Saturday, November 19, 2011

'प्रचण्डपथ' ब्युँताउने तयारी

गंगा बीसी
काठमाडौं, मंसिर ३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०६५ मा स्थगित गरिएको प्रचण्डपथ ब्युँताउने संकेत गरेका छन् । माओवादी र तत्कालीन एकता केन्द्र मसालबीच २०६५ पुसमा पार्टी एकता भएपछि प्रचण्डपथ स्थगित गरिएको थियो जब कि वैद्यले २०५७ मा प्रचण्डपथ बनाउनु नै गल्ती भएको विश्लेषण गरेका छन् ।
 दुई नेताको विचार हेर्दा शान्ति र संविधानको लाइनमात्र होइन, आगामी राजनीतिक कार्यदिशामा समेत ठूलो अन्तर देखिन थालेको छ ।
पार्टीको मार्गनिर्देशन सिद्धान्तबाट प्रचण्डपथ हटाएपछि केही नेताहरू बढी अराजक भएको भन्दै दाहालले त्यो फेरि ब्युँताउन सक्ने धारणा सार्वजनिक गरेका हुन् । 'कहिलेकाहीं त मलाई बेठीक गरिएछ कि भन्ने पनि लाग्छ, त्यो प्रचण्डपथ राखिराखेको भए अहिले मान्छेलाई धेरै गाह्रो पथ्र्यो । त्यो हटाइदिएर बाँदरलाई लिस्नो जस्तो भएको छ,' उनले दुई महिने विचारप्रधान पत्रिकालाई लामो अन्तर्वार्ता दिँदै भनेका छन्, 'प्रचण्डपथलाई बेठीक भनेर हटाइएको होइन, स्थगित गरियो र भित्र आन्तरिक बहसमा लाने भनियो । महाधिवेशनमा गएर टुंग्याउने भनिएको हो । यस दृष्टिकोणले सैद्धान्तिक गल्ती भएको जस्तो मलाई लाग्दैन । तर प्राविधिक र व्यावहारिक ढंगले कहाँ असर पर्‍यो त भनेर हेर्दा २०५७ मा प्रचण्डपथ भनेदेखि शान्ति प्रक्रियामा आउँदासम्म पाँच वर्षको अवधिमा र शान्ति प्रक्रियामा आएर प्रचण्डपथ स्थगित हुँदाको विश्लेषण गर्न जरुरी देखेको छु ।'
त्यसबेला अध्यक्षको हैसियतले दाहालले युद्धलाई उत्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनको उपनामबाट 'प्रचण्डपथ' लाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्वीकार गरिएको थियो ।
उपाध्यक्ष मोहन वैद्यले 'दी ग्रेटवे' को मंसिर अंकलाई दिएको अन्तर्वार्तामा भने प्रचण्डपथ स्वीकार गर्नु गल्ती भएको बताएका छन् । 'त्यसबेला हामीलाई नेतृत्वप्रति ठूलो विश्वास थियो । हामीले हाम्रो अध्यक्षलाई माओको स्थानमा राख्यौं र प्रचण्डथलाई पछ्यायौं' उनले भनेका छन्, 'माओजस्तो व्यक्तिले पनि गल्ती गर्छन् भन्ने कुरा हामीले विचार गरेनौं, त्यो हाम्रो अर्को कमजोरी थियो ।'
किन दाहालले प्रचण्डपथको कुरा उठाए ? पार्टीभित्र अन्तरसंघर्ष चर्किने मात्र होइन, वैद्य पक्षका महासचिव रामबहादुर थापालगायतले खुला चुनौती दिएपछि उनले त्यस्तो आवश्यकता देखेका हुन सक्छन् । अब प्रचण्डपथलाई बहसमा लिने तयारी संस्थापन पक्षले गरेको छ । दाहाल निकट पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले प्रचण्डपथ अब स्वतः बहसमा लैजाने बताए ।
'पार्टी एकतापछि प्रचण्डपथको विषय थप छलफल गर्न स्थगित गरिएको हो' उनले कान्तिपुरसँग भने, 'महाधिवेशनसम्म लैजान र योभन्दा उच्च संश्लेषण गरौं भनेर स्थगित गरिएको हो । अब प्रचण्डपथलाई आन्तरिक बहसमा लैजानुपर्छ । विचारधारात्मक रूपले बहस चल्दा यो स्वतः आउँछ ।'
क्रान्तिको केही कार्यभार पूरा
माओवादीभित्र शान्ति र संविधानको बाटो कि जनविद्रोह भन्ने विवाद चर्किरहेका बेला दाहालले 'नयाँ जनवादी क्रान्ति' को केही कार्यभार पूरा भइसकेको बताएका छन् । मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि शान्ति र संविधानको कार्यभार पूरा भए नेपाली मोडेलको जनवादी क्रान्ति पूरा हुने उनको निष्कर्ष छ ।
शान्ति र संविधान निष्कर्षमा पुगेपछि समाजवादका बहस थाल्नु उपयुक्त हुने निष्कर्ष निकाल्दै पुरानो तरिकाले क्रान्ति सम्भव नभएको तर्क गरेका छन् । 'नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार (केही कार्यभार त हामीले पूरा गरेकै हो) र समाजवादी क्रान्ति पूर्ण गर्ने रणनीति एउटैमा आएर केन्दि्रत भएको छ,' उनले भनेका छन्, 'एकैचोटि नयाँ जनवादी क्रान्ति सकौं अनि त्यसपछि समाजवादी क्रान्ति भन्नेतिर भन्दा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार र जनविद्रोह, सशस्त्र विद्रोहद्वारा समाजवादी क्रान्ति पूर्ण गर्ने कुरा एउटैमा आएर केन्दि्रत भएको छ ।' यसअघि माओवादीले 'जनवादी क्रान्ति' पूरा भएपछि मात्र समाजवादतिर जान सकिने आधिकारिक नीति हो ।
शान्ति र संविधान निष्कर्षमा पुग्नेबित्तिकै दाहालले क्रान्तिको परिभाषा नयाँ ढंगले गरी समाजवाद प्रवेशका लागि नयाँ बहस चलाउन सुरु गरेका हुन् । 'पुरानो तरिकाले क्रान्ति सम्भव छ भन्ने ठान्छन्, यो आत्मरतिमात्रै हो' दाहालले भनेका छन्, '२०५२ सालतिर र्फकन चाहने या २०२८ सालतिर र्फकने यी सबै सोचहरूमा वैचारिक दुविधा वा भ्रम देखापरेको छ । अब दीर्घकालीन जनयुद्ध वा छापामार युद्ध भन्नु त्यो पश्चगमन हुन्छ ।'
२०५२ माओवादीले सशस्त्र युद्ध र २०२८ मा झापा विद्रोह भएको थियो । अब सशस्त्र संघर्षको बाटो असम्भव भएको ठान्नु दाहालले शान्ति र संविधान निष्कर्षमा पुर्‍याएर क्रान्तिको नयाँ परिभाषा दिन खोजेका छन् ।
'शान्ति र संविधान निष्कर्षमा पुग्यो भने क्रान्तिले नयाँ परिभाषा आवश्यक हुन्छ' दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेल भने, 'मुलुकमा गणतन्त्र, धर्मनिरपेक्ष र शान्ति, संविधान निष्कर्षमा पुग्यो भने नयाँ बहस आवश्यक पर्छ नयाँ ढंगको क्रान्तिको ।'
उपाध्यक्ष मोहन वैद्य पक्षले चुनवाङ बैठकले लिएको कार्यदिशा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक गणतन्त्र गलत भएको भन्दै विरोध सुरु गरेको बेला दाहालले क्रान्तिको नयाँ मोडेलको कार्ड फ्याँक्नु अर्थपूर्ण छ ।


प्रकाशित मिति: २०६८ मंसिर ३ १२:२१

No comments: