Sunday, December 30, 2012

राष्ट्रपतिले दिएको छैटौं समयसीमाको पाँच दिन दलहरूले एउटै गतिलो बैठक नगरी गुजारे


काठमाडौं, पुस १५ - राष्ट्रपति रामवरण यादवले सहमतिका लागि दिएको छैटौं पटकको समयसीमा दलहरूको बेवास्ताका कारण फेरि खेर गएको छ । दलहरू महत्त्वपूर्ण समय खेर फाल्दै औपचारिक कार्यक्रममा व्यस्त भएका छन्, जसका कारण वैशाखमा चुनाव नहुने सम्भावना बढेको छ । राष्ट्रपतिले भारत भ्रमणमा जानुअघि दिएको पाँचदिने म्याद शनिबार सकिएको छ । यसबीचमा दलहरूले एक पटक पनि गतिलो बैठक नगरी त्यो समय गुजारेका छन् । भारत भ्रमणमा जाने बेला राष्ट्रपतिले बोलाएको बैठकमा दलका नेताहरूले सहमतिका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसलाई बेवास्ता गरे । बरु पछिल्ला दिनमा दलहरूको एकअर्काप्रतिको आरोप-प्रत्यारोप तीव्र भएको छ । सत्तारूढ गठबन्धनले त पुस २५ भित्र सहमति नभए संविधानसभा पुनःस्थापनाको प्रस्ताव अघि सार्ने निर्णय नै गरिसकेको छ, जसलाई विपक्षीले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । गठबन्धनले भने विपक्षीलाई सहमतिका लागि दबाब दिन पुस २५ सम्मको समयसीमा राखी सहमतिको सरकारका लागि पहल गर्ने निर्णय गरेको जनाएको छ । दलहरूबीच 'प्याकेज' मा सहमति गर्नु नै उत्तम विकल्प भए पनि पछिल्ला पाँच दिन उनीहरू उदासीन देखिए । गठबन्धनले प्याकेजमा सहमति भए अन्य दल -कांग्रेस) वा राजनीतिक सक्रियतामा स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व दिन सकिने तेस्रो विकल्प अघि सार्ने निर्णय गरेको छ । दलहरूबीच सरकारबाहेक निर्वाचन प्रक्रिया लगायतमा भएको अनौपचारिक सहमतिलाई कार्यान्वयनमा ल्याउन सके सहमति हुन गाह्रो छैन । प्रधानमन्त्री बाबुराम भट्टराईको यही सरकारलाई राष्ट्रिय स्वरूप दिनुपर्ने, नभए गठबन्धनबाटै विकल्प खोज्ने अडानबीच गठबन्धनले अन्य पार्टी वा स्वतन्त्र व्यक्ति मान्ने तेस्रो विकल्प अघि सारेको हो ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार राष्ट्र नै दुर्घटनामा जाने अवस्थामा तेस्रो विकल्प काम लाग्दो हुन सक्ने बताए । 'राष्ट्र नै दुर्घटनामा जाने अवस्थामा तेस्रो विकल्प (गठबन्धन बाहिरको पार्टी वा स्वतन्त्र व्यक्ति) काम लाग्न सक्छ,' उनले भने, 'प्याकेजमा करिब सहमति भइसकेको थियो । त्यसलाई मूर्तरूप दिई तेस्रो विकल्पमा जान सकिन्छ ।' उनले पुस २५ भित्र सहमति नभए जबर्जस्त रूपमा संविधानसभा पुनःस्थापनाको मुद्दा चर्कने बताए । वैशाख/जेठमा निर्वाचन हुन नसक्ने अवस्थामा पुनःस्थापनाको कुरा सही सावित हुने उनको दाबी थियो । उनले विपक्षीहरू यो सरकारमा आउँदै नआउने जस्ता प्राविधिक कारणले समाधान ननिस्केको आरोप लगाए ।
उता एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमाओवादी र सत्तारूढ गठबन्धनको दाउपेचका कारण पछिल्लो पाँच दिनको समयसीमाभित्र कुनै वार्ता, संवाद नभएको बताए । 'एमाओवादी र गठबन्धनको दाउपेचका कारण केही नभएको हो । दाउपेच अघि सारेर वार्ता गर्नुको अर्थ पनि हुँदैन,' उनले भने, 'खासगरी एमाओवादीले नीति परिवर्तन गरिरहेका कारण विश्वासको वातावरण बन्न सकेको छैन । यसले जनतालाई अलमल्याउने काम मात्र गरेको छ ।' उनले सहमति गरी निर्वाचनमा जानुको सट्टा सत्तारूढ गठबन्धन सरकार लम्ब्याउन तल्लिन भइरहेको आरोपसमेत लगाए । 'यो सत्ता लम्ब्याएर निर्वाचन गर्न नचाहने दाउपेचबाहेक केही होइन,' उनले भने, 'वार्ताका लागि हुने वार्ताले निकास दिँदैन ।' पछिल्लो समय एमाओवादीले कांग्रेस सभापति सुशील कोइरालालाई स्वीकार गर्ने सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकाल्दै पुनःस्थापनाको मुद्दा उठाउन थालेको छ 

No comments: