Friday, December 30, 2011

कसले फुटाउदै छ माओबादी ?

गंगा बीसी
काठमाडौ, पुस १३ -
माओवादी उपाध्यक्ष मोहन वैद्यले 'नयाँ पार्टी जन्मिरहेको' बताएको भोलिपल्टै महासचिव रामबहादुर थापाले अनौपचारिक रूपमा पार्टी फुटिसकेको घोषणा गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा बुधबार थापाले फुटले औपचारिकता पाउन मात्र बाँकी रहेको धारणा राखेका हुन् ।

'पार्टी फुटिसकेको छ, हामीले स्वीकार नगरेको मात्रै हो,' थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'कुनै दिन स्वीकार गर्ने बेला आउने छ ।' अध्यक्ष पुष्पकमल दाहालविरुद्ध चर्को रूपमा प्रस्तुत भएका थापाले उनको प्रस्तावले 'दक्षिणपन्थी' बाटो लिएको आरोप लगाए ।

स्थायी समिति सदस्य कृष्णबहादुर महराले थापाको भनाइको प्रतिवाद गरेका थिए । 'किरण -वैद्य) जीको प्रस्तावले पार्टी फुटको बिजारोपण गरेको छ, उहाँले नयाँ पार्टीको जन्म भइरहेको उल्लेख गर्नुभएको छ,' महराले वैद्यको प्रतिवेदनलाई इंगित गर्दै भने, 'अध्यक्षले एकताको प्रस्ताव ल्याइरहेका बेला किरणले फुटलाई प्रश्रय दिनुभयो ।'

दाहालको प्रस्तावले मुलुकमा 'नयाँ ढंगले क्रान्ति गर्ने' उनले बताए । 'अध्यक्षको प्रस्ताव जननीतिमा आधारित छ, यसले पार्टी एकता गरी क्रान्तिलाई नयाँ ढंगले अघि बढाउँछ ।' वैद्यले जनविद्रोह गर्ने बताए पनि त्यो 'मनोगत आकांक्षा' भएको उनको टिप्पणी थियो । एक वर्षअघि वैद्यनिकट रहेका महरा यतिबेला दाहालको पक्षमा खुलेरै देखा परेका हुन् ।

प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने दाहालको प्रस्तावलाई समर्थन गर्दै वैद्य पक्ष 'गैरजिम्मेवार' भएको बताए । 'शान्ति र संविधान सुनिश्चित गर्नुको विकल्प छैन, दुवै कुरालाई अध्यक्षको प्रस्तावले निष्कर्षमा पुर्‍याउन सक्छ,' उनले भने, 'हामीले जनविद्रोहको प्रयोग नगरेको होइन, तर त्यो सम्भव भएन । त्यसैले प्राप्त उपलब्धि रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो ।'

भारतसँग गरिएको 'बिप्पा' सम्झौताको विरोध गरेकामा वैद्यलाई समर्थन गरेका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाहालको शान्ति र संविधानको कार्यदिशालाई समर्थन गरे । स्रोतअनुसार उनले आफू बिप्पाको विरोधमा भएको भन्दै वैद्य पक्षसँग कुराकानी जारी राखेका छन् । बैठकमा स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले दाहालले जनतालाई झुक्याएको आरोप लगाए । 'अध्यक्षले नुवाकोटतिरका सोझा चेलीलाई जागिरमा लगाइदिन्छु भन्दै राजधानी ल्याई भारतमा बेचेजस्तो हामीलाई गर्नुभयो,' उनको भनाइ थियो, 'उहाँले जनविद्रोह भनेर हामीलाई राजधानी ल्याउनुभयो र भुलाउनुभयो ।

अहिले क्रान्ति पूरा भयो भन्न थाल्नुभएको छ ।'

वैद्य पक्षका युवानेता चन्दले 'दाहालको व्यवहार नसच्चिए उनी मोहनविक्रम सिंहजस्तै सानो पार्टीको अध्यक्ष हुने' चेतावनी दिए । 'हामीले क्रान्तिका लागि अध्यक्षको हिँडाइ, बोलीचालीको नक्कल गर्‍यौं,' उनको भनाइ थियो, 'उहाँ सच्चिनु भएन भने मोहनविक्रम सिंहको जस्तो हालत हुनेछ ।'

सचिव पोस्टबहादुर बोगटीले दाहालको प्रस्तावले मुलुकलाई निकास दिने बताए भने अर्का सचिव सीपी गजुरेलले वैद्यको प्रस्ताव क्रान्तिकारी र वैज्ञानिक भएको दाबी गरे । केन्द्रीय पदाधिकारी र स्थायी समितिका गरी नौ जनाले बुधबार बोलेका थिए । उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ, सचिव बोगटी, स्थायी समिति सदस्य महराले अध्यक्ष दाहालको पक्षमा र महासचिव थापा, सचिव गजुरेल र स्थायी समिति सदस्य चन्दले उपाध्यक्ष वैद्यको पक्षमा बोलेका थिए । स्थायी समिति सदस्य अमिक शेरचनले भने मध्यमार्गी धारणा राखेका थिए ।

नेता देव गुरुङले संविधान निर्माणका विषयमा दाहालले आत्मसमर्पणवादी सम्झौता गरेको भन्दै १६ बुँदे 'सम्झौता कि आत्मसमर्पणवाद' शीर्षकको लिखित मत राखेका थिए । उनले पुरानै ढर्राको संविधान स्वीकार गरिएको, प्रस्तावनाबाट जनयुद्ध शब्द छाडेको, सबै युवालाई सैनिक तालिम दिने अडान त्यागेको, संसद्मा दुई सदन स्वीकार गरी कांग्रेस, एमालेको प्रस्ताव स्वीकार गरेको, संसद्को नाम पुरानै राखेको, मिश्रति निर्वाचन प्रणाली स्वीकार गरेको, सम्पत्तिको हदबन्दी लगाउने अडान त्यागेको आरोप दाहालमाथि लगाएका थिए ।

प्रकाशित मिति: २०६८ पुस १४ ०९:०३

No comments: