Monday, December 24, 2012

Prachanda in trap


काठमाडौ, पुस ९ - राष्ट्रिय सरकार गठनबारे सत्तारूढ 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' मा विवाद भएको छ । सहमतिको सरकारलगायत विषयमा निर्णय हुन नसकेपछि बैठक स्थगित भएको छ ।
सत्तारूढ गठबन्धनका संयोजक पुष्पकमल दाहालले दायरा फराकिलो बनाएर सहमति खोज्नुपर्ने धारणा राखेपछि मोर्चाका नेता विजयकुमार गच्छदारलगायतले आपत्ति जनाएका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईकै सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै गठबन्धनका नेताहरूले दाहालमाथि दबाब सिर्जना गरे । उनीहरूले यही सरकारमा विपक्षी आउनुपर्ने अडानप्रति समर्थन जनाउँदै एमाओवादीले कांग्रेसप्रति लचिलो नीति लिएको भन्दै आलोचना गरे । विवादका कारण आइतबार दुई पटक बसेको बैठक कुनै निर्णय नगरी स्थगन भएको छ । यो विवादले दाहाललाई निर्णय गर्न अप्ठ्यारो पारेको छ । गठबन्धनको बैठकपछि आइतबार बेलुका आफू निकट नेताहरूसँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले गठबन्धनका अधिकांश नेताहरूले यही सरकारलाई निरन्तरता दिनुपर्ने, त्यसो नभए गठबन्धनभित्रैबाट सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिएको जनाए । 'बाबुरामजीको नेतृत्वको सरकारमा कांग्रेस-एमाले आउँदै नआए हामीले पनि दायरा फराकिलो पार्नुपर्छ,' दाहालको भनाइ उद्धृत गर्दै उनले कान्तिपुरसँग भने, 'गठबन्धनका अधिकांश नेताहरूले यही सरकारलाई निरन्तरता दिनुपर्ने, नभए गठबन्धनभित्रबाटै विकल्प खोज्नुपर्छ भन्ने कुरा भयो ।' दाहालले 'सत्ता मात्रै समाएर सहमतिलाई लत्याउन नहुने' उल्लेख गर्दै विपक्षी कांग्रेस-एमाले सहितको सहमति खोज्नुपर्नेमा जोड दिए । एमाओवादी पदाधिकारीको विस्तारित बैठकले प्रक्रिया पुर्‍याएर कांग्रेसलाई नेतृत्व दिन लचिलो निर्णय गरेको अर्को दिन गठबन्धनका अधिकांश नेताहरूबीच विवाद बाझिएको हो । उनले दाहालले सरकारका विषयमा अन्य विकल्पमा छलफल सुरु गर्नुपर्ने प्रस्ताव राखेको एक नेताले बताए ।
मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले सकभर भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्नुपर्ने धारणा दोहोर्‍याए । 'बाबुरामजीको सहमति नभए गठबन्धनकै अर्को नेतालाई अघि सार्नुपर्छ, हामीबीच एजेन्डामा कुरा मिलेर गठबन्धन बनेको हो,' उनको भनाइ थियो, 'प्याकेजमा सहमति नभएसम्म कांग्रेसलाई नेतृत्व दिन हुँदैन ।'
प्रधानमन्त्री भट्टराईले दलहरूबीच सहमति गरी वैशाखभित्रै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै यही सरकारलाई राष्ट्रिय स्वरूप दिनुपर्ने धारणा राखे । 'म बाधक होइन, सबै दल मिलेर निर्णय गर्नुपर्छ,' उनको भनाइ थियो, 'यहाँ प्रधानमन्त्री मात्र बाधक भएको देखाउन खोजिएको छ ।' प्रधानमन्त्रीले 'परिवर्तन नचाहने तत्त्वहरूले मिडिया क्याम्पेन गरेर आफूलाई बाधक भनी प्रचार गरेको' भनेका थिए । मधेसी नेताहरू हृदयेश त्रिपाठी, राजेन्द्र महतोले पनि वर्तमान सरकारको विकल्पमा जान नहुने धारणा राखेका थिए ।
गठबन्धनका नेताहरूले यसअघि भएको यही सरकारलाई निरन्तरता दिनुपर्ने, नभए गठबन्धनभित्रबाट विकल्प खोज्ने निर्णयलाई छाड्न नहुने बताएका थिए । उनीहरूले कांग्रेसलाई सरकारको नेतृत्व दिए वैशाखमा निर्वाचन पनि नहुने र प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए । 'हाम्रा एजेन्डामा गम्भीर भएर अघि बढौं, गठबन्धन बाहिरबाट सरकारको नेतृत्व खोज्ने कुराले न निर्वाचन हुन्छ, न प्राप्त उपलब्धि हुन्छ,' उनीहरूले दाहाललाई भने, 'संघीयतालगायत एजेन्डामा निकट भएर लागेका छौं । त्यसकारण संघीयतालगायत एजेन्डा नछाड्नु होला ।'

No comments: