स्पष्ट हुनेछ ।
राष्ट्रपतिले सातदिने म्याद थपेका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले 'राजीनामा खल्तीमा राखेको' बताउन थाल्नुलगायत घटनाक्रमले भट्टराई आगामी सरकारको दौडबाट बाहिरिएको संकेत गर्छ ।
तर कांग्रेसले औपचारिक उम्मेदवार तय गर्न नसक्दा एमाओवादी र सत्ता गठबन्धनले भट्टराई नेतृत्वमै सहमतिको प्रयास गर्ने निर्णय गरेका छन् ।

उनीहरूले विकल्प भने खुलै राखेका छन् । भट्टराई नेतृत्वमा सहमतिको सरकार बन्नेमा स्वयं एमाओवादी ढुक्क नभएको अवस्थामा अबको प्रधानमन्त्री को भन्ने चर्चा बढ्दै गएको छ । संविधानका अन्तरवस्तु र निर्वाचन प्रणालीमा सहमति भए कांग्रेसलाई सरकारको नेतृत्व दिन एमाओवादी तयार छ । तर कांग्रेसले यी दुवै नमानेसम्म सरकार नछाड्ने उसको अडान छ । हालसम्म कांग्रेसले संविधान र निर्वाचनबारे कुरै नगरेकाले यो अडान अझै केही समय अघि बढाउने एमाओवादी एक वरिष्ठ नेताले बताए । 'संविधानका अन्तरवस्तु र निर्वाचन प्रक्रियामा सहमति नभई अहिले नै कांग्रेसलाई नेतृत्व दिनेमा नरम हुनु प्रत्युत्पादक हुन्छ,' ती नेताले भने ।

तर सरकारकै अडानका कारण 'कतै प्राप्त उपलब्धिसमेत नगुमोस्' भन्नेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सचेत छन् । सरकारको निरन्तरताभन्दा संविधानका अन्तरवस्तु र निर्वाचन प्रक्रियामा सहमति गराउन दाहालको बढी जोड छ । त्यसकारण पनि उनी कांग्रेस सभापति सुशील कोइरालालाई फकाउने अभियानमा छन् । त्यसका लागि उनले प्रत्यक्ष/अप्रत्यक्ष 'च्यानल' प्रयोग गरिरहेको स्रोतको भनाइ छ ।
दाहालले राष्ट्रपतिसँग पटक-पटकका भेटमा संविधान र निर्वाचन प्रक्रियामा सहमतिका लागि आवश्यक वातावरण बनाउन आग्रह गरिसकेका छन् । 'राष्ट्रपतिले कोइराला प्रधानमन्त्री बनुन् भन्ने मनसाय देखाउनुभएको छ,' एमाओवादी स्रोतले भन्यो, 'संविधानका विषयवस्तु र निर्वाचन प्रक्रियामा सहमति हुने अवस्थामा कोइरालालाई स्वीकार्न आपत्ति छैन ।' एमाओवादीले भट्टराईको विकल्प सत्तारूढ गठबन्धनभित्रबाटै खोज्ने निर्णय पनि गरिसकेको छ । तर अहिल्यै सरकारको विकल्प गठबन्धनबाहिरबाट खोज्ने निर्णय गर्दा शक्ति कमजोर हुने ठम्याइ एमाओवादीको छ । गठबन्धनभित्रबाटै अर्को कोही प्रधानमन्त्री हुन्छ भने अध्यक्ष दाहाल नै हुन् भन्ने एकथरी एमाओवादीको तर्क छ ।
'अध्यक्षको नेतृत्वमा सहमतिको सरकार बन्ने सम्भावना छ,' दाहाल निकट पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले भने, 'तर यही अवस्थामा अध्यक्ष प्रधानमन्त्री बन्नु हुन्न । अध्यक्षको जोड संविधान र निर्वाचन निश्चित गर्नेतिरै छ ।' प्रवक्ता अग्नि सापकोटाले पनि 'सामान्य अवस्थामा' दाहाल प्रधानमन्त्रीको आकांक्षी नभएको जनाए । राष्ट्रपतिले सहमतिको सरकारका लागि अर्को सात दिन थपेका बेला भट्टराईले राजीनामा खल्तीमा राखेको बताउनु केबल 'भन्नका लागि मात्र भनेका हुन् या साँच्चै हो' भन्ने केही दिनमा स्पष्ट हुनेछ । सहमतिको सरकार बनाउने बाटो राष्ट्रपतिले खोलिसकेको र दलहरू त्यसमा सहमत भएकाले यो सरकार लामो समय नटिक्ने महसुस भट्टराईले गरेको देखिन्छ ।
'राजीनामा गर्न तयार छु पनि भन्ने तर सरकारमा टिकिरहने कुरा गरिरह्यो भने प्रत्युत्पादक हुन्छ भन्ने उनलाई राम्ररी थाहा छ,' निकट स्रोतले भन्यो, 'भट्टराई सुरक्षित अवतरण चाहन्छन्, कसैको जबर्जस्तीबाट होइन कि सहमतिमै बालुवाटारबाट हट्ने उनको इच्छा छ ।' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अबको सरकारको नेतृत्व एमाओवादी वा कांग्रेसको पोल्टामा जाने बताए । 'प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार बन्छ,' उनले भने, 'प्याकेजमा राजनीतिक सहमति भएन भने यही सरकारले निरन्तरता पाउँछ ।' व्यक्तिगत निर्णयका आधारमा भट्टराई अघि नबढ्ने पौडेलको भनाइ छ । 'प्रधानमन्त्री स्वतन्त्र ढंगले काम गर्ने वातावरण नभएको अवस्थामा बसिरहने मनस्थितिमा हुनु हुन्न,' उनले भने, 'दलहरूबीचको सहमतिका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।'





प्रकाशित मिति: २०६९ मंसिर १६ ०८:४०

No comments: