Saturday, December 22, 2012

दाहाल-भट्टराई मतभेद उस्तै


काठमाडौ, पुस ७ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराईबीच राजनीतिक सहमति खोज्नेबारे मतभेद कायमै छ ।
राजधानीको एक होटलमा शुक्रबार सुरु विस्तारित पदाधिकारी बैठकमा पनि दुई नेताबीच कुरा बाझियो । बैठकमा दाहालले भने, 'कांग्रेस-एमालेसँग सरकारबाहेक विषयमा सहमति नजिक पुगेको हो ।'
भट्टराईको भनाइ भने बेग्लै थियो, 'यो सरकार वैधानिक हो । यो सरकार कुनै हालतमा छाड्नु हुँदैन । यही सरकारलाई राष्ट्रिय सहमति कायम गरी जानुपर्छ । भएन भने गठबन्धनभित्रैबाट विकल्प खोज्नुपर्छ ।' बैठकमा उनले यतिसम्म भने कि आवश्यक परे दाहालले प्रधानमन्त्री हुन तयार हुनुपर्छ ।
दाहालले संघीयताबारे प्रत्यक्ष, समानुपातिक २ सय ४० र मनोनीत ११ जना राख्न कांग्रेस-एमालेसँग करिब सहमति भएको जानकारी गराएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार भट्टराईको जोड सरकारप्रति केन्दि्रत थियो भने दाहालले मुलुकमा चलखेल बढेको भन्दै पार्टीहरूले स्वतन्त्रतापूर्वक निर्णय गरी निकास दिनुपर्नेमा थियो ।
'यतिबेला धेरै शक्तिहरू खेलिरहेका छन्, पार्टीहरूले स्वतन्त्रतापूर्वक निर्णय गरी वैशाखमा निर्वाचन गराउनुपर्छ,' दाहालको भनाइ थियो । कुन शक्तिले कसरी खेल्यो नभने पनि उनले पार्टीलाई असफल बनाएर पछाडि धकेल्ने प्रयास भइरहेकाले स्थिति गम्भीर भएको बताएका थिए ।
बिहीबार पत्रकार सम्मेलनमा आफूविरुद्ध केही व्यक्तिले खेलेको बताएका भट्टराईले दलहरूबीच तुरुन्त सहमति गर्नुपर्ने आवश्यकता भए पनि त्यसो नभए कुनै अर्को शक्ति आउन नसक्ने ठोकुवा गरेका थिए । 'हतारमा वैधानिक सरकार छाड्नु भनेको दुर्घटना निम्त्याउनु हो,' उनको भनाइ थियो ।
उनले गत मंगलबार आफू मुगु गएका बेला दलहरूबीच सहमतिबारे प्रचार भएपछि आशंका उत्पन्न भएको बताए । मुगुबाट फर्केलगत्तै दलहरूबीच सहमति भएको मधेसी मोर्चाका नेता एवं गृहमन्त्री विजयकुमार गच्छदारले जानकारी गराएको उल्लेख गर्दै त्यस दिन आफ्नो चित्त दुखेको बताएका थिए । त्यसको अर्को दिन बुधबार बिहान दाहाल र उनको चर्काचर्की परेपछि दिउँसोको पदाधिकारी बैठक बहिष्कार गरेका थिए । उनले पदाधिकारीको विस्तारित बैठकको माग गरेका थिए ।
भट्टराईको मागअनुसार शुक्रबारको बैठकमा दाहालले विपक्षीलाई यही सरकारमा ल्याउने प्रयत्न गर्ने, त्यसो नभए गठबन्धनमा सहमति जुटाउने र त्यो पनि नभए 'रूपभन्दा सार' लाई जोड दिएर निकास निकाल्नुपर्ने बताएका थिए । उनले रूप भनेको सरकार र सार भनेको प्याकेजको अन्तरवस्तुमा सहमतिको व्याख्या गरेका थिए । सहभागीका अनुसार दलहरूबीच अन्तरवस्तु -सार) मा सहमति भयो भने सरकार -रूप) ले अवरोध गर्न नहुने संकेत उनको थियो ।
दाहाल पक्षले भट्टराई प्रायः वार्ता प्रक्रियामा सहभागी भए पनि एकाएक आक्रोशित हुनुको पछाडिको कारण स्पष्ट नभएको बताएको छ । 'मंसिर २७ गते भएको पदाधिकारी बैठकले मुलुकलाई निकास दिन वैशाखमा निर्वाचन र प्याकेजमा सहमति गर्ने निर्णयकै आधारमा अध्यक्षले कदम चाल्नु भएको हो,' दाहाल निकट एक नेताले भने, 'सहमतिलाई अन्तिम रूप दिने बेला आक्रोशित हुनुको कारण बुझ्न सकिएको छैन ।'
आकस्मिक रूपमा बोलाएको बैठकमा ब्युरो इञ्चार्ज नेताहरूले आफ्नो धारणा राखेपछि राष्ट्रपतिले दिएको समयसीमाभित्र लचक भए सहमति खोज्ने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए । बैठकमा आवश्यक परे बहुमतबाट निर्णय गर्न सक्ने ती नेताको भनाइ थियो । पार्टीमा दाहाल पक्षको बहुमत छ ।
प्रवक्ता अग्नि सापकोटा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले दुई नेताबीच आधारभूत रूपमा समानता भएको भन्दै सहमति गरेरै अघि बढ्ने बताए ।

प्रकाशित मिति: २०६९ पुस ७ १२:२८

No comments: