एमाओवादी फुट्नुको मुख्य कारण थियो- भारतलाई हेर्ने दृष्टिकोणमा मतभेद । तत्कालीन उपाध्यक्ष मोहन वैद्यले नेपालको राष्ट्रिय स्वाधीनतामा भारतको हस्तक्षेप जारी रहेको भन्दै त्यसविरुद्ध निरन्तर संघर्ष चलाउनुपर्ने फरक मत राखे । उनी बरु पार्टी फुटाउन तयार भए, भारतलाई हेर्ने दृष्टिकोण फेरेनन् । पार्टी फुट्नु ठीकअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का उपाध्यक्ष बाबुराम भट्टराई भारतविरुद्ध संघर्षभन्दा कूटनीतिक बाटोबाट सम्बन्ध विस्तार गर्ने पक्षमा देखिएका थिए । पालुङटार विस्तारित बैठकका बेला प्रचण्ड, वैद्य एकातिर र भट्टराई अर्कोतिर उभिएका थिए । त्यसबेला करिब पाँच हजार नेता-कार्यकर्ताबीच भट्टराई झन्डै 'दलाल' घोषित भएका थिए ।
अहिले समय कति बदलिसकेको छ भने राजनीतिक कार्यदिशा र भारतलाई हेर्ने विषयमा प्रचण्ड-बाबुरामबीच 'फलामे' एकता देखिएको छ । हेटौंडा महाधिवेशनबाट पार्टी कार्यदिशा बदलेको उसले 'पुँजीवादी क्रान्ति'का नाममा राष्ट्रिय स्वाधीनताको विषय यति गौण बनाएको रहेछ कि हाल आएर पुष्टि हुनथालेको छ । मुख्य सचिवमा लीलामणि पौडेलको नियुक्तिका बेला 'स्वतन्त्र निर्णय' गरेको दाबी गर्ने एमाओवादी अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने बेला 'प्रभु'सामु लल्याकलुलुक भइसकेको प्रस्टै देखियो । कुनै बेला भारतसँग सडक संघर्ष होइन, कूटनीतिक पहल अघि बढाउनुपर्छ भनेर प्रस्ताव राख्दा बाबुरामलाई 'दलाल'को आरोप लगाएका प्रचण्डले 'यु टर्न' लिएको महसुस हुनथालेको छ । दायाँ-बायाँ र उचार-चढाव चाहने उनको स्वभावै हो । उनी कहिले भारतसँग सिधा-सिधा वार्ता गर्ने कुरा गर्छन्, कहिले भारतका कर्मचारीका नेपाल चासोसम्बन्धी प्रस्ताव खुरुखुरु अघि बढाउँछन् । हुन त उनले माक्र्सवाद 'हो पनि, होइन पनि' भनेर व्याख्या गरेका छन् । विद्वान नेता बाबुराम भने यतिबेला मक्ख छन्, किनभने उनले लिएको कार्यदिशालाई प्रचण्डले एक कदम अघि बढेर कार्यान्वयन गर्दैछन् ।
प्रधानमन्त्री हँुदा चीनबाट विदेश भ्रमण थालेका प्रचण्ड यतिबेला दक्षिणका दाहिने हुने सम्भावना बढेर गएको छ । या उनले दक्षिण दाहिने नभए नेपालमा राजनीतिक अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेका हुन् ? कुनै बेला दिल्लीसँग सिधा वार्ता गर्ने उद्घोष गरेका उनको यसभन्दा दक्षिण फर्काइ अरु के हुनसक्छ ? वैद्यपक्ष अलग्गिइसकेपछि एमाओवादीमा दक्षिण धु्रव हावी हुनथालेको हो । कुनै बेला उत्तर -चीन) समर्थक मानिएका एमाओवादी नेताहरू रातारात दक्षिण ढल्किन थालेका छन् ।
बाबुराम पक्षका नेताहरूलाई युद्धकालदेखि नै भारतप्रति नरम भएको आरोप लाग्दै आएकाले उनीहरूलाई प्रभावमा लिन दक्षिणले खासै मिहिनेत गरेको देखिँदैन । पछिल्लो समय, खासगरी वैद्यपक्ष छुट्टइिसकेपछि प्रचण्ड पक्षका नेताहरूलाई चाहिं पटक-पटक भेटी राजनीतिक भविष्य बनाउन सुझाव दिएको चर्चा एमाओवादीभित्र छ । धेरै नेताहरूले भारतको 'सहयोग'बिना राजनीति अघि बढाउन नसकिने खुल्लमखुला बताउन थालेका छन् र कुनै न कुनै ढंगले दक्षिण-सम्बन्ध विस्तारको प्रयासमा देखिन्छन् ।
प्रचण्डको राजनीतिमा बेला-बेला दक्षिणतिरबाट 'बे्रक' लाग्ने गरेको छ । तत्कालीन प्रधानसेनापति रुक्मांगद कट्वाल प्रकरणमा होस् या प्रधानमन्त्रीको उम्मेदवार भएका बेला होस्, प्रचण्डको राजनीतिमा बाहिरी ब्रेक लागेको थियो । अझै पनि यो स्थिति पुरै बदलिसकेको छैन । प्रचण्डले चाहिं हेटौंडा महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजमार्फत भारतलाई हेर्ने दृष्टिकोण पुरै परिमार्जन गरे । हालैको भारत भ्रमणका बेला उनले त्यही दस्तावेजका आधारमा आफूलाई विश्वास गर्न आग्रह गर्नुको अर्थ हो- आउँदा दिनमा त्यस्तो ब्रेक नलागोस् ।
प्रचण्ड दक्षिणतिर जति-जति नजिकिँदै जान्छन्, उत्तर चीनतिर चाहिं आशंका बढ्दै जाने निश्चित छ । दक्षिणतिर विश्वास बढाउन खोज्दा उत्तरतिर आशंका नहोस् भन्ने कुरामा उनले चलाखीपूर्ण तरिकाले 'सन्तुलित' अभिव्यक्ति दिन खोजेका छन् । प्रचण्डको राजनीतिमा उत्तरबाट खासै अवरोध नआउन सक्छ, जति भारतबाट आउँछ । त्यसैले उनले दक्षिणलाई विश्वासमा लिन आवश्यक परे फलामको चिउरा चपाउन पनि तयार देखिन्छन् । त्यसका लागि उनले उपाध्यक्ष बाबुराम भट्टराईलाई पूर्ण विश्वासमा लिनुपर्ने आवश्यकता महसुस गरेका छन् । यद्यपि दक्षिणले हालसम्म भट्टराईलाई नै पहिलो भोट दिँदै आएको छ । प्रचण्ड अझै 'परीक्षण'मै छन्, पास वा फेल के होलान्, समयले बताउनेछ ।
एमाओवादी दक्षिणी हावामा जति बग्छ, उसको सामथ्र्य खस्कँदै जाने पक्का छ । किनभने यसअघि जस्तो प्रचण्ड र बाबुरामले चाहेमा 'ढुंगालाई माटो बनाउने' जस्ता निर्णय गर्न कठिन हुनेछ । दक्षिणको प्रभाव बढ्दै गए शक्तिशाली प्रचण्ड होइन, बाबुराम बन्नेछन् । नेताहरूका आ-आफ्ना बाह्य शक्तिकेन्द्र हुनेछन् । एमाओवादीमा दक्षिणको प्रभाव बढ्न सुरु भएपछि वैद्यपक्ष अलग भयो । त्यो प्रभाव बढ्दै जाने हो भने विस्तारै फेरि अर्को समूह अलग हुनसक्छ । किनभने दक्षिणको स्वार्थ एमाओवादीलाई बलियो बनाउने भन्ने होइन, आफूप्रति वफादार गुटहरूको झुन्ड बनाउने हो । एउटै पार्टीभित्र विभिन्न गुट सिर्जना गरी बेला-बेला तिनलाई आफ्नो इसारामा चलाउने दक्षिणको पुरानै सूत्र हो । त्यो सूत्रको प्रयोग कांग्रेस, एमाले हँुदै एमाओवादीसम्म आइपुगेको मात्र हो ।
एमाओवादीमा दक्षिणको प्रभाव बढ्दै जानुको सकारात्मक परिणामचाहिं उसको रूपान्तरण हो । प्रचण्डको पछिल्लो भारत भ्रमण र हेटौंडा महाधिवेशनको कार्यदिशालाई लिएर भारतीय बुद्धिजीवीहरूले 'सकारात्मक' टिप्पणी गरेका छन् । यो टिप्पणीबाट प्रचण्ड खुसी भएको हुनुपर्छ । एमाओवादीको विगतको इतिहास र हाल दक्षिणतिरको ढल्काइ मेल खाँदैन । जतिसुकै चर्को कुरा गरे पनि नेपालको भूराजनीतिक अवस्थासँग सम्झौता गर्नु प्रचण्डका लागि बाध्यकारी भएको हुनसक्छ । तर भूराजनीतिक अवस्था बुझ्ने नाममा बढी दक्षिण ढल्कनुुचाहिं अस्वाभाविक हो ।
प्रचण्डको आवश्यकताभन्दा बढी कडा र नरम हुने स्वभाव भारतलाई हेर्ने दृष्टिकोणमा लागु भयो भने राष्ट्रियतामा संकट आउनेछ । विगतमा उनले भारतसँग आवश्यकताभन्दा कडा र नरम नीति लिँदै आएका हुन् । अहिले भने भारतप्रति कडा होइन, आवश्यकताभन्दा नरम नीति लिँदैछन् । साउथ ब्लकले प्रचण्डको नाडी राम्ररी छामिसकेको छ । उसले प्रचण्डलाई धम्काएरभन्दा फकाएर आफ्नो स्वार्थ पुरा गर्ने रणनीति लिएको हुनसक्छ । प्रचण्ड पनि खासगरी दक्षिणसँग सम्बन्ध बलियो बनाएर नेपालको राजनीतिमा कम्तीमा एक दशक टिकिरहन चाहन्छन् । एउटा कुराचाहिं निश्चित छ- प्रचण्डको आवश्यकताभन्दा बढी दक्षिण ढल्काइबाट उत्पन्न हुने असन्तुलनले उनैलाई हलुको बनाउँदै लैजानेछ ।
कान्तिपुर दैनिक प्रकाशित मिति: २०७० जेष्ठ ९ ०५:०७