Saturday, November 26, 2011

लडाकु प्रमुख पासाङको अवकाश


गंगा बीसी
माओवादी सेनाका लडाकु प्रमुख नन्दकिशोर पुन 'पासाङ' अब सैन्य जीवनबाट पूर्ण रूपमा राजनीतिमा प्रवेश गर्दै छन् । माओवादी लडाकुहरू पूर्ण रूपमा नेपाली सेनामा समायोजन भइसकेपछि पासाङले सैन्य जीवनबाट अवकाश लिनेछन् । उनले लडाकु कमान्डर भएर १० वर्ष युद्ध मोर्चामा बिताए । हालसम्म उनी करिब १९ हजार लडाकु प्रमुखका हैसियतले माओवादीमै छन् । पार्टी पोलिट्ब्युरोसमेत रहेका उनी राजनीतिक कार्यथलो आफ्नै कर्मथलो रोल्पा बनाउने सुरमा छन् । २०२२ साल कात्तिक ७ गते रोल्पा राङसी, ७ मा जन्मिएका उनले करिब आठ वर्षको उमेरमा पढ्न सुरु गरेका थिए । रोल्पाकै थबाङबाट एसएलसी उत्तीर्ण गरेपछि उनले करिब १० वर्ष पढाए र सँगसँगै वामपन्थी राजनीति पनि सुरु गरे । 'अब म सैन्य जीवनबाट अवकाश लिएर पूर्ण रूपमा राजनीतिक जीवन सुरु गर्छु' उनले राजधानीको कपनमा रहेको लडाकुको कार्यालयमा भने, 'मेरो राजनीतिको मुख्य कार्यथलो रोल्पा हुनेछ ।' मगर खाम भाषाको प्रभाव बोलीमा व्यक्त गर्ने पासाङ तौलेर आफ्ना कुरा व्यक्त गर्छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल लडाकुको सुपि्रम कमान्डर भएका बेला स्थायी समिति सदस्य वर्षमान पुन, पोलिटब्युरो सदस्यहरू पासाङ, जनार्दन शर्मा र चन्द्रप्रकाश खनाल डेपुटी कमान्डर थिए । पुन र शर्माले २०६५ सालमा डेपुटी कमान्डर छाडेका थिए । दाहालले सुपि्रम कमान्डर छाडेपछि पासाङ लडाकु प्रमुख बनेका थिए । उनी लडाकु प्रमुख नभएको भए पुन र शर्माजस्तै उनी पनि मन्त्री भइसक्ने थिए । नेपालमा संयुक्त राष्ट्र संघीय राजनीतिक मिसन नेपाल आएपछि उनले अर्को जिम्मेवारी संयुक्त अनुगमन संयोजन समितिमा बसेर काम गरे । शान्ति प्रक्रियाको पाँच वर्षको अवधिमा पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गरेको उनको बुझाइ छ ।
'मैले पार्टीको नेता र सेना भएर काम गरेँ' उनले भने, 'जनमुक्ति सेनाको निर्माण र त्यसले दिएको जिम्मेवारी पूरा गर्न मैले धेरै पसिना बगाएँ । मैले आफ्नो फाइदाका लागि काम गरेको थिइनँ । अब पनि म पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु । त्यो विशुद्ध राजनीतिक जीवन हुनेछ ।' शान्ति र संविधान निष्कर्षमा पुगेपछि हुने निर्वाचनमा आफू रोल्पाबाट सांसद बन्ने योजना उनको छ । 'जनमुक्ति सेना समायोजन भएर निष्कर्षतिर पुग्यो र संविधान टुंगोमा लागेपछि हुने निर्वाचनमा म रोल्पाबाट उम्मेदवार
हुन्छु' उनले भने ।
लडाकु आफ्नो विभागमा नपरेको भए उनी मन्त्री भइसकेका हुने थिए । राजनीतिमा आइसकेपछि उनको चाहना के छ ? १० वर्ष विशेष गरी सैन्य क्षेत्रमा काम गरेको हुनाले उनले आफ्नो अनुभव त्योसँग मिल्ने मन्त्रालय चलाउन चाहन्छन् । 'अवसर मिल्यो भने गृह र रक्षा मन्त्रालय चलाउने रुचि छ' उनको भनाइ छ, 'यी दुवै मन्त्रालयमा नयाँ गर्न सकिन्छ भन्ने लागेको छ ।'
त्यसो त उनको नाम अनमिन प्रमाणीकरण सूचीमा छैन तथापि उनले आफू समायोजनमा जान नचाहको कारण पनि खुलाए । यद्यपि बेलाबेला सेना समायोजनको बहस हुनेबेला उनको नाम पनि चर्चामा आउँथ्यो । सेनाअन्तर्गत बन्ने महानिर्देशनालयको मेजर जनरले बन्ने चर्चा पनि चल्यो । तर उनले आफू सेनामा जाने विचार नआएको जनाउँछन् । 'म जाँदा सेनाभित्र अप्ठ्यारो पर्ने मलाई महसुस भयो' उनले कुरा खोले, 'अब मेरो चाहना नेपाली सेना रूपान्तरण होस् भन्ने छ ।' माओवादीले महानिर्देशनालयको नेतृत्व पाउने र राजनीतिक निर्णय भएमा उनलाई सेनामा पठाउने सम्भावना पनि थियो । तर अब त्यो सम्भावना एकदम न्यून भइसकेको छ ।
नेपाली सुरक्षा निकायका प्रमुखसँग आफ्नो राम्रो सम्बन्ध भएको उल्लेख गर्दै उनले एक रोचक कुरा पनि सुनाए । 'सुरक्षा निकायका प्रमुखसँग मेरो सम्बन्ध छ, भेट हुँदा राम्रो कुराकानी हुन्छ' उनले भने, 'एकअर्कालाई हामी दोहोरो स्यालुट पनि गर्छौं ।'
पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका पासाङ १० वर्षे सशस्त्र युद्धका बेला अधिकांश ठूला कारबाहीका योजनाकार, कमान्डर हुन्् । २०५२ साल फागुन एक गते रोल्पाको होलेरीबाट प्रत्यक्ष युद्धमा सहभागी उनको युद्धको अन्तिम मोर्चा थियो म्याग्दीको बेनी । उनी पराजित भएको लडाइँको मोर्चा रुकुमको खारा थियो ।
माओवादीले २०५२ सालमा युद्ध सुरु गर्नुअघि पासाङलाई तालिम लिन पठाएको थियो । उनले तामिल लिएको स्थानबारे बताउन नचाहे पनि भाइचारा पार्टी -अन्य माओवादी) बाट आफूले छापामार तरिका सिकेको बताए । 'मैले भाइचारा पार्टीबाट पहिलोपटक तालिम लिएको थिएँ' उनले भने, 'त्यसपछि मैले तालिमबारे सैन्य कोर्स बनाएँ, बनाउन मिल्ने धेरै हतियार पनि बनाइयो ।'
माओवादीले सबभन्दा ठूलो क्षति बेहोरेको खारा आक्रमण पराजित हुँदै निकै दुःख लागेको उनले सुनाए । लडाकुभित्र घुसपैठ भएको कारण आफूले हार बेहोर्नुको कारण उनले जनाए । 'हाम्रो एकजना कम्पनी कमान्डरलाई तत्कालीन शाही सेनाले किनेको रहेछ' उनले भने, 'मैले जनमुक्ति सेनालाई दिएको प्रशिक्षणको टेप सेनाकहाँ पुगेछ । त्यसपछि असफल भयो ।'
अन्य कमान्डरको आँखामा पासाङले माओवादी सेनालाई उचाइमा पुर्‍याएको बुझाइ छ । तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्की फौजी र रणनीतिक हिसाबले 'जनसेनालाई उचाइमा पुर्‍याएको' बताए । 'जनमुक्ति सेनाका लागि उहाँले निकै मिहिनेत गर्नुभयो' उनले भने, 'फौजी र प्राविधिक हिसाबले उहाँले निकै दुःख र मिहिनेत गरेर जनमुक्ति सेनालाई यहाँ ल्याइपुर्‍याउनुभयो । जस्तोसुकै कठिन अवस्थामा पनि उहाँले सम्भव बनाउने प्रयास गर्नुभयो र धेरै स्थानमा हामीले सफलता पनि पायौँ ।'
लडाकुहरू समायोजन हुनु आत्मसर्पण हो ? यो प्रश्न गर्न नपाउँदै उनले तत्काल जवाफ फर्काए, 'यो जनमुक्ति सेनाको जित हो । माओवादी नेतृत्वमा सरकार भएको बेला अघि बढेको सेना समायोजन प्रक्रिया कसरी आत्मसर्पण भयो ? यसले संघीय गणतन्त्रलाई संस्थागत मात्र गर्दैन, मुलुकलाई समाजवादतिर उन्मुख गराउँछ । यो प्रक्रिया आत्मसर्पण हो भन्नेहरूले कुरा बुझेका छैनन् ।'
२०४८ साल रोल्पाका जनमोर्चामा कार्यरत भएका बेला उनलाई तत्कालीन सरकारले उनीमाथि थुप्रै मुद्दा लगाएको उनले जानकारी दिए । त्यसबेला आफ्नो टाउकाको मूल्य तोकेको जनाए । 'ममाथि दर्जनौं झूटा मुद्दा लगाएको थियो, त्यसबेला नै मेरो टाउकाको मूल्य ३५ हजार तोकिएको थियो' उनको भनाइ थियो । माओवादी युद्ध सुरु हुनअघि २०५१ सालमा रोल्पाको राङ्सीमा प्रहरीले गोली चलाउँदा आफ्नो हातमा लागेको उनले बताए ।
२०४५ सालदेखि विद्यार्थी राजनीति हुँदै राजनीतिमा लागेका पासाङ राजनीतिमा लाग्नुको कारण माओवादी स्थायी समिति सदस्य कृष्णबहादुर महरा हुन् । महराले लिबाङ पढाउने क्रममा प्रभावित भई राजनीतिमा लागेका थिए ।
राजनीतिमा नलागेको भए उनी के हुन्थे ? 'सायद शिक्षक' उनले भने । आफ्नो विशेषगरी सैन्य राजनीतिक जीवनबारे बताइरहेकै बेला उनकी श्रीमती हस्तमाली पुनले ध्यानसित कुरा सुनिरहेकी थिइन् । युद्धमा अधिकांश श्रम खर्चेका पासाङलाई अन्त्यतिर के उपलब्धि भयो भनेर प्रश्न गरियो, 'युद्धमा मैले भाइ गुमाएँ । घरपरिवारले यातना पाए । तर हामीले धर्मनिरपेक्षतासहित मुलुकमा संघीय गणतन्त्र पायौँ ।' राजनीतिक निर्णय भयो भने नेपाली सेनामा जानुहुन्छ भन्ने प्रश्नमा मुस्काउँदै पासाङले भने, 'अब मजाले राजनीति गर्ने बाटो खुलेको छ । अब पूर्ण रूपमा राजनीतिमै लाग्छु ।'

No comments: