Friday, December 14, 2012

PM Baburam Bhattarai ready to resign ?


काठमाडौं, मंसिर २९ - प्रधानमन्त्री बाबुराम भट्टराईले वैशाखमा निर्वाचन हुने सुनिश्चत भए त्याग गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति रामवरण यादवले सहमतिका लागि तेस्रो पटक पाँच दिन म्याद दिएकै दिन भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
एमाओवादी केन्द्रीय पदाधिकारी बैठकले वैशाखमा निर्वाचन हुने सुनिश्चित भए लचक हुने निर्णय गरेको दुई दिनपछि भट्टराईले स्वकीय सचिवालयमार्फत 'त्याग गर्ने' धारणा सार्वजनिक गरेका हुन् । उनका स्वकीय सचिव विश्वदीप पाण्डेले समाजिक सञ्जाल फेसबुकबाट प्रधानमन्त्रीको भनाइ सार्वजनिक गरेका थिए । 'राजनीतिक प्रक्रियाको सफलता नै मेरो सफलता हो, यो प्रक्रियाको असफलतामा सबैभन्दा बढी असफल कोही हुन्छ भने त्यो म नै हुँ,' प्रधानमन्त्री भट्टराईले भनेका छन्, 'वैशाखमा चुनाव गर्ने ग्यारेन्टी गरी आवश्यक सहमति, लचकता र त्याग गर्न म तयार छु ।' दलहरूबीचमा सहमति जुटाउने प्रयासलाई आफूले तीव्र बनाएको उल्लेख गर्दै उनले भनेका छन्, 'त्यही अनुसार मेरो प्रयासले केही दिनमा सहमति जुटाएर सकारात्मक परिणाम देखाउँछ ।' संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नभएकोमा जोड दिँदै भट्टराईले वैशाखमै चुनाव गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्‍याएका छन् । 'वैशाखमा चुनाव गर्ने, संवैधानिक निकायको नियुक्तिलगायतका विषयमा सहमति भए सरकार छाड्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, 'विपक्षीले सरकारको मात्र कुरा गरेर नमिलेको हो । वैशाखमा संविधानसभा निर्वाचन हुनेमा पहिले सुनिश्चित गर्नुपर्‍यो, अनि अत्यावश्यक सहमति हुनुपर्‍यो ।'
निकटका नेताहरूसँग भट्टराईले आफू प्रधानमन्त्री भइरहेका बेला दलहरूको हातबाट राजनीति बाहिर गए पूर्वराजाको हातमा जान सक्ने खतरा रहेको भन्दै 'सहमतिमा दलहरूभित्रबाटै अबको प्रधानमन्त्री हुनुपर्ने' बताएका छन् ।
'एमाओवादी, कांग्रेस, एमाले र मोर्चाबाटै सहमतिको प्रधानमन्त्री बन्नुपर्छ,' उनको भनाइ उद्धृत गर्दै निकट स्रोतले भन्यो, 'मुख्य कुरा वैशाखमा निर्वाचन हुने सुनिश्चत र त्यसको प्रक्रियामा सहमति हुनुपर्छ ।'
एमाओवादीले वैशाखमा निर्वाचनको मिति तोक्नुपर्ने, यसको प्रक्रियामा सहमति हुनुपर्ने र राष्ट्रपति समक्ष अड्केका केही अध्यादेश जारी गर्न विपक्षी तयार हुनुपर्ने अडान राखेको छ । निर्वाचन हुने निश्चित भए बाँकी एजेन्डा लिएर निर्वाचनमा जाने उसको नीति छ । एमाओवादीले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका रूपमा स्वीकार नगर्ने अडान राख्दै आए पनि पछिल्लो तीन दिनयता केही नरम नीति लिँदै आएको छ । उसले वैशाखमै निर्वाचन हुने सुनिश्चित भए भट्टराईको विकल्प खोज्न सकिने औपचारिक निर्णय गरिसकेको छ । दलहरूबीच वैशाखमा निर्वाचन गर्नेमा मतभेद नभए पनि प्रक्रियाबारे सहमति हुन सकेको छैन । एमाओवादीले विघटित संविधानसभामा भएका सहमतिको कुनै न कुनै रूपमा स्वामित्व लिन कांग्रेस तयार भए प्रधानमन्त्रीका लागि कोइरालालाई स्वीकार गर्न गाह्रो नहुने बताइसकेको छ । एमाओवादी र कांग्रेसबीच भइरहेको अनौपचारिक छलफलमा दुवै पार्टी लचक भएर सहमति गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ । 'एमाओवादी सरकारबारे लचिलो हुने र कांग्रेसले वैशाखमा निर्वाचन सुनिश्चित गर्न सहमत भएपछि कुरा मिल्छ,' स्रोतको भनाइ छ, 'त्यसमा विगतका सहमतिलाई प्याकेजिङ गरिनेछ ।' उता सत्तारूढ गठबन्धनले भट्टराईको विकल्प गठबन्धनभित्रैबाट खोज्नुपर्ने निर्णय यसअघि गरिसकेको छ ।
यसैबीच, विपक्षी दल एमाले सचिव युवराज ज्ञवालीले वैशाखमा निर्वाचन हुने सुनिश्चित भएमा विकल्प खुला गर्ने भट्टराईको भनाइ सकारात्मक भएको बताए । 'प्रधानमन्त्रीले चुनाव निश्चित भए छोड्छु भन्नुभएको हो भने त्यसलाई सकारात्मक नै मान्नुपर्छ,' उनले भने 

No comments: