Monday, August 5, 2013

'पार्टीले नजितोस् तर चुनाव हुनुपर्छ: अध्यक्ष पुष्पकमल दाहाल

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मंसिर ४ मै संविधानसभा निर्वाचन हुनेमा झन्झन् आशावादी भएका छन् । आफ्नो पार्टीबाट छुट्टएिर गएको मोहन वैद्य समूह सहभागी नभए पनि चुनावमा जानुपर्ने उनको धारणा छ । उनले चुनावमा 'तेस्रो, चौथो, पाँचौं' भए पनि आफूहरुलाई फरक नपर्ने बताए । एमाओवादी अध्यक्ष दाहालसँग चुनावी सेरोफेरोमै केन्दि्रत रहेर कान्तिपुरका सुधीर शर्मा, हरिबहादुर थापा र गंगा बिसीले शुक्रबार अपराह्न लिएको अन्तर्वार्ता :
मंसिर ४ मा चुनाव हुन्छ कि हुँदैन ?
चुनाव हुने विश्वास झन् बढेको छ । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेको छ । आचारसंहिताको सबै तयारी भइसकेको छ । उच्चस्तरीय राजनीतिक समितिले पनि सहमतिमा ल्याउन सक्ने जतिलाई भोलि (शनिबार) बेलुकासम्म सहमतिमा ल्याउने तयारीमा जुटेका छौं । अब शंका गरिरहन उचित छैन । मंसिर ४ मा निर्वाचन हुन्छ, निर्वाचनले मात्र देशलाई निकास दिन्छ ।
निर्वाचन हुनेमा तपाईं आज बढी उत्साही देखिनुभयो नि ?
चिजहरू अघि बढ्दै गइरहेको छ, त्यसैले । निर्वाचनको विकल्प छैन, मंसिरमै हुनुपर्छ । शुक्रबार राजनीतिक समितिमा सबै उत्तिकै उत्साहसाथ निर्वाचन गरिछाड्ने संकल्प हृदयदेखि आएको देखेर म अलि बढी उत्साहित भएको हुँ ।
तपाईंहरूले केन्द्रीय नेताहरूलाई सबै निर्वाचन क्षेत्रमा पठाउनुभएको छ, त्यसका आधारमा मंसिरको निर्वाचनको पक्ष-विपक्षमा उत्रिने हो ?
त्यो हाम्रो जनसम्बन्ध अभियान हो । अध्ययन गर्न पनि पठाएको हो । तलबाट जेसुकै रिपोर्ट आए पनि निर्वाचनमा जाने नै हुन्छ । रिपोर्ट आएका आधारमा केन्द्रीय नेतृत्वले कहाँ बढी जोड गर्नुपर्‍यो भन्ने मात्र निर्धारण गर्ने हो । त्यसले चुनावमा भाग लिने कि नलिने निर्धारण गर्दैन ।
केही राजनीतिक दलले त निर्वाचनमा नआउने भनेका छन्, तिनलाई कसरी निर्वाचनमा ल्याउनुहुन्छ ?
(मोहन) वैद्यजीसँग सहमति हुन्छ भन्ने छैन । वैद्यजीबाहेक सबै शक्तिहरूसँग निर्वाचनमा सहमति
हुन्छ । भोलिदेखि उपेन्द्र (यादव) जीको मोर्चा, अशोक राई र अरू साना पार्टी निर्वाचनमा सहभागी हुने वातावरण बन्छ । त्यसले निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्नको अन्त गर्छ भन्ने मलाई लाग्या छ । सिंगो देश निर्वाचनमा गयो भनेपछि वैद्यजीहरूमाथि पनि राजनीतिक दबाब बन्छ नै । सम्पूर्ण देश निर्वाचनमा होमिइसकेपछि वैद्यजीहरूले पनि सोच्नुहुन्छ । उहाँहरू पनि निर्वाचन आउने सम्भावना सिद्धियो भन्ने लागेको छैन ।
वैद्य नेतृत्वको माओवादी नआए पनि निर्वाचन हुन्छ ?
उहाँहरू आउनुभएन भने पनि निर्वाचन हुन्छ । देश निर्वाचनमा जान्छ ।
नेकपा-माओवादीले मतपेटिका फुटाएर बहिष्कार सुरु गरेको छ नि ?
उहाँहरूले अरूभन्दा हामी अलग्गै छौं भनेर देखाउन फुटाउनुभयो होला । उहाँहरूले नक्कली मतपेटिका फुटाउनुभयो, सक्कलीमा भाग लिनुहुन्छ ।
माओवादीले निर्वाचन बिथोल्ने सामथ्र्य राख्छ जस्तो लाग्दैन ?
म त्यस्तो देख्दिनँ । किनभने यो संविधानसभाको ऐतिहासिक निर्वाचन हो, जुन निर्वाचनका लागि माओवादी पार्टीको नेतृत्वमा दसौं हजारले बलिदान गरेका छन् । त्यसकारण राजनीतिक, नैतिक र व्यावहारिक रूपले पनि संविधानसभा निर्वाचनलाई उहाँहरूले बिथोल्नुहुन्छ जस्तो लाग्दैन । उहाँहरू प्रचारको हदसम्म जानुभएको छ । ध्वंसात्मक गतिविधितिर लाग्नुभयो भने त्यहाँका सबै साथीहरू सहमत हुनुहुन्छ जस्तो लाग्दैन ।
माओवादी र राजावादीहरूबीच सहकार्यको कुरा पनि सुनिन्छ, त्यसले निर्वाचनमा असर गर्दैन ?
त्यसले धेरै असर गर्छ जस्तो लाग्या छैन । उहाँहरूले एउटा प्रसंगमा त्यो कुरा भन्नुभएको छ । त्यो दुर्भाग्यपूर्ण छ । हिजोका राजा-महाराजाहरूलाई राष्ट्रवादी देख्नु ठूलो दृष्टिभ्रम हो । उहाँहरू २०/२२ वर्षपछाडिको मनस्थितिमा हुनुहुन्छ जस्तो लाग्छ । मैले जनयुद्धको तयारी र निरन्तरता भएका बेला वीरेन्द्र राजा थिए । मैले यदि वीरेन्द्र राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रमा राखेर सबै शक्तिसँग मिल्न चाहन्छन् भने एक खालको समझदारी गर्न सकिन्छ भनेको थिएँ । वीरेन्द्रसँग समझदारी गरेर देशलाई संविधानसभा निर्वाचनमा लान सकिन्छ भने उनलाई कुनै उचित स्थानसमेत दिन सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष थियो । त्यसबेलाको प्रसंग बिल्कुलै फरक थियो । नारायणहिटी हत्याकाण्डपछि सम्पूर्ण प्रक्रिया सकियो, त्यसपछि निरंकुशतातिर गएको ज्ञानेन्द्रको स्थिति देखिइसकेपछि वीरेन्द्रजस्तो व्यवहार हुन सक्दैन भन्यौं । अब अहिले गणतन्त्र स्थापना भइसकेपछि पनि पूर्वराजासँग मिल्ने कुरा गरिरहनु कुनै दृष्टिबाट उचित छैन ।
प्रमुख दलहरूका कारण राष्ट्रियता अप्ठ्यारामा पर्‍यो भनेर राजावादीसँग सहकार्य गर्ने कुरा आएको होला नि ?
यो तर्क आधारहीन छ । अहिले राजनीतिक संक्रमणकाल जारी भएकाले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्ष सबैतिर कमजोर भएको छ । यो कुरा साँचो हो । यसको अर्थ हिजोका राजाले राष्ट्रियताको प्रतिनिधित्व गर्छन् भन्ने होइन । संक्रमणकालमा जुनसुकै देशलाई हेर्नुभयो भने राष्ट्रियता र जनतन्त्रको मुद्दा कमजोर भएको पाइन्छ । त्यसैले यसले जनतामा जाने कुराको माग गर्छ । जनतालाई अधिकार दिलाउनुपर्ने हुन्छ । यदि वैद्यजीलाई साँच्चै राष्ट्रियताको चिन्ता भएको हो भने संविधानसभा निर्वाचन छिटो गरेर र जनतालाई सार्वभौम अधिकार प्रयोग गर्न दिएर मात्र राष्ट्रियता बलियो हुन्छ भनेर मान्नुपर्छ । जनता राष्ट्रियताका पहरेदार हुन् भनेर नमान्ने, जनमत लिन चुनावमा नजाने, हिजोका राजा-महाराजाको गुलामीको दिशामा लागेर उनीहरूलाई राष्ट्रवादी देख्ने कुरा दृष्टिभ्रमबाहेक केही होइन ।
तपाईंहरू त वैद्य नेतृत्वको माओवादी निर्वाचनमै नआओस् र आफूलाई सजिलो होस् भन्नेमा हुनुहुन्छ, होइन र ?
यो बिल्कुल सत्य होइन । कहिलेकाहीं यस्तो कुरा सुन्दा मलाई पीडा पनि हुने गरेको छ । वैद्यजीहरू निर्वाचनमा आउनुभयो भने सहमति र तालमेल हामीसँगै हुने हो । मैले भनेको छु, तपाईंहरूसँग चुनावी तालमेल सम्भव छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मुद्दामा सबभन्दा नजिक भनेको दुइटा माओवादी पार्टी नै हो । मैले प्रस्टै भनेको छु, पहिलेजस्तै मिलेरै चुनाव लडौं । चुनावको परिणाम के हुन्छ भनेर मैले धेरै हिसाब गरेको छैन । परिणाम के होला भन्दा पनि यो प्रक्रियालाई जीवित राखेर संविधान निर्माण गर्ने कार्य ऐतिहासिक रूपले महत्त्वपूर्ण छ ।
गिरिजाप्रसाद कोइरालाजी र मैले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता गरियो । गिरिजाबाबु जानुभयो, मैले एक्लै जोखिम लिएर सेना समायोजन र पुनःस्थापनको कुरा टुंग्याएँ । हिजो गिरिजाबाबुले आफ्नो परिणाम के आउला नभनीकन संविधानसभा गर्नुभयो । शान्ति सम्झौताको दोस्रो हस्ताक्षरकर्ताका हैसियतले अहिले त्यो जिम्मेवारी मेरो काँधमा छ । यतिबेला मेरो दिमागमा संविधानसभाको निर्वाचन हुनुपर्छ, संविधान बन्नुपर्छ भन्ने मात्र छ । मेरो पार्टीले जित्छ कि जित्दैन भन्ने कुरा ठूलो होइन । हाम्रो पार्टी तेस्रो, चौथो, पाँचौ भए पनि फरक पर्दैन । मुख्य कुरा चुनाव हुनुपर्‍यो, प्रक्रिया जीवित रहनुपर्‍यो ।
तपाईं निर्वाचनको परिणाम आकलन गरेर प्रतिरक्षात्मक हुनुभएको हो ?
मैले यति कुरा भनिरहँदा जनताले आफैं राम्रो हिसाब गर्छन् भन्ने विश्वास छ । हामी संविधानसभा निर्वाचनमा आउँदा यस्तै परिणाम आउँछ भन्ने लागेको थिएन । अहिले परिणाम जेसुकै भए पनि निर्वाचन मुख्य कुरा हो । नेपाली जनताले परिवर्तनका पक्षधरलाई बहुमत मात्र होइन, दुई तिहाई बहुमत दिन्छन् भन्ने लागेको छ । संघीयता, गणतन्त्रका पक्षधरलाई दुई तिहाई बहुमतमा पुर्‍याउँछन् ।
मधेसी मोर्चासँग तालमेलको सम्भावना छ ?
निर्वाचन भइसकेपछि तालमेल, गठबन्धन हुने कुरा धेरै कठिन हुन्छ । पहिले मिलेका पार्टीहरू पनि चुनाव आइसकेपछि सबै आफैंले जित्ने देख्छन् । त्यसैले आम रूपमा तालमेल हुन सक्छ जस्तो लाग्दैन, तर मुद्दा मिल्नेहरूसँग वस्तुवादी भएर 'सिट एडजस्टमेन्ट' गर्न सकिन्छ ।
कांग्रेस-एमालेसँग पनि तालमेलको सम्भावना छ ?
कांग्रेस, एमालेसँग धेरै सम्भावना छैन ।
निर्वाचन क्षेत्र निर्धारण विवादले निर्वाचनलाई असर गर्दैन ?
क्षेत्र निर्धारणको प्रश्न निकै जटिल भएको छ । निर्वाचन आयोगको 'बि्रफिङ' पनि हामीले उच्चस्तरीय राजनीतिक समितिमा सुन्यौं । संवैधानिक जटिलता पनि देख्यौं । व्यावहारिक जटिलता पनि त्यहाँ छ । यो कारणले सरल छैन । तर पनि पार्टीहरूबीच समझदारी बन्दै छ । २५ बुँदे बाधा अड्काउ फुकाउने काम र क्षेत्र निर्धारण आयोगबीच तालमेल हुन्छ कि भनेर हामी हेर्दै छौं ।
संविधानसभाको आकार बढाउने कुरा पनि आइरहेको छ । तपाईंहरूले सिट संख्या बढाउन खोजेकै
हो ?
हामीले ४९१ सिटमा सहमति गरेकै हो । अरूलाई यसमै सहमति गरौं भनेर कोसिस पनि भइरहेको छ । उपेन्द्र यादव, अशोक राईजी र अरू साना पार्टीहरूले पनि समानुपातिक प्रतिशत पहिलेको निर्वाचनजस्तै गरियोस् भनेर जोडदार माग गरिरहेका छन् । उपेन्द्रजी र अशोक राईजीसँग अलगअलग कुरा गर्ने र समानुपातिक अलिकति बढाउँदा वा पहिलेजस्तो बनाउँदा सबै निर्वाचनमा आउने हुन्छ भने सोच्न सकिन्छ भनेर उच्चस्तरीय राजनीकि समिति अलिकति अघि बढेको छ ।
हिजो 'जम्बो’ संविधानसभा हुँदा त्यो आलोचनाको ठूलो विषय बनेको थियो नि ?
संविधानसभा ठूलो भएर संविधान नबनेको भनेर कहींकतैबाट पुष्टि भएको छैन । उच्चस्तरीय राजनीतिक समितिले पहिले भएका सहमतिलाई स्वामित्व लिएर छ महिनाभित्र पहिलो 'ड्राफ्ट' दिने, एक वर्षभित्र संविधान बनाइयो भने समस्या रहँदैन भनेको छ । त्यसकारण पहिलेकै जस्तै समानुपातिक र प्रत्यक्ष प्रणाली भएर सहमति हुन्छ भने समिति लचिलो र गम्भीर हुन सक्छ । सिट संख्या ६०१ नै हुन्छ जस्तो लाग्दैन । त्योभन्दा कम हुन्छ जस्तो लाग्छ । तर निर्णय भएको छैन ।
त्यसो भए फेरि अन्तरिम संविधानको बाधा अड्काउ फुकाउनुपर्ने हुन्छ होइन, यो कसरी मिल्छ ?
क्षेत्र निर्धारण गर्दा पनि बाधा अड्काउ फुकाउनुपर्ने हुन्छ । राजनीतिक परिस्थितिको बाध्यता पनि यही हो । राजनीतिक समितिले सुझाव दिए पनि गर्ने त राष्ट्रपति र सरकारले नै हो । अहिले ६०१ मात्र होइन, क्षेत्र निर्धारणको रिपोर्ट आइसकेपछि पनि बाधा अड्काउ फुकाउनुपर्छ ।
पहिलो संविधानसभा असफल भएपछि पनि तपाईंहरूले पाठ सिकेको देखिँदैन नि ?
यसमा मेरा दुइटा तर्क छन् । चार वर्ष लगाएर पनि संविधान किन बन्न सकेन भनेर नेपाली जनताले हिसाब गरेका छन् । आफूले दिएको मतले चार वर्षमा पनि संविधान बन्न सकेन, त्यसकारण जनताले यसपालि मत दिँदा परिवर्तनका पक्षमा दुई तिहाई पुग्नेगरी दिन्छन्, संविधान बन्छ भन्ने मलाई लाग्छ । हिजो यता पनि दुई तिहाई पुगेन, उता पनि पुगेन र संविधान बनेन । दोस्रो, हामीले असफलता हेर्‍यौं, त्यो असफलताबाट सिकेर संविधान बन्छ । सहमतिका लागि हामीले अन्तिम समयसम्म प्रयास गर्‍यौं, तर प्रक्रियामा जान जोड गरिएन । अहिले फर्केर हेर्दा गल्ती त्यही ठूलो भयो । प्रक्रियामा गएको भए संविधान बन्थ्यो । अब छ महिनाभित्र संविधान बनाउन प्रयास गर्ने, भएन भने प्रक्रियामा गइहाल्ने हुन्छ । संविधानसभा सार्वभौम हुन्छ, त्यसले संविधान बनाइदिन्छ ।
संविधानसभा बिथोल्ने शक्तिले प्रमुख दलका नेतालाई निसाना बनाउने तपाईंको विवादास्पद अभिव्यक्ति पनि सुनियो । तपाईंले के भन्न खोज्नुभएको ?
मैले सामान्य ढंगले गरेको कुरा पनि मिडियामा ठूलो बनेर आइदिँदोरहेछ । मैले सिधै त्यस्तो भनेको होइन । मलाई सुनाउनेले अहिले वैद्यजीले नेतृत्व गरेको पार्टीले गाउँगाउँमा केही गर्नेभन्दा पनि केन्द्र, माथिल्लो तहमा प्रभाव पार्ने योजनामा छ भनेका छन् । मैले त्यही प्रसंगमा वैद्यजीहरूले माथिमाथि हेर्नुभएको छ रे, गाउँगाउँ होइन भनेको हुँ । त्यस्तो केन्द्रीय नेतालाई सिध्याउने रूपमा भनेको होइन ।
निर्वाचनका लागि सुरक्षा चुनौतीहरू के-कस्ता छन् ?
पक्कै पनि सुरक्षा चुनौतीहरू छन् । किनभने सयौं वर्षदेखि लुटेर खाएकाहरू निर्वाचन र परिवर्तनको प्रक्रिया बिथोल्न चाहन्छन् । यसपटक कुनै न कुनै रूपमा चुनाव बिथोल्न पाइयो भने आफू आउने मौका हुन्छ कि भनेर सानो अभिजात वर्गले आस गरेको छ । उनीहरूले चलखेल गर्ने, पार्टी, नेता,  उम्मेदवारमाथि हमला हुने खतरा छ । त्यसकारण सुरक्षा क्षेत्रमा राज्य, पार्टी, आम जनता सतर्क हुनुपर्छ ।
राजनीतिक दलले पनि दस्ता बनाउने कुरा गरिरहेका छन्, यसले निर्वाचनलाई असर गर्दैन ?
मैले काभ्रेमा निर्वाचन बिथोल्ने यदि कसैले दुस्साहस गर्छ भने प्रतिवाद गर्नुपर्छ । निर्वाचन बिथोल्न कसैले १० जना व्यक्ति जम्मा गर्छ भने हामीले एक हजार युवा जम्मा गरेर लखेट्नुपर्छ भनेको हो । मेरो यो भनाइ सिधै वैद्यजीलाई लखेट्नुपर्छ भनेजस्तो प्रचार भयो । हिजो राजा-महाराजाका दलालहरू निर्वाचन बिथोल्न आउँछन् भने १० का विरुद्ध हजार जम्मा भएर लखेट्नुपर्छ भनेको हो । मैले जनताको मतको सुरक्षाको निम्ति भनेको हो । मतदानको सुरक्षाको निम्ति कांग्रेस, एमालेले पनि यस्तै आह्वान गरून् ।
अर्को प्रसंग, तपाईंको पार्टीको विवाद कहाँ पुग्यो, थामथुम भएजस्तो मात्र देखिन्छ नि ?
पार्टी भएसम्म विवाद भइरहन्छ । पार्टीमा आएका विवाद तत्कालका लागि समाधान गर्ने हो । तपाईं यसलाई थामथुम पनि भन्न सक्नुहुन्छ । तर विवाद फेरि आइहाल्छ । एकचोटि विवाद समाधान भएपछि वर्षौ केही नहुने भन्ने हुँदैन । हामीकहाँ विचारका लागि विवाद भएको हो ।
तर एमाओवादीमा त पदका लागि विवाद भएको देखियो नि ?
आखिर पद भने पनि त्यो विचार हो । हाम्रो जनयुद्धमा पनि ठूल्ठूला अन्तरसंघर्ष भएको हो । हाम्रो पार्टीमा ठूलो त्याग गरेका नेता तथा कार्यकर्ताहरू छन् । आफूले गरेको त्याग कतै छुट्ने होइन भन्ने धेरैलाई चिन्ता छ । हाम्रो पार्टी युद्धबाट शान्ति र प्रतिस्पर्धामा आएको छ । त्यागको मूल्यांकन नहुनु ठूलो कुरा हुन्छ । पार्टीभित्र आफ्नो जिम्मेवारीबारे सतर्क हुनु महत्त्वपूर्ण कुरा हो । नेतृत्वले एउटा योजना ल्याए पनि सबै पद त्याग्न तयार भए नि त्यसैकारण । बाबुरामजीले मात्र पद त्यागेको होइन नि ।
बाबुरामजीले अचानक किन पदत्याग गर्नुभयो ? उहाँले पदत्याग गरेपछि यो सबै भएको होइन र ?
बाबुरामजीले पद त्याग गरेर यस्तो भएको होइन । बाबुरामजीले पद त्याग गर्ने अवस्था जुन बन्यो, त्यसले गर्दा यस्तो भएको हो । पदाधिकारीले प्रस्ताव बनाएर केन्द्रीय समिति बैठकमा पेस गरे । पहिलो दिन बोल्ने धेरै साथीहरू रिसाउनुभयो, म अन्यायमा परेँ, त्यो अन्यायमा पर्‍यो भनेर । त्यसले पार्टीभित्र संगठनको समस्या जटिल छ भन्ने देखायो । संगठनको संरचना, कार्यदिशा, मूल्यांकनको विधि बनाउनुपर्ने देखियो । त्यसको प्रतिक्रियामा बाबुरामजीले मसँग सल्लाहै नगरी पद त्याग गर्नुभयो । बाबुरामले पद त्याग नगरेको भए पनि यही हुन्थ्यो । मैले अध्यक्षका नाताले के देख्छु भने अध्यक्षमा केन्दि्रत गरी संगठनात्मक सम्मेलन गरौं, निर्वाचनमा एक भएर जाऔं भनेर आउनैपथ्र्यो । बाबुरामजीले पद त्यागबारे आफैं भनिरहनुभएको छ, त्यही भनाइलाई हामीले किन विश्वास नगर्ने ? उहाँको पद त्यागले दुई ठाउँमा कमजोरी भएकाले पार्टीले अस्वीकार गर्‍यो । उहाँले 'सरप्राइज' गरेजस्तो गरी त्याग गर्नुभयो, त्यहाँ त्रुटि भयो । त्यो पद त्याग देशको चाहना, कार्यकर्ता र जनताको भावनाअनुसार पनि भएन । त्यसकारण हामीले अस्वीकार गर्‍यौं । उहाँले त्यसलाई स्वीकार गर्नुभयो ।
यसबाट अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ त असन्तुष्ट देखिनुभयो नि ?
उहाँ असन्तुष्ट हुनुहुन्न अहिले । अहिले हाम्रो पार्टीमा कोही पनि पदमा नभएकाले असन्तुष्ट हुनुहुन्न । सबैलाई आनन्द भएको छ । प्रकाश (श्रेष्ठ) जीलाई बाबुरामजीले पद त्याग गरेको हुनाले राजीनामा दिनुपर्‍यो भन्ने जस्तो मात्र भएको हो । पहिले म राजीनामा दिन्छु भन्ने उहाँ नै हो ।
अरू सबैका पद जाने, तपाईंको पदचाहिं सुरक्षित रहने भयो नि है ?
मेरो पनि पद त्याग होस् भनेको थिएँ । तर पार्टी नेतृत्वबिना चल्दैन । हाम्रो सबै प्रक्रियामा नेतृत्व केन्दि्रत र अधिकार पनि केन्दि्रत नै छ । यो प्रक्रियामा जटिलता पैदा भए पनि अध्यक्षमा केन्दि्रत गरौं भनेर पदाधिकारी बैठकले भनेको हो । यो प्रस्ताव पेस भएपछि हलमा पाँच मिनेट ताली बजेको थियो । हामीले सधैंका लागि यस्तो भनेको होइन, सम्मेलन नहुँदासम्म हो । अन्ततः सबैतिरबाट अध्यक्ष मात्र राखेर जाऔं भनेपछि मैले स्वीकार गरेको हो ।



No comments: