Saturday, December 31, 2011

Is UCPN Maoist splitting soon ?

काठमाडौ, पुस १६ - माओवादीभित्र चुलिएको विवादले पार्टी एकढिक्का रहिरहने सम्भावना देखिएको छ । पार्टी एक हुन कि त अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको कार्यदिशा छाड्नुपर्छ कि उपाध्यक्ष मोहन वैद्यले जनविद्रोहको । यतिबेला दुवै आफ्नो कार्यदिशा परिवर्तन गर्नै नसक्ने अवस्थामा छन् । दाहाल र वैद्य आफ्नो राजनीतिक प्रस्तावमा 'फलामे किल्ला' झंै उभिनुको अर्थ हो पार्टी विभाजनतिर जानु ।

दाहालको प्रस्ताव शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने हो । शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा अब उनी पछाडि र्फकन सक्ने अवस्थै छैन । चुनबाङ बैठकको बहुदलीय प्रतिस्पर्धाबाट अघि बढ्ने कार्यदिशामा असहमत हुँदै आएका वैद्यको अहिलेको जनविद्रोहको कार्यदिशा त्यही असहमतिको ठोस अभिव्यक्ति
हो । शान्ति र संविधान विरोधीको बिल्ला नलागोस् भनेर बेला-बेलामा 'जनमुखी शान्ति र संविधान' को कुरा गरे पनि उनको स्पष्ट बाटो जनविद्रोह नै हो । त्यसैले उनी पनि दाहालको कार्यदिशालाई स्वीकार्न सक्ने अवस्थामा छैनन् । बरु आवश्यक परे नयाँ पार्टी जन्माउने तयारीमा छन् । माओवादीभित्र यस्तो परिस्थिति सिर्जना भइसक्यो कि दाहाल र वैद्य एउटै बाटो हिँड्नु भनेको एकअर्कामा विलय हुनु हो । एक वर्षअघि गोरखाको पालुङटार बैठकमा राजनीतिक रूपमा 'जनविद्रोह' को कार्यदिशामा उभिएका दुवै नेता यति छिट्टै दुई धु्रवमा पुगेका छन् ।
र, अब दुवै नेता एकै ठाउँमा उभिने अवस्था सम्भवतः अन्त्य भइसकेको छ । कदाचित एकै ठाउँमा उभिइहाले भने त्यो स्थितिमा 'शान्ति र संविधान' चाहिँ अलपत्र पर्न सक्नेछ, जुन धेरैका लागि कल्पना बाहिरको विषय हो ।
दुई राजनीतिक प्रस्तावको कार्यदिशा तत्काल मिल्ने अवस्था नभएकाले विधिवत ढंगले महाधिवेशनमा जानुको विकल्प नभएको स्थायी समिति सदस्य वर्षमान पुन बताउँछन् । 'तत्काल दुई कार्यदिशा मिल्ने अवस्था देखिँदैन, हामी शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर बाँकी क्रान्ति पूरा गर्न चाहन्छौं,' उनले कान्तिपुरसँग भने, 'किरणजीहरू जनविद्रोहमा जाने भन्नुहुन्छ, यस्तो अवस्थामा नमिलेका राजनीतिक विषयमा महाधिवेशनमा जानुको विकल्प छैन ।' उनले दाहालको प्रस्ताव पारित गरी कार्यान्वयनमा जाने र फरक मत पार्टीभित्र बहस गर्ने नै उत्तम विकल्प भएको जनाए । 'स्थापित विधि नमान्ने हो भने पार्टी एक हुन सक्दैन,' उनको भनाइ छ ।
पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले शान्ति र संविधान बिथोलिएको अवस्थामा मात्र कुरा मिल्ने जनाए । 'शान्ति र संविधान बिथोलिएको अवस्थामा मात्र मिल्ने अवस्था छ,' उनको भनाइ छ, 'शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन नलाग्ने हो भने कुरा कसरी मिल्न सक्छ ?'
वैद्य पक्षका नेता तथा पार्टी महासचिव रामबहादुर थापाले बैठकमा 'पार्टी औपचारिक रूपमा फुट्न मात्र बाँकी' रहेको अभिव्यक्ति सबै परिस्थितिको मूल्यांकन गरेरै दिएको हुनुपर्छ । यसअघि सिन्धुलीको एक कार्यक्रममा सचिव सीपी गजुरेलले पनि यस्तै अभिव्यक्ति दिएका थिए ।
जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्षलाई वैद्य पक्षले 'साम्राज्यवादी -अमेरिका) र विस्तारवादी -भारत)' को दलाल भन्ने अरोप लगाउनु सामान्यजस्तै बनिसकेको छ । उक्त पक्षका हरेक नेताको आँखामा संस्थापन पक्षकाहरू 'नेता होइन दलाल' दर्ज भइसकेका छन् । पार्टी कसरी अघि बढ्छ भन्ने जिज्ञासामा स्थायी समिति सदस्य देव गुरुङले कान्तिपुरसँग आक्रोश पोखे, 'साम्राज्यवादी र विस्तारवादीका दलालहरूलाई सोध्नुस् । मलाई किन सोध्नुहुन्छ ? राष्ट्रवादी र क्रान्तिकारीलाई बाइपास गरेर गरिएका विश्लेषणले कसलाई फाइदा पुर्‍याउँछ ?'
जारी बैठकमा वैद्य पक्षको निसाना दाहाल छन् । त्यसो गर्नुको कारण उनलाई पालुङटार जस्तै आफूतिर तान्नु हो । पार्टीमा जोखिम मोलेर गत साउनमा शान्ति र संविधानको कार्यदिशामा गएका दाहाल आफूतिर आए शान्ति र संविधान अवरुद्ध भई जनविद्रोह सम्भव हुने वैद्य पक्षको विश्लेषण छ ।
दाहाल निकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले पार्टी फुट्ने अभिव्यक्तिप्रति खबरदारी गर्दै शान्ति प्रक्रियामा आइसकेपछि सबै माओवादी नेताले 'सुविधा' लिएको बताए । 'पार्टी फुट्ने अभिव्यक्ति म यो बैठकमा खारेज गर्न चाहन्छु,' उनको भनाइ थियो, 'म त्यस्तो अभिव्यक्तिप्रति खबरदारी गर्न चाहन्छु । यहाँ दलालको आरोप लगाएर हुँदैन, सुविधा लिन कोही पछि परेका छैनन् ।'
संस्थापन पक्षले दाहालको राजनीतिक प्रस्ताव बहुमतले पारित गरे पनि वैद्य पक्ष त्यसलाई मान्न तयार छैनन् । 'अध्यक्षको गलत कार्यदिशा भएको प्रस्ताव बहुमतले पारित गरिएमा क्रान्तिकारी लाइनले कम्प्रोमाइज गर्ने कुरा हुँदैन,' वैद्य पक्षीय पोलिटब्युरो कुलप्रसाद केसीले भने, 'किनकि किरणजीको प्रस्तावले पालुङटारको कार्यदिशा बोकेको छ, त्यसमा अध्यक्ष आए मात्र रूपान्तरणसहितको एकता सम्भव हुन्छ ।' उनले दाहालको प्रस्ताव बहुमतले पारित भए एमालेको 'जनताको बहुदलीय जनवाद' को अर्को संस्करण हुने टिप्पणी गरे ।
अर्का पोलिटब्युरो खड्गबहादुर विश्वकर्माले दाहालले राजनीतिक र वैचारिक कमजोरी गरेको भन्दै वैद्य पक्षले त्यसलाई स्वीकार गर्न नसक्ने बताए । 'अध्यक्षले राजनीतिक लाइन र वैचारिक दृष्टिकोण सच्याउनु भएन भने स्थिति झन् गम्भीर हुनेछ,' उनको भनाइ छ, 'त्यसबेला संघर्ष फरक ढंगको हुनेछ ।' उनले 'माओवादी एमालेमा रूपान्तरण भए पार्टी हुनुको अर्थ' नहुने बताए ।
तत्कालका लागि संस्थापन पक्षसामु बहुमतबाट दाहालको प्रस्ताव पारित गरी जानुको विकल्प छैन । 'हो त्यसको कुनै विकल्प छैन,' पोलिटब्युरो जनार्दन शर्मा भन्छन्, 'फरक मतलाई सही व्यवस्थापन गरेर जानुपर्छ ।' तर व्यवस्थापन गर्नेचाहिँ कसरी ? जबकि, दाहालले अघि सारेका सबै विकल्प वैद्यले अर्को प्रतिवेदनमार्फत पूरै अस्वीकार गरेका छन् ।



प्रकाशित मिति: २०६८ पुस १६ ०९:४४

Friday, December 30, 2011

Leaders said: Prachanda go ahead

काठमाडौ, पुस १५ - माओवादी संस्थापन पक्षका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति र संविधानको कार्यदिशा सफल पार्न साहसिक निर्णय लिन सुझाव दिएका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षले दाहाललाई 'दक्षिणपन्थी अवसरवादी' को आरोप केन्द्रीय समितिको जारी बैठकमा लगाइरहेकै बेला संस्थापनका नेताहरूले दबाबमा नपर्न भनेका हुन् ।
दाहालनिकट स्थायी समिति सदस्य वर्षमान पुनले शान्ति र संविधानको कार्यदिशा सफल पार्नुको विकल्प नभएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान दाहाललाई सुझाव दिएका हुन् । 'अध्यक्षले ल्याएको कार्यदिशाले मुलुकमा राजनीतिक निकास दिन्छ,' उनको भनाइ थियो, 'त्यसकारण नेतृत्वले बोल्ड डिसिजन गरेर जानुपर्छ ।' त्यस्तै, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि दाहाललाई अघि बढ्न सुझाव दिएका थिए । 'अध्यक्षले ल्याएको प्रस्ताव एकताको प्रस्ताव हो, यसले नै शान्ति र संविधानलाई सम्मानजनक रूपमा निष्कर्षमा पुर्‍याउँछ,' उनीहरूको भनाइ थियो, 'यसलाई कार्यान्वयन गरी जानुको विकल्प छैन ।'
गजुरेलले वैद्य पक्षको 'जनविद्रोह' बारे प्रश्न उठाएका थिए । 'तपाईंहरू सरकारका लागि कांग्रेस, एमालेलाई भेट्दै हिँड्नुभएको छ,' उनको भनाइ थियो, 'शान्ति र संविधान पनि भन्नुहुन्छ, जनविद्रोह पनि भन्नुहुन्छ । किरणजीको प्रस्तावले कुन कार्यदिशा लिएको छ ?' उनले क्रान्तिको बाटो सिधा नहुने कुरा वैद्य पक्षले बुझ्न नसकेको टिप्पणी गरे ।
सापकोटाले दिशाहीन कार्यदिशा ल्याएको आरोप लगाउँदै वैद्यले अभिभावकत्व गुमाएको टिप्पणी गरे ।
'किरण (वैद्य) जीले नयाँ पार्टी गठन गर्ने बताएर अभिभावकत्व गुमाउनुभएको छ,' उनको भनाइ थियो, 'यसको समीक्षा हुन जरुरी छ ।'
अर्थमन्त्री समेत रहेका पुनले कार्यदिशामा फरक परेका कारण अन्तरसंघर्ष चलेको जनाए । उनले वैद्यको कार्यदिशा अन्योलग्रस्त भएको आरोपसमेत जनाए । 'यो लाइनविहीन छ,' वैद्यको दस्तावेजमा बोल्दै उनले भने, 'चित्त नबुझे अर्को कार्यदिशा ल्याउनुपर्छ । शान्ति र संविधान अघि बढाउने, जनविद्रोह गर्ने लाइन हुन सक्दैन ।'
स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले यस्तो सजिलो अवस्थामा पार्टी नफुटाउन वैद्य पक्षलाई सुझाव दिए । उनले सशस्त्र युद्धका बेला आफ्नो विचार समूहमाथि भएको कारबाहीको स्मरण गर्दै भने, 'हामीलाई केही नगरेका बेला त्यस्तो कडा कारबाही हुँदा त पार्टी फोडेनौं । तपाईंहरूले छुट्टै संगठन, कार्यक्रम, सभा गर्न पाउनुभएको छ । यस्तो अवस्थामा पार्टी नफुटाउनुस् ।' उनले वैद्य पक्षले कांग्रेसको नेतृत्वमा सरकार बनाउन चहार्न हुन्छ ? भनी प्रश्न गर्दा हाँसोले हल गुन्जिएको थियो ।
वैद्य पक्षीय पोलिटब्युरो सदस्य पम्फा भुसालले सम्मानजनक शान्ति र संविधान नभए जनविद्रोहमा जानुपर्ने धारणा राखिन् । 'सम्मानजनक शान्ति र संविधान भएन भने जनविद्रोहमा जानुपर्छ,' उनको भनाइ थियो, 'संविधानमा जनयुद्ध शब्द नलेख्ने, सम्पत्तिको हदबन्दी नतोक्ने, भूमिसुधार छाडेको बेला बनेको संविधानले जनताको हित गर्न सक्दैन ।'
लडाकु प्रमुख एवं पोलिटब्युरो नन्दकिशोर पुनले वैद्यको दस्तावेजले अन्योल सिर्जना गरेको भन्दै दाहाललाई समर्थन गरेका थिए । 'किरणजीको दस्तावेजले अन्योल सिर्जना गरेको छ,' उनले भने, 'पार्टीका गुटउपगुटले बार्गेनिङ शक्ति कमजोर गराएको छ, अब यस्तो गाईजात्रा देखाउन जरुरी छैन ।' अर्का पोलिटब्युरो हरिभक्त कँडेलले दाहाल नसच्चिए पार्टी विघटनतिर जाने जनाए । 'अध्यक्षले आफ्नो प्रतिवेदन सच्याएर आउनुपर्छ,' उनको भनाइ थियो, 'पुरानो पार्टी विघटनतिर गएको छ, त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्छ ।' अर्का पोलिटब्युरो हितमान शाक्यले शान्ति र संविधान उपाध्यक्ष बाबुराम भट्टराईको भएको उल्लेख गर्दै दाहालको कार्यदिशा के हो भनी प्रश्न गरेका थिए । 'शान्ति र संविधान बाबुरामजीको कार्यदिशा हो,' उनको भने, 'अध्यक्षको कार्यदिशा के हो ?'


अन्तरसंघर्षको असर खाजामा
माओवादी अन्तरसंघर्षको असर बैठकको खाजामा पनि परेको छ । पार्टी एक भएका बेला केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको क्यान्टिनमा राम्रै खाजा पाक्थ्यो । विवाद चर्किंदै जाँदा खाजाको व्यवस्था नै हुन छाडेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार हाल बैठकमा कालो चियाको मात्र दिइन्छ । अरू खाजा खाए आफैंले तिर्नुपर्छ । यसअघि बैठकका बेला मासु चिउरा, मःमः, अन्डा पाउरोटी हुन्थ्यो । अलिअलि विवाद हुँदा चिया बिस्कुट दिइन्थ्यो । 'पार्टी विवादको असर खाजामा पनि देखिएको छ,' एक नेताले भने, 'मुस्किलले कालो चियाको व्यवस्था छ ।'

प्रकाशित मिति: २०६८ पुस १५ ०८:३८

कसले फुटाउदै छ माओबादी ?

गंगा बीसी
काठमाडौ, पुस १३ -
माओवादी उपाध्यक्ष मोहन वैद्यले 'नयाँ पार्टी जन्मिरहेको' बताएको भोलिपल्टै महासचिव रामबहादुर थापाले अनौपचारिक रूपमा पार्टी फुटिसकेको घोषणा गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा बुधबार थापाले फुटले औपचारिकता पाउन मात्र बाँकी रहेको धारणा राखेका हुन् ।

'पार्टी फुटिसकेको छ, हामीले स्वीकार नगरेको मात्रै हो,' थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'कुनै दिन स्वीकार गर्ने बेला आउने छ ।' अध्यक्ष पुष्पकमल दाहालविरुद्ध चर्को रूपमा प्रस्तुत भएका थापाले उनको प्रस्तावले 'दक्षिणपन्थी' बाटो लिएको आरोप लगाए ।

स्थायी समिति सदस्य कृष्णबहादुर महराले थापाको भनाइको प्रतिवाद गरेका थिए । 'किरण -वैद्य) जीको प्रस्तावले पार्टी फुटको बिजारोपण गरेको छ, उहाँले नयाँ पार्टीको जन्म भइरहेको उल्लेख गर्नुभएको छ,' महराले वैद्यको प्रतिवेदनलाई इंगित गर्दै भने, 'अध्यक्षले एकताको प्रस्ताव ल्याइरहेका बेला किरणले फुटलाई प्रश्रय दिनुभयो ।'

दाहालको प्रस्तावले मुलुकमा 'नयाँ ढंगले क्रान्ति गर्ने' उनले बताए । 'अध्यक्षको प्रस्ताव जननीतिमा आधारित छ, यसले पार्टी एकता गरी क्रान्तिलाई नयाँ ढंगले अघि बढाउँछ ।' वैद्यले जनविद्रोह गर्ने बताए पनि त्यो 'मनोगत आकांक्षा' भएको उनको टिप्पणी थियो । एक वर्षअघि वैद्यनिकट रहेका महरा यतिबेला दाहालको पक्षमा खुलेरै देखा परेका हुन् ।

प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने दाहालको प्रस्तावलाई समर्थन गर्दै वैद्य पक्ष 'गैरजिम्मेवार' भएको बताए । 'शान्ति र संविधान सुनिश्चित गर्नुको विकल्प छैन, दुवै कुरालाई अध्यक्षको प्रस्तावले निष्कर्षमा पुर्‍याउन सक्छ,' उनले भने, 'हामीले जनविद्रोहको प्रयोग नगरेको होइन, तर त्यो सम्भव भएन । त्यसैले प्राप्त उपलब्धि रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो ।'

भारतसँग गरिएको 'बिप्पा' सम्झौताको विरोध गरेकामा वैद्यलाई समर्थन गरेका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाहालको शान्ति र संविधानको कार्यदिशालाई समर्थन गरे । स्रोतअनुसार उनले आफू बिप्पाको विरोधमा भएको भन्दै वैद्य पक्षसँग कुराकानी जारी राखेका छन् । बैठकमा स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले दाहालले जनतालाई झुक्याएको आरोप लगाए । 'अध्यक्षले नुवाकोटतिरका सोझा चेलीलाई जागिरमा लगाइदिन्छु भन्दै राजधानी ल्याई भारतमा बेचेजस्तो हामीलाई गर्नुभयो,' उनको भनाइ थियो, 'उहाँले जनविद्रोह भनेर हामीलाई राजधानी ल्याउनुभयो र भुलाउनुभयो ।

अहिले क्रान्ति पूरा भयो भन्न थाल्नुभएको छ ।'

वैद्य पक्षका युवानेता चन्दले 'दाहालको व्यवहार नसच्चिए उनी मोहनविक्रम सिंहजस्तै सानो पार्टीको अध्यक्ष हुने' चेतावनी दिए । 'हामीले क्रान्तिका लागि अध्यक्षको हिँडाइ, बोलीचालीको नक्कल गर्‍यौं,' उनको भनाइ थियो, 'उहाँ सच्चिनु भएन भने मोहनविक्रम सिंहको जस्तो हालत हुनेछ ।'

सचिव पोस्टबहादुर बोगटीले दाहालको प्रस्तावले मुलुकलाई निकास दिने बताए भने अर्का सचिव सीपी गजुरेलले वैद्यको प्रस्ताव क्रान्तिकारी र वैज्ञानिक भएको दाबी गरे । केन्द्रीय पदाधिकारी र स्थायी समितिका गरी नौ जनाले बुधबार बोलेका थिए । उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ, सचिव बोगटी, स्थायी समिति सदस्य महराले अध्यक्ष दाहालको पक्षमा र महासचिव थापा, सचिव गजुरेल र स्थायी समिति सदस्य चन्दले उपाध्यक्ष वैद्यको पक्षमा बोलेका थिए । स्थायी समिति सदस्य अमिक शेरचनले भने मध्यमार्गी धारणा राखेका थिए ।

नेता देव गुरुङले संविधान निर्माणका विषयमा दाहालले आत्मसमर्पणवादी सम्झौता गरेको भन्दै १६ बुँदे 'सम्झौता कि आत्मसमर्पणवाद' शीर्षकको लिखित मत राखेका थिए । उनले पुरानै ढर्राको संविधान स्वीकार गरिएको, प्रस्तावनाबाट जनयुद्ध शब्द छाडेको, सबै युवालाई सैनिक तालिम दिने अडान त्यागेको, संसद्मा दुई सदन स्वीकार गरी कांग्रेस, एमालेको प्रस्ताव स्वीकार गरेको, संसद्को नाम पुरानै राखेको, मिश्रति निर्वाचन प्रणाली स्वीकार गरेको, सम्पत्तिको हदबन्दी लगाउने अडान त्यागेको आरोप दाहालमाथि लगाएका थिए ।

प्रकाशित मिति: २०६८ पुस १४ ०९:०३

Tuesday, December 27, 2011

वैद्यद्वारा जनविद्रोहमा जानुपर्ने प्रस्ताव

गम्भीर बन्दै गएका क्रान्ति तथा पार्टीका
समस्या र तिनको समाधानबारे
१-नयाँ प्रस्तावको आवश्यकता
आज वर्गसंघर्ष अन्त्यन्तै जटिल मोडमा छ र त्यो पार्टीको दुई लाइन संघर्षमा प्रतिबिम्बित भइरहेको छ। आज नेपाली जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहास नयाँ मोडमा खडा छ। हामी गम्भीर प्रकारको प्रशव पीडामा छौं। आज एकातिर २०५२ सालबाट पहल गरिएको महान् जनयुद्धको प्रक्रियालाई अन्त्य गर्दै देशलाई संसदवादको आहालमा डुबाउने षडयन्त्रलाई पूर्णता दिइदैंछ भने अर्कोतिर त्यसका विरुद्ध नेपाली नयाँ जनवादी क्रान्तिलाई जारी राख्तै अगाडि बढ्ने धारा पनि नयाँ प्रतिबद्धता सहित सशक्त रुपमा प्रस्तुत भएको छ।
आज नेपाली जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अध्यायको अन्त्य र अर्को अध्यायको थालनीको प्रक्रिया अगाडि बढिरहेको छ। आज नेपाली क्रान्तिका कार्यभारलाई सही ढंगले संवहन गर्नका लागि पार्टीका सामु वर्गसंघर्ष र दुई लाइन संघर्षका क्षेत्रमा गम्भीर प्रकारका नयाँ चुनौतीहरुको सामना गर्न तयार रहनु पर्ने ऐतिहासिक आवश्यकता समुपस्थित भैरहेको छ। यसप्रकारका चुनौतीहरुको सामना गर्दै दृढतापूर्वक अगाडि बढ्ने कि प्रतिक्रियावादसित आत्मसमर्पण गर्दै पछाडि हट्ने? इतिहासले हामीसित स्पष्ट र सिधा उत्तरको माग गरिरहेको छ।
क्रान्ति जारी छ। यो बेला सिङ्गो नेपाली क्रान्ति सहित महान् जनयुद्धको प्रक्रियामा उल्लेखनीय योगदान गर्ने वीर सहिदहरु, वेपत्ता तथा घाइते योद्धाहरु र जनताले प्रस्तुत गरेका त्याग, वीरता र बलिदानका उत्कृष्ट गाथाहरु विशेष स्मरणीय रहेका छन्। जनमुक्ति र क्रान्तिका उदात्त आदर्श र सपनाहरु भीषण वर्गसंघर्ष र दुई लाइन संघर्षसंग अभिन्न रुपमा गासिएका छन् र तिनलाई हामीले कहिल्यै बिर्सिन सक्तैनौं।
वर्गसंघर्ष र दुई लाइन संघर्षको यो जटिलता र सच्चाइलाई ९ पौष २०६८ मा अध्यक्ष कमरेड प्रचण्डद्वारा केन्द्रीय समितिको बैठकमा प्रस्तुत "पार्टीमा विकसित संकट, तिनको समाधान र आगामी कार्यक्रमबारे संक्षिप्त राजनैतिक प्रस्ताव" शीर्षक प्रस्तावले आत्मसात् गर्न सकेको छैन। ठीक त्यसैकारण अर्को राजनीतिक प्रस्ताव तयार पार्ने आवश्यकता पैदा भएको हो।
२- अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावबारे
अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावमा उल्लिखित मुख्य विषयवस्तु र मूल प्रवृतिबारे संक्षिप्तमा यसरी अध्ययन गर्न सकिन्छ :
(क) प्रस्ताव नं४ मा पार्टीमा विद्यमान एकरुपता र विवादबारे उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ-"मालेमा/विचारलाई क्रान्तिको निर्देशक सिद्धान्त मान्ने तथा तिनका आधारभूत प्रस्थापनाहरुको रक्षा, प्रयोग र विकास गर्ने, समाजवाद र साम्यवादलाई पार्टीको अन्तिम लक्ष्य र अधिकतम् कार्यक्रम तथा नयाँ जनवादलाई पार्टीको रणनीति र त्यसको कार्यक्रमलाई न्यूनतम् कार्यक्रम मान्ने कुरादेखि आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रलाई र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिंदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन। तर उपरोक्त लक्ष्य हासिल गर्ने तात्कालिक कार्यनीतिक पाइलाहरुका विषयलाई लिएर कतिपय अवस्थामा पार्टीका समग्र सिद्धान्तलाई नै आकर्षित र प्रभावित गर्ने गरी अन्तर्विरोधहरु चल्ने गरेका छन्।" यहाँ उल्लेख गरिएका कतिपय विषयबारे चर्चा गर्न आवश्यक छ।
पथप्रदर्शक सिद्धान्तबारे मार्क्सवाद-लेनिनवाद-माओवाद/माओविचारका सन्दर्भमा माओवाद/माओविचार जस्ता समानान्तर पदावली राखिनु हुँदैन भन्नेबारे बहस चल्दै आएको हो र छिट्टै प्रक्रिया मिलाई टुङ्ग्याउने सहमति भएको हो। यस सन्दर्भमा हामीले छिट्टै प्रक्रिया मिलाई 'माओवाद' पदावलीको प्रयोग गर्नु उपयुक्त हुन्छ भने आफ्नो अभिमत दर्ज गरेको कुरा स्पष्ट नै छ।
नयाँ जनवादलाई पार्टीको न्यूनतम कार्यक्रम र रणनीति तथा समाजवाद एवम् साम्यवादलाई अधिकतम कार्यक्रम मान्दै आएको कुरा त स्पष्ट नै छ। परन्तु अध्यक्ष कमरेडद्वारा विभिन्न प्रचार माध्यम र विशेषतः 'क्रमभङ्ग' (अङ्क २, कार्तिक २०६८) मा दिइएको अन्तर्वार्तामा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको भेद धेरै नै मेटिदै गएको, नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार र समाजवादी क्रान्तिपूरा गर्ने रणनीति एउटैमा केन्द्रित भएको आदि अभिमत प्रस्तुत गरिएको सन्दर्भमा क्रान्तिको चरण, कार्यक्रम, रणनीति र कार्यनीतिका प्रश्नमा ठूलै अन्योल र गम्भीर सैद्धान्तिक प्रश्नहरु खडा हुन पुगेका छन्। यदि कुरा अध्यक्षले भन्नुभए जस्तै हो भने वहाँको जनवादी क्रान्ति सम्बन्धी अवधारणा नोकरशाह तथा दलाल पुँजीवादपरस्त बन्न गएको छ र त्यसले नेपाल जस्तो अर्द्धसामन्ती, अर्द्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको मुलुकसंग मेल खाँदैन।
सो उद्धरणमा जनताको संघीय गणतन्त्र र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति भनिएको कुरामा विवाद नरहेको कुरा बताइएको छ। परन्तु पार्टीले एकैसाथ त्यसप्रकारका पदावलीलाई समानान्तर कार्यनीतिका रुपमा कहिल्यै ग्रहण गरेको छैन। यहाँ स्पष्टतः परस्पर विरोधाभास देखिन्छ।
प्रस्ताव नं. ५ मा दुई लाइन संघर्ष वा विवादको मूल मुद्दालाई लोकतान्त्रिक गणतन्त्रको कार्यनीति सहितका उपलब्धिलाई स्थापित गर्ने र तिनलाई प्रतिक्रियावादी व्यवस्थामा आंशिक सुधार मानेर तिनको ध्वंश गर्ने-कुरामा क्रमशः बहस आकर्षित हुँदै गएको बताइएको छ। परन्तु यहाँ प्रश्न उपलब्धिहरुको ध्वंस गर्ने होइन, अपितु लोकतान्त्रिक गणतन्त्रलाई रणनीति मानेर संसदीय व्यवस्थामा टाँसिने कि जनताको संघीय गणतन्त्रको स्थापनाका लागि अगाडि बढ्ने भन्ने प्रश्न हो। अध्यक्ष कमरेडको उक्त "स्थापित र ध्वंस" सम्बन्धी प्रस्थापना के.स.को चुनवाङ्ग बैठकमा पारित लोकतान्त्रिक गणतन्त्रलाई "प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारा वर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्ने छ" भन्ने मान्यताका विरुद्ध परिलक्षित रहेको छ।
(ख) त्यसैगरी सोही प्रस्तावको प्रारम्भमा पार्टीमा चलिरहेको अन्तःसंघर्षको केन्द्रविन्दुका रुपमा मूलतः शान्ति, संविधान र सरकारसंग सम्बन्धित कार्यनीतिलाई लिइएको छ र त्यो सिद्धान्त र रणनीतिको वैचारिक बहसमा तानिएको कुरा समेत उल्लेख गरिएको छ। कुरा साँचो हो, तर हाम्रा सिद्धान्त र रणनीतिसंग सम्बन्धित वैचारिक बसहका मुद्दा परस्पर विपरीत दुई भिन्न कोण तथा मान्यतामा आधारित रहेका छन्।
हो, शान्ति, संविधान र सरकार सिद्धान्त र रणनीतिसंग अभिन्न रुपमा गाँसिएका छन्। अध्यक्ष कमरेडका दृष्टिमा शान्तिको अर्थ जनमुक्ति सेनाको निशस्त्रीकरण तथा आत्मसमर्पण एवम् जनवादी क्रान्तिको अन्त्य, संविधानको अर्थ संसदवादी संविधानको निर्माण र सरकारको अर्थ पुरानो राज्यमसिनरीको दासत्वको स्वीकृतिका रुपमा ग्रहण गर्नु हो। सम्झौतामा लिने र दिने गरिन्छ। परन्तु यो समग्र प्रक्रियामा लिने होइन दिने मात्र काम भएको छ। यो सम्झौता मात्र होइन आत्मसमर्पण हो। वस्तुतः आज संविधानसभा तथा लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीति होइन रणनीति नै बनाउँदै नयाँ जनवादी क्रान्ति र जनविद्रोहलाई तिलाञ्जलि दिने काम गरिएको छ।
प्रस्तावको सोही ५ नं. मा अध्यक्ष कमरेडद्वारा "पटक पटकको सचेत प्रयत्नका बाबजुद तत्काल जनविद्रोह सफल हुन नसकेको, कुरा उल्लेख गरिएको छ। परन्तु त्यो कुरा साँचो होइन, यो त भन्ने कुरा मात्र हो। यथार्थमा वहाँ त्यो दिशामा लाग्नु भएकै थिएन।
(ग) आज क्रान्तिका लागि विश्व र नेपाली कम्युनिष्ट आन्दोलनमा समेत दंक्षिणपन्थी संशोधनवादबाट प्रमुख खतरा रहिआएको कुरा स्पष्ट नै छ। परन्तु, अध्यक्ष कमरेडको प्रस्तावको पाँच नं.मा "दंक्षिणपन्थी संशोधनवादको खतरा"को सामना गरिने तथा "यान्त्रिक, संकीर्ण सोंचले" प्रतिक्रान्तिलाई नै सेवा पुर्‍याउने कुरा बताइएको छ। यसबाट दुई लाइन संघर्षमा प्रहारको मुख्य निशाना क्रान्तिकारी धारातिर नै सोझ्याइएको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ।
(घ) अध्यक्ष कमरेडको प्रस्तावमा पार्टीको स्थितिबारे अत्यन्तै निराशाजनक ढङ्गले चित्रित गरिएको छ। त्यसमा पार्टी भयावह रुपले विघटित र विसर्जित भइरहेको कुरा उल्लेखगर्दै 'यथार्थमा पार्टी मरिरहेको' कुरा बताइएको छ। साथै पार्टीमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, गुट-उपगुट, लेबी, कोटा, आर्थिक पारदर्शिता, त्याग, बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको उल्लेखगर्दै सबैमा समान रुपमा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको कुरा बताउँदै समस्यालाई अन्यत्रै मोड्न खोजिएको छ। परन्तु यथार्थमा कुरा के हो भने पार्टीमा विद्यमान ती सबै प्रवृत्ति, समस्या र स्वार्थको केन्द्रबिन्दुमा स्वयम् वहाँ नै हुनुहुन्छ। साथै, यहाँ एकातिर पार्टीमा विद्यमान अभिजात वर्ग र मजदुर वर्गका बीचको अन्तर्विरोधलाई ओझेलमा पार्ने काम गरिएको छ भने अर्कोतिर पार्टीमा पुरातन शक्ति मरिरहेको यथार्थलाई बङ्ग्याएर सिंगो पार्टी मरिरहेको कुरा बताइएको छ। वास्तवमा आजको यथार्थको के हो भने पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको छ।
(ङ) अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावको नं.५ र नं. ८ मा कन्टेनरको चाबी हस्तान्तरण, चार बुँदे तथा सात बुँदे लगायतका सहमतिहरुलाई पार्टीका सम्बन्धित समितिका निर्णय, एकमतद्वारा पारित तथा सम्बन्धित निकायद्वारा अनुमोदित गरिएका भनेर वितण्डतावादी शैलीमा सफेद झुट बोल्ने काम गरिएको छ। यहाँनेर वास्तविकता के हो भने स्थायी समितिका बैठकहरुमा सेनासमायोजनबारे लिइएका निर्णय, चारबुँदे सहमतिमा उल्लेखित लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान लगायतका विषयमा भिन्न मत दर्ज गरिएको थियो र कतिपय विषयमा रिजर्भ समेत रहने काम भएको थियो। यहाँ विचित्र कुरा के भएको छ भने चाबी बुझाउँदा जनमुक्ति सेनाका विभागीय इन्चार्जलाई समेत कुनै जानकारी दिइएको थिएन। यसका साथै ती विषयबारे क.किरण तथा क.बादलद्वारा के.का.मा बुझाइएका पत्रहरुमा खुलस्त पारिएको छ र ती विषयबारे उक्त प्रस्तावमा कुनै चित्तबुझ्दो स्पष्टीकरण दिइएको छैन। प्रस्ताव नं.८मा हामीले केन्द्रीय कार्यलयमा प्रस्तुत गरिएका चार बुँदे सहमति, कन्टेनरको चाबी, सात बुँदे सहमति, घरजग्गा फिर्ता, बिप्पा लगायतका विषयको उल्लेख गर्दै ती विषयबारे कहीं कतै गल्ती कमजोरी स्वीकार गरिएको छैन र सबैभन्दा पछि अध्यक्षलाई जनमुक्ति सेना लगायतका विषयमा सम्बोधन गर्नेबारे बुझाइएको पत्रका सम्बन्धमा कुनै चर्चा समेत गरिएको छैन। यहाँ विषयको गम्भीरतालाई पूरै उपेक्षा गरिएको छ।
(च) अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावको नवौं बुँदामा पार्टीमा विद्यमान समस्याहरुको समाधानका लागि दश बुँदे उपाय प्रस्तुत गरिएको छ। बाह्य रुपमा हेर्दा सामान्य समाधानका यी उपायहरु सही जस्तै देखिए पनि सार रुपमा तिनले समस्याको गुदीलाई आत्मसात् गरेको देखिदैन। पार्टीमा विद्यमान समस्या मुख्यतः विचार र त्यसपछि विधिसंग सम्बन्धित रहेका छन्। विचारसंग सम्बन्धित समस्या सिद्धान्त, रणनीति, कार्यक्रम र कार्यदिशासंग जोडिन पुगेका छन्। विधिसंग सम्बन्धित समस्या मूलतः जनवादी केन्द्रीयतासंग जोडएको छ। समस्या समाधानको केन्द्रीय उपायका रुपमा विचार र विधि दुवै दृष्टिले महाधिवेशनलाई अगाडि सारिएको छ। यी सबै विषयमा व्यापक छलफल, सही मूल्याङ्कन एवम् समीक्षा तथा आत्मालोचना नगरी र गल्ती, कमी तथा कमजोरीहरुलाई सच्याउँदै रुपान्तरणको दिशामा नगई पार्टीमा विश्वासको वातावरण बनाउन गाह्रो पर्दछ। त्यसो नगरी महाधिवेनले समस्या समाधान गर्न सक्तैन। पार्टीमा अनुशासन वा जनवादी केन्द्रीयतालाई स्थापित गर्नका लागि सर्वप्रथम पार्टीका नीति, कार्यक्रम तथा कार्यदिशा क्रान्तिकारी रहेको कुरामा सुस्पष्टता र नेतृत्वमा विश्वासको वातावरण बन्न जरुरी हुन्छ। स्वयम् मूल नेतृत्व सहित नेतृत्वका कतिपय जिम्मेवार कमरेडहरुबाटै विचार र विधि दुवै क्षेत्रमा अतिक्रमण एवम् उल्लंघन हुँदै गइरहेको स्थितिको गाम्भीर्यमाथि विशेष ध्यानदिन र रुपान्तरित हुने प्रतिबद्धता अनिवार्य रुपमा आवश्यक छ।
(छ) प्रस्तावको अन्त्यमा "संगठन सुदृढीकरण तथा जनपरिचालन कार्यक्रम" प्रस्तुत गरिएको छ। जनपरिचालनको कार्यक्रम अमूर्त रहेको छ र त्यसमा संघर्षसम्बन्धी प्रश्नबारे आवश्यक ध्यान दिइएको छैन। यस कार्यक्रमका कतिपय बुँदाहरु सही नै भएपनि मूल समस्याको समाधान नगरी यसप्रकारको कार्यक्रमको कुनै अर्थ छैन।
प्रस्तुत प्रस्तावमा विशेष ध्यानदिन योग्य कुरा के छ भने यहाँ साम्राज्यवाद तथा विस्तारवादको विरोधमा र राष्ट्रिय स्वाधीनताको पक्षमा ठोस ढंगले प्रस्तुत हुने काम भएको छैन। बरु उल्टै घुमाएर बिप्पाको समर्थन गर्ने काम भएको छ।
सिङ्गो प्रस्तावमा अध्यक्ष कमरेडबाट पार्टीमा विद्यमान संकटको मुख्यकारण अन्यत्रै खोज्ने वृथा प्रयास गरिएको छ, परन्तु वास्तवमा त्यसप्रकारको संकटको मुख्य केन्द्रबिन्दु स्वयम् मूल नेतृत्वमै सन्निहित रहेको छ। समग्रमा भन्नुपर्दा प्रस्तुत राजनैतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दंक्षिणपन्थी अवसरवाद उन्मुख बन्न गएको छ। अन्ततः यसले पार्टीमा विद्यमान समस्या तथा संकटको समाधान गर्न सक्तैन।
३- पार्टी र क्रान्तिका समस्याबारे
(क) सांगठनिक समस्या
आज पार्टीमा जनवादी केन्द्रीयता, आत्मालोचना-आलोचना, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, कमिटी तथा नेतृत्व प्रणाली, कार्यशैली तथा पद्धति, आर्थिक प्रणाली, जनदिशा, कार्यकर्तानीति, अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध, सहितको समग्र व्यवस्था अस्तव्यस्त हुँदै गइरहेको छ। पार्टी उच्च र निम्न वर्गमा विभाजित हुनु, पार्टीलाई मुख्यतः क्रान्ति तथा वर्गसंघर्ष नभई सुधारवाद तथा सम्झौतावादको साधन बनाइनु, नेतृत्वका कतिपय जिम्मेवार कमरेडहरु सहित मूल नेतृत्वमा एकैसाथ नोकरशाहीपन तथा अराजकतावाद देखापर्नु र मूल नेतृत्वबाट नै पार्टी निर्णय कार्यान्वयन गर्नुको साटो उल्टै तिनको उल्लंघन गर्दै हिड्नु नै पार्टीजीवन अस्तव्यस्त हुनुका मूल कारण हुन्। तसर्थ, पार्टीमा विद्यमान समस्याहरुको समाधानका लागि पनि सर्वप्रथम मूल नेतृत्व नै र त्यसपछि समग्र नेतृत्वपंक्ति कमी, कमजोरीहरुलाई सच्याउँदै रुपान्तरित बन्न जरुरी छ।
(ख) शान्ति र संविधानबारे
हामी शान्ति र संविधानको पक्षमा छौं, परन्तु हामी राष्ट्र तथा जनविरोधी शान्ति र संविधानको पक्षमा छैनांै। देश र जनताको पक्षमा शान्ति स्थापना गर्नका लागि राष्ट्रिय सुरक्षा नीतिको निर्धारण, जनसंविधानको निर्माण, सम्मानजनक रुपमा सेना समायोजन जस्ता विषयहरु आवश्यक रहेका छन्। परन्तु यी कुरामा ध्यान नदिई अपमानजनक रुपमा जनमुक्ति सेनाको विघटन गरिदैंछ। जनमुक्ति सेनाको समायोजन क्क्च् को होइन, व्यक्तिगत भर्ना तथा निःशस्त्रीकरणको मोडालिटी म्म्च् अनुसार भइरहेको छ। त्यसैगरी जनताको पक्षमा संविधान निर्माण गर्ने भनेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्वमा आधारित नयाँ आधारमा राज्यको पुनःसंरचना, मजदुर, किसान लगायत जनताका अधिकारको स्थापना महिला, दलित तथा मुस्लिम समुदायका लागि विशेषाधिकार, जनजाति तथा मधेशी समुदायका लागि आत्मनिर्णयको अधिकारको स्वीकृति तथा जातीय स्वायत्त शासनको स्थापना सहित जनताको संघीय गणतन्त्रात्मक संविधान हो।
आज यस प्रकारको संविधान निर्माणको सम्भावना पनि अत्यन्तै क्षीण हुँदै गइरहेको देखिन्छ। किनभने देशी तथा विदेशी प्रतिक्रियावादीहरुद्वारा एकीकृत ने.क.पा. (माओवादी)लाई संसदवाद तथा राष्ट्रिय आत्मसमपर्णवादको भासमा फँसाउने र फेरि पनि जनतालाई धोकादिने तथा गम्भीर विश्वासघात गर्ने भीषण प्रकारका षडयन्त्रहरु भइरहेका छन। यो स्थितिमा देश तथा जनताको पक्षमा शान्ति प्रक्रिया अगाडि बढ्ने अवस्था नै देखिदैन र संविधानको निर्माण हुने सम्भावना पनि न्यून हुँदै गएको छ।
(ग) सडक, सदन र सरकारबारे
जनताको पक्षमा शान्ति तथा संविधानको निर्माणको प्रक्रियालाई अगाडि बढाउन र सो हुन नसकेको स्थितिमा नयाँ क्रान्तिको तयारीका लागि हामीले सडक, सदन र सरकारको मोर्चाहरुको प्रयोग गर्ने निर्णय लिंदै आएका छौं। परन्तु, यी मोर्चाको सही प्रयोग हुन सकेको छैन।
सडकबाट पछिल्लो समयमा संघर्षको कुनै कार्यक्रम दिइएको छैन र सडक करीब रित्तो बन्दै गएको छ। सदन अर्थात् संविधान सभामा संविधानको निर्माणमा सम्बन्धित कैयौं कमरेडहरुले यथेष्ट भूमिका निर्वाह गर्दै आएपनि स्वयम् मूल नेतृत्वबाटै जनताको पक्षमा खेल्नुपर्ने भूमिकाको पटक्कै निर्वाह गर्न सकिएको छैन, बरु उल्टै जाने काम भएको छ। विवाद समाधान उपसमितिमा अध्यक्ष कमरेड बस्नु हुँदैन भनी सर्वसम्मत रुपमा निर्णय लिइएको र सो निर्णयको उपेक्षागरी बस्ने गरेकोमा बारम्बार नबस्न ध्यानाकर्षण गराएको स्थितिमा पार्टी निर्णय विपरीत वहाँ सो उपसमितिमा बस्दै आउनु भएको तथा अनधिकृत रुपमा पार्टीका प्रस्तावहरुलाई छोड्दै गइरहनुभएको छ। हाम्रा सभासदहरुले संघर्षका बीचबाट बहुमतद्वारा पारित गराइएका प्रतिवेदनहरुबाट अध्यक्ष कमरेडबाट कैयौं विषयहरुलाई अनधिकृत रुपमा खारेज गर्ने काम गरिएको छ। संविधान सभामा नोकरशाह तथा दलाल पुँजीपति वर्गको प्रभुत्व बढ्दै गएको छ र त्यसमा स्वयम् अध्यक्ष कमरेडबाट पूरा साथदिने काम हुँदै आएको छ। यो स्थिति कायम रहिरहेमा संविधानसभाको औचित्य पनि झण्डैं समाप्त हुँदै गएको छ।
सरकारमा रहेर देश, जनता र क्रान्तिको पक्षमा हस्तक्षेप गर्ने कुरा त परै जाओस् उल्टै विरोधमा जाने काम भएको छ। माओवादी नेता तथा कार्यकर्ताहरुमाथि जनयुद्धमा लगाइएका मुद्दाहरु फिर्ता लिने वा खारेज गर्ने सहमति भएपनि त्यसतर्फ कुनै ध्यान दिइएको छैन। फलतः जनयुद्धकालीन मुद्दा लगाई माओवादी नेता तथा कार्यकर्ताहरुलाई फँसाउनका लागि अझै गंभीर षडयन्त्र रच्ने काम भैरहेको छ। त्यस्तै सरकारमा रहेर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुको साटो उल्टै विस्तारवादको पक्षमा द्विपक्षीय लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौंता (बिप्पा) गरिएको छ र यसबाट स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माणमा थप व्यवधान पैदा भएको छ। महान् जनयुद्धको प्रक्रियामा जनताद्वारा कब्जा गरिएका जग्गाबाट उनीहरुलाई क्रान्तिकारी भूमिसुधारको मान्यता अनुरुप वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिदै छ। मजदुरहरुको हकहितमा काम गर्नु त परै जाओस् उल्टै उनीहरुलाई आन्दोलनगर्ने अधिकारबाट पनि बञ्चित गरिंदै छ। सरकारको नेतृत्वमा रहेका जिम्मेवार कमरेडहरुबाट पार्टीको कार्यदिशा, निर्णय, निर्देशन एवम् संयन्त्रको खिल्ली उडाउँदै अराजक ढंगले पेश हुने काम गरिएको छ। यो स्थितिमा पार्टी सरकारमा रहनुको कुनै औचित्य छैन।
(घ) दुई लाइन संघर्षको प्रश्न
पार्टीमा लामो समयदेखि विभिन्न चरण हुँदै दुई लाइन संघर्ष चल्दै आएको छ। दुई लाइन संघर्षको मूल विषय लोकतान्त्रिक गणतन्त्रमै अडिएर बस्ने कि जनताको संघीय गणतन्त्रमा जाने, क्रान्तिलाई संसदवादमा लगेर बिसाउने कि जनविद्रोहको तयारी गर्ने, देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कि राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकड्ने, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधान गर्दै सम्मानजनक रुपमा सेना समायोजन सहित शान्तिको प्रक्रियामा जाने कि पुरानो राज्यसत्तासित घुँडाटेक्ने, सामन्तवाद-साम्राज्यवाद विरोधी सारतत्व भएको संविधान बनाउने कि संसदवादी पश्चगामी संविधान बनाउने भन्ने नै हुन्।
पार्टीमा यो दुई लाइन संघर्ष निकै आरोह अवरोहमय ढंगले अगाडि बढेको छ। पालुङ्गटारयताको के.स.को बैठकमा आउँदासम्म पार्टीमा क्रान्तिकारी कार्यदिशा नै पारित गरिएको थियो। परन्तु जब त्यसको कार्यान्वयनको प्रश्न पैदाभयो त्यो बेला स्थिति क्रमशः उल्टिदै गयो र २०६८ बैशाखको केन्द्रीय समितिको बैठकसम्म आउँदा पार्टीको क्रान्तिकारी कार्यदिशा अल्पमतमा पर्‍यो। त्यो बेलादेखि पार्टीको नेतृत्वमा सरकार बन्ने प्रक्रिया हुँदै अहिलेसम्म आउँदा स्थिति पूरै उल्टिन पुगेको छ। २०६८ जेठमा स्थायी समितिमा गरिएको सेना समायोजन सम्बन्धी निर्णय, मधेशीसितको चारबुँदे सहमति, चाबी हस्तान्तरण, जनयुद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गराउन स्थानीय प्रशासनलाई दिइएको निर्देशन, बिप्पा प्रकरण, सेना समायोजन सहितको सात बुँदे सम्झौता यसै उलटफेरका केही उदाहरण हुन्।
दुई लाइन संघर्षलाई कुन दिशा प्रदान गर्ने भन्ने विषयमा मूल नेतृत्वको निर्णायक भूमिका हुन्छ। वर्गसंघर्षमा जस्तै दुई लाइन संघर्षमा पनि मूल नेतृत्वले क्रान्तिकारी ढंगले रणनीति र कार्यनीतिमा खेल्नुपर्ने हुन्छ। परन्तु, दुई लाइन संघर्षको प्रक्रियामा हाम्रो मूल नेतृत्वले उल्टो ढंगले रणनीति र कार्यनीतिमा खेल्ने काम गर्‍यो। त्यसले माओको 'तीन गर र तीन नगर'को विपरीत भूमिका निर्वाह गर्न पुग्यो। यो समग्र प्रक्रियामा मूल नेतृत्वबाट क्रान्तिकारी पंक्ति तथा कार्यदिशाको विरोधमा छलछाम गर्ने, कूटनीतिमा खेल्ने, अस्पष्ट तथा अमूर्त ढंगले पेशहुने, गलाउने एवम् थकाउने, पहिले गुलियो चटाउँदै भुलाउने र अन्त्यमा धोकादिने रणनीति अवलम्वन गर्दै आउने काम भएको छ। यसप्रकारको रणनीतिले वर्गदुश्मनलाई नै फाइदा पुर्‍याउँछ र पुर्‍याउँदै आएको पनि छ।
यसैगरी मूल नेतृत्वबाटै दुई लाइन संघर्षलाई अस्वस्थ रुपदिने काम हुँदै आएको छ। अध्यक्ष कमरेडले धोवीघाट सहमति 'अपवित्र गठबन्धन' बताउँदै आउनु भएको छ। परन्तु अहिले वहाँ को संग के कस्तो गठबन्धन गर्दै हुनुहुन्छ कुरा सुस्पष्ट छ। वहाँबाटै भिन्न मतराख्ने कमरेडहरुमाथि मन्त्री तथा पद नपाएकोमा असन्तुष्ट भएका भन्दै अनर्गल आरोप लगाउँदै सिद्धान्त, विचार तथा नीतिमा आधारित दुई लाइन संघर्षको अवमूल्यन गर्दै आउने काम भएको छ। आखिर धोवीघाटको सहमतिले आफ्नै पद छिनिन्छ कि भनेर वहाँ कति चिन्तित हुनुहुन्थ्यो त्यो कुरा जगजाहेर छ। वस्तुतः प्रश्न पदको होइन मुख्यतः क्रान्ति, सिद्धान्त र नीतिकै हो।
आखिरमा अब पार्टीमा चल्ने दुई लाइन संघर्ष अभिजात वर्ग र निम्न वर्गको संघर्षको रुपमा परिणत हुँदै गएको छ। क्रान्तिकारी धाराको पराजय र अवसरवादी धाराको विजय हुँदै गइरहेको छ। अब पार्टीलाई दंक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादको दिशातिर तीब्र बेगमा हुत्याइदै छ। अझै पनि केही समय छ, हामीले पार्टीलाई त्यसप्रकारको दुर्घटनाबाट बचाउन र क्रान्तिकारी दिशामा रुपान्तरण गर्नका लागि विशेष भूमिका निर्वाह गर्न आवश्यक छ र गर्नै पर्दछ।
आजको भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा सर्वहारा वर्गका नेताहरुको आभिजात्यीकरण हुने, पार्टीमा वर्गदुश्मनको घुसपैठ बढ्न जाने र सिद्धान्त तथा राजनीतिको बन्ध्याकरण गरिने प्रक्रिया तीब्र रुपमा अगाडि बढ्ने गर्दछ। यस कुराप्रति सबै सतर्क हुन जरुरी छ।
(ङ) नयाँ जनवादी क्रान्तिको सम्भावनाबारे
देशमा लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको स्थापना भएपनि र हाम्रो पार्टी ए.नेकपा(माओवादी)को नेतृत्वमा सरकार बनेपनि नेपाल अझै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ। राज्यसत्ता अझै दलाल तथा नोकरशाह पुँजीपति र सामन्त वर्गको हातमा छ। यो बेला एकातिर मुख्यतः दलाल पुँजीपति वर्ग तथा भारतीय विस्तारवाद र अर्कोतिर नेपाली जनसमुदायका बीचको अन्तर्विरोध प्रधान अन्तर्विरोध बन्न गएको कुरा स्पष्ट नै छ।
यो बेला हाम्रा अगाडि संसदवाद तथा राष्ट्रिय आत्मसमर्पणवादका सामु झुक्ने कि जनताको संघीय गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताका लागि संघर्षगर्ने भन्ने प्रश्न निकै गम्भीर बनेको छ। वर्तमान स्थितिमा जनसंविधानको निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका आधारभूत समस्याहरुको समाधान हुने कुनै प्रबल सम्भावना वा खास लक्षण देखिदैन। यस स्थितिमा हामी देश, जनता तथा क्रान्तिको पक्षमा दृढतापूर्वक उभिनै पर्दछ र त्यसबाहेक अर्को विकल्प देखिदैंन।
नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक र सम्भव दुवै छ। तयारीका कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकेमा जनविद्रोहका लागि प्रबल आधारहरु विद्यमान देखिन्छन्। यस सन्दर्भमा निम्न विषयहरु उल्लेखनीय रहेका छन्- पहिलोः जनता पुरानै होइन नयाँ तरीकाले बाँच्न चाहन्छन्। जनता परिवर्तन र रुपान्तरण चाहन्छन्। आफ्नो पक्षमा संविधान बन्ने स्थिति नदेखिएमा जनता संघर्षमा उत्रन बाध्य छन्। दोस्रोः राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न यो बेला अत्यन्तै गम्भीर बन्दै गएको छ। साम्राज्यवादविरोधी संघर्षमा नेपालको ऐतिहासिक परम्परा रहेको छ। नेपाली जनता सबैखाले साम्राज्यवादी र भारतीय विस्तारवादी हस्तक्षेपबाट मुक्त हुन चाहन्छन्। तेस्रोः राजनीतिक, आर्थिक तथा सांस्कृतिक रुपमा संकट तिब्र बन्दै गएको छ। यो संकट प्रतिक्रियावादी राज्यसत्ताको संकट हो र यसले सबै वर्गलाई प्रभावित तुल्याएको छ। जनता यो संकट थेग्नसक्ने स्थितिमा छैनन्। चौथोः नेपाली संसदवादी तथा प्रतिक्रियावादी राजनीतिक शक्तिहरुबीच सत्ता र कुर्सीका लागि तीब्र लुछाचुँडी चल्दै आएको छ। यसप्रकारको अन्तर्विरोधबाट सिंगो राज्यसत्ता र संयन्त्र प्रभावित भएको देखिन्छ। पाँचौः नेपाललाई आफ्नो हित वा स्वार्थ अनुकूल प्रयोग गर्नका लागि कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुका बीच पनि तीब्र प्रतिस्पर्धा चलेको छ। तरपनि कतिपय मुलुकहरु नेपालको सार्वभौमिकता तथा राष्ट्रिय अस्मिताको सम्मान गर्न चाहन्छन् र गर्दै पनि आएका छन्। छैटौंः हाम्रो पार्टी जनताको आशा उज्ज्वल भविष्यको केन्द्र हो। परन्तु अहिले पार्टीमा गंभीर प्रकृतिमा विचलन पैदा हुँदै गएका छन् र त्यसैले दुई लाइन संघर्ष पनि निकै तिब्र र पेचिलो बन्दै गएको छ। देश, जनता र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी दुई लाइन संघर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण ढंगले सञ्चालन गर्दै र विचलनबाट मुक्त हुँदै रुपान्तरण सहित एकताबद्ध बन्नु अहिलेको आवश्यकता हो। यो आवश्यकता पूरा गर्न सकेमा पार्टी धेरै शक्तिशाली बन्ने र त्यो क्रान्तिको नेतृत्व गर्न समर्थ हुने कुरा सुस्पष्ट छ।
(च) कार्यक्रम, नीति र कार्यदिशा
हाम्रो मूल कार्यक्रम, नीति र कार्यदिशाको सारतत्व भनेको देशलाई नयाँ जनवादी क्रान्ति मार्फत् अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्तगर्दै समाजवाद र साम्यवादको महान् उद्देश्य प्राप्तिको दिशामा अगाडि बढ्नु हो। हाम्रो मूल कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधानका लागि जनविद्रोहको तयारी गर्नु हो। पालुङ्गटारको विस्तारित बैठक पश्चात् सम्पन्न केन्द्रीय समितिको बैठकमा आगामी कार्यदिशा र कार्ययोजनाबारे जुन निर्णय लिइएका थिए ती अहिले पनि मूलतः सही नै छन् र हामी तिनलाई आधार बनाउँदै थप परिमार्जन सहित अगाडि बढ्नु पर्दछ।
(छ) समस्या समाधानका न्यूनतम उपायबारे
(१) पालुङ्गटार पछिको के.स.मा पारित राजनीतिक प्रस्तावलाई आधार बनाउँदै तथा त्यसलाई परिमार्जित गर्दै अगाडि बढ्ने।
(२) पार्टीका उपाध्यक्ष तथा महासचिव कमरेडबाट केन्द्रीय कार्यालयमा विभिन्न मितिहरुमा प्रस्तुत गरिएका चार बुँदे सहमति, कन्टेनरको चाबीसंग सम्बन्धित विषय, घरजग्गा कब्जा गर्न स्थानीय प्रशासनलाई दिइएको निर्देशन, सेना समायोजन सहितको सात बुँदे सम्झौता तथा बिप्पा लगायतका बहिर्गमनका परेका जनमुक्ति सेनाका मागहरुको सम्बोधन, वाइ.सी.एल तथा स्वयम्सेवक दलमा कार्यरत जनमुक्ति सेनाका योद्धाहरुको लागि उचित प्याकेजकोे व्यवस्था, नेतृत्वको सुरक्षार्थ खटिएका जनमुक्ति सेनाका सदस्यहरुको कटौती गरिएको सम्पूर्ण भत्ताको भुक्तानी, घाइतेहरुको वर्गीकरण गरी तदनुरुप पेन्सन, रोजगारी तथा प्याकेजको न्यायोचित व्यवस्था सहितका विषय तथा समस्याहरुको सही विश्लेषण तथा सम्बोधन सहित समाधान गर्ने।
(३) सरकारबाट पार्टी प्रतिनिधिहरुलाई फिर्ता बोलाउने। सदनको मोर्चालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र सडकको मोर्चालाई प्राथमिकता दिने।
(४) जनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद तथा साम्राज्यवादविरोधी सारतत्व भएको संविधान बनाउने। सो संविधानमा मजदुर तथा किसान वर्गका हकहित एवम् प्रतिनिधित्व, महिला, दलित तथा मुस्लिम समुदायलाई विशेषाधिकार, जनजाति तथा मधेशी समुदायको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय स्वायत्त शासन, नयाँ आधारमा राज्यको पुनःसंरचना, पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सहित जनताका अधिकारलाई सुनिश्चित गर्ने।
(५) देश तथा जनताको पक्षमा शान्तिप्रक्रिया अगाडि बढ्ने र जनसंविधान बन्ने स्थिति नभएमा जनमुक्ति सेनाको समायोजन र संसदवादी एवम् जनविरोधी संविधान बनाउनेतिर नजाने र भिन्न परिस्थितिमा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने।
(६) देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाको प्रश्नमा गम्भीर बन्ने र सन् १९५० लगायतका असमान सन्धि सम्झौता, सहमतिको खारेजी, जनसंविधान निर्माण, क्रान्तिकारी भूमिसुधार सहित जनजीविकाका जल्दाबल्दा समस्यालाई लिई संघर्षमा जाने।
(७) पार्टीमा जनवादी केन्द्रीयता, कमिटी व्यवस्था तथा सामूहिक नेतृत्व प्रणालीलाई पुनः स्थापित गर्ने।
(८) जनसरोकारसंग सम्बन्धित भिन्न मतमा आधारित विचारलाई सार्वजनिक गर्न पाइने र आलोचनामा स्वतन्त्रता तथा काम कारवाहीमा एकरुपताको मान्यतालाई कार्यान्वयन गर्ने।
(९) पार्टीको सांस्कृतिक, राजनीतिक तथा सांगठनिक जीवनलाई नयाँ ढंगले विकसित तुल्याउनका लागि न्यूनतम मापदण्ड निर्धारण गरी तत्काल व्यहारमा जाने र नयाँ ढंगको पार्टी निर्माणका लागि आधार बनाउने।
(१०) हाललाई वर्गसंघर्षका समस्याहरुको समाधानसंग सम्बन्धित विषयलाई प्रधानता दिने र उक्त विषयहरुको समाधान भएपछि महाधिवेशनको तयारीमा जाने।
(११) सहिद तथा बेपत्ता योद्धाका परिवारहरुको समुचित सम्मान तथा राहत प्रदान र अपाङ्ग एवम् घाइतेहरुलाई समुचित उपचारको व्यवस्था तथा राहत प्रदान, बेपत्ता योद्धाहरुको सार्वजनिकीरण गर्नका लागि विशेष ध्यान दिने।
(१२) पार्टीको आर्थिक प्रणालीको सही व्यवस्थापन, लेखाजोखा तथा पारदर्शी बनाउन जोडदिने, शिविरको अद्यावधिक सम्पूर्ण हिसाब किताबको सार्वजनिकीकरण गर्ने, जनमुक्ति सेनाको सम्पूर्ण सञ्चित कोश तथा जिन्सी पारदर्शी गर्दै त्यसको न्यायोचित वितरणको व्यवस्था मिलाउने।
४- आगामी कार्यक्रम र कार्ययोजना
आगामी कार्यक्रम र कार्ययोजना चार तयारीसंग सम्बन्धित रहेका छन्। तिनलाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ :
सैद्धान्तिक तथा राजनीतिक तयारी
• दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधगर्दै नयाँ जनवादी क्रान्ति, जनताको संघीय गणतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा बलियो जनआधार तयार पार्ने।
• देश तथा जनताको स्वाधीनता तथा मुक्तिका लागि भरपर्दो अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध तथा जनमत निर्माण गर्ने।
• सामान्यतः सबैखाले संशोधनवाद र विशेषतः दंक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद र नवसंशोधनवादका विरुद्ध प्रभावकारी रुपमा विचारधारात्मक संघर्ष चलाउने।
• स्कुलिङ्गको थालनी गर्ने। राजनीतिक प्रशिक्षणको व्यवस्था मिलाउने।
सांगठनिक तयारी
(क) पार्टी
• गल्ती, कमी तथा कमजोरीहरु सच्याउँदै पार्टीलाई रुपान्तरण सहित एकताबद्ध तुल्याउने।
• दुईलाइन संघर्षलाई स्वस्थ र मैत्रीपूर्ण रुपमा सञ्चालन गर्ने।
• दुईलाइन संघर्षको सञ्चालनका लागि नयाँ विधि विकसित तुल्याउने।
(ख) जनस्वंसेवक
• माथिदेखि तलसम्म व्यवस्थित रुपमा संगठित गर्ने।
• ठोस योजना बनाई जनसेवा तथा जनपरिचालनका काममा लगाउने।
(ग) संयुक्त मोर्चा
• केन्द्रीय रुपमा देशभक्त, गणतन्त्रवादी तथा वामपन्थीहरुसितको संयुक्त मोर्चा बनाउने।
• स्थानीय रुपमा स्थानीय विशेषता अनुरुप संयुक्त मोर्चा बनाउनेे।
(घ) तीन साधन
स्थानीय रुपमा पार्टी, जनस्वयंसेवक र संयुक्त मोर्चाका कामलाई व्यवस्थित ढंगले अगाडि बढाउने।
(ङ) कार्यकर्ता समस्या
• पार्टीमा भएका स्रोत तथा साधनहरुको समान एवम् न्यायोचित वितरण गर्ने।
• केन्द्र, राज्य तथा जिल्लाहरुमा आर्थिक योजना बनाउने र उत्पादनमूलक गतिविधि सञ्चालन गर्ने।
संघर्ष सम्बन्धी तयारी
निम्न विषयमा संघर्ष तथा जनपरिचालनका कामलाई अगाडि बढाउने- (क) जनसंविधान निर्माण, (ख)राष्ट्रिय स्वाधीनताको रक्षा, सन् १९५० को असमान सन्धि सहित उपल्लो कर्णाली तथा अरुण तेस्रो, बिप्पा लगायतका सम्झांैताको खारेजी तथा पारस्परिक समानताका आधारमा नयाँ सहमतिको व्यवस्था र सीमा अतिक्रमणको विरोध, (ग) जनजीविकाका जल्दाबल्दा समस्याहरुको समाधान र महंगी, कालो बजारी तथा भ्रष्टाचारको विरोध, (घ) क्रान्तिकारी भूमिसुधार सहित हली, गोठाला, हरुवा, चरुवा, सुकुम्बासी, कमैंयासित सम्बन्धित समस्याको समाधान, (ङ) बहिर्गमित जनमुक्ति सेनाका योद्धाहरुलाई राहत प्याकेज वा पेन्सनको व्यवस्था, वाई.सी.एल. तथा बाहिर निस्किएका जनमुक्ति सेनाका योद्धाहरुको लागि राहतको व्यवस्था, (च) सहिद तथा बेपत्ता परिवार, घाइते योद्धाहरुका समस्याको समाधान (छ) माओवादीहरुमाथि जनयुद्धकालमा लगाइएका मुद्दाहरुको फिर्ता तथा खारेजी।
अन्य तयारी
अन्य तयारी विविध विषयमा आधारित रहेका छन्।
कार्यक्रमको तालिका
(क) सांगठनिक पक्ष
• के.स.को बैठक लगत्तै राज्य तथा जिल्लाहरुका बैठकहरु बसी कामको योजना बनाउने।
• विभिन्न तहका प्रशिक्षणहरु चलाउने
(ख) संघर्ष सम्बन्धी पक्ष
• संघर्षको मूर्त कार्यक्रम बनाउने।
• चरणबद्ध रुपमा संघर्षलाई अगाडि बढाउने।
(ग) उक्त संगठन तथा संघर्ष सम्बन्धी कामको मूर्तिकरण कार्यालय वा स्थायी समितिको बैठकमा गर्ने।
मितिः १२ पौष २०६८

माओ बिर्संदै माओवादी

गंगा बीसी
काठमाडौं, पुस १२ - कुनै बेला खाने, सुत्ने, उठ्ने र युद्धमा लड्ने बेला नेपालका माओवादीले माओको नाम खुबै लिन्थे । तर उनीहरूले माओलाई बिस्तारै बिर्संदै गएका छन् । बरु यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल माओ होइन, बुद्धलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन् ।
पार्टीले औपचारिक कार्यक्रम नगरे पनि 'जनविद्रोह' पक्षधर उपाध्यक्ष मोहन वैद्यपक्षले भने कार्यक्रम गरेर माओ सम्झिए । ११८ औं माओ जयन्तीका अवसरमा सोमबार संस्थापन पक्षले माओवादलाई बिर्सने अवसर ठान्यो भने दाहाललाई 'आत्मसमर्पणवादी' र 'संशोधनवादीको आरोप लगाउँदै वैद्यपक्षले कार्यक्रम गरेर अझै पनि माओकालीन क्रान्ति आवश्यक रहेको सन्देश दियो । 
पार्टीको औपचारिक कार्यक्रम नराखे पनि अध्यक्ष दाहाल माओ दिवसका अवसरमा किराँतसम्बन्धी एक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भए । उनले माओले चिनियाँ परिस्थितिअनुसार क्रान्तिलाई अघि बढाएकाले सफल भएको उल्लेख गर्दै नेपालमा पनि आफ्नै ढंगले क्रान्ति सम्पन्न गर्ने बताए । 'लेनिनले पेरिसको जस्तो र माओले रुसको जस्तो क्रान्ति गर्न खोजेको भए हुने थिएनन्,' उनको भनाइ थियो, 'आफ्नै मौलिकतामा नेपालमा क्रान्ति र माक्र्सवाद सम्भव हुन्छ । कसैको नक्कल गरी क्रान्तिको विकास हुन सक्दैन ।'
पार्टीभित्र शान्ति र संविधान कि जनविद्रोह भन्ने विवाद चर्किएका बेला वैद्य पक्षले भने माओ दिवसलाई बढी महत्त्व दिन खोजेका छन् । जारी केन्द्रीय समिति बैठक स्थगन गराएर वसन्तपुर डबलीमा भेला भएका वैद्य पक्षका नेताहरूले माओको खास अनुयायी आफू भएको दाबी गरे । त्यस्तो दाबी गर्नेहरूमा महासचिव रामबहादुर थापा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द थिए ।
उनीहरूले संस्थापन पक्षले माओवादलाई छाडेको आरोप लगाउनसमेत पछि परेनन् । 'क्रान्तिलाई संशोधनवादतर्फ धकल्नेहरू माओका अनुयायी हुन सक्दैनन्,' उनीहरूको भनाइ थियो, 'क्रान्तिको झन्डा बोक्नेहरू सच्चा माओवादी हुन् ।'
प्रवक्ता दीनानाथ शर्माले भने माओ दिवस मनाउँदैमा सच्चा माओवादी हुन नसक्ने तर्क गरे । 'हामीले हृदयमा माओलाई सम्झिरहेका छौं,' उनले भने, 'कार्यक्रम गरेर जन्मदिवस मनाउँदैमा सच्चा माओवादी भइने होइन ।' उनले आफूलाई चर्को क्रान्तिकारी देखाउन वैद्यपक्षले छुट्टै माओ दिवस मनाएको दाबी गरे ।
सशस्त्र युद्धबाट सत्ताकब्जा गर्ने माओको मूल सिद्धान्तलाई त्यागेको माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि विस्तारै भुल्न थालेको विश्लेषकको भनाइ छ । माक्र्सवादी विश्लेषक घनश्याम भुसालले शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले माओ दिवस मनाउनु शोभनीय हुन नसक्ने बताए । 'शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पार्टीले माओलाई छोड्दै आएको हो,' उनको भनाइ छ, 'हाल उसले लिएको जुन राजनीतिक कार्यदिशा छ, त्यो कारणले पनि माओ दिवस मनाउन माओवादीले सक्दैन ।'

प्रकाशित मिति: २०६८ पुस १२ १२:२४

Sunday, December 25, 2011

प्रचण्डको राजनीतिक प्रस्ताब

  
पुष्पकमल दाहाल
आज हाम्रो महान तथा गौरवशाली पार्टीभित्रको अन्तरविरोध विकसित भएर गम्भीर मोडमा पुगेको छ । यो गम्भीर परिस्थितिले नेपाली र अन्तर्राष्ट्रिय सर्वहारावर्ग एवं आमजनसमुदायलाई अत्यन्त चिन्तित बनाएको छ भने देशभित्र र बाहिरका प्रतिक्रियावादी एवं अवसरवादीहरूलाई उत्साहित पारेको छ । संकटकालीन उपचारद्वारा तत्काल क्षति नियन्त्रणका उपाय अपनाउन सकिएन भने आसन्न दुर्घटना टार्न असम्भव भएर जाने कुरा निश्चित छ । अतः आज केन्द्रीय समितिका सामु अन्तरविरोधको समाधान गर्ने नयाँ नीति र विधिको विकासद्वारा पार्टी एकतालाई बचाएर क्रान्ति प्रक्रियालाई नयाँ ढंगले अगाडि बढाउने निकै ठूलो चुनौती रहेको छ । सर्वहारावर्ग, श्रमजीवी जनसमुदाय, महान जनयुद्ध र आन्दोलनका अमर सहिदरहरू, बेपत्ता योद्धाहरूका सपना आकांक्षा र आधारभूत हितप्रति इमानदार रही आफैंप्रति निर्मम हुँदै स्वनिर्णयको अधिकार प्रयोग गरी अगाडि बढ्ने संकल्प आजको ऐतिहासिक आवश्यकता बन्न गएको छ । आज हाम्रो पार्टीमा विकसित भइरहेका अन्तरविरोधहरू एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयं नेपाली कम्युनिस्ट आन्दोलनसमेत अनुभवबाट शिक्षा लिई आजको परिस्थितिमा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने सन्दर्भका नितान्त स्वाभाविक वैचारिक संघर्षका परिणाम हुन भने अर्कातिर यो अन्तरविरोध अस्वस्थ, अस्वाभाविक र विस्फोटक बन्दै जानुमा हाम्रा आपmनै कमजोरीहरू र तिनमा देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूको स्वाभाविक भइरहेका बहुआयामिक हस्तक्षेपको गहिराइलाई बुझेर त्यसकाविरुद्ध जान आफ्नै कमजोरीका विरुद्ध लड्ने तथा स्वस्थ वैचारिक संघर्षद्वारा आफैंभित्र नयाँ वैचारिक स्पष्टता र भावनात्मक एकता पैदा नगर्नुबाहेक विजयका लागि सर्वहारा वर्गसँग अर्को कुनै विकल्प छैन । अन्तरविरोधको विकासमा अन्ततः आन्तरिक पक्षको नै प्रधान भूमिका हुने वैज्ञानिक निष्कर्षलाई समातेर आपmनै आन्तरिक कमजोरीप्रति ध्यान केन्दि्रत गरेरमात्र हामीले प्रतिक्रियावादी हस्तक्षेपका विरुद्ध एकता र विजय हाँसिल गर्न सक्दछौं ।
निश्चित देश, काल परिस्थितिमा सर्वहारावर्गको हितको प्रतिनिधित्व गर्ने निश्चित विचारधारात्मक र राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीति र सांस्कृतिक आचरण नै पार्टी र पार्टी एकताका आधार
हुन् । त्यस प्रकारको कार्यदिशा र चारणको विकास समाजमा विद्यमान विजातीय पुँजीवादी र निम्न पँुजीवादी विचार प्रवृत्तिको पार्टीभित्र हुने अनिवार्य प्रतिविम्बनका विरुद्ध निरन्तर संघर्षको सापेक्षतामा नै हुने भएकाले पार्टीभित्रको संघर्षमा पनि कहिले दुस्मनवर्गको विचारलाई मित्रवर्गको ठान्ने र कहिले मित्रवर्गको विचारलाई दुस्मन वर्गको विचार ठान्ने प्रवृत्ति र कहिले दुवैका बीचमा ढुलमूलाइरहने प्रवृत्तिहरूसँग वैचारिक संघर्ष परिरहन्छ । आज हाम्रो पार्टीभित्रको संघर्ष पनि वस्तुतः र अन्ततः आजको देश, काल र परिस्थितिमा सर्वहारावर्गको कार्यदिशा, रणनीति, कार्यनीति र आचरणलाई मूर्तीकरण गर्ने अपरिहार्य संघर्षसँग जोडिएको छ । जुन माथि उल्लेखित प्रवृत्तिहरूको विरुद्ध ठोस रूपमा चलिरहेको हुन्छ । अतः पार्टी एकताको आधारलाई व्यक्तिगत, गुटगत टिकाटिप्पणीमा होइन मुख्यरूपमा वैचारिक राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीतिमा नै खोज्नु पर्दछ । यो नै सही माक्र्सवादी पद्धति हो ।
मालेमा/विचारलाई क्रान्तिको निर्देशक सिद्धान्त मान्ने तथा तिनका आधारभूत प्रस्थापनाहरूको रक्षा, प्रयोग र विकास गर्ने, समाजवाद र साम्यवादलाई पार्टीको अन्तिम लक्ष्य र अधिकतम कार्यक्रम तथा नयाँ जनवादलाई पार्टीको रणनीति र त्यसको कार्यक्रमलाई न्यूनतम कार्यक्रम मान्ने कुरादेखि आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद
छैन । तर उपरोक्त समग्र सिद्धान्तलाई नै आकषिर्त र प्रभावित गर्ने गरी अन्तरविरोधहरू चल्ने गरेका छन् । अतः हामीले समस्या समाधानका लागि सिद्धान्तका अमूर्त र रणनीतिक कुरामा भन्दा कार्यनीति र आचरणका तत्कालीन मूर्त विषयमा ध्यान केन्दि्रत गर्नुपर्दछ । निश्चय नै तत्कालीन कार्यनीति र आचरणको सम्बन्ध निश्चित रणनीतिसँग जोडिएकै हुन्छ । र, हामीले कार्यनीतिको सम्बन्ध क्रान्तिकारी रणनीतिसँग जोडिएको छ भन्ने कुरा सुनिश्चित गर्नै पर्दछ । आज हाम्रो पार्टीभित्र चलिरहेको अन्तरसंघर्षको केन्द्र विन्दुमा मूलतः शान्ति, संविधान र सरकारका विषयमा पार्टीले लिएका कार्यनीति आचरण रहेका छन् । यी विषयहरूसँग जोडिएर नै क्रान्तिका सिद्धान्त र रणनीतिहरू समेत वैचारिक संघर्षमा तानिएका छन् । लोकतान्त्रिक गणतन्त्रको कार्यनीति, १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन, संघीय गणतन्त्रको घोषणा, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी सिद्धान्तको स्थापनासम्मको राजनीतिक उपलब्धिहरूलाई पुँजीवादी जनवादी क्रान्तिकै कार्यभारको आंशिक प्राप्तिका रूपमा लिएर यी उपलब्धिहरूलाई संस्थागत गरी तिनमा टेकेर नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न अगाडि बढ्ने वा यिनलाई प्रतिक्रियावादी व्यवस्थामा भएको आंशिक सुधारका रूपमा लिएर त्यसको ध्वंसका निमित्त तत्काल अगाडि बढ्ने भन्ने प्रश्न पनि अब क्रमशः बहसमा आकषिर्त हुँदैछ । यो प्रश्न हाम्रो मनोगत चाहानाद्वारा होइन आजको विश्व परिस्थिति एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको वस्तुगत आंकलनद्वारा निर्धारित हुने कुरा हो भन्ने तथ्य स्पष्ट नै छ । पार्टीको सचेत पहलका दृष्टिले संविधानसभाको निर्वाचनपश्चात् मुख्यतः हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्न नगरिएको होइन । तर, हाम्रो पटकपटकको सचेत प्रयत्नका बाबजुद तत्काल जनविद्रोह सफल हुन सकेन । यसमा हाम्रा आफ्ना तमाम सीमा कमजोरी एवं प्रतिक्रियावादी षड्यन्त्रका समग्र पक्षमा माओवादीले लिओस् भन्ने जनचाहना रहेको तथ्यलाई पनि अवमूल्यन गर्नै सकिँदैन । जनताको यो चाहना निराधार र मनोगत कदापि होइन बरु हामीले नै १० वर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत संविधानसभा र शान्तिप्रति गरिएको प्रतिबद्धताद्वारा विकसित वस्तुगत चेतनाको परिणाम हो ।
ठीक यही पृष्ठभूमिमा नै पार्टीले जनचाहनाअनुसार जननीतिमा आधारित भएर शान्ति र संविधान निर्माण प्रक्रियाको नेतृत्व लिने कुरामा गत वैशाखदेखि विशेष ध्यान र जोड दिन थालेको हो । धेरै उतारचढाव हुँदै गतश्रावणमा सम्पन्न केन्द्रीय समितिको पछिल्लो बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणबारे ठोस कार्ययोजना प्रस्तुत गर्दै पार्टीकै उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउन पहल गर्नेसमेत निर्णय एकमतद्वारा गरियो । केन्द्रीय समितिको यही निर्देशनअनुसार भदौ ७ गते सम्पन्न स्थायी समितिको बैठकले शान्ति प्रक्रिया, संविधानसभा र सरकाबारे सहमतिका आधारहरू -जसमा माओवादी नेतृत्वमा सरकार गठनलगतै क्यान्टोन्मेन्टमा रहेका लडाकु, हतियार र कन्टेनर विशेष समितिलाई हस्तान्तरण गर्ने कुरासमेत पर्दछ) पनि एकमतद्वारा नै पारित गरियो ।
शान्ति र संविधान निर्माण प्रक्रियाको नेतृत्व लिने पार्टीका उपरोक्त निर्णयहरूका निर्देशनमा नै सरकार निर्माणका लागि मेधसी मोर्चासँग चारबुँदे सहमति भएको र सो सहमति पार्टी केन्द्रीय कार्यालय र संविधानसभा दलमा समेत एकमतद्वारा अनुमोदन गरिएको तथ्य सर्वविदितै छ ।
यहाँ कुन कुरामा पार्टी विशेष रूपले स्पष्ट हुन जरुरी छ भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजन र पुनःस्थापना गर्नु तथा संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु क्रान्तिको विसर्जन आत्मसमर्पण र वर्गसमन्वय होइन बरु विश्व कम्युनिस्ट आन्दोलनका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूबाट शिक्षा लिँदै नेपाली परिस्थितिमा क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ ढंगले चार आधार निर्माण गरी क्रान्तिलाई निरन्तर अगाडि बढाउने नयाँ पहल हो । निश्चय नै यो नयाँ पहलमा दक्षिणपन्थी संशोधनवादको खतरा छ । तर यो खतराको सामना नगरी क्रान्तिलाई निरन्तर अगाडि बढाएर विजयसम्म लैजान पनि त्यतिकै असम्भव छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवबाट शिक्षा लिन इन्कार गर्ने वर्ग शक्ति सन्तुलनको वस्तुगत आंकलन नगरी मनोगतरूपले क्रान्तिकारिताको प्रदर्शन गर्ने तथा जनभावना, चाहना र राजनीतिका विरुद्ध खडा हुने यान्त्रिक, संकीर्ण सोचले क्रान्तिलाई होइन अन्ततः प्रतिक्रान्तिलाई नै सेवा पुर्‍याउने गरेको इतिहासबाट शिक्षा लिन पनि पार्टी गम्भीर हुनै पर्दछ ।
पार्टीका उपरोक्त नीति र निर्णयअनुसार आफ्नै नेतृत्वमा सरकार गठन भएको हप्ता दिन नबित्दै स्वयं सरकार गठनको आधार एवं लडाकु, हतियार र कन्टेनर हस्तान्तरणसम्बन्धी प्रारम्भिक निर्णयलाई लिएर पार्टी भित्रको अन्तरविरोध तीव्र मात्र बनेन अपितु सडकमा छताछुल्ल भएर पोखियो । त्यसलाई समाधान गर्न स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्दाबस्दै अन्य राजनीतिक पक्षसँग भएका ७ बुँदे ६ बुँद्धे सहमति र तिनको कार्यान्वयन प्रक्रियासँगै अन्तरविरोध चर्किएर आजको विन्दुसम्म आइपुगेको छ । यो स्थितिले पार्टीको अन्य राजनीतिक पक्षसँगको राजनीतिक संघर्षमा नकारात्मक असर पारेको छ । शान्ति, संविधान र सरकारको नेतृत्व लिने पार्टीको हैसित कमजोर भएको छ । यस प्रकारका अवस्थाको अबिलम्ब अन्त्य गर्न सकिएन भने पार्टीको औचित्य माथि नै प्रश्न उठ्ने छ ? अतः पार्टीको औचित्य, जीवन र एकतालाई अक्षुण्ण राख्न हामीले विचार र विधि दुवैको दृष्टिले नयाँ पहल लिन जरुरी छ ।
आज पार्टीको संगठनात्मक स्थिति भयावहरूपले विघटित र विसर्जित भइरहेको छ । क्रान्तिका लागि सर्वहारावर्गको लडाकु अग्रदस्ताको भूमिका खेल्ने, नयाँ ढंगको पार्टीका त कुरै छाडौं पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ । यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटहरूभित्र पनि उपगुटहरू अझ झाँगिएका छन् र उपगुटहरूभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, लेवी, कोटा, आर्थिक पारदर्शिता त्याग बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेकै छ । के यो कित्ता के त्यो कित्ता सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ ।
यो अवस्थामा पार्टी निर्माणको काम कति धेरै चुनौतीपूर्ण छ भन्ने तथ्य सजिलै बुझ्न सकिन्छ । यति हुँदाहुँदै पनि अर्को सत्य यो हो कि सर्वहारा वर्गका राम्रा प्रतिनिधिहरूको विशाल फोज आज पनि हाम्रै पार्टीभर रहेका छन् । उनीहरू पार्टी पुनर्गठन र पुनर्निर्माणका निमित्त जस्तोसुकै त्याग गर्न पनि तयार छन् । देशका तमाम क्रान्तिकारी र देशभक्तहरूको आशा, भरोसा र आकर्षणको केन्द्रविन्दु आज पनि हाम्रै पार्टी रहेको छ । आमनेपाली जनताले आफ्नो सुन्दर भविष्यको सपना हाम्रै पार्टीमा खोजिरहेका छन् ।
उपरोक्त सन्दर्भमा यो स्थितिका लागि जिम्मेवार के के र को को कति जिम्मेवार हुन् भन्ने कुराको विहंगम र व्यापक सिंहावलोकन फोरम चलाएर महाधिवेशनसम्म गरिसक्ने संकल्पसहित तत्काल पार्टी निर्माणका लागि निम्न कार्य गर्नुपर्छ -क) माथिदेखि तलसम्म कमिटीका बैठक बस्ने छलफल बहस गर्ने र निर्णय गर्ने कार्यान्वयनमा जाने भिन्न मत भए सम्मानसहित फोरममा लैजाने -ख) जिम्मेवारी अनुसार कार्यक्ष्ाेत्रमा जाने संगठनात्मक र जनपरिचालनका काममा सक्रिय रूपले भाग लिने -ग) न्यूनतम लेवी कोटा उठाउने आर्थिक हिसाब पारदर्शी -घ) सबै स्तरका पार्टी कार्यालयहरूमा आलोचना आत्मालोचना गर्ने यो प्रक्रियालाई क्रमशः कमिटीसम्म लैजान पहल गर्ने -ङ) पार्टी केन्द्रबाट सर्वहारा आदर्शसम्बन्धी साहित्यको प्रकाशन र स्कुलिङको न्यूनतम पहल गर्ने -च) गत केन्द्रीय समितिको पाँचबुँदे निर्धारित आचारसंहिताको निश्चित बुँदाहरूको पालनाबाट पहलकदमी बढाउने ।
८. (क) चारबुँदे सहमतिः
केन्द्रीय कार्यालयको समझदारी अनुसार मधेसी मोर्चासँग सहमति भएमात्र पार्टीको नेतृत्वमा सरकार बन्ने भएकाले उसँग सबैले गम्भीर छलफल गरिएको । अन्ततः चारबुँदे सहमतिमा हस्ताक्षर गरिएपछि केन्द्रीय कार्यालय र संविधानसभा दलमा अनुमोदन गराएरमात्र लागू गरिएकाले यसलाई पार्टी निर्णय- विपरीत भन्न नमिल्ने । चारबुँदेका कतिपय विषयमा छलफल हुन सक्छ तर यसलाई शान्ति, संविधान र सरकार निर्माणको सापेक्षतामा हेर्दा आवश्यक र उचित रहेको कुरा स्पष्ट हुन्छ ।
(ख) कन्टेनरको चाबीबारेः
केन्द्रीय समितिको पछिल्लो बैठकद्वारा पारित शान्ति, संविधान र सरकारबारेको ठोस कार्ययोजना तथा स्थायी समितिद्वारा लिइएको लडाकु, हतियार र कन्टेनर हस्तान्तरणसम्बन्धी निर्णयअनुसार माओवादी नेतृत्वमा सरकार गठन भएलगत्तै विशेष समितिलाई चावी हस्तान्तरण गर्नु पार्टी निर्णयअनुसार नै रहेको तथ्य स्पष्ट छ । लडाकु, हतियार र कन्टेनर हस्तान्तरण गर्ने तर चावी हस्तान्तरण गर्नु हुँदैनथ्यो भन्नु आफैंमा अन्तरविरोध र नमिल्ने कुरा हो । यसमा कुनै प्रक्रियागत त्रुटि भए समीक्षा गर्न सकिन्छ ।
(ग) सातबुँदे सहमतिः
प्रतिगामी र घोर दक्षिणपन्थी शक्तिहरूले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि नबढेको विषयलाई बहाना बनाएर संविधानसभालाई विघटन गर्ने तथा देशमा कुनै न कुनै रूपको निरंकुशतातर्फ भइरहेको कसरतलाई असफल तुल्याउन आमजनतामा राजनीतिक दलहरूप्रति फैलिएको निराशा र वितृष्णा घटाउन तथा हाम्रो पार्टी शान्ति, संविधान र आमजनताप्रति जिम्मेवार पार्टी भएको तथ्यलाई पुनर्पुष्टि गर्न तथा वर्गीय, जातीय, क्ष्ाेत्रीय र लैंगिक उत्पीडनको अन्त्य गर्ने संघीय संविधानमा पहल लिन सातबुँदे सहमति वस्तुगत रूपले आवश्यक बन्न गएको तथ्यलाई गम्भीरता- पूर्वक लिनुपर्छ । सातबुँदे सहमति केन्द्रीय समितिको नीतिगत निर्देशनमा रही केन्द्रीय कार्यालयको निर्णयअनुसार गरिएकाले यो पार्टीको आधिकारिक निर्णय भएको तथ्य स्पष्ट छ । सातबुँदेका कयौं विषयमा बहस, छलफल र समीक्षा हुन सक्छ तर यसलाई पार्टी निर्णयविपरीत भन्नु सरासर गलत कुरा हो ।
(घ) घरजग्गा फिर्ता सम्बन्धमाः
किसानहरूको अधिकार सुनिश्चित गर्ने, उनीहरूको वैकल्पिक व्यवस्था गरी कब्जा जमिन फिर्ता गर्नेसम्बन्धी पार्टी निर्णयअनुसार नै बर्दिया जिल्लाबाट जमिनको समस्या समाधान गर्न खोजिएको हो । त्यहाँ पार्टी अध्यक्षबाट सुकुम्बासी, कमैया र जोताहा किसानको हक सुनिश्चित गर्ने उनीहरूलाई वेदखल नगर्ने गरी राजनीतिक सहमति कार्यान्वयन गर्ने कुरामात्र गरिएको हो । साथै पार्टीले सरकारको तर्फबाट कमैया, सुकुम्बासीका समस्या समाधान गर्न तथा किसानहरूको वैकल्पिक व्यवस्था गर्न र भूमिसुधार कार्यक्रम अगाडि बढाउन विशेष आग्रह गरेको र त्यो दिशामा क्रमशः काम अगाडि बढेको तथ्यमा पनि हाम्रो ध्यान जान जरुरी छ । त्यो स्थितिमा मनोगत रूपबाट पार्टी नेतृत्वले सुकुम्बासी कमैया र किसानहरूको अधिकारप्रति बेवास्ता गरेको आरोप नेतृत्वप्रति विलकुल तथ्यहीन, अन्यायपूर्ण र पूर्वाग्रही आरोपमात्र हुन जान्छ ।
(ङ) बिप्पाका सम्बन्धमाः
प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा भारतसँग गरिएको बिप्पा सम्झौताले पार्टीभित्र र बाहिरसमेत बहसलाई जन्म दिएको छ । नेपालको भूराजनीतिक संवेदनशीलता, भारतसँग रहेको गम्भीर व्यापार असन्तुलनका पृष्ठभूमिमा यस प्रकारको बहस स्वाभाविक छ । यही संवेदनशीलताका कारण नै अन्य कैयौं देशसँग गरिएका त्यही प्रकृतिको सम्झौतामा प्रश्न नउठ्ने तर भारतसँगको सन्दर्भमा प्रश्न उठ्ने गरेको हो ।
निश्चय नै बिप्पा सम्झौता र यसले नेपालको समग्र राष्ट्रिय हित र आर्थिक विकासमा पार्नसक्ने सकारात्मक र नकारात्मक पक्ष्ाबारे पार्टीमा पर्याप्त छलफल र स्पष्ट नहुनु, अन्तिम समयमा प्राविधिक कारणले पार्टी नेतृत्वसँग सरकार प्रमुखको प्राविधिक कारणले संवाद र सम्पर्क हुन नसक्नु, यो सम्झौताका कतिपय प्रावधान मुख्यतः क्ष्ातिपूर्तिसँग सम्बन्धित विषयमा परिमार्जन हुन नसक्नु, एकैसाथ द्वैधकर प्रणाली हटाउने सम्झौता हुन नसक्नु, एकैसाथ द्वैधकर प्रणाली हटाउन सम्झौता हुन नसक्नु, यो सम्झौतासँग सम्बन्धित सीमा र कमी हुन् । अहिले दोहोरो कर प्रणाली हटाउने सम्झौता त भइसकेको छ तापनि यी सीमा र कमीहरूलाई नेपालको घरेलु कानुनलाई दह्रो बनाएर, दुई देशका बीचमा हुने पत्राचारमा पर्याप्त सतर्कता अपनाएर तथा वैदेशिक लगानीका सम्बन्धमा राष्ट्रिय हितलाई प्राथमिकता दिने कुरा सुनिश्चित गर्ने राष्ट्रिय सहमति कायम गरेर सच्याउन सकिन्छ र त्यो दिशामा पहल लिनुपर्छ ।
(माओवादी अध्यक्ष दाहालद्वारा शनिबार केन्द्रीय समिति बैठकमा प्रस्तुत 'पार्टीमा विकसित संकट तीनको समाधान र आगामी कार्यक्रमबारे राजनीतिक प्रस्ताव')
2068/09/09
 

दाहालको राजनीतिक प्रस्ताव: 'जनविद्रोहबाट सत्ताकब्


  • गुटको रूपमा नभई सामूहिक रूपमा फोरम

  • वैद्य पक्षले छुट्टै प्रस्ताव ल्याउने

'अध्यक्षले एउटा सेटमा प्रस्ताव ल्याउनुभयो, त्यसमा हाम्रो असहमति छ,' वैद्यलाई उद्धृत गर्दै केन्द्रीय सदस्य महेश्वर दाहालले भने, 'त्यसको जवाफ मैले लेख्नुपर्ने भयो ।'
गंगा बीसी
काठमाडौं, पुस १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जनविद्रोह' गरी सत्ताकब्जा गर्ने पार्टीको प्रयास सफल हुन नसकेको स्विकारेका छन् । साथै उनले यही सरकारलाई पुनर्गठन गरी राष्ट्रिय स्वरूप दिने पनि जनाएका छन् ।
 पटक-पटक स्थगन भई शनिबार पुनः सुरु केन्द्रीय समिति बैठकमा ९ बुँदे राजनीतिक प्रस्ताव पेस गर्दै दाहालले जनविद्रोह सफल हुन नसकेपछि शान्ति र संविधानको मुख्य कार्ययोजना बनाएको जनाएका हुन् । 'पार्टीमा सचेत पहलका दृष्टिले संविधानसभाको निर्वाचनपश्चात् हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ताकब्जा लिने प्रयत्न नगरिएको होइन,' दाहालले आफ्नो प्रस्तावको पाँचौं बुँदामा भनेका छन्, 'यसमा हाम्रा आफ्ना तमाम सीमा कमजोरी एवं तत्काल जनविद्रोह सफल हुन सकेन । यस सन्दर्भमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रियाको नेतृत्व माओवादीले लिओस् भन्ने जनचाहना रहेको तथ्यलाई पनि अवमूल्यन गर्नै सकिँदैन ।'
 दाहालले चौथो बुँदामा जनविद्रोहमा जाने कुरामा पार्टीभित्र 'औपचारिक' विवाद नभएको बताएका छन् । 'आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रलाई र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा औपचारिक विवाद छैन,' उनले भनेका छन् ।
 प्रस्तावमा दाहालले शान्ति र संविधान निर्माणमा नेतृत्व लिएका कारण उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको उल्लेख गरेका छन् । सेना समायोजन र संविधान निर्माणमा लचकता अपनाएर संस्थापन पक्षले आत्मसमर्पण गरेको भन्ने वैद्य पक्षको आरोपको दाहालले प्रतिवाद गरेका छन् । 'शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सेना समायोजन र पुनःस्थापना गर्नु तथा संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुर्‍याउनु क्रान्तिको विसर्जन, आत्मसमर्पण वा वर्गसमन्वय होइन,' उनले भनेका छन् । वैद्य पक्षले भट्टराई सरकारको विकल्प खोजिरहेका बेला दाहालले यही सरकारलाई पुनर्गठन गरी राष्ट्रिय स्वरूपको सरकार बनाउने जनाएका छन् ।
'वर्तमान सरकारमा पार्टी प्रतिनिधित्वलाई सन्तुलित बनाउन सहमतिका आधारमा पुनर्गठन गर्न तयार रहने तथा पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहललाई पनि अघि बढाउने' उनले उल्लेख गरेका छन् । दाहालले सरकारको पुनर्गठन गर्ने उल्लेख गरी भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने संकेत गरेका हुन् ।
 पार्टीमा व्यक्तिगत आरोप बढिरहेका बेला दाहालले मित्रतापूर्ण बनाउन र राजनीतिक मतभेदलाई गुटको रूपमा नभई सामूहिक रूपमा फोरम
चलाउने निष्कर्ष दाहालले निकालेका छन् । प्रस्तावमा उनले 'वैचारिक राजनीतिक मतभेदहरूलाई अलग-अलग विचार समूहको भेलामा लैजाने प्रक्रिया अन्त्य गरी सामूहिक रूपले फोरम सञ्चालन प्रक्रियालाई ठोस योजना र कार्यक्रममा ढालेर अघि बढाउने' उल्लेख गरेका छन् । 'वैचारिक राजनीतिक बहसलाई महाधिवेशनसम्म फोरमको विधिद्वारा व्यवस्थापन गर्न सहमत हुनु यतिबेला पार्टी एकताको अनिवार्यता बन्न गएको छ,' उनले भनेका छन् ।
दाहालले वैद्य पक्षतिर संकेत गर्दै पार्टी मर्दै गइरहेको पनि जनाएका छन् । 'नयाँ ढंगले पार्टीको त कुरै छाडांै, पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ,' उनले भनेका छन्, 'यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटभित्र पनि उपगुट अझ झाँगिएका छन् र उपगुटभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ ।'
उनले मधेसी मोर्चासँग भएको चारबुँदे सहमति, कन्टेनरको साँचो बुझाउनु, शान्ति प्रक्रियासम्बन्धी सात बुँदे सहमति, घरजग्गा फिर्ता पार्टीकै निर्णयमा भएको जनाएका छन् । भारतसँग भएको बिप्पा सम्झौतामा भने पार्टी नेतृत्व र प्रधानमन्त्रीबीच प्राविधिक कारणले कुराकानी हुन नसकेको उनले जनाएका छन् ।
वैद्य पक्षले छुट्टै प्रस्ताव ल्याउने
अध्यक्ष दाहालको प्रस्तावले आफ्ना फरक मत सम्बोधन नगरेको भन्दै सोमबार उपाध्यक्ष मोहन वैद्यले छुट्टै प्रस्ताव ल्याउने भएका छन् ।
दाहालले प्रस्ताव पढेलगत्तै वैद्यले आफूले सोचेभन्दा फरक ल्याएको भन्दै सोमबार लिखित प्रस्ताव ल्याउने बताए ।  'अध्यक्षले एउटा सेटमा प्रस्ताव ल्याउनुभयो, त्यसमा हाम्रो असहमति छ,' वैद्यलाई उद्धृत गर्दै केन्द्रीय सदस्य महेश्वर दाहालले भने, 'त्यसको जवाफ मैले लेख्नुपर्ने भयो ।' शान्ति र संविधान जनताको पक्षमा नभएको भन्दै वैद्यले जनविद्रोहको कार्यदिशा भएको प्रस्ताव ल्याउन लागेका हुन् ।
दाहालको प्रस्ताव आएलगत्तै वैद्य पक्षीय सचिव सीपी गजुरेलले संस्थापन पक्ष दक्षिणपन्थी अवसरवादतिर तीव्र रूपमा गएको पुष्टि भएको बताए ।
उनले कान्तिपुरसँग भने, 'यो प्रस्तावले समस्याको समाधान गर्ने नभई अन्तरसंघर्ष झन् बढाउँछ ।'
संस्थापन पक्षका सचिव पोष्टबहादुर बोगटीले भने दाहालले यथार्थ धरातलमा टेकेर प्रस्ताव ल्याएको भन्दै यसबाटै समस्या समाधान हुने जनाए । 'पार्टीको अन्तरसंघर्ष समाधान गर्ने,
शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन यथार्थ धरातलमा टकेर ल्याएको प्रस्ताव हो,' उनले भने, 'सबै परिस्थितिको विश्लेषण गरी प्रस्ताव आएको छ ।' वैद्य पक्षले विरोधका लागि विरोध गरेको हुन सक्ने भन्दै सबै कुरा बैठकले टुंगो लगाउने उनले जनाए । वैद्य पक्षले यसअघि केन्द्रीय कार्यालयमा दर्ज गरेको सेना समायोजन, संविधान निर्माण, कब्जामा रहेको घरजग्गा फिर्ता, सरकारलगायत विषयमा १३ बुँदे फरक मतमा टेकेर राजनीतिक प्रस्ताव ल्याउने भएका छन् । शान्ति र संविधान जनताले चाहेअनुसार बन्ने सम्भावना क्षीण भएको भन्दै वैद्यले जनविद्रोहको कार्यदिशासहितको प्रस्ताव बैठकमा पेस गर्नेछन् । गत मंसिरमा गोरखाको पालुङटार विस्तारित बैठकमा पनि वैद्यले जनविद्रोहमा जानुपर्ने राजनीतिक प्रस्ताव ल्याएका थिए ।

प्रकाशित मिति: २०६८ पुस १० १२:१८

Friday, December 16, 2011

थापालाई प्रधानमन्त्री बनाउन प्रस्ताव प्रचण्डद्वारा अस्विकार

गंगा बीसी
काठमाडौ, पुस १ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले बाबुराम भट्टराई सरकारको विकल्पका रूपमा महासचिव रामबहादुर थापाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेको छ । वैद्यले बुधबार यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईसमक्ष राखेका हुन् ।
पछिल्लो समयमा दाहाल र भट्टराईविरुद्ध खरो उत्रिएका थापालाई प्रधानमन्त्री बनाउने वैद्य पक्षको 'पछिल्लो कार्ड' भएको संस्थापन पक्षको बुझाइ
छ । दाहाल र भट्टराई प्रधानमन्त्री भइसकेको र उपाध्यक्ष वैद्यको रुचि नभएकाले थापालाई उक्त पक्षले अघि सारेको तर्क गरेको छ । भट्टराई सरकारको विकल्प खोज्नुको कारण पुष्टि नहुने भएकाले थापाको नाम हाल अघि सार्नु उचित नहुने दाहालको बुझाइ छ ।
भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने संस्थापन पक्षको भनाइ आइरहेका बेला वैद्य पक्षले थापा कार्ड फ्याँकेका हुन् । यसअघि सेना समायोजनलगायत १३ बुँदामा फरक मत राखिसकेको वैद्य पक्षले थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव थपेका हुन् । 'अहिले राष्ट्रिय सहमतिको कुरा उठेको छ । बादल (जी) राष्ट्रिय सरकारको प्रधानमन्त्री बन्नुपर्छ भन्ने यही प्रसंगमा कुरा उठेको हो,' उपाध्यक्ष वैद्यले कान्तिपुरसँग भने, 'राष्ट्रिय सहमति सरकारको विषय आएपछि पार्टीमा छलफल होला ।' वैद्यले बुधबार दाहाल र भट्टराईलाई नयाँबजार भेटी यो प्रस्ताव राखेका थिए ।
दाहाल निकट स्थायी समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले थापाको नेतृत्वमा राष्ट्रिय सरकार सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघि सारेको राजनीतिक कार्यदिशा भत्काउन वैद्य पक्षले यस्तो प्रस्ताव ल्याएको बताए । 'प्रचण्ड र बाबुराम गठबन्धन तोड्न र यो राजनीतिक कोर्स भत्काउन अनि पार्टीलाई अप्ठ्यारोमा पार्न यो प्रस्ताव आएको हो,' उनले भने, 'राष्ट्रिय सरकारको नेतृत्वका लागि बादलजीलाई कांग्रेस, मधेसवादी दलले समर्थन गर्न सक्दैनन् ।' उनले भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी शान्ति र संविधान निष्कर्ष पुर्‍याउन दाहाल दृढ रहेको जनाए । 'भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारबाट शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन अध्यक्ष दृढ हुनुहुन्छ,' उनले भने ।


वैद्य पक्षीय सचिव सीपी गजुरेलले अब पार्टीले सरकारको नेतृत्व पाउने अवस्था आएमा थापा नै उपयुक्त व्यक्ति भएको जनाए । 'अब पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा हाम्रो विचार समूहबाट बादल -थापा) को नाम किन नदिने भनेर प्रस्ताव अघि सारिएको हो,' उनले भने, 'किन कि प्रचण्ड र बाबुरामजी प्रधानमन्त्री भइसक्नुभयो, अब बादलजीलाई दिँदा राम्रो हुन्छ ।' उनले यो प्रस्ताव एमालेसँग पनि राखेको जानकारी दिए ।
प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले वैद्य पक्षको अन्तरसंघर्ष सरकारमा केन्दि्रत भएकाले थापालाई नेतृत्वको प्रस्ताव अघि सारेको बताए । 'उहाँ -वैद्य) हरूको अन्तरसंघर्ष सरकार परिवर्तनका लागि रहेछ भन्ने देखिन्छ,' उनले कान्तिपुरसँग भने, 'उहाँका गतिविधि यो सरकार परिवर्तनका लागि केन्दि्रत छन् ।' जनविद्रोह, क्रान्तिको कार्यदिशा अघि जान नसक्ने देखेपछि सरकार परिवर्तनमा लागेको उनको आरोप छ ।
उनले भट्टराईको नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादी दल र वैद्यसमेत सहभागी हुनुपर्ने पक्षमा अध्यक्ष दाहाल रहेको बताए । 'पार्टीभित्रबाट बाबुरामको विकल्प खोज्ने पक्षमा अध्यक्ष हुनुहुन्न,' उनले भने, 'शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन बाबुरामजीकै नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादी र किरणपक्ष पनि सरकारमा बस्नुपर्नेमा अध्यक्ष स्पष्ट हुनुहुन्छ ।' विगतमा भट्टराई खेमामा लाग्दै आएका शर्मा पछिल्लो समय दाहाल निकट हुन पुगेका हुन् ।
यसैबीच अध्यक्ष दाहालले पूर्वएकता केन्द्र समूह र प्रधानमन्त्री बाबुराम भट्टराईसँग बिहीबार छलफल गरेका छन् ।
उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्री निवास पुल्चोकमा र भट्टराईसँग प्रधानमन्त्री निवास बालुवाटारमा आफैं पुगी दाहालले वैद्य पक्षका फरक मत, सरकारका काम र आगामी केन्द्रीय समिति बैठकबारे छलफल गरेका हुन् ।
'प्रकाश (नारायणकाजी) सँग सामान्य बसाइ हो' पूर्वएकता केन्द्रसँगको छलफलमा सहभागी नेता शक्ति बस्नेतले भने, 'पार्टी स्थिति, आगामी केन्द्रीय समिति बैठकबारे छलफल भयो ।'
पछिल्लो समय भट्टराईप्रति असन्तुष्ट हुँदै आएका श्रेष्ठको पार्टीमा भूमिका कम हुँदै आइरहेका बेला दाहाल आफैं उनको निवास गएर छलफल गरेका हुन् । भेटमा दाहाल निकट मन्त्री र नेताहरू थिए । श्रेष्ठलाई भेटेलगत्तै दाहाल भट्टराईलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा उनले महासचिव थापालाई प्रधानमन्त्री बनाउन लागेको भन्ने चर्चाको पछि नलाग्न भट्टराईलाई आग्रह गरेको स्रोतले जनाएको छ । 'तपाईं र मबीच फाटो पार्न यस्ता चर्चा हुने गरेका हुन्,' दाहालको भनाइ थियो, 'यो भ्रममा नपर्नु होला ।' केही दिनअघि पनि दाहालले भट्टराईको विकल्पमा माओवादीकै अर्को नेताको नेतृत्वमा सरकार बनाउने कुरा हुन नसक्ने बताएका थिए ।










प्रकाशित मिति: २०६८ पुस १ ०८:४२