Tuesday, December 4, 2012

लुम्बिनी विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार

काठमाडौ, मंसिर १८ - 
लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार भएको छ । कोरियाका प्राध्यापक क्वाकले सोमबार एमाओवादी अध्यक्ष एवं बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल र पर्यटनमन्त्री पोस्टबहादुर बोगटीसमक्ष प्रारम्भिक गुरुयोजना प्रस्तुत गरेका हुन् । लुम्बिनीलाई केन्द्रबिन्दुमा राखी तयार पारिएको गुरुयोजना कमलको फूल आकारको हुनेछ । लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँच/पाँच माइल अर्थात् ६ हजार ४ सय हेक्टरमा बन्ने प्राध्यापक क्वाकको गुरुयोजनामा उल्लेख छ । दाहालले प्रारम्भिक गुरुयोजना राम्रो भएको प्रतिक्रिया दिए । 'यो प्रारम्भिक गुरुयोजनाबारे राम्रो छलफल भयो,' उनले संक्षिप्त प्रतिक्रिया दिए । पर्यटनमन्त्री पोस्टबहादुर बोगटीले गुरुयोजनाबारे निरन्तर छलफल हुने बताए ।

गुरुयोजनामा चार क्षेत्र हुने उल्लेख छ । त्यसअनुसार बुद्ध, धर्म, संघ र उपासक क्षेत्र हुनेछन् । यी क्षेत्र निर्माणका लागि तीन अर्ब डलर लाग्ने अनुमान छ । त्यसका लागि राष्ट्रसंघ, विश्व बैंकलगायतले सहयोग गर्ने प्राध्यापक क्वाकले बताएका छन् ।

राष्ट्रसंघका महासचिव बान कि मुनसँग राम्रो सम्बन्ध रहेका क्वाक लामो समयदेखि लुम्बिनी शान्ति सहर बनाउने अभियानमा लागेको उनका सहयोगीले बताएका छन् । लुम्बिनी विकासको अभियानलाई लिएर एमाओवादी अध्यक्ष दाहाललाई न्युयोर्कमा मुनसँग क्वाकले नै भेट्ने व्यवस्था मिलाएका थिए । 'गरिबीका बीच शान्ति आउँदैन,' गुरुयोजनाको मूलमन्त्र छ । शान्ति सहरमा ८ वटा नगर बनाउने योजना छ ।  कपिलवस्तुको गुथिहवा, कुडान, तिलौराकोट, सग्रहवन, निल्हिवा र नवलरासीको रामग्राम, देवदल र भैरहवाको लुम्बिनी क्षेत्रलाई समेटिने जनाइएको छ । आठ शान्ति नगरको विकास गर्दा स्थानीयलाई सहभागी गराइने र उनीहरूको बासस्थान जबर्जस्त नहटाइने, पुरातात्त्विक क्षेत्रलाई जगेर्ना गरिने योजना छ । 'विकासका लागि आर्थिक वृद्धिलाई मुख्य जोड दिइने छ,' योजनामा क्वाकले भनेका छन् । लुम्बिनीलाई विश्वका धेरैले भ्रमण गर्ने क्षेत्रका रूपमा विकास गर्ने गुरुयोजनाको सार रहेको छ । दक्षिण कोरिया सहयोग नियोगको पहलमा प्राध्यापक क्वाकको योजनामा हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने उल्लेख छ । हाल वाषिर्क एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउने गरेको उनको दाबी छ । क्वाकले पहिलो चरणमा लुम्बिनी निर्देशक समितिका पदाधिकारी र दोस्रो चरणमा सरोकारवालासँग प्रारम्भिक गुरुयोजनाबारे छलफल गर्ने भएका छन् । एक महिनाअघि बृहत्तर लुम्बिनी विकास समितिका संयोजक दाहालले लुम्बिनी विकासका लागि एसिया प्यासेफिक एक्सचेन्ज कोअपरेसन -एपेक) बीच समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । निर्देशक समितिका तर्फबाट अध्यक्ष दाहाल र एपेकका तर्फबाट उपाध्यक्ष सियाओ युनानले 'लुम्बिनी बौद्ध धर्म तथा संस्कृति संरक्षण क्षेत्र र नेपाल-चीन बौद्ध धर्म तथा संस्कृति आदानप्रदानका लागि संयुक्त प्रवर्द्धन र विकाससम्बन्धी समझदारीपत्र' मा हस्ताक्षर गरेका थिए । त्यसबेला दाहालले लुम्बिनी विकासका लागि नेपाल, चीन र भारत एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै लुम्बिनीले नयाँ रणनीतिक साझेदारीका लागि नेपाल, चीन र भारतलाई एक ठाउँमा उभ्याउने भन्दै समझदारीपत्रमा भएको हस्ताक्षर त्यसको सुरुवात बताएका थिए । 

सरकारले २०६२ मा लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने निर्णय गरेको थियो । गत फागुनमा बृहत्तर लुम्बिनी निर्देशन समितिको निम्तोमा राष्ट्रसंघका महासचिव मुनले नेपाल भ्रमण गर्ने तय भएको थियो । तर, पछि समय अभावका कारण भन्दै भ्रमण स्थगित गरेका थिए । गत कात्तिकमा न्युयोर्कमा दाहालले लुम्बिनी विकासको अन्तर्राष्ट्रिय समितिमा बसिदिन आग्रह गरेका थिए ।

No comments: