Sunday, December 4, 2011

बाबुरामजीलाई बदलेर माओवादीबाटै अर्को भन्ने असम्भव कुरा हो: प्रचण्ड



puspakamal-dahal-prachanda
कान्तिपुरसँग आफ्नै निवास नयाँबजारमा शनिबार कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल । फोटो: किरण पाण्डे/ईकान्तिपुर

लडाकुको पुनःवर्गीकरण सकिनेबित्तिकै माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकारका लागि आइतबारबाटै पहल थाल्ने बताएका छन् । सकभर प्रधानमन्त्री बाबुराम भट्टराईकै र त्यसो नभए जसको नेतृत्वमा भए पनि एक साताभित्र राष्ट्रिय सरकार बन्नुपर्ने धारणा पहिलोपटक सार्वजनिक गरेका दाहालले लडाकु समायोजनमा समस्या नआउने जनाए । शान्ति र संविधान निर्माण प्रक्रिया नटुंगिँदासम्म आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका दाहालसँग सरकार, लडाकु समायोजन, संविधान निर्माणका विषयमा कान्तिपुरका गोपाल खनालगंगा बीसीले गरेको संवादः लडाकुको पुनःवर्गीकरणको काम करिब सकिएको छ, सेना समायोजन अब कहिले सुरु हुन्छ ?
जनमुक्ति सेनाको पुनःवर्गीकरणको काम आजसम्म सकिन्छ । त्यसपछि समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाशमा जानेलाई एउटा औपचारिक कार्यक्रम हुन्छ । केही प्राविधिक विषयमा छलफल गर्न बाँकी छ । आइतबार प्रमुख दलको बैठक बोलाएका छौं । त्यो बैठकमा प्राविधिक विषयमा सहमति भएपछि यो प्रक्रिया निष्कर्षतिर जान्छ ।
यो महिनाको अन्त्यसम्म लडाकु शिविर खाली हुन्छ होइन ?
छबुँदे सहमतिको भाव भनेको यो महिना (मंसिर) भित्र समायोजन र पुनःस्थापनाको काम निष्कर्षमा पुर्‍याउने हो । सत्य निरूपण, बेपत्ता आयोग टुंग्याउने मुद्दालगायत अरू पनि त्यहीसँग सम्बन्धित काम छन् ।
समायोजनमा दर्जा मिलान कसरी गर्नुहुन्छ ?
दर्जा मिलानबारे हामीले सैद्धान्तिक रूपले सहमति गरेको के हो भने २०५२ सालमा भर्ती भएको नेपाली सेनाको अफिसर अहिले २०६८ सम्ममा कहाँ पुग्छ, त्यहीअनुसार ०५२ सालमा जनमुक्ति सेनामा भर्ती भएको अफिसर -मापदण्ड पुग्छ भने) त्यहीं पुग्छ । समान ढंगले मान्यता दिने सिद्धान्त स्थापित गरिएको छ । जनमुक्ति सेनाको भौतिक संरचनाका कारणले शिक्षा, विवाह, उमेरमाचाहिं उही हुन सक्दैन । त्यसका लागि विशिष्ट नीति बनाउनुपर्छ भन्ने हाम्रो कुरा भएको छ । शिक्षा, उमेरका विषयमा नागरिकताको प्रमाणपत्र बनाउँदा र प्रमाणीकरणमा थुप्रो अन्तर आएको छ । हामी आइतबार यसबारे छलफल गर्दै छौं र दर्जा मिलानदेखि समस्या समाधान गर्नेतिर लाग्छौं ।
सेनाको महानिर्देशनालयमा कुन दर्जासम्मका लडाकु जाने सम्भावना छ ?
हाम्रो पार्टीको आफ्नै कुरा गर्दा त महानिर्देशनालयको नेतृत्व लडाकु कमान्डरले गर्दा राम्रो हुन्छ भन्ने हो । तर, अहिले जुन सिद्धान्त स्थापित गरेका छौं, त्यसले राजनीतिक निर्णयका आधारमा दर्जा मिलान हुन्छ । केही खास कमान्डरहरूको हकमा राजनीतिक निर्णय गर्नुपर्ने अवस्था आउँछ । अहिले यहींसम्म भन्न उचित ठान्दिनँ किनकि अहिले राजनीतिक दलहरूसँग राम्रो समझदारीको वातावरण बन्दै छ, त्यसलाई बिगि्रने गरी बोल्न ठीक हुँदैन ।
समायोजनका लागि लडाकुको संख्या बढी आएको छ, कसरी मिलाउनुहुन्छ ?
मिलाउन सकिन्छ । सञ्चारमाध्यममा बढी आयो भन्ने छ, मलाई त्यस्तो लागेको छैन । जति समायोजनमा जाने भनेर साथीहरू आउनुभएको छ, उहाँहरू कतिपय सामान्य घाइते पनि गएको जस्तो लाग्छ । घाइतेहरूका लागि राज्यले विशेष व्यवस्था गर्ने भएको हुनाले संख्या स्वतः केही न केही घटिहाल्छ । हामीले ६ हजार ५ सयको संख्यामा सहमति गरेका छौं । त्यसैले अहिले बढाइदिनुपर्‍यो भनेर बहस गर्ने पक्षमा छैनौं । केही संख्या बाँकी रह्यो भने कसरी सम्बोधन गर्ने, उनीहरूबारे अर्को निर्णय गर्न सकियो भने ठीकै हुन्छ । संख्या अब समस्या हुन्छ भन्ने मलाई बिल्कुल लाग्या छैन ।
पुनःवर्गीकरणका बेला करिब तीन हजार लडाकु गायब भएको देखियो । यो त गम्भीर विषय भयो नि ?
म मिडियाका साथीहरूलाई अनावश्यक -रूपमा विषय) नतन्काइदिन अनुरोध गर्न चाहन्छु । किनभने पाँच वर्षको अवधिमा कतिपय मानिस विभिन्न कारणले गए होलान् । पुनःवर्गीकरणको काम पूर्ण रूपमा सकिएपछि ठ्याक्कै तथ्यांक आउला । तर, यो त्यति ठूलो कुरा किन होइन भने हामी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने ऐतिहासिक अभियानमा छौं । त्यसमा थोरै यताउता भएको हुन सक्छ । त्यसलाई अतिरञ्जित गर्न जरुरी छैन ।
मेरो दोस्रो तर्क के छ भने लडाकु पाँच वर्षदेखि सालघारीमा बसेका छन् । केही पकेट खर्च र खाने रासन दिइएको छ । औषधोपचार, ती घरहरूलाई पुनःनिर्माण गर्ने खर्च, लत्ताकपडा चाहियो । यी कुरा कसरी धानेका होलान् ? तीनै हजार गए होलान् । उनीहरूको पैसा लत्ताकपडामा, घर निर्माणमा खर्च गरे भनेर अतिरञ्जित प्रचार गर्नु शान्ति प्रक्रियालाई बिथोल्नु हो भन्ने मेरो भनाइ छ ।
मेरो तेस्रो कुरा के छ भने पार्टीले एक पैसा लिएको छैन । यहाँ पार्टीले खाएको रहेछ भन्ने कुरा पनि उठेको छ । म पार्टी अध्यक्षको हैसियतले भन्न चाहन्छु कि क्यान्टोन्मेन्टका साथीहरूको पैसा ल्याएर पार्टीले केही पनि गरेको छैन । एक पैसा लिएको छैन ।
लडाकु गायब भएको तपाईंलाई जानकारी थियो ?
केही जानकारी थियो, यत्ति नै संख्याबारे थाहा थिएन ।
समायोजनमा जाने लडाकुको संख्या धेरै देखाएर अन्य दलसँग सौदाबाजी गर्ने, स्वैच्छिक अवकाशमा जानेहरूको केही रकम माओवादीले लैजान्छ भन्ने आशंका छ नि ?
पहिलो कुरा पुनःवर्गीकरणका क्रममा कतिपय विषय, संख्या आदिका समस्याबारे राजनीतिक दलसँग छलफल हुन्छ । तर माओवादीले अस्तिको सहमति उल्ट्याउन छलफल गर्दैन । समस्या हल गर्ने उद्देश्यले छलफल गर्छ । सातबुँदे सहमतिलाई अप्ठ्यारो गर्न छलफल गर्दैन । माओवादी नेतृत्व यसमा स्पष्ट छ । अस्ति प्रधानमन्त्री र म जनमुक्ति सेनाको सातौं डिभिजन कैलाली र पाँच नम्बर डिभिजन रोल्पा गयौं, त्यसबेला स्वैच्छिक अवकाशमा जानेहरूको पैसा पार्टीले लिन्छ रे भन्ने सुनें । यो बिल्कुल निराधार र झूटो हो । स्वैच्छिक अवकाशमा जाने लडाकुको एक पैसा पनि लिँदैन । स्वैच्छिक अवकाशमा जाँदा सबै पैसा उनीहरूले नै पाउनुपर्छ भन्ने पार्टीको प्रस्ट नीति छ । यदि कुनै कमान्डरले पार्टीले पैसा लान्छ भनेका छन् भने त्यो रिपोर्ट पार्टीमा पुर्‍याउन जनमुक्ति सेनाका सदस्यलाई आग्रह गर्छु ।
हामीमा केही समस्या पनि छन् । पहिले अनमिनले अयोग्य ठहर्‍याएका झन्डै चार हजार सदस्य छन्, पार्टीका आँखामा उनीहरू अयोग्य होइनन् । उनीहरूलाई कसरी रोजगारी वा कुनै सुविधा दिएर समस्या समाधान गर्न सकिन्छ, पार्टीले सोचिरहेको छ । त्यस्तै पहिले जनमुक्ति सेनामा भएका थुप्रै कमान्डरहरूलाई वाईसीएलमा ल्याएका छौं । समायोजनमा जानेहरू मेजर, कर्णेल, बि्रगेडियर पनि हुन सक्छन्, वाईसीएलमा आउनेहरूको केही नहुने भयो । त्यस्तै स्वैच्छिक अवकाशमा आउनेहरूले पाँचदेखि आठ लाख पाउने भए । वाईसीएलमा लागेका पूर्वजनमुक्ति सेनाका कमान्डरलाई पनि पार्टीले सम्बोधन गर्छ । यो समस्यामा अरू पार्टीलाई 'टेन्सन' दिनेछैनौं ।
अनमिनले अयोग्य मानेका लडाकुलाई संगठित गरी अर्को सैन्य समूह बनाउने कुरा आएको छ नि ?
यो मनको लड्डु घिउसित खाने कुरा हो । यो सम्भव छैन । जसले आफैं आत्मघाती काम गर्छ, उसैले सोच्ने कुरा हो । अयोग्य भनिएका साथीहरूको समस्या पार्टीले सम्बोधन गर्छ ।
राष्ट्रिय सहमतिको सरकारका लागि अविलम्ब प्रयास गर्ने भन्नुभएको छ, कहिले सुरु हुन्छ ?
आइतबार बस्ने दलहरूको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने एउटा एजेन्डा हो । सातबुँदेमा अविलम्ब राष्ट्रिय सहमतिको सरकार बनाउने सैद्धान्तिक सहमति भइसकेको हुनाले अब ढिलो गर्नु उचित हुँदैन भन्ने लाग्छ । सकेसम्म त एकाध हप्ताभित्र सरकार बन्दिए राम्रो हुन्छ ।
राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा ?
नेतृत्व सहमतिले हुने कुरा हो । हाम्रो भनाइ त शान्ति र संविधान निर्माण प्रक्रिया नटुंगिँदासम्म माओवादीकै नेतृत्वमा बनाऔं, त्यसपछि आलोपालो प्रणालीमा जाऔं भन्ने हो । अरू कसैमा सहमति हुन्छ भने पनि हामी त्यसमा तयार हुन्छौं ।
तपाईंको प्राथमिकता बाबुराम भट्टराई नेतृत्वकै सरकारको निरन्तरता हो ?
बाबुरामजीलाई बदलेर माओवादीबाटै अर्को भन्ने असम्भव कुरा हो । यसतर्फ कसैले कल्पना गरेको छैन ।
कांग्रेस, एमालेले यो सरकारमा नजाने भनेका छन्, संकेत त तपाईंतर्फ देखिन्छ नि ?
त्यो सम्भव पनि छैन, सही पनि हुँदैन । मैले यो कुरा प्रस्टसँग भनेको छु, फेरि पनि भन्छु कि शान्ति र संविधानको प्रक्रिया नटुंगिँदासम्म म सरकारको नेतृत्व गर्न बिल्कुल इच्छुक छैन । माओवादी पार्टीको अध्यक्षका हैसियतले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणमा जोड लगाउनु नै देश र सम्पूर्ण प्रक्रियाको हितमा छ । यो बीचमा नेतृत्व गर्ने कल्पना पनि गरेको छैन । कोही साथीहरूले मलाई प्रधानमन्त्रीका लागि भन्नु पनि भएको छ । उहाँहरूलाई धन्यवाद दिँदै अहिले प्रचण्ड प्रधानमन्त्री हुने होइन, प्रचण्डले जे भूमिका खेलेको छ, त्यो नै उपयुक्त हुन्छ भन्ने आग्रह गर्न चाहन्छु । हाम्रो भनाइ के हो भने बाबुरामजीकै नेतृत्वमा शान्ति र संविधान टुंगियोस्, त्यसपछि आलोपालो जाऔं । तर अर्को कसैमा सहमति भयो भने हुनै हुँदैन भनेर सहमति भाँड्ने पक्षमा पनि हामी छैनौं ।
त्यसको अर्थ अब कांग्रेसले नेतृत्व गर्ने हो ?
माओवादीको दुईचोटि, एमालेको पनि दुईचोटि, अब कांग्रेसले आफ्नो पालो भन्नु जायज छ । त्यसलाई हामीले सम्मान गर्नुपर्छ ।
शान्ति र संविधानको प्रक्रिया अगाडि बढेपछि अब आउने चुनावबारे पनि सोच्न थालिएको हो ?
हिजो मात्रै हामीले संविधान निर्माणको कार्यतालिका बनायौं । आइतबार हुने चार दलको बैठकमा खासगरी शासकीय स्वरूप र निर्वाचन प्रणालीको कुरा टुंग्यायौं भने धेरै गाँठा फुक्छन् । कार्यतालिकाअनुसार छ महिनाभित्र संविधान बनाउन सम्भव छ । हामी बनाउँछौं भन्ने हाम्रो प्रतिबद्धता हो । त्यसो भयो भने निर्वाचन छिटो गर्नुपर्छ । छ महिनामा संविधान निर्माण गर्नसके अर्को छ महिनामा निर्वाचनमा जान सकिन्छ ।
राज्य पुनःसंचरनाको विवाद कसरी मिलाउनुहुन्छ ?
राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमा बहुमतद्वारा १४ प्रदेशको प्रस्ताव भएको छ । उपसमितिमा त्यो प्रस्ताव आइपुगेको छ । हाम्रो भनाइ के छ भने १४ प्रदेश हुन पनि सक्छ, केही घट्न पनि सक्छ । सीमांकन, नामांकन, पहिचान र सामार्थ्य आधार बनाएर संघीयता निर्धारण गर्दै जाने क्रममा आयोग बनेको छ, त्यसको सुझावका आधारमा घट्न पनि सक्छ । तर कतिपय वृत्तमा माओवादी नेतृत्व, खासगरी मलाई ताकेर कांग्रेस, एमालेसँग यति संख्यामा सहमति भइसक्यो भन्ने कुरा बिल्कुल गलत हो । म स्पष्ट गर्न चाहन्छु, संघीय गणतन्त्र नेपाल जनताले चाहेअनुसार हुन्छ र हुनुपर्छ । यसमा कसैसँग सम्झौता हुन सक्दैन । दोस्रो संघीयताको आधार पहिचान र सामथ्र्य हुनुपर्छ । त्यसमा पनि पहिचानले पहिलो प्राथमिकता पाउनुपर्छ । उत्पीडन, अपमान र भेदभावबाट मुक्ति पाउन संघीयता भनिएको हो । पहिचानले उत्पीडन र भेदभाव अन्त्यको प्रतिनिधित्व गर्छ साथसाथै सामथ्र्यलाई हेर्नुपर्छ । अर्को जातीय, क्षेत्रीय मुक्तिका लागि समानताको कुरा गरेका छौं । यी विषयलाई पनि हेर्नुपर्छ ।
अब मुलुकमा कस्तो शासकीय प्रणाली होला ?
शासकीय स्वरूपको कुरामा पार्टीहरूका प्रस्ताव बाहिर देखिएकै छन्- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अहिलेको जस्तै संसद्ले चुन्ने प्रधानमन्त्री र अहिलेको जस्तै 'सेरेमोनियल' राष्ट्रपति । मैले विवाद समाधानका लागि उपसमितिमा छलफल हेर्दा त्यहाँ सम्झौताको नजिक पुगेको देख्छु । अहिले विभिन्न मोडेलका कुरा चलिरहेका छन्, फ्रेन्च मोडेल, जर्मन, अमेरिकन आदि । प्रधानमन्त्री र राष्ट्रपति दुवै हुने व्यवस्था, एक मात्र हुने वा दुवैलाई केही न केही अधिकार बाँड्ने व्यवस्था, कुनै पनि सेरेमोनियल नराख्नेतिर सहमति हुने सम्भावना मैले देखेको छु ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई अधिकार बाँड्दा द्वन्द्व हुने सम्भावना हुँदैन ? तपाईं आफैं प्रधानमन्त्री हुँदा पनि राष्ट्रपतिसँग विवाद बढेको थियो ।
त्यो सम्भावना रहन्छ । संविधानमै राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार किट्यो भने (त्यस्तो व्यवस्था) चल्दो रहेछ भन्ने कुरा विभिन्न देशबाट थाहा पाउन सकिन्छ । अधिकार बाँडियो भने मिलेर जाने हुन्छ, समस्या आउँदैन ।
सातबुँदे सहमतिअनुसार कब्जामा रहेको जग्गा फिर्ता प्रभावकारी ढंगले किन अगाडि बढेन ?
बर्दियामा जग्गासम्बन्धी बढी समस्या भएको हुनाले हामी त्यहाँ गयौं । त्यो प्रक्रिया सकारात्मक ढंगले अघि बढेको छ । यो समस्या बाहिरबाट हेर्दा जति सजिलो छ, त्यति छैन, बुझ्न जरुरी छ । किनभने पार्टी आफैंले कब्जा गरेको जग्गा तुरुन्त फिर्ता गर्न सकिन्छ । तर पार्टीले कब्जा गरेर बाहिरबाट सुकुम्बासी राखिएको छ कतिपय अवस्थामा । सुकुम्बासीको व्यवस्था राज्यले गरोस् र जमिनको मालिकलाई फिर्ता होस् भनेका छौं । किसानको वैकल्पिक व्यवस्था राज्यले गर्नुपर्छ भनेर सरकारलाई भनेको छु । तेस्रो, कतै किसानहरूले वषौर्ंदेखि अरूको जग्गा चलाइरहेका छन् । ती पार्टीले राखेका किसान होइनन्, यस्तो धेरै छ । उनीहरूलाई कि अहिलेको व्यवस्थाअनुसार मोहियानी हक सुरक्षित गरिदिनुपर्‍यो या अधियाँ बटैया लगाउने गरी सहमत गराउनुपर्‍यो । स्वामित्व जग्गाधनीको रहने गरी राज्य र जग्गाधनीले भूमिका खेल्नुपर्‍यो । चौथो, सुकुम्बासी समस्या समाधान गर्न भूमिसुधार आयोग बनाएर छिटो सरकारले सम्बोधन गर्नुपर्‍यो । मैले बर्दियामा किसानलाई निकालेर जमिनदारलाई पोस्ने काम हुन सक्दैन । कतिपय मानिसले बहानाबाजी गरेर 'लौ माओवादी नेतृत्वले सामन्तको पक्ष लियो' भनेका छन् । यो बिल्कुल भ्रम हो । राज्यले किसानको वैकल्पिक व्यवस्था गरी जग्गाधनीले आफ्नो स्वामित्व प्राप्त गर्नुपर्‍यो भन्ने हाम्रो भनाइ हो ।
कम्युनिस्टहरूले एउटा चरणमा एउटा भूमि नीति अपनाइन्छ भने अर्को चरणमा अर्को । माओत्सेतुङकै कुरा गर्ने हो भने पहिलो गृहयुद्धकालमा सम्पूर्ण जमिनदारको जमिन कब्जा गर्ने, वितरण गर्ने थियो । जापानविरोधी युद्धमा च्याङकाइसेकसँग सम्झौता हुने बेला कर तिरे जमिन मालिककै हुने व्यवस्था भयो । अर्कोपटक सम्झौता गर्दा आधारइलाका, सेना छाडेर च्याङकाइसेकसँग सम्झौता गरेर संयुक्त सरकार बनाउने सहमति गरेकै हो । यो कुरा बुझ्न जरुरी छ ।
नेपालमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र संस्थागत नहुँदासम्म राजनीतिक दलबीच सम्झौता हुन जरुरी छ । यो सम्झौताको बेलामा सहमति खोज्नैपर्छ । क्रान्तिकारी पार्टीको नेतृत्वको चुनौती विद्रोह, युद्ध, संघर्ष समस्या रहेनछ, सजिलै हुँदोरहेछ । सम्झौता, सहमति भन्ने अग्निपरीक्षा हँुदोरहेछ, धेरै कठिन हुँदोरहेछ । मैले १० वर्षको युद्धमा नेतृत्व गरेर शान्ति प्रक्रियाको नेतृत्वसम्म आइपुग्दा क्रान्ति, विद्रोह, युद्ध कति सजिलो थियो भन्ने महसुस भयो । युद्धमा मानवीय क्षति हुँदा एउटा पीडा त हुन्थ्यो नै, तर नेतृत्वलाई त्यति चुनौती हँुदैनथ्यो । अहिले सहमति, समझदारी गर्ने बेलामा बडो अप्ठ्यारो आलोचना, विरोध भोग्नुपर्‍यो । यो संसारभरिका क्रान्तिकारी नेताहरूलाई पर्ने समस्या रहेछ । लेनिनलाई अक्टोबर क्रान्ति गर्न गाह्रो भएन, सन्धि गर्न गाह्रो भयो । सन्धि गरेका बेला लेनिनले जर्मनको दलाल भन्ने आरोप खेप्नुपर्‍यो । इतिहासमा कुनै पनि क्रान्ति युद्ध, विद्रोह, संघर्षबाट मात्र सफल भएको छैन, सहमति र सम्झौताबाट पनि भएको छ । सम्झौताको अग्निपरीक्षाबाट पास नभई साँचो अर्थमा नेता सफल हुँदोरहेनछ ।
तपाईंले स्थगित प्रचण्डपथलाई ब्युँताउन खोज्नुभएको हो ?
प्रचण्डपथलाई ब्युँताउन खोजेको होइन, मैले नै प्रचण्डपथ स्थगित गरौं भनेको हो । बरु पार्टी भित्रबाटै किन प्रचण्डपथ स्थगित गरेको भनेर विरोध भएको थियो । मैले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न र परिवर्तनलाई संस्थागत गर्न प्रचण्डपथले धेरै मद्दत गर्दैन भन्ने लागेरै स्थगित गरेको हो । संसारमा जसको नाममा पथ, विचारधारा हुन्छ, उसले नै स्थगित गरौं भनेर कसैले भनेको छैन । मेरो त एमालेसँग पनि एकता गरौं भन्ने हो । आधारभूत कुरा मिल्छ भने एकै ठाउँमा बसौं भनेको हो । नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने मेरो लक्ष्य अहिले पनि छ ।

रुकुमको चुनबाङ बैठकपछि माओवादीले नयाँ कार्यदिशा ल्याएको थियो, अबको केन्द्रीय समितिले फेरि त्यस्तै अर्को कार्यदिशा ल्याउन लागेको हो ?
हो, निश्चय नै नेपालको समग्र वर्ग शक्तिसन्तुलन, संघर्षको स्थिति, क्षेत्रीय सन्तुलन, अन्तर्राष्ट्रिय परिस्थिति र आर्थिक प्रगतिको संश्लेषण गरी नेपाली क्रान्तिलाई अघि बढाउन नयाँ रणनीतिको खोजी गर्नुपर्छ भन्ने मलाई लागेको छ । अबको केन्द्रीय समितिमा -यो काम) गरौं, अन्य कम्युनिस्ट घटकमा पनि -त्यस्तै निर्णय) होस् । यहींबाट विश्वलाई सन्देश दिने सम्भावना छ । यो परिस्थितिमा विचारलाई विश्व परिस्थितिअनुसार माथि उठाउनुपर्छ भन्ने लागेकै छ ।
कुनै बेला भारतको चर्को विरोध गर्नुभयो । हाल तपाईं फेरि चीन र भारतसँग सन्तुलन मिलाउने प्रयासमा देखिनुहुन्छ, होइन ?
यो संवेदनशील र रणनीतिक प्रश्न हो । मैले चीनबाट फर्कने बेला भनेको थिएँ, चीन, भारत र नेपालको बीचमा त्रिपक्षीय साझेदारी हुन आवश्यक छ । मैले धेरै विचार गरेर भनेको हो, हल्काफुल्का टिप्पणी गर्न भनेको होइन । त्रिपक्षीय साझेदारीले विश्वलाई सकारात्मक सन्देश -दिन) र नेपालको विकासलाई अघि बढाउन सकिन्छ भन्ने लागेरै भनेको हँु । भारतीय र चिनियाँ नेताहरूको कुरा सुनिसकेपछि मेरो दिमागमा यो नै ठीक छ भन्ने लागेको छ । हामीलाई भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता सबभन्दा प्यारो छ । यसमा कुनै सम्झौता हुन सक्दैन । तर तीन देशबीच साझेदारी खोजिनुपर्छ । म भारत वा चीनतिर नजिक नभई यसरी जान खोजेको हो । भारतसँग नयाँ समझदारी गर्नुपर्छ भन्ने लागेर आक्रामक भएको हो । भारतको नेतृत्व पनि समझदारी गर्नुपर्छ भन्नेमा सकारात्मक देखेको छु । चिनियाँ नेताहरूले पनि नेपालको भारतसँग राम्रो सम्बन्ध होस् भन्ने चाहेको देखेको छु । छिमेकीसँग कहिलेकाहीं मनमुटाव भए पनि भूराजनीतिक अवस्थाले 'डिक्टेसन' गरेको छ, त्यसलाई अस्वीकार गर्न सकिन्न ।
अहिले तपाईंकै पार्टीका प्रधानमन्त्रीले इतिहासकै ठूलो मन्त्रिपरिषद् बनाएर विवाद निम्त्याउनुभयो । तपाईंको मूल्यांकन ?
ठूलो मन्त्रिपरिषद् मलाई मीठो लाग्या छैन । कांग्रेस, एमालेसँग छिटोभन्दा छिटो राष्ट्रिय सरकार बनाआंै, समाधान त्यही हो भनेको छु । भोलि नै राष्ट्रिय सरकारमा कांग्रेस, एमाले आउने वातावरण बनोस् भन्ने मेरो भनाइ छ ।
बालकृष्ण ढुंगेलको मुद्दाबारे नि ?
विशेष मुद्दा हो यो । यो मुद्दा (फिर्ताको कुरा) माधव नेपालजी प्रधानमन्त्री हुँदै अघि बढेको हो । माधवजीले होइन भन्नुभयो, कुरा त पहिलेदेखि नै चलेको हो । यसमा सरकारले हतार गरेको जस्तो लाग्दैन । यसले माओवादी नेता, कार्यकर्तालाई चिन्तित तुल्याएको छ, सबैलाई यस्तै हुने हो कि भनेर । (मंसिर) २९ गतेसम्ममा सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउँदै छौं । त्यसपछि समाधान हुन्छ भन्ने लागेको छ ।
तपाईंले पार्टीभन्दा माथि उठेर राजनीति गर्न थाल्नुभएको हो ?
मैले (यसबारे) धेरै सोच्या छैन । शान्ति र संविधान निर्माण प्रक्रियामा ठूलो पार्टीको हैसियतले र शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले पनि जनताको भावनाअनुसार यो प्रक्रिया पूरै टुंग्याउन तागत लगाउनुपर्छ भन्ने लागेको छ ।

No comments: