Sunday, January 17, 2016

सहिदकी छोरी

 गंगा बीसी
यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु । बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय यही हो । बिहानी आफैंमा क्रान्तिकारी नाम लाग्न सक्छ । यसमा केही सत्यता नभएको पनि होइन । तर, त्योभन्दा सत्य उनको छोटो जीवनमा आएको उतारचढावको कथामा छ । दिनको बिहानीमा जसरी पूर्व क्षितिजमा लाली छाउँछ, बिहानी बुढाथोकीको जीवनमा भने त्यो कहिल्यै आएन । करिब नौ वर्षअघिको कुरा– उनी सात वर्ष जतिकी थिइन् । नौलो मान्छेसँग बोल्न डराउँथिन् । नौलो मान्छे देख्यो कि घरभित्र वा छाडीतिर लुक्थिन् । उनलाई डर लाग्थ्यो । उनी सानो छँदा साँच्चिकै डरलाग्दो अवस्था थियो । मुलुकमा ‘दुई सरकार’ थिए, श्री ५ को सरकार र ‘माओवादी सरकार’ । दुवैको टकरावबाट डरैडर उत्पन्न भएको थियो । त्यही डरको भुमरीमा परेकी थिइन्, बिहानी । मैले त्यस बेला उनलाई देख्दा आमासँग रोइरहेकी थिइन् । उनकी आमा भन्दै थिइन्, कापी किन्ने पैसा नभएर रोइरहेकी छ । कापी किन्ने पैसा पाएपछि उनको अनुहारमा चम्किएको थियो, चन्द्रमाको जूनजस्तै, बिहानीको लालीजस्तै सुन्दर । ------ बिहानीका लागि धेरै वर्ष एउटा प्रश्न अनुत्तरित रह्यो । उनी शब्द, अनि वाक्य बोल्न सिकेदेखि त्यो प्रश्न गरिरहिन्, बाबा खै ? कलिलो मस्तिष्कमा नकारात्मक प्रभाव नपरोस् भनेर उनकी आमा भन्थिन्, ‘बाबा कालापहाड (भारत) जानुभएको छ । फर्केर आउँदा मिठाई लिएर आउनुहुन्छ ।’ बिहानीले त्यो कुरा पत्याइन् । मानिसहरु कालापहाड गइरहन्थे । बाबा आउलान् र मिठाई खाने भन्ने आसमा उनी दिनरात, महिना वर्ष दिन पर्खिरहिन र आमालाई निरन्तर प्रश्न गरिरहिन् । तर, बाबा आएनन् । अलि बुझ्ने भएपछि भने बिहानीलाई बाबा कति निर्दयी रहेछन् भन्ने लाग्यो । वर्षौं भइसक्यो, बाबा घर आएनन् ! सबै साथी भाइका बाबा छन्, तर उनका छैनन् । उनलाई निरन्तर लागिरहन्थ्यो, बाबा किन आएनन् ? उनकी आमाले पनि निरन्तर ढाँटिरहिन्– बाबा आउँछन् र मिठाई ल्याउँछन् । एक दिन बिहानीकी मिल्ने साथीले उनका बाबाबारे रहस्य खोलिदिइन् । तिम्रा बाबा कालापहाड गएका छैनन् । सहिद भएका हुन् रे ! अब कहिल्यै घर आउँदैनन् रे ! ती साथीले सुनाइन्, ‘युद्धमा मारिएकालाई सहिद भन्छन् रे । हो, त्यही भएको हो ।’ मेरा बाबा छैनन्, अब हामीले कसलाई बा भन्ने ? उनलाई बाबा भन्ने शब्दले सताइरह्यो । उनलाई आमासंँग रिस उठ्यो । उनले आमासँग झगडा गरिन्, ‘आमा तिमीले किन ढाँट्यौ ।’ त्यसबेला उनकी आमाले जवाफ दिन सकिनन्, बरु उनका आँखाबाट आँसु झर्न थाले । आमा छोरी डाँकै छोडेर रोए । त्यसपछि उनले बा युद्धमा मारिएको सुनिन् । तर, उनलाई आमाले लिएको आसले पिरोल्न भने छोडेन । कतै बाबा कालापहाडबाट आइहाल्छन् कि ? ------ बिहानीका बाबा सानैदेखि लडाकू स्वभावका थिए । माओवादी युद्ध उत्कर्षमा पुगेका बेला लक्का जवान भइसकेका थिए । माओवादी युद्धले उनलाई तान्यो र उनी लडाकू बने । दर्जनौं मोर्चामा सहभागी भएका उनी खाराको दोस्रो आक्रमणमा मारिए । माओवादी तत्कालीन शाही नेपाली सेनाबाट पराजित भएपछि आफ्नो बाटो लाग्ने क्रममा थिए । त्यसबेला खाराभन्दा केही टाढा सेना र माओवादी लडाकूबीच भिडन्त भयो, सेनाले राइफल छोडेर पछि हटे । त्यही क्रममा राइफल लिन जाँदा उनी मारिएका थिए । उक्त खबर धेरै दिनपछि मात्र बिहानीकी आमालाई सुनाइएको थियो । ------ चार वर्षअघि रुकुम पुग्दा बिहानीसँग फेरि भेट भयो, घाँसको भारी लिएर फर्कंदै थिइन् उनी । सात कक्षामा पढ्थिन् त्यसबेला । मैले सोधें, ‘पढाइ कस्तो छ बिहानी ?’ ‘के पढाइ हुनु र बाजे ? पढ्ने समय नै हुँदैन (उनले मलाई बाजे भन्नुपर्छ) । आमालाई सहयोग गर्नुपर्छ । काम नगरे खान पाइँदैन ।’ कलिली बिहानीको मुख्य काम घरको कामकाज र सहायक काम पढाइ थियो । पहाडमा सबैजना मिलेर काम नगरे बारी, खेतमा अनाज फल्दैन । गाईवस्तु नपाले गोबर हुँदैन, गोबर नभए बारीमा हाल्ने मल हुँदैन । बिहानी दिनरात त्यही काममा लाग्थिन्, बचेको समयमा पढ्थिन् । उनकी आमा आफू काममा जोतिएर भए पनि छोरा र छोरीलाई पढाउनुपर्छ भन्थिन् । काम गर्ने मान्छे नपाउँदा बिहानीकी आमाले आफैं हलो जोत्थिन् । ‘मैले जति काम गरेकी छु, यिनै बच्चाका लागि हो, यिनकै लागि बाँचेको जस्तो भएको छ,’ उनी भन्थिन् । आमाले हलो जोतेको देख्दा बिहानीलाई अनौठो लाग्थ्यो । अरू घरमा पुरुषले हलो जोत्छन्, हाम्रोचाहिँ आमाले ? कहिलकाहीं बिहानी आफैंले सकिनसकी हलो जोतिन्, आमालाई अलिकति सहयोग होस् भनेर । आफ्नी आमाको साहस देखेर बिहानी छक्क पर्थिन्, कलिलो उमेरमा बिधवा भएर आमाले कति काम गर्न सकेकी ? बिहानीका आमा प्रौढ कक्षा पढेर अक्षर पढ्ने भएकी हुन् । त्यसकारण जस्तो दु:ख गरेर भए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने उनलाई लागेको हो । माओवादी शान्ति प्रक्रियामा आएपछि बिहानीकी आमाले सरकारबाट एक लाख रुपैयाँ सहयोग पाइन्, त्यही रकम नै छोराछोरी पढाउने साहस बन्यो । एक लाख बुझेको दिन बिहानीकी आमाको आत्मबल हु्वात्तै बढ्यो । युद्धमा कसले जित्यो, हार्‍यो उनलाई खासै वास्ता छैन । द्वन्द्वपीडितका नाममा रकमले उनको मनोबल बढाइदियो । त्यो रकम छोरोछोरी पढाउने ठूलो आधार बन्यो । ------ बिहानीलाई बाबाको अनुहार याद छैन । ठूला बाबाको अनुहार हेरेर यस्तै थिए, होलान् भन्ने लख काट्छिन् । पेटारोमा राखेका बाबाका कम्ब्याटसहितको फोटो हेरेर चित्त बुझाउँछिन् । कहिलेकाहीं एक्लै बाबाको फोटो हेरेर आँसु झार्छिन् । उनका बाबा सहिद नभएको भए सायद यतिबेला नेपाली सेनामा समायोजन हुने थिए वा पाँच, सात लाख रुपैयाँ लिएर अवकाश लिन्थे । अब भने बिहानीलाई लाग्न थालेको छ, बाबा नभए पनि आमाले सबै काम गरेकी छन् । बाबा र आमाको माया आमाले दिएकी छन् । कुखुराले बच्चा हुर्काएझैं तीन सन्तान हुर्काएकी छन् । सकेसम्म पढाएकी छन् । यो नै बिहानीकी आमाको युद्ध हो, जति छोराछोरी पढ्दै जान्छिन्, उनले युद्ध जित्दै जान्छिन् । ------ यो तिहारमा रुकुम जाँदा बिहानीको मुहार उज्यालो थियो । हलक्क बढिसकेकी रहिछन् । एक क्षण चिन्नै गाह्रो भो । ‘बिहानी खै त ?’ मैले सोधें । ‘म हुँ बाजे,’ उनले आफूलाई चिनाइन् । १० कक्षा पढ्छ्यौ ? ‘होइन, एसएलसी पास गरिसकें, अनमी पढ्छु बाजे,’ उनले थपिन् । उनले त्यसो भनिरहँदा अनुहार चम्किरहेको थियो । तिहारको बेला अँगेनोमा रोटी पकाइरहकी उनमा आत्मबल थियो । अगेनोमा दाउरा राम्ररी बलिरहेको थिएन, त्यसबाट निस्केको धूवाँले बिहानीको अनुहार छोप्न खोज्थ्यो, उनी आगो फुकेर बाल्थिन् । धूवाँ धपाउँथिन् । कुनै बेला कापी किन्ने पैसा नपाएर रुने बिहानी र अहिलेको बिहानीमा धेरै फरक आइसकेको थियो । अहिले उनी केही बुझ्ने भएकी छन् । आफ्नी आमा, भाइ, बहिनी र भविष्यप्रति चिन्ता छ । रुकुमको दुर्गम गाउँबाट बाहिर निस्केकी छन् । दुनियाँ बुझ्दै छिन् । अहिले कपी किन्ने पैसा छ, कि छैन ? मैले ८ वर्षअघिको कुरा सम्झाएँ । ‘छ बाजे,’ उनले मुस्काउँदै भनिन् । बिहानीलाई आमाले घरको खसीबोका, कुखुरा, अन्नपात, दाउरा बेचेर मासिक पाँच हजार तिरेर पढ्ने पैसा जुटाइदिएकी छन् । उनलाई तिहारपछि पाल्पा हिँड्न हतार थियो, सल्यान, दाङ, बुटवल हुँदै पाल्पा यात्रा तय भइसकेको थियो । तर, घर छाड्न अप्ठ्यारो लागिरहेको थियो । आमाको दु:खमा साथ दिने उनको चाहना थियो, तर उनकी आमाकै चाहनाअनुसार घर छाडेर पढ्न गएकी छन् । घर नजिकै उच्च शिक्षा पढ्ने कलेज नभएका होइनन्, प्राविधिक शिक्षा पढेपछि जागिर पाइन्छ कि भन्ने झिनो आसले बिहानीलाई पाल्पा पुर्‍याएको हो । ------ बाबुको युद्धमा मृत्यु भए पनि बिहानीको माओवादीका केन्द्रीय नेतासंँग पहुच छैन । यतिबेला ओझेलमा परेका सहिदलाई सम्झने माओवादीलाई फुर्सद भए पो । सहिदको नाममा धेरै माओवादी, गैरमाओवादीका छोराछोरीले सुविधा लिइसके । राम्रो ठाउँमा उच्च शिक्षा लिइरहेकी छन् । उनी भने आमाले हाड घोटेर कमाएको रकमले बल्ल अनमी पढ्ने भएकी छन् । उनका सहिद बाबाको सपना राज्य सत्ता कब्जा गर्ने थियो । माओवादी चार, पाँचपटक सत्तामा पुगिसकेको छ । दुईपटक सरकारको नेतृत्व पनि गरिसकेको छ । तर, बिहानीको बिहान अझै आएको छैन । बिहानीसंँग त्यस्तो ठूलो सपना केही छैन । दुई हात जोड्न पुग्ने सामान्य जागिरको भोकले उनी रुकुमबाट पाल्पा पुगेकी छन् । कतै उनको यो सपनामा तुषारापात हुने हो कि भन्ने चिन्ता ३० वर्ष मात्र पुगेकी उनकी विधवा आमालाई छ । प्रकाशित: माघ २, २०७२

http://kantipur.ekantipur.com/printedition/news/2016-01-16/20160116093416.html

No comments: