माघ ३, २०७२- केही दिनअघि ढाकाटोपी दिवस परेछ, समाजिक सञ्जालका भित्ता
टोपीवाल तस्बीरले पोतिए । गौरवका साथ टोपी लगाइयो र भनियो, ‘हाम्रो
स्वाभिमान झुक्दैन ।’
ठिक त्यसबेला मधेसका बिभिन्न जिल्लामा धोती जुलुस भइरहेको थियो । जुलुसका
सहभागी धोती पहिरिएका मधेसीहरु गौरवका साथ भन्दै थिए, ‘हाम्रो स्वाभिमान
झुक्दैन ।’
टोपी र धोती लगाउने दुबै नेपाली हुन् र हुनेछन् । फरक परिस्थितिमा दुबैले
भने, ‘हाम्रो स्वाभिमान झुक्दैन ।’ टोपी होस् वा धोती स्वाभिमान कहाँ फरक
हुन्छ र ? स्वाभिमान भनेको पहाड र मधेसमा फरक हुने होइन । पहाडमा पनि
हुन्छ, मधेसमा पनि । टोपीमा पनि धोतीमा पनि । गैरमधेसी र मधेसी एउटै देशका
बासिन्दा हुन् । भूगोल मात्र फरक, शरीर रङ कालो गोरो मात्र, मन एउटै नेपाली
।
पहाडमा बसेको पहाडी, मधेसमा बसेको मधेसी फरक यत्ति हो । यसमा बिभेदका रेखा
कोर्न खोज्नेको दोष हो । हामी नेपालीको के दोष ? हामीलाई एक आपसमा भिडाएर
फाइदा लिनेहरु पो विभेदकारी ।
अहिले मधेसमा आन्दोलन छ, पहाडमा छैन । यसको अर्थ पहाडमा बस्ने जतिले अधिकार
पाए भन्ने होइन । मधेसमा भएको आन्दोलन पहाडमा बस्ने कुनै समुदायसँग लक्षित
पनि होइन । कुनै बेला पहाडमा अधिकारका लागि आन्दोलन होला, त्यो मधेसी
समुदायबिरुद्ध हुन सक्दैन । मधेसमा बस्ने जति सबै मधेसी । त्यहाँ मधेसीसहित
पहाडी भनिने समुदाय मिलेर बसेका छन् । पहाडमा पनि मधेसी समुदायको बसोबास
भएकै छ । त्यस्तै सबै क्षेत्रमा बिभिन्न समुदायका ब्यक्तिहरु मिलेर बसेका
छन् । आपसमा दुश्मनी कसैसँग छैन भने बिभेदको बिउँ रोप्ने प्रयासभित्र कुनै
भयंकर षड्यन्त्र लुकेको हुन्छ ।
पहाडमा टोपी चल्छ, मधेसमा धोती । हिमाल र पहाडका अन्य क्षेत्रमा आआफ्नो
परम्परा अनुसारको पहिरन चल्छ । पहिरन फरक भएर के भो ? देश त एउटै हो नि ।
स्वाभिमान एउटै हो । बिगतमा एउटाले अर्कोलाई होच्याउने काम भयो होला । कोही
राजा र कोही रैति भएकै हो । अहिले त जनताको छोराछोरी राष्ट्रपति हुने
व्यबस्था छ । संविधानले कुनै पनि समुदायलाई राष्ट्रप्रमुख हुन छेकेको छैन् ।
बाटो सबैका लागि खुला छ । यसअघि मधेसी राष्ट्रपति थिए, अहिले महिला ।
उपराष्ट्रपति पहिले मधेसी थिए, अहिले मगर छन् । यो बदिलिदो व्यवस्थाले
ल्याएका अवसर हुन् ।
स्वभाविकै रुपमा हाम्रो भाषा, संस्कृति फरक होला । हाम्रो चालाचालन फरक
होला । तर, भावना फरक नभए पुग्यो । सबैको अन्तरभावना नेपाली भए पुग्यो ।
मधेसमा अधिकारका लागि हुने आन्दोलनमा गैरमधेसी समुदायले समर्थन गरे, कतिपय
क्षेत्रमा जुलुसमै सहभागी भए । उनीहरु बाध्यताले सहभागी भएका होइनन्,
‘हिमाल, पहाड, तराइ, कोही छैन पराई’ भन्ने भावनाले काम गरेको छ । पहाड र
हिमाली क्षेत्रमा हुने अधिकारका लागि हुने आन्दोलनमा मधेसी समुदायको समर्थन
रहन्छ ।
पहिचानका लागि पहिरनको ठूलो महत्व छ । त्यसैले त पहिरनलाई हामीले महत्व
दिन्छौ । बिभिन्न जातजातिको फूलाबारी त्यसै भनिएको होइन । यो इतिहासको डोरी
चुडाउने प्रयास निरन्तर हुन्छ तर अहिलेसम्म अटुट छ, रहने छ । एउटा
समुदायले अधिकार माग्नु भनेको अर्को समुदायको अधिकार खोस्नु होइन ।
सकरात्मक पक्ष मान्नुपर्छ, गैर मधेसी समुदाय पनि कुर्ता, धोती र गम्छा
लगाउन थालेका छन् । मधेसी समुदाय टोपी, दौरासुरुवाल लगाउन सुरु गरेका छन् ।
यो हेर्दा सामान्य लागे पनि यसभित्र एकआपसमा भावनात्मक सम्बन्ध गाँसिएको छ
। मधेसी र गैरमधेसी समुदायबीच औपचारिक रुपमा बिहाबारी चल्न थालेको छ ।
त्यस्तै अन्य समुदायबीच पनि । यसले सम्बन्धको गाँठो अझ कसिलो बनाएको छ ।
गैरमधेसी कुर्ता, धोती र गम्छाप्रति आकर्षित हुनु र मधेसीले टोपीलाई सम्मान
गर्नु एकअर्काको अधिकार, संस्कृतिलाई सम्मान गर्नु हो ।
एकले अर्कालाई सम्मान नगर्ने संस्कृतिको विकास गर्न नखोजिएका होइन । एउटाको
अधिकार खोसेर अर्कोले लिने नारा पनि नआएको होइन । बिगत पंचायतकालमा थोरै
वर्गले अधिकार कब्जामा राखेका थिए । समय परिवर्तनशील छ, धेरै परिवर्तन
भइसकेका छ । बिभिन्न समयमा भएका संघर्षले बिगतको बिरासतलाई तोडिदिएको छ ।
बिभिन्न समुदायबीच स्वस्थ्य प्रतिस्पर्धा हुनु स्वभाविक छ । बिगत १० वर्षे
युद्धजस्तो दुश्मनीले एकअर्काको अस्तित्व अस्वीकार गर्छ । जतिसुकै युद्ध भए
पनि अन्तत: सम्झौता र सहमतिमा धेरै कुराको समाधान हँुदै आएको छ । अहिले
हेरौ, कांग्रेस, एमाले, एमाओवादी प्रतिस्पर्धाबीच सहकार्यमा अघि बढेका छन् ।
उनीहरुले संविधान जारी गरेका छन्, संविधानप्रति असन्तुष्टि जनाए पनि मधेसी
दलको माग सम्बोधन हुने क्रममा छ ।
अब यस्तो दिन पनि आउने छ, गैरमधेसी समुदायलाई टोपी उपहार दिनेछन्, मधेसी
समुदायले गैरमधेसी समुदायलाई धोती उपहार दिनेछन् । अरु समुदायले आफ्नो
बिशेषता अनुसार उपहार दिनेछन् । यो त्यस्तो सुखद क्षण हुनेछ, त्यसबेला
हामीलाई कसैले जित्न सक्ने छैन । हामी भिड्दा हारेको र मिल्दा जितेको
इतिहास हाम्रो सामु छ । १० वर्षे युद्धमा न माओवादीले जित्यो, न राज्यले ।
अन्तत: सहकार्यमा आएपछि दुबैले जिते, मुलुकमा गणतन्त्र आयो । त्यही जितको
सिंढी चढेर हामी अघि बढिरहेका छौ । मिल्न सक्नुनै जितको धरातल बनाउनु हो
भन्ने इतिहास सिद्ध गरिसकेको छ ।
हामीबीच बेलाबेलामा मनमुटाव नभएको होइन, सँगै बस्दा घोचपेच हुनु स्वभाविक
हो । एउटै घरमा बस्दा झगडा पनि हुन्छ, मेलमिलाप पनि हुन्छ । झगडा भयो
भन्दैमा घरमा आगो लगाउने भने खरानी हेरेर पछुताउनु बाहेक अरु हँुदैन । रिस
नउठ्ने मानवप्राणाी को होला र ? हामी रिसाउन पनि जानेका छौ, मिल्न ।
अहिलेको अवस्थामा मधेसी समुदाय बढी रिसाएका होलान्, वार्ता जारी छ । एक दिन
मिल्ने अवस्था आउने छ, एकले अर्कालाई सम्मान गर्ने संस्कृति पुरानै हो ।
त्यसमै हाम्रो हित छ । हैन भने हामी लडिरह्यौ भने एक दिन हामी धोती न टोपी
हुने अवस्था आउन सक्छ ।
No comments:
Post a Comment