Sunday, December 9, 2012

सहमति नभए मन्त्रिपरिषद् विस्तार: गठबन्धन


काठमाडौं, मंसिर २४ - राष्ट्रपतिले दोस्रो पटक थपेको समयसीमाभित्र सहमति नभए मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारूढ 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' ले निर्णय गरेको छ ।
राष्ट्रपतिले तोकेको मंसिर २७ भित्र सहमतिका लागि राजनीतिक निकास खोज्ने प्रयास गर्ने पनि गठबन्धनले जनाएको छ ।
विपक्षी दलले भने गठबन्धनको यो निर्णयप्रति कडा आपत्ति जनाउँदै मुलुकलाई मुठभेडतिर धकेल्न खोजेको टिप्पणी गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको गठबन्धनको बैठकले प्रमुख दलहरूबीच सहमति नभए नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले मन्त्रिपरिषद् विस्तार भए पनि सहमतिको प्रयास जारी राखिने बताए । 'राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमति भएन भने मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको छ,' उनले भने, 'त्यो अवधिभित्र सहमति गरी आगामी वैशाखमा निर्वाचन गर्न जोडदार प्रयास गर्ने अर्को निर्णय पनि भएको छ ।'
गठबन्धनको यो निर्णयले सहमतिका लागि दबाब सिर्जना गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । 'यो निर्णयले सहमतिका लागि दबाब सिर्जना गर्नेछ,' उनले भने, 'सहमतिको वातावरण बिगार्दैन ।' उनले हाल आठ मन्त्रालय खाली रहेकाले गठबन्धनभित्रबाटै मन्त्री थपिने बताए ।
एमाले सचिव शंकर पोख्रेलले निर्णयले मुलुकलाई मुठभेडतिर धकेल्ने बताए । 'यो निर्णयको कुनै औचित्य छैन, यसले राजनीतिलाई मुठभेडतिर लैजान्छ,' उनले कान्तिपुरसग भने, 'सत्तारूढ गठबन्धनको मनसाय सहमति गर्ने होइन, सरकार टिकाइराख्ने हो ।' उनले गठबन्धन चुनावका लागि समेत तयार नभएको आरोप लगाउँदै सहमतिको वातावरण बिगार्नतिर लागेको जनाए । 'सत्तारूढ गठबन्धन चुनावका लागि समेत तयार छैन,' उनले भने, 'नत्र सहमति गर्न तयार हुन्थ्यो । त्यो देखिएको छैन ।' मन्त्रिपरिषद् विस्तार भए त्यसको फैसला सडकबाटै हुने उनले चेतावनी दिए । 'त्यसो गरेमा सडकले नै सबै कुराको फैसला गर्नेछ, त्यसको जिम्मेवार गठबन्धन हुनेछ,' उनले भने ।
गठबन्धनले मन्त्रिपरिषद् विस्तार गरेर वैशाखमा निर्वाचनका लागि वातावरण बनाउने प्रवक्ता ंसिंहले दाबी गरे । गठबन्धनको बैठकमा 'प्याकेज' मा सहमति नभएसम्म सरकार छाड्न नहुनेबारे छलफल भएको थियो । गठबन्धनका अध्यक्षसमेत रहेका एमाओवादी अध्यक्ष दाहालले सहमतिका लागि प्रयास जारी रहेको भए पनि सहमतिको संकेत नदेखिएको बताएका थिए ।
यसैबीच एमाओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षीहरूलाई सरकार प्राप्त गर्ने चिन्ताका कारण सहमति हुन नसकेको आरोप लगाए । उनले नियमित पत्रकार भेटघाटमा शनिबार विगतमा संविधानमा भएका सहमति उल्ट्याउने र सरकार प्राप्त गर्ने दाउमा विपक्षीहरू लागेको बताए । 'राजनीतिक एवं आर्थिक लगानीका हिसाबले पनि विगतका सहमतिको स्वामित्व लिनुपर्छ,' उनले भने, 'त्यो नै उत्तम विकल्प हो । फेरि शून्यतामा चुनावमा जाँदा कसैलाई फाइदा हुँदैन ।'

प्रकाशित मिति: २०६९ मंसिर २४ १२:४० 

No comments: