Tuesday, December 27, 2011

माओ बिर्संदै माओवादी

गंगा बीसी
काठमाडौं, पुस १२ - कुनै बेला खाने, सुत्ने, उठ्ने र युद्धमा लड्ने बेला नेपालका माओवादीले माओको नाम खुबै लिन्थे । तर उनीहरूले माओलाई बिस्तारै बिर्संदै गएका छन् । बरु यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल माओ होइन, बुद्धलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन् ।
पार्टीले औपचारिक कार्यक्रम नगरे पनि 'जनविद्रोह' पक्षधर उपाध्यक्ष मोहन वैद्यपक्षले भने कार्यक्रम गरेर माओ सम्झिए । ११८ औं माओ जयन्तीका अवसरमा सोमबार संस्थापन पक्षले माओवादलाई बिर्सने अवसर ठान्यो भने दाहाललाई 'आत्मसमर्पणवादी' र 'संशोधनवादीको आरोप लगाउँदै वैद्यपक्षले कार्यक्रम गरेर अझै पनि माओकालीन क्रान्ति आवश्यक रहेको सन्देश दियो । 
पार्टीको औपचारिक कार्यक्रम नराखे पनि अध्यक्ष दाहाल माओ दिवसका अवसरमा किराँतसम्बन्धी एक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भए । उनले माओले चिनियाँ परिस्थितिअनुसार क्रान्तिलाई अघि बढाएकाले सफल भएको उल्लेख गर्दै नेपालमा पनि आफ्नै ढंगले क्रान्ति सम्पन्न गर्ने बताए । 'लेनिनले पेरिसको जस्तो र माओले रुसको जस्तो क्रान्ति गर्न खोजेको भए हुने थिएनन्,' उनको भनाइ थियो, 'आफ्नै मौलिकतामा नेपालमा क्रान्ति र माक्र्सवाद सम्भव हुन्छ । कसैको नक्कल गरी क्रान्तिको विकास हुन सक्दैन ।'
पार्टीभित्र शान्ति र संविधान कि जनविद्रोह भन्ने विवाद चर्किएका बेला वैद्य पक्षले भने माओ दिवसलाई बढी महत्त्व दिन खोजेका छन् । जारी केन्द्रीय समिति बैठक स्थगन गराएर वसन्तपुर डबलीमा भेला भएका वैद्य पक्षका नेताहरूले माओको खास अनुयायी आफू भएको दाबी गरे । त्यस्तो दाबी गर्नेहरूमा महासचिव रामबहादुर थापा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द थिए ।
उनीहरूले संस्थापन पक्षले माओवादलाई छाडेको आरोप लगाउनसमेत पछि परेनन् । 'क्रान्तिलाई संशोधनवादतर्फ धकल्नेहरू माओका अनुयायी हुन सक्दैनन्,' उनीहरूको भनाइ थियो, 'क्रान्तिको झन्डा बोक्नेहरू सच्चा माओवादी हुन् ।'
प्रवक्ता दीनानाथ शर्माले भने माओ दिवस मनाउँदैमा सच्चा माओवादी हुन नसक्ने तर्क गरे । 'हामीले हृदयमा माओलाई सम्झिरहेका छौं,' उनले भने, 'कार्यक्रम गरेर जन्मदिवस मनाउँदैमा सच्चा माओवादी भइने होइन ।' उनले आफूलाई चर्को क्रान्तिकारी देखाउन वैद्यपक्षले छुट्टै माओ दिवस मनाएको दाबी गरे ।
सशस्त्र युद्धबाट सत्ताकब्जा गर्ने माओको मूल सिद्धान्तलाई त्यागेको माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि विस्तारै भुल्न थालेको विश्लेषकको भनाइ छ । माक्र्सवादी विश्लेषक घनश्याम भुसालले शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले माओ दिवस मनाउनु शोभनीय हुन नसक्ने बताए । 'शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पार्टीले माओलाई छोड्दै आएको हो,' उनको भनाइ छ, 'हाल उसले लिएको जुन राजनीतिक कार्यदिशा छ, त्यो कारणले पनि माओ दिवस मनाउन माओवादीले सक्दैन ।'

प्रकाशित मिति: २०६८ पुस १२ १२:२४

No comments: