काठमाडौं, माघ १३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार सिंहदबार आफ्नो पार्टीको संसदीय दलको कार्यालयमा पुग्दा निकै हतारमा थिए । कालो ओभरकोट र टाइ लगाएका उनी काठमार्डौस्थित भारतीय दूतावासद्वारा आयोजित गणतन्त्र दिवसमा सहभागी भएर आन्दोलनको घोषणा गर्ने बैठकमा आएका थिए । संसदमा चार दिन नारा लगाउँदा स्वर भास्सिएका उनले कान्तिपुरसँगको कुराकानीको सुरुमै भने, 'तत्काल वार्ता गर्नुको कुनै अर्थ छैन, व्यक्तिगत भेटघाट गर्दैनौ भनेका छैनौ ।'
प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा सहभागी हुनुहुन्छ ?
हामी पहिलो चरणमा प्रचारात्मक आन्दोलन, दोस्रो चरणमा क्रियात्मक, तेस्रो चरणमा निर्णयात्मक आन्दोलन जान्छौं । उहाँहरूले सहमतिबाट संविधान बनाउने, शान्ति सम्झौतालाई सम्मान गर्ने, बिगतका सहमति सम्झौता अनुसार संविधान बन्ने वातावरण नबनाएसम्म हामी सरकारवादी दल र सभामुखसंग वार्ता गर्दैनौ भनेका छौ । यो कुनै घुक्र्याउन भनिएको होइन । नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न बाध्यात्मक निर्णय हो यो । उपलब्धि संस्थागत नहुदासम्म उनीहरुसंग वार्ता गर्नुको कुनै अर्थ छैन । व्यक्तिगत भेटघाट गर्दैनौ भनेको होइन, भर्खरै इन्डिया हाउस (भारतीय दूतावास) मा प्रधानमन्त्री, केपी ओली मन्त्रीसंग भेट भयो । त्यस्तो भेट होला, तर औपचारिक वार्ता नगर्ने सोचेका छौं ।
घुक्र्याउनमात्र वार्ता नगर्ने भनिएको त होइन ?
उहाहरूले सहमति उल्ट्याउन खोजेपछि पहिलेका समझदारीमा नआइकन, हिजोको गल्ति नसच्याई वार्ता गर्नुको औचित्य देखेका छैनौ । यो कुनै ट्याक्टिकल कुरा होइन, घुर्की धम्कीको कुरा होइन । यदि उहाहरुले बलजफ्ती गर्नु भयो भने संविधानसभाको औचित्य समाप्त हुने र हामी संविधानसभामा रहिरहन नसकिने अवस्थामा पुग्ने हो कि भन्ने देख्या छु । उहाहरुले केही पनि नसच्याउने भने, एक्लै बनायो भयो संविधान । बहुमतबाटै बनाउने हामी त्यहा गएर दिनदिनै जनतालाई हैरान पार्ने, नारा जुलुस गर्नुभन्दा सिधै जनतामा जाने, संविधानसभामा एक्लौटी बनाउन भनेर छलफल चलिरहेको छ । यति ठूलो परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, विस्तृत शान्ति सम्झौता र १२ बुँदेको जगमा बनेको हो । गिरिजाबाबु नहुदा, गिरिजाबाबु बिरोधी कांग्रेसमा हावी भए, माधब नेपाल बिरोधीहरू एमालेमा हावी भए । हिजोको शान्ति सम्झौताका निम्ति र जनआन्दोलनका लागि मिहिनेत गर्ने नेताहरुमा गिरिजाबाबु बित्नुसभयो, माधव नेपाल पराजित हुनुभयो । ओलीजस्ता आन्दोलनबिरोधी मान्छेहरु र सामन्ती निरंकुशतन्त्रका पक्षपाती रहे, त्यस्ता मान्छे हावी भए । यो सम्पूर्ण प्रक्रिया लथालिंग भएकोमा म असाध्यै चिन्तित छु । शान्ति सम्झौतालाई सम्मान गर्ने प्राप्त उपलब्धी, प्रतिबद्धता पालन गरेरनन् भने ठूलै आन्दोलनमा जानुपर्छ । आवश्यक पर्यो भने जस्तोसुकै त्याग र बलिदान हुनुपर्छ भन्ने लाग्या छ ।
वार्तामै नबसेपछि समाधान कसरी हुन्छ त ?
प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वानको कुनै अर्थ छैन । वातावरण बनाउनुपर्यो । शान्ति सम्झौता, १२ बुदे समझदारीलाई अपमान गर्नु गल्ति भयो, भन्नुपर्यो । आउनुस्, सहमतिका आधारमा संविधान बनाऔ नभन्दासम्म उहाहरुले भन्ने गरेको वार्ताको कुनै अर्थ छैन । वार्ता हामीले तोडेको होइन, पाँच दिन अघि उहाहरुले तोड्नु भएको हो । ए बाबा, सहमतिका आधारमा संविधान बनाऔ, पाँच/सात दिन समय लिऔ भन्दा हामी वार्ता गदैनौ भन्ने सुशील कोइराला र केपी ओली हुनुहुन्छ । हामी त वार्तामा थियौ, छलफल गरौ, सहमति गरौ १० दिन समय लिऔ भन्दा वार्ता गर्दैनौ भन्ने उहाहरू नै हो । बलजफ्ती संविधान बनाएर देखाउनुस्, हामी सडकमा हुन्छौ । यसको अर्थ हामी संविधानसभा छोडिहाल्छौ भन्ने अर्थ नलागोस् । सरकारवादी दलको यही रबैया रहिरह्यो भने संधिवानसभाको औचित्य समाप्त हुन धेरै बेर लाग्दैन ।
कांगेस र एमाले दुई तिहाइबाट अघि बढ्ने देखिएको छ नि ?
दुई तिहाइबाट बढ्ने देखिएको छ । त्यसबाट अघि बढ्ने भएमात्र त्यति धेरै चिन्ताको विषय हुदैनथ्यो । दुई तिहाइबाट अघि बढ्ने हो भने संविधानले मानेको छ भन्न सकिन्थ्यो होला । दुई तिहाइबाट सम्झौता उल्ट्याउने, क्रान्तिको उपलब्धी उल्ट्याउने काम गरेकाले आपत्ति हो । दुई तिहाइको आपत्ति होइन । परिवर्तनका उपलब्धी उल्ट्याएर प्रतिगमनतिर लैजाने प्रवृत्ति घातक छ । उहाहरुको दुई तिहाइ म मान्दिनँ । एमालेले मत पाएको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा हो, बहुपहिचान प्रदेशमा हो, किरात लिम्बुवान कोशी, ताम्सालिङ, नेवा बाग्मतीमा भोट मागेको हो उहाहरुले । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, बहुपहिचान प्रदेशमा भोट माग्ने, अहिले सबै कुरा छोडेर कांग्रेससित मिलेपछि कसरी दुई तिहाइ भन्ने ? यो राजनीतिक बैइमानी र बिश्वासघात हो । यो दुई तिहाइ कसरी भयो ?
कांग्रेस, एमालको नौ बुदे खारेजीको कुरा गर्न खोज्नुभएको हो ?
हामीले नौ बुदे खारेजी भन्न आवश्यक छैन । सहमति अनुसार जानुपर्छ भन्ने हो । नौ बुदे बैधानिक , राजनीतिक, नैतिक ढंगले पनि गलत छ । किनकी त्यो १५ गते म्याद सकिएको छ, १७ गते दर्ता गराउनुभएको छ । त्यो अपारदर्शी ढंगले पार्टीहरुबीच छलफल नगरी, लुकेर बनाउनु भएको छ । एकाएक ल्याएर प्रस्तुत गरिएको छ । त्यो निर्वाचनमा जनताका अघि गरिएका प्रतिवद्धता बिपरित भएकाले हरेक दृष्टिकोणले गलत छ ।
दलहरुबीच असमझादारी बढ्नुमा कुनै शक्तिको हात देख्नुहुन्छ ?
सबै कुरा भन्न गाह्रो छ, दुनियामा बिभिन्न शक्ति केन्द्र छन् । ती स्वार्थ को को संग जोडिएका छन् भन्न सकिन्न । अहिले भन्न सकिने कुरा के हो भने एमाले जसको प्रतिनिधित्व गर्न खोजेको छ, त्यसले सामन्ती उच्च जातीय अहंकारवादलाई प्रतिनिधित्व गर्छन् । हिजो राजाले जुन विचार, प्रवृत्ति, संस्कृति, मूल्य मान्यताको प्रतिनिधित्व गर्थे, अहिले केपी ओली र सुशील कोइरालाले ठिक त्यही विचार प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । जातीय, वर्गीय, क्षेत्रीय र सांस्कृतिक, लैगिक उत्पीडन गर्ने कुरामा राजा र यिनीहरु एउटै चिज हुन् । हिजो राजालाई जोजोले समर्थन गर्थे, आज उनीहरुलाई समर्थन गरेका छन् । अहंकार र दम्भले गर्दा ज्ञानेन्द्रलाई मैले भनेपछि मान्नुपर्छ भन्ने थियो । सेना पुलिस जनता मैसंग छन् भन्ने ठान्या छन् । अहिले ओलीले पनि त्यही ठानेका छन् । अर्को आफूबाहेक मधेशी जनजातिलाई मान्छे ठान्दैनन् । बुद्धि भएका मान्छे हुन् भन्ने ठान्दैनन् । हेप्छन् । महिला, दलित उत्पीडित क्षेत्रका मान्छेलाई जनता ठान्दैनन् । तिनले रैति ठान्छन् । जस्तो हिजोका राजा महाराजाले ठान्थे । यो अहंकार, दम्भ र उच्च जातीय अहंकारबाद नै हो । एकल जातीवादी यिनै हुन् । जातीय साम्प्रदायिकता भडाउने यिनीहरुनै हुन् । यिनलाई परास्त नगरे शान्ति हुदैन । जातीय सद्भाव पनि हुदैन । एकल जातीय राज्यवादी बनाउने कुरा सुशील र केपी ओलीको सोचाइ हो । सबै जातिमा समानता हुनुपर्यो भन्ने हाम्रो सोचाइ हो ।