Sunday, November 6, 2011

प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

काठमाडौं, कार्तिक २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधान निर्माण टुंगिनुअघि आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । शान्ति प्रक्रियामा सहमति भइसकेकाले अब उनी प्रधानमन्त्री बन्ने टिकाटिप्पणी चल्न थालेपछि उनले यस्तो प्रस्टीकरण दिएका हुन् ।
शान्ति प्रक्रियासम्बन्धी हालै भएको सातबुँदे सहमतिबारे तल्ला समितिलाई जानकारी गराउने परिपत्र तयार पार्ने काम केहीबेर रोकेर दाहालले आफ्नै निवासमा शनिबार संवाददाताहरूसँग भने, 'अहिले बाबुरामजीलाई हटाएर म प्रधानमन्त्री हुने कुरा सोचेको पनि छैन ।'
भट्टराई नेतृत्वको सरकारलाई हटाउन खोज्दा शान्ति र संविधानको प्रक्रियामा पनि नकारात्मक असर पर्ने उनको भनाइ थियो । 'राष्ट्रिय सहमतिको सरकार बन्यो भने पनि मचाहिँ प्रधानमन्त्री हुने इच्छा छैन, त्यो भूमिकातिर पनि छैन,' उनले स्पष्ट पारे ।
दाहालले भावी मार्गचित्र पनि लुकाएनन् । 'शान्ति प्रक्रिया र संविधान लेखन टुंग्याएर अर्को चुनावमा म कार्यकारी प्रमुखका लागि लड्छु । यो प्रक्रिया टुंग्याएरै जनताकहाँ जाने इच्छा छ मेरो । मैले यो कुरा लुकाएको पनि छैन,' उनले थपे, 'मेरो पहिलो प्रयास शान्ति र संविधान टुंग्याउनेतिरै छ ।'
उनले आफू र भट्टराईबीच फाटो ल्याउन प्रधानमन्त्री बन्न लागेको हल्ला चलाइएको हुन सक्ने उल्लेख गर्दै त्यस्ता खबरले आफूलाई दुःखी तुल्याउने बताए । 'कतिपयले मेरो र बाबुरामजीबीच फाटो पार्ने चलखेल गरेका हुन सक्छन्,' दाहालले भने, 'अलिकति शंका भयो भने त्यसले लंका खान्छ । म छिट्टै प्रधानमन्त्री हुने सोचेको बिल्कुलै होइन, सञ्चार माध्यममा वा कतै बुद्धिजीवीको दिमागमा त्यस्तो आयो भने त्यो मलाई सबभन्दा ठूलो पीडाको विषय हुन्छ ।'
उनले सातबुँदे सहमतिमा राष्ट्रिय सरकार बनाउने भन्नुको अर्थ तत्काल यो सरकार हटाउने र नयाँ बनाउने नभएको बताए । उनले भने, 'संविधान (को प्रक्रिया) टुंग्याउन ठूलो पार्टीको हैसियतले भूमिका खेल्छु, पहल गर्छु भनेकै थिएँ । अस्तिको शान्ति प्रक्रियासम्बन्धी सम्झौता पनि जोखिम लिएर, त्याग गरेरै भएको हो । अब म शान्ति र संविधानमै केन्द्रित हुन्छु ।'

लुम्बिनीबारे बानसँग वार्ता हुने
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल बृहत्तर लुम्बिनी विकास राष्ट्रिय समितिका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनसँग छलफल गर्न सोमबार न्युयोर्क प्रस्थान गरेका छन् । त्यहाँ उनले महासचिव बानसँग लुम्बिनीको विकासमा सहयोगका लागि छलफल गर्ने बताए ।
'लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने उद्देश्यका साथ उहाँसँग छलफल हुनेछ,' दाहालले भने, 'राष्ट्रसंघले यसबारे प्रभावकारी कदम चाल्दा साधनस्रोत जुटाउन सकिन्छ भन्ने लागेको छ ।' उनले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिमा बस्न पनि बानलाई आग्रह गर्ने बताए ।
लुम्बिनीको विकासका लागि त्यस क्षेत्रसँग सीमा जोडिएको भारतसँग समन्वय हुनुपर्ने उनको भनाइ छ । 'भारतलाई साथ लिएर अघि बढेर लुम्बिनीको विकास गर्न सकिन्छ,' उनले भने, 'किनभने गौतमबुद्धसँग भारतको पनि सम्बन्ध छ ।' उनले लुम्बिनीलाई विश्वको केन्द्र बनाउन सबै दातृ निकायलाई सहभागी गराउने आफ्नो प्रयास हुने बताए ।
आफू सरकारले बनाएको समितिका तर्फबाट न्युयोर्क जान लागेको उल्लेख गर्दै उनले लुम्बिनीको विकासका लागि 'एपेक' एउटा भागमात्र हुन सक्ने बताए । चिनियाँ संलग्नता रहेको र बेइजिङमा मुख्यालय रहेको गैरसरकारी संस्था एपेकबारे महासचिव बानलाई समेत जानकारी भएको उनले उल्लेख गरे । 'बान कि मुनलाई पनि एपेकबारे थाहा छ,' दाहालले भने, 'एपेक अछूत हो भनेर केही मान्छेले भनेका छन्, यो गलत बुझाइ हो ।'
उनले बानलाई सोमबार भेट्ने तय भएको स्वकीय सचिव समीर दाहालले जानकारी दिए । अध्यक्ष दाहालले न्युयोर्क भ्रमणका क्रममा लडाकुको पुनःस्थापना प्याकेजमा सहयोग गर्न पनि आग्रह गरिने जानकारी दिए ।
'लडाकुको पुनःस्थापनाको विषयमा पनि मेरो कुरा हुन्छ,' उनले भने, 'अमेरिका, युरोपियन युनियन पैसा दिनभन्दा तालिम, शिक्षामा सहयोग गर्न इच्छुक छन् । कुनै न कुनै रूपले पैसा दिन सकिन्छ भन्ने देशहरू पनि छन् ।' उनले समायोजनमा जाने लडाकुको पद मिलान समस्यामा नपर्ने जनाए । 'सहमति कार्यान्वयन गर्न समस्या हुँदैन,' उनले भने, 'पुनर्वर्गीकरण प्रक्रियासँगै पद मिलानबारे छलफल हुनेछ ।'
अमेरिकी वरिष्ठ अधिकारीसँग आफ्नो भेट गर्ने कार्यक्रम नभएको उनले स्पष्ट गरे । 'ओबामा, हिलारीसँग भेट्ने हल्ला गलत हो,' उनको भनाइ थियो । उनी झन्डै एक सातापछि स्वदेश र्फकने छन् ।

No comments: