Friday, December 16, 2011

थापालाई प्रधानमन्त्री बनाउन प्रस्ताव प्रचण्डद्वारा अस्विकार

गंगा बीसी
काठमाडौ, पुस १ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले बाबुराम भट्टराई सरकारको विकल्पका रूपमा महासचिव रामबहादुर थापाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेको छ । वैद्यले बुधबार यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईसमक्ष राखेका हुन् ।
पछिल्लो समयमा दाहाल र भट्टराईविरुद्ध खरो उत्रिएका थापालाई प्रधानमन्त्री बनाउने वैद्य पक्षको 'पछिल्लो कार्ड' भएको संस्थापन पक्षको बुझाइ
छ । दाहाल र भट्टराई प्रधानमन्त्री भइसकेको र उपाध्यक्ष वैद्यको रुचि नभएकाले थापालाई उक्त पक्षले अघि सारेको तर्क गरेको छ । भट्टराई सरकारको विकल्प खोज्नुको कारण पुष्टि नहुने भएकाले थापाको नाम हाल अघि सार्नु उचित नहुने दाहालको बुझाइ छ ।
भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने संस्थापन पक्षको भनाइ आइरहेका बेला वैद्य पक्षले थापा कार्ड फ्याँकेका हुन् । यसअघि सेना समायोजनलगायत १३ बुँदामा फरक मत राखिसकेको वैद्य पक्षले थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव थपेका हुन् । 'अहिले राष्ट्रिय सहमतिको कुरा उठेको छ । बादल (जी) राष्ट्रिय सरकारको प्रधानमन्त्री बन्नुपर्छ भन्ने यही प्रसंगमा कुरा उठेको हो,' उपाध्यक्ष वैद्यले कान्तिपुरसँग भने, 'राष्ट्रिय सहमति सरकारको विषय आएपछि पार्टीमा छलफल होला ।' वैद्यले बुधबार दाहाल र भट्टराईलाई नयाँबजार भेटी यो प्रस्ताव राखेका थिए ।
दाहाल निकट स्थायी समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले थापाको नेतृत्वमा राष्ट्रिय सरकार सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघि सारेको राजनीतिक कार्यदिशा भत्काउन वैद्य पक्षले यस्तो प्रस्ताव ल्याएको बताए । 'प्रचण्ड र बाबुराम गठबन्धन तोड्न र यो राजनीतिक कोर्स भत्काउन अनि पार्टीलाई अप्ठ्यारोमा पार्न यो प्रस्ताव आएको हो,' उनले भने, 'राष्ट्रिय सरकारको नेतृत्वका लागि बादलजीलाई कांग्रेस, मधेसवादी दलले समर्थन गर्न सक्दैनन् ।' उनले भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी शान्ति र संविधान निष्कर्ष पुर्‍याउन दाहाल दृढ रहेको जनाए । 'भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारबाट शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन अध्यक्ष दृढ हुनुहुन्छ,' उनले भने ।


वैद्य पक्षीय सचिव सीपी गजुरेलले अब पार्टीले सरकारको नेतृत्व पाउने अवस्था आएमा थापा नै उपयुक्त व्यक्ति भएको जनाए । 'अब पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा हाम्रो विचार समूहबाट बादल -थापा) को नाम किन नदिने भनेर प्रस्ताव अघि सारिएको हो,' उनले भने, 'किन कि प्रचण्ड र बाबुरामजी प्रधानमन्त्री भइसक्नुभयो, अब बादलजीलाई दिँदा राम्रो हुन्छ ।' उनले यो प्रस्ताव एमालेसँग पनि राखेको जानकारी दिए ।
प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले वैद्य पक्षको अन्तरसंघर्ष सरकारमा केन्दि्रत भएकाले थापालाई नेतृत्वको प्रस्ताव अघि सारेको बताए । 'उहाँ -वैद्य) हरूको अन्तरसंघर्ष सरकार परिवर्तनका लागि रहेछ भन्ने देखिन्छ,' उनले कान्तिपुरसँग भने, 'उहाँका गतिविधि यो सरकार परिवर्तनका लागि केन्दि्रत छन् ।' जनविद्रोह, क्रान्तिको कार्यदिशा अघि जान नसक्ने देखेपछि सरकार परिवर्तनमा लागेको उनको आरोप छ ।
उनले भट्टराईको नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादी दल र वैद्यसमेत सहभागी हुनुपर्ने पक्षमा अध्यक्ष दाहाल रहेको बताए । 'पार्टीभित्रबाट बाबुरामको विकल्प खोज्ने पक्षमा अध्यक्ष हुनुहुन्न,' उनले भने, 'शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन बाबुरामजीकै नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादी र किरणपक्ष पनि सरकारमा बस्नुपर्नेमा अध्यक्ष स्पष्ट हुनुहुन्छ ।' विगतमा भट्टराई खेमामा लाग्दै आएका शर्मा पछिल्लो समय दाहाल निकट हुन पुगेका हुन् ।
यसैबीच अध्यक्ष दाहालले पूर्वएकता केन्द्र समूह र प्रधानमन्त्री बाबुराम भट्टराईसँग बिहीबार छलफल गरेका छन् ।
उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्री निवास पुल्चोकमा र भट्टराईसँग प्रधानमन्त्री निवास बालुवाटारमा आफैं पुगी दाहालले वैद्य पक्षका फरक मत, सरकारका काम र आगामी केन्द्रीय समिति बैठकबारे छलफल गरेका हुन् ।
'प्रकाश (नारायणकाजी) सँग सामान्य बसाइ हो' पूर्वएकता केन्द्रसँगको छलफलमा सहभागी नेता शक्ति बस्नेतले भने, 'पार्टी स्थिति, आगामी केन्द्रीय समिति बैठकबारे छलफल भयो ।'
पछिल्लो समय भट्टराईप्रति असन्तुष्ट हुँदै आएका श्रेष्ठको पार्टीमा भूमिका कम हुँदै आइरहेका बेला दाहाल आफैं उनको निवास गएर छलफल गरेका हुन् । भेटमा दाहाल निकट मन्त्री र नेताहरू थिए । श्रेष्ठलाई भेटेलगत्तै दाहाल भट्टराईलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा उनले महासचिव थापालाई प्रधानमन्त्री बनाउन लागेको भन्ने चर्चाको पछि नलाग्न भट्टराईलाई आग्रह गरेको स्रोतले जनाएको छ । 'तपाईं र मबीच फाटो पार्न यस्ता चर्चा हुने गरेका हुन्,' दाहालको भनाइ थियो, 'यो भ्रममा नपर्नु होला ।' केही दिनअघि पनि दाहालले भट्टराईको विकल्पमा माओवादीकै अर्को नेताको नेतृत्वमा सरकार बनाउने कुरा हुन नसक्ने बताएका थिए ।










प्रकाशित मिति: २०६८ पुस १ ०८:४२

No comments: