Sunday, December 25, 2011

दाहालको राजनीतिक प्रस्ताव: 'जनविद्रोहबाट सत्ताकब्


  • गुटको रूपमा नभई सामूहिक रूपमा फोरम

  • वैद्य पक्षले छुट्टै प्रस्ताव ल्याउने

'अध्यक्षले एउटा सेटमा प्रस्ताव ल्याउनुभयो, त्यसमा हाम्रो असहमति छ,' वैद्यलाई उद्धृत गर्दै केन्द्रीय सदस्य महेश्वर दाहालले भने, 'त्यसको जवाफ मैले लेख्नुपर्ने भयो ।'
गंगा बीसी
काठमाडौं, पुस १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जनविद्रोह' गरी सत्ताकब्जा गर्ने पार्टीको प्रयास सफल हुन नसकेको स्विकारेका छन् । साथै उनले यही सरकारलाई पुनर्गठन गरी राष्ट्रिय स्वरूप दिने पनि जनाएका छन् ।
 पटक-पटक स्थगन भई शनिबार पुनः सुरु केन्द्रीय समिति बैठकमा ९ बुँदे राजनीतिक प्रस्ताव पेस गर्दै दाहालले जनविद्रोह सफल हुन नसकेपछि शान्ति र संविधानको मुख्य कार्ययोजना बनाएको जनाएका हुन् । 'पार्टीमा सचेत पहलका दृष्टिले संविधानसभाको निर्वाचनपश्चात् हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ताकब्जा लिने प्रयत्न नगरिएको होइन,' दाहालले आफ्नो प्रस्तावको पाँचौं बुँदामा भनेका छन्, 'यसमा हाम्रा आफ्ना तमाम सीमा कमजोरी एवं तत्काल जनविद्रोह सफल हुन सकेन । यस सन्दर्भमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रियाको नेतृत्व माओवादीले लिओस् भन्ने जनचाहना रहेको तथ्यलाई पनि अवमूल्यन गर्नै सकिँदैन ।'
 दाहालले चौथो बुँदामा जनविद्रोहमा जाने कुरामा पार्टीभित्र 'औपचारिक' विवाद नभएको बताएका छन् । 'आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रलाई र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा औपचारिक विवाद छैन,' उनले भनेका छन् ।
 प्रस्तावमा दाहालले शान्ति र संविधान निर्माणमा नेतृत्व लिएका कारण उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको उल्लेख गरेका छन् । सेना समायोजन र संविधान निर्माणमा लचकता अपनाएर संस्थापन पक्षले आत्मसमर्पण गरेको भन्ने वैद्य पक्षको आरोपको दाहालले प्रतिवाद गरेका छन् । 'शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सेना समायोजन र पुनःस्थापना गर्नु तथा संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुर्‍याउनु क्रान्तिको विसर्जन, आत्मसमर्पण वा वर्गसमन्वय होइन,' उनले भनेका छन् । वैद्य पक्षले भट्टराई सरकारको विकल्प खोजिरहेका बेला दाहालले यही सरकारलाई पुनर्गठन गरी राष्ट्रिय स्वरूपको सरकार बनाउने जनाएका छन् ।
'वर्तमान सरकारमा पार्टी प्रतिनिधित्वलाई सन्तुलित बनाउन सहमतिका आधारमा पुनर्गठन गर्न तयार रहने तथा पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहललाई पनि अघि बढाउने' उनले उल्लेख गरेका छन् । दाहालले सरकारको पुनर्गठन गर्ने उल्लेख गरी भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने संकेत गरेका हुन् ।
 पार्टीमा व्यक्तिगत आरोप बढिरहेका बेला दाहालले मित्रतापूर्ण बनाउन र राजनीतिक मतभेदलाई गुटको रूपमा नभई सामूहिक रूपमा फोरम
चलाउने निष्कर्ष दाहालले निकालेका छन् । प्रस्तावमा उनले 'वैचारिक राजनीतिक मतभेदहरूलाई अलग-अलग विचार समूहको भेलामा लैजाने प्रक्रिया अन्त्य गरी सामूहिक रूपले फोरम सञ्चालन प्रक्रियालाई ठोस योजना र कार्यक्रममा ढालेर अघि बढाउने' उल्लेख गरेका छन् । 'वैचारिक राजनीतिक बहसलाई महाधिवेशनसम्म फोरमको विधिद्वारा व्यवस्थापन गर्न सहमत हुनु यतिबेला पार्टी एकताको अनिवार्यता बन्न गएको छ,' उनले भनेका छन् ।
दाहालले वैद्य पक्षतिर संकेत गर्दै पार्टी मर्दै गइरहेको पनि जनाएका छन् । 'नयाँ ढंगले पार्टीको त कुरै छाडांै, पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ,' उनले भनेका छन्, 'यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटभित्र पनि उपगुट अझ झाँगिएका छन् र उपगुटभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ ।'
उनले मधेसी मोर्चासँग भएको चारबुँदे सहमति, कन्टेनरको साँचो बुझाउनु, शान्ति प्रक्रियासम्बन्धी सात बुँदे सहमति, घरजग्गा फिर्ता पार्टीकै निर्णयमा भएको जनाएका छन् । भारतसँग भएको बिप्पा सम्झौतामा भने पार्टी नेतृत्व र प्रधानमन्त्रीबीच प्राविधिक कारणले कुराकानी हुन नसकेको उनले जनाएका छन् ।
वैद्य पक्षले छुट्टै प्रस्ताव ल्याउने
अध्यक्ष दाहालको प्रस्तावले आफ्ना फरक मत सम्बोधन नगरेको भन्दै सोमबार उपाध्यक्ष मोहन वैद्यले छुट्टै प्रस्ताव ल्याउने भएका छन् ।
दाहालले प्रस्ताव पढेलगत्तै वैद्यले आफूले सोचेभन्दा फरक ल्याएको भन्दै सोमबार लिखित प्रस्ताव ल्याउने बताए ।  'अध्यक्षले एउटा सेटमा प्रस्ताव ल्याउनुभयो, त्यसमा हाम्रो असहमति छ,' वैद्यलाई उद्धृत गर्दै केन्द्रीय सदस्य महेश्वर दाहालले भने, 'त्यसको जवाफ मैले लेख्नुपर्ने भयो ।' शान्ति र संविधान जनताको पक्षमा नभएको भन्दै वैद्यले जनविद्रोहको कार्यदिशा भएको प्रस्ताव ल्याउन लागेका हुन् ।
दाहालको प्रस्ताव आएलगत्तै वैद्य पक्षीय सचिव सीपी गजुरेलले संस्थापन पक्ष दक्षिणपन्थी अवसरवादतिर तीव्र रूपमा गएको पुष्टि भएको बताए ।
उनले कान्तिपुरसँग भने, 'यो प्रस्तावले समस्याको समाधान गर्ने नभई अन्तरसंघर्ष झन् बढाउँछ ।'
संस्थापन पक्षका सचिव पोष्टबहादुर बोगटीले भने दाहालले यथार्थ धरातलमा टेकेर प्रस्ताव ल्याएको भन्दै यसबाटै समस्या समाधान हुने जनाए । 'पार्टीको अन्तरसंघर्ष समाधान गर्ने,
शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन यथार्थ धरातलमा टकेर ल्याएको प्रस्ताव हो,' उनले भने, 'सबै परिस्थितिको विश्लेषण गरी प्रस्ताव आएको छ ।' वैद्य पक्षले विरोधका लागि विरोध गरेको हुन सक्ने भन्दै सबै कुरा बैठकले टुंगो लगाउने उनले जनाए । वैद्य पक्षले यसअघि केन्द्रीय कार्यालयमा दर्ज गरेको सेना समायोजन, संविधान निर्माण, कब्जामा रहेको घरजग्गा फिर्ता, सरकारलगायत विषयमा १३ बुँदे फरक मतमा टेकेर राजनीतिक प्रस्ताव ल्याउने भएका छन् । शान्ति र संविधान जनताले चाहेअनुसार बन्ने सम्भावना क्षीण भएको भन्दै वैद्यले जनविद्रोहको कार्यदिशासहितको प्रस्ताव बैठकमा पेस गर्नेछन् । गत मंसिरमा गोरखाको पालुङटार विस्तारित बैठकमा पनि वैद्यले जनविद्रोहमा जानुपर्ने राजनीतिक प्रस्ताव ल्याएका थिए ।

प्रकाशित मिति: २०६८ पुस १० १२:१८

No comments: