Thursday, December 27, 2012

सहमतिमा लचिला दाहाल आफैं अप्ठ्यारामा


काठमाडौ, पुस ९ - प्रधानमन्त्री बाबुराम भट्टराईको असहमतिका कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारबारे निर्णय गर्न अप्ठ्यारोमा परेका छन् । निर्वाचनका सबै प्रक्रियालगायत विषयमा सहमति भए सरकारको नेतृत्व छाड्ने लचिलो निर्णय गरे पनि भट्टराईको बाधाका कारण उनले कार्यान्वयन गर्न सकेका छैनन् ।




पार्टी पदाधिकारीको विस्तारित बैठकले निर्णय गर्ने जिम्मा चार जना पदाधिकारी -दाहाल, भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोस्टबहादुर बोगटी) लाई दिए पनि हालसम्म बैठक बस्न सकेको छैन । दाहालकै संयोजकत्वमा रहेको 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का अधिकांश नेताले प्रधानमन्त्री भट्टराईलाई साथ दिएका छन्, जसका कारण दाहाललाई अप्ठ्यारो परेको छ । 

पदाधिकारीमा दाहालको पक्षमा श्रेष्ठ र बोगटी छन् भने भट्टराई एक्लै छन् । त्यहाँ स्पष्ट बहुमत हुँदाहुँदै पनि दाहालले निर्वाचनलगायत अन्य विषयमा सहमति गरी कांग्रेसलाई नेतृत्व दिने निर्णय गराउन नसक्नुको मुख्य कारण गठबन्धनको दबाब हो । विगतमा विपक्षीबाट सरकारमाथि चर्को दबाब परेका बेला दाहालले गठबन्धन बनाई प्रतिवाद गरेका थिए । गठबन्धनको असहमतिबीच निर्णय गर्नु दाहालका लागि सहज छैन । 

आइतबार दुई बैठकमा गठबन्धनका नेताहरू दाहालमाथि खनिएका थिए । उनीहरूले कांग्रेस सभापति सुशील कोइरालाले निर्वाचन गराउन नसक्ने आरोप लगाउँदै उनीप्रति नरम नहुन दाहाललाई चेतावनी दिए । गठबन्धनको मत नाघेर निर्णय गराउनु उनका लागि चुनौतीपूर्ण छ । किनभने यसअघि उनले गठबन्धनबाट यही सरकारलाई निरन्तरता दिने, त्यसो नभए विकल्प गठबन्धनभित्रबाटै खोज्ने निर्णय गराएका थिए । प्याकेजमा सहमति भएपछि मात्र तेस्रो विकल्प खोज्ने निर्णय 

भएको थियो ।

त्यस्तै एमाओवादी उपाध्यक्षसमेत रहेका भट्टराईविरुद्ध बहुमतको बलमा निर्णय गराउँदा पार्टीभित्र पुनः विग्रहको बीउ रोपिने खतरा पनि दाहालले देखेका छन् । यता भट्टराईले चाहिँ मधेसी मोर्चालगायत गठबन्धनको थप बलका कारण सरकार नछाड्ने अडान कडा बनाउँदै लगेका छन्, जसको भार दाहालले खेप्नु परिरहेको छ । 

त्यसकारण दाहालले सकेसम्म छलफलबाटै सहमतिको प्रयास थालेको प्रवक्ता अग्नि सापकोटाले बताए । 'अध्यक्ष छलफलबाटै सहमति निकाल्ने प्रयासमा हुनुहुन्छ,' उनले भने, 'पछिल्लो समयमा पार्टीभित्र र गठबन्धनबाट छुट्टै पोजिसन लिएपछि ढिलाइ भएको हो ।'

दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले 'चलखेल' का कारण सहमति निस्कन ढिलाइ भएको बताए । 'चलखेल भएपछि सहमति हुन ढिलाइ भएको हो,' उनको भनाइ छ, 'विभिन्न खालका चलखेल पार्टीभित्र र बाहिर भइरहेका 

छन् ।' उनले कसले चलखेल गर्‍यो भन्नेबारे चाहिँ खुलाएनन् । दाहाल पक्षका नेताहरूले भारततर्फ संकेत गर्दै सहमति हुन नसकेको बताउन थालेका छन् । पार्टीभित्र भट्टराईलाई भारतप्रति नरम नेताको संज्ञा दिइन्छ ।

प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले काम गर्न नसकेपछि भट्टराईलाई बदनाम गराउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए । 'यहाँ सबैले सबैलाई भेटेका छन्, आफूले भेट्दा राष्ट्रवादी हुने, अरूले भेट्दा राष्ट्रघाती भन्ने हँुदैन,' उनले भने, 'आफूले काम गर्न नसकेपछि सबै आरोप प्रधानमन्त्रीमाथि थोपरिएको छ ।'

एमाओवादीभित्र हालको मुख्य विवाद तत्काल सरकार छाड्ने कि नछाड्ने भन्नेमा छ । पार्टीले आधिकारिक रूपमा सरकार नभई एजेन्डा मुख्य भएको निर्णय गरिसकेको छ । विपक्षीले एमाओवादीले अघि सारेका निर्वाचनलगायत एजेन्डामा सहमति जनाइसकेपछि पनि सरकार छाड्ने या नछाड्नेबारे दाहालले निर्णय गराउन सकेका छैनन् । यसबारे निर्णय हुन अझै केही समय लाग्ने स्रोतले जनाएको छ । 

 

प्रकाशित मिति: २०६९ पुस १० ०९:१४

No comments: