Saturday, December 22, 2012

Is PM Baburam loyal to leave Baluwatar ?


काठमाडौं, पुस ८ - वैशाखमा निर्वाचन गर्ने प्रक्रिया पुर्‍याएर कांग्रेसलाई सरकारको नेतृत्व दिन एमाओवादी सकारात्मक भएको छ । संघीय संविधान निर्माण, शान्ति प्रक्रिया पूरा र वैशाखमा निर्वाचन गर्ने टुंगो लागेमा कांग्रेसलाई नेतृत्व दिने निर्णय एमाओवादीले शनिबार गरेको हो । एमाओवादीले अघि सारेका एजेन्डामा कांग्रेसले सहमति जनाइसकेको छ ।
सुरुमा प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई राष्ट्रिय स्वरूप दिन निकै पहल गरेको एमाओवादीले पछि सत्तारूढ गठबन्धनबाट नेतृत्व खोज्ने प्रयाससमेत 'व्यर्थ' भएपछि अहिले कांग्रेस वा अन्य विकल्प खोज्ने निर्णय लिएको हो ।
एमाओवादी पदाधिकारीको राजधानीको एक होटलमा शनिबार भएको विस्तारित बैठकले वैशाखमा निर्वाचन गर्ने गरी प्याकेजमा सहमति गर्ने 'मुख्य निर्णय' गरेको हो । सरकारभन्दा वैशाखमा संविधानसभा निर्वाचन, संघीय संविधान निर्माण, विगतमा सहमतिप्रति प्रतिबद्धता र शान्ति प्रक्रिया पूरा गर्ने एजेन्डालाई एमाओवादीले प्राथमिकतामा राखेको छ । 'सहमतिका लागि मुख्य विषय एजेन्डा हो, सरकार होइन,' बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीसँग भने, 'संघीय संविधान निर्माण गर्ने, शान्ति प्रक्रिया पूरा गर्ने, वैशाखमा निर्वाचन गर्नेमा करिब सहमति भइसकेको छ ।'
नेता गिरिराजमणि पोख्रेलले भट्टराई सरकारमा विपक्षी सहभागी नहुने हो भने चुनावमा सहमति गरी यो सरकारलाई सम्मानजनक निकास दिन तयार हुनुपर्ने पार्टीको निर्णय भएको बताए । 'चुनावको मितिमा सहमति हुनुपर्‍यो, अन्य विषयमा प्याकेजमा सहमति हुनुपर्‍यो,' उनले भने, 'यदि विपक्षीहरू यो सरकारमा आउँदैनन् भने यो सरकारलाई सम्मानजनक निकास दिनुपर्‍यो ।'
बैठकमा उपस्थित ३६ जना नेतामध्ये २९ जनाले पार्टीले अघि सारेका एजेन्डा प्रमुख भएको उल्लेख गर्दै त्यसकै आधारमा सहमति गर्नुपर्ने धारणा राखेका थिए भने ७ जनाले यही सरकारलाई राष्ट्रिय स्वरूप दिएर सहमति खोज्नुपर्नेमा जोड दिएका थिए ।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोस्टबहादुर बोगटीलाई जिम्मा दिएको छ । भट्टराईबाहेक अरू पदाधिकारी वैशाखमा निर्वाचन गर्ने सुनिश्चित गरी आफ्ना एजेन्डामा सहमति भए सरकारबारे लचक हुनुपर्ने पक्षमा छन् । सरकारबारे दाहाल र भट्टराईबीच मतभेद भए पनि वैशाख मसान्तभित्र निर्वाचन गर्न 'पाटी र सरकारले सहमतिको पहल गर्ने' निर्णय बैठकको छ । प्रधानमन्त्री भट्टराईले कांग्रेस सभापति कोइराला प्रधानमन्त्री भए निर्वाचन नगराउने खतरा भएको भन्दै आफ्नो सरकारको निरन्तरतामा जोड दिएका छन् । शिक्षामन्त्रीसमेत रहेका नेता दीनानाथ शर्माले यो सरकार वैधानिक भएकाले एक/दुई दिन विपक्षी सहभागी भएर मात्र सहमतिको बाटो खुल्ने बताए । 'यो सरकारमा सामेल भएर अघि बढ्नु नै उत्तम विकल्प हो,' उनले भने, 'यही सरकारबाट बाधा अड्काउ फुकाउनुपर्छ ।' बैठकमा भट्टराई पक्षका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमीलगायत नेताहरूले कांग्रेसलाई सरकारको नेतृत्व दिन नहुने उल्लेख गर्दै दाहालको नेतृत्व खोज्नुपर्ने धारणा राखेका थिए । 'एकथरी साथीले कांग्रेसलाई नेतृत्व नदिँदा राष्ट्रियता, गणतन्त्र डुब्छ भन्ने कुरा गर्नुभयो,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका पौडेलले भने, 'कांग्रेसलाई नेतृत्व दिएर मात्र चुनाव हुन्छ भन्ने के छ ? बरु सरकारको नेतृत्व लिन अध्यक्ष तयार रहनुपर्छ भन्ने तर्क हाम्रो रह्यो ।'दाहाल र भट्टराई छिटोभन्दा छिटो सहमति गर्नेमा एकमत भएका छन् ।
सहमति छिट्टै
काठमाडौं- एमाओवादी पदाधिकारीको विस्तारित बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेताहरूबीच वार्ता भएको छ । वार्तामा दुवै पार्टीबीच सकभर आइतबारै सहमति निकाल्ने समझदारी भएको छ ।
सरकारको नेतृत्वसहित निर्वाचनमा जान संविधान संशोधन गर्न बाधा अड्काउ फुकाउने, निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयसमेत प्याकेजमै एकै दिन कार्यान्वयन गर्नेगरी सहमति खोज्ने प्रयास भएको स्रोतले बतायो । पार्टी बैठकलगत्तै दाहालले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजालसँग भेटेका थिए । दाहालसँगको वार्तापछि सिटौला र रिजालले कांग्रेस पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यलाई छलफलमा भएका विषयबारे जानकारी गराएका थिए । एमाओवादीको विस्तारित पदाधिकारी बैठकमा समेत कांग्रेसलाई नेतृत्व दिने विषयमा सकारात्मक छलफल भएको जानकारी दाहालले आफूहरूलाई दिएको उनीहरूले बताएका थिए । 'एमाओवादी र सरकार दुवैले पहल गरेर भोलि (आइतबार) नै सहमतिमा पुग्ने कुराकानी भइरहेको छ,' सिटौलाको भनाइ उद्धृद गर्दै स्रोतले भन्यो । सरकारको विषयबाहेक अन्य विषयमा भने नेताहरूले समझदारी गरिसकेका छन् ।


प्रकाशित मिति: २०६९ पुस ८ १२:१०

No comments: