Friday, December 30, 2011

Leaders said: Prachanda go ahead

काठमाडौ, पुस १५ - माओवादी संस्थापन पक्षका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति र संविधानको कार्यदिशा सफल पार्न साहसिक निर्णय लिन सुझाव दिएका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षले दाहाललाई 'दक्षिणपन्थी अवसरवादी' को आरोप केन्द्रीय समितिको जारी बैठकमा लगाइरहेकै बेला संस्थापनका नेताहरूले दबाबमा नपर्न भनेका हुन् ।
दाहालनिकट स्थायी समिति सदस्य वर्षमान पुनले शान्ति र संविधानको कार्यदिशा सफल पार्नुको विकल्प नभएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान दाहाललाई सुझाव दिएका हुन् । 'अध्यक्षले ल्याएको कार्यदिशाले मुलुकमा राजनीतिक निकास दिन्छ,' उनको भनाइ थियो, 'त्यसकारण नेतृत्वले बोल्ड डिसिजन गरेर जानुपर्छ ।' त्यस्तै, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि दाहाललाई अघि बढ्न सुझाव दिएका थिए । 'अध्यक्षले ल्याएको प्रस्ताव एकताको प्रस्ताव हो, यसले नै शान्ति र संविधानलाई सम्मानजनक रूपमा निष्कर्षमा पुर्‍याउँछ,' उनीहरूको भनाइ थियो, 'यसलाई कार्यान्वयन गरी जानुको विकल्प छैन ।'
गजुरेलले वैद्य पक्षको 'जनविद्रोह' बारे प्रश्न उठाएका थिए । 'तपाईंहरू सरकारका लागि कांग्रेस, एमालेलाई भेट्दै हिँड्नुभएको छ,' उनको भनाइ थियो, 'शान्ति र संविधान पनि भन्नुहुन्छ, जनविद्रोह पनि भन्नुहुन्छ । किरणजीको प्रस्तावले कुन कार्यदिशा लिएको छ ?' उनले क्रान्तिको बाटो सिधा नहुने कुरा वैद्य पक्षले बुझ्न नसकेको टिप्पणी गरे ।
सापकोटाले दिशाहीन कार्यदिशा ल्याएको आरोप लगाउँदै वैद्यले अभिभावकत्व गुमाएको टिप्पणी गरे ।
'किरण (वैद्य) जीले नयाँ पार्टी गठन गर्ने बताएर अभिभावकत्व गुमाउनुभएको छ,' उनको भनाइ थियो, 'यसको समीक्षा हुन जरुरी छ ।'
अर्थमन्त्री समेत रहेका पुनले कार्यदिशामा फरक परेका कारण अन्तरसंघर्ष चलेको जनाए । उनले वैद्यको कार्यदिशा अन्योलग्रस्त भएको आरोपसमेत जनाए । 'यो लाइनविहीन छ,' वैद्यको दस्तावेजमा बोल्दै उनले भने, 'चित्त नबुझे अर्को कार्यदिशा ल्याउनुपर्छ । शान्ति र संविधान अघि बढाउने, जनविद्रोह गर्ने लाइन हुन सक्दैन ।'
स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले यस्तो सजिलो अवस्थामा पार्टी नफुटाउन वैद्य पक्षलाई सुझाव दिए । उनले सशस्त्र युद्धका बेला आफ्नो विचार समूहमाथि भएको कारबाहीको स्मरण गर्दै भने, 'हामीलाई केही नगरेका बेला त्यस्तो कडा कारबाही हुँदा त पार्टी फोडेनौं । तपाईंहरूले छुट्टै संगठन, कार्यक्रम, सभा गर्न पाउनुभएको छ । यस्तो अवस्थामा पार्टी नफुटाउनुस् ।' उनले वैद्य पक्षले कांग्रेसको नेतृत्वमा सरकार बनाउन चहार्न हुन्छ ? भनी प्रश्न गर्दा हाँसोले हल गुन्जिएको थियो ।
वैद्य पक्षीय पोलिटब्युरो सदस्य पम्फा भुसालले सम्मानजनक शान्ति र संविधान नभए जनविद्रोहमा जानुपर्ने धारणा राखिन् । 'सम्मानजनक शान्ति र संविधान भएन भने जनविद्रोहमा जानुपर्छ,' उनको भनाइ थियो, 'संविधानमा जनयुद्ध शब्द नलेख्ने, सम्पत्तिको हदबन्दी नतोक्ने, भूमिसुधार छाडेको बेला बनेको संविधानले जनताको हित गर्न सक्दैन ।'
लडाकु प्रमुख एवं पोलिटब्युरो नन्दकिशोर पुनले वैद्यको दस्तावेजले अन्योल सिर्जना गरेको भन्दै दाहाललाई समर्थन गरेका थिए । 'किरणजीको दस्तावेजले अन्योल सिर्जना गरेको छ,' उनले भने, 'पार्टीका गुटउपगुटले बार्गेनिङ शक्ति कमजोर गराएको छ, अब यस्तो गाईजात्रा देखाउन जरुरी छैन ।' अर्का पोलिटब्युरो हरिभक्त कँडेलले दाहाल नसच्चिए पार्टी विघटनतिर जाने जनाए । 'अध्यक्षले आफ्नो प्रतिवेदन सच्याएर आउनुपर्छ,' उनको भनाइ थियो, 'पुरानो पार्टी विघटनतिर गएको छ, त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्छ ।' अर्का पोलिटब्युरो हितमान शाक्यले शान्ति र संविधान उपाध्यक्ष बाबुराम भट्टराईको भएको उल्लेख गर्दै दाहालको कार्यदिशा के हो भनी प्रश्न गरेका थिए । 'शान्ति र संविधान बाबुरामजीको कार्यदिशा हो,' उनको भने, 'अध्यक्षको कार्यदिशा के हो ?'


अन्तरसंघर्षको असर खाजामा
माओवादी अन्तरसंघर्षको असर बैठकको खाजामा पनि परेको छ । पार्टी एक भएका बेला केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको क्यान्टिनमा राम्रै खाजा पाक्थ्यो । विवाद चर्किंदै जाँदा खाजाको व्यवस्था नै हुन छाडेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार हाल बैठकमा कालो चियाको मात्र दिइन्छ । अरू खाजा खाए आफैंले तिर्नुपर्छ । यसअघि बैठकका बेला मासु चिउरा, मःमः, अन्डा पाउरोटी हुन्थ्यो । अलिअलि विवाद हुँदा चिया बिस्कुट दिइन्थ्यो । 'पार्टी विवादको असर खाजामा पनि देखिएको छ,' एक नेताले भने, 'मुस्किलले कालो चियाको व्यवस्था छ ।'

प्रकाशित मिति: २०६८ पुस १५ ०८:३८

No comments: