Thursday, December 27, 2012

स्वतन्त्र व्यक्ति प्रधानमन्त्रीका लागि अघि सार्ने सम्भावना

काठमाडौ, पुस १० - 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दललाई एक दिनका लागि भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी भई सहमति सुरुवात गर्न प्रस्ताव गरेका छन् । 

भट्टराईले आफ्नो सरकारमा नआए नछाड्ने भनेकाले वैशाख अन्तिमसम्म निर्वाचन गर्नेलगायत प्याकेजमा सहमति निकाल्न दाहालले यस्तो प्रस्ताव गरेको स्रोतले जनायो । 

भट्टराई सरकारमा विपक्षी एक दिन मात्र भए पनि सहभागी भएर निर्वाचन प्रक्रियासम्बन्धी बाधा अड्काउ फुकाएलगत्तै कांग्रेसलाई नेतृत्व दिने उनको प्रस्ताव छ । यसबारे एमाओवादीसँग वार्तामा लागिरहेका कांग्रेस नेताहरू सकारात्मक भएको र एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीमा छलफल गर्ने बताएको स्रोतले बतायो । 

'कांग्रेसका केही नेताहरूले एक दिनका लागि सरकारमा सहभागी भएर राजनीतिक निकास निस्कन्छ भने सोच्न सकिन्छ भनेका थिए,' स्रोतले भन्यो, 'एमाले अध्यक्ष झलनाथ खनालले पनि पार्टीमा छलफल गर्ने बताउनु भएको थियो ।' 

वैशाखमा निर्वाचन गर्ने गरी प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्व स्वीकार्न दाहाल सकारात्मक भए पनि प्रधानमन्त्री भट्टराई र सत्तारूढ गठबन्धनका कारण उनी अप्ठ्यारोमा देखिन्छन् । 

भट्टराईले आफ्नो सरकारलाई 'अछूत' को व्यवहार गरेको भनी चित्त दुखाउँदै सरकार नछाड्ने अड्डी लिइरहेका बेला एमाओवादी अध्यक्ष दाहाल र कांग्रेस नेताहरूबीच कुराकानी भएको थियो । दलहरूबीच वैशाख अन्तिममा निर्वाचन गर्नेलगायत ८ बुँदामा अनौपचारिक सहमति भए पनि सरकारबारे कुरा मिल्न सकेको थिएन । 

सरकारकै अड्डीका कारण सहमति बनेन भने वैशाखमा निर्वाचन हुन नसक्ने भएकाले दलहरूले प्रधानमन्त्रीका लागि अर्को विकल्पबारे छलफल सुरु गरेका छन् । भट्टराई सरकारमा सहभागी हुन विपक्षीले नमान्ने, एमाओवादीले कांग्रेसको नेतृत्व स्वीकार नगर्ने अवस्थामा राजनीतिक दलको सक्रियतामा स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बनाउने प्रस्तावमा सत्तारूढ गठबन्धन सचिवालयको बैठकमा मंगलबार छलफल भयो । 

दाहाल निवास लाजिम्पाटमा भएको बैठकले सरकारबारे दुई प्रस्ताव पुरानै भए पनि राजनीतिक दलको सक्रियतामा स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बनाउने प्रस्ताव तयार गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जनाए । 'तेस्रो विकल्पका रूपमा राजनीतिक दलको सक्रियतामा स्वतन्त्र व्यक्तिको प्रस्ताव अघि सारेका छौं,' उनले भने, 'पहिले यही सरकारलाई राष्ट्रिय स्वरूप दिनुपर्ने, भएन भने गठबन्धनबाटै विकल्प खोज्ने छ ।' उनले आगामी गठबन्धनको बैठकमा यी प्रस्तावमा पुनः छलफल हुने बताए ।

एमाओवादी स्रोतले पनि राजनीतिक दलबीच भट्टराई वा सुशील कोइरालाको नेतृत्वमा सहमति नजुटे स्वतन्त्र व्यक्ति प्रधानमन्त्रीका लागि अघि सार्ने सम्भावना रहेको जनायो । 'दलहरूबीच सरकार नेतृत्वमा सहमति नभए स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर भए पनि वैशाखमा निर्वाचन गर्नुपर्ने हुन सक्छ,' स्रोतले भन्यो, 'त्यस्तो सरकार बन्दा पनि मन्त्रीहरू भने दलका नेता नै हुनेछन् ।' 

गठबन्धनभित्र दाहाललाई प्रधानमन्त्रीका लागि अघि सर्न प्रस्ताव भए पनि उनले अस्वीकार गरेका छन् । मंगलबार गठबन्धन सचिवालय बैठकमा विगतका सहमतिलाई समेटेर संविधान जारी गर्ने वा संविधान संशोधनका लागि संविधानसभा पुनःस्थापना प्रस्ताव तय भएको छ । यो प्रस्ताव एमाओवादीले धेरै पहिले छाडिसकेको थियो ।

प्रकाशित मिति: २०६९ पुस ११ ०८:३३

No comments: