माघ ३, २०७२- केही दिनअघि ढाकाटोपी दिवस परेछ, समाजिक सञ्जालका भित्ता
टोपीवाल तस्बीरले पोतिए । गौरवका साथ टोपी लगाइयो र भनियो, ‘हाम्रो
स्वाभिमान झुक्दैन ।’
ठिक त्यसबेला मधेसका बिभिन्न जिल्लामा धोती जुलुस भइरहेको थियो । जुलुसका
सहभागी धोती पहिरिएका मधेसीहरु गौरवका साथ भन्दै थिए, ‘हाम्रो स्वाभिमान
झुक्दैन ।’
टोपी र धोती लगाउने दुबै नेपाली हुन् र हुनेछन् । फरक परिस्थितिमा दुबैले
भने, ‘हाम्रो स्वाभिमान झुक्दैन ।’ टोपी होस् वा धोती स्वाभिमान कहाँ फरक
हुन्छ र ? स्वाभिमान भनेको पहाड र मधेसमा फरक हुने होइन । पहाडमा पनि
हुन्छ, मधेसमा पनि । टोपीमा पनि धोतीमा पनि । गैरमधेसी र मधेसी एउटै देशका
बासिन्दा हुन् । भूगोल मात्र फरक, शरीर रङ कालो गोरो मात्र, मन एउटै नेपाली
।
पहाडमा बसेको पहाडी, मधेसमा बसेको मधेसी फरक यत्ति हो । यसमा बिभेदका रेखा
कोर्न खोज्नेको दोष हो । हामी नेपालीको के दोष ? हामीलाई एक आपसमा भिडाएर
फाइदा लिनेहरु पो विभेदकारी ।
अहिले मधेसमा आन्दोलन छ, पहाडमा छैन । यसको अर्थ पहाडमा बस्ने जतिले अधिकार
पाए भन्ने होइन । मधेसमा भएको आन्दोलन पहाडमा बस्ने कुनै समुदायसँग लक्षित
पनि होइन । कुनै बेला पहाडमा अधिकारका लागि आन्दोलन होला, त्यो मधेसी
समुदायबिरुद्ध हुन सक्दैन । मधेसमा बस्ने जति सबै मधेसी । त्यहाँ मधेसीसहित
पहाडी भनिने समुदाय मिलेर बसेका छन् । पहाडमा पनि मधेसी समुदायको बसोबास
भएकै छ । त्यस्तै सबै क्षेत्रमा बिभिन्न समुदायका ब्यक्तिहरु मिलेर बसेका
छन् । आपसमा दुश्मनी कसैसँग छैन भने बिभेदको बिउँ रोप्ने प्रयासभित्र कुनै
भयंकर षड्यन्त्र लुकेको हुन्छ ।
पहाडमा टोपी चल्छ, मधेसमा धोती । हिमाल र पहाडका अन्य क्षेत्रमा आआफ्नो
परम्परा अनुसारको पहिरन चल्छ । पहिरन फरक भएर के भो ? देश त एउटै हो नि ।
स्वाभिमान एउटै हो । बिगतमा एउटाले अर्कोलाई होच्याउने काम भयो होला । कोही
राजा र कोही रैति भएकै हो । अहिले त जनताको छोराछोरी राष्ट्रपति हुने
व्यबस्था छ । संविधानले कुनै पनि समुदायलाई राष्ट्रप्रमुख हुन छेकेको छैन् ।
बाटो सबैका लागि खुला छ । यसअघि मधेसी राष्ट्रपति थिए, अहिले महिला ।
उपराष्ट्रपति पहिले मधेसी थिए, अहिले मगर छन् । यो बदिलिदो व्यवस्थाले
ल्याएका अवसर हुन् ।
स्वभाविकै रुपमा हाम्रो भाषा, संस्कृति फरक होला । हाम्रो चालाचालन फरक
होला । तर, भावना फरक नभए पुग्यो । सबैको अन्तरभावना नेपाली भए पुग्यो ।
मधेसमा अधिकारका लागि हुने आन्दोलनमा गैरमधेसी समुदायले समर्थन गरे, कतिपय
क्षेत्रमा जुलुसमै सहभागी भए । उनीहरु बाध्यताले सहभागी भएका होइनन्,
‘हिमाल, पहाड, तराइ, कोही छैन पराई’ भन्ने भावनाले काम गरेको छ । पहाड र
हिमाली क्षेत्रमा हुने अधिकारका लागि हुने आन्दोलनमा मधेसी समुदायको समर्थन
रहन्छ ।
पहिचानका लागि पहिरनको ठूलो महत्व छ । त्यसैले त पहिरनलाई हामीले महत्व
दिन्छौ । बिभिन्न जातजातिको फूलाबारी त्यसै भनिएको होइन । यो इतिहासको डोरी
चुडाउने प्रयास निरन्तर हुन्छ तर अहिलेसम्म अटुट छ, रहने छ । एउटा
समुदायले अधिकार माग्नु भनेको अर्को समुदायको अधिकार खोस्नु होइन ।
सकरात्मक पक्ष मान्नुपर्छ, गैर मधेसी समुदाय पनि कुर्ता, धोती र गम्छा
लगाउन थालेका छन् । मधेसी समुदाय टोपी, दौरासुरुवाल लगाउन सुरु गरेका छन् ।
यो हेर्दा सामान्य लागे पनि यसभित्र एकआपसमा भावनात्मक सम्बन्ध गाँसिएको छ
। मधेसी र गैरमधेसी समुदायबीच औपचारिक रुपमा बिहाबारी चल्न थालेको छ ।
त्यस्तै अन्य समुदायबीच पनि । यसले सम्बन्धको गाँठो अझ कसिलो बनाएको छ ।
गैरमधेसी कुर्ता, धोती र गम्छाप्रति आकर्षित हुनु र मधेसीले टोपीलाई सम्मान
गर्नु एकअर्काको अधिकार, संस्कृतिलाई सम्मान गर्नु हो ।
एकले अर्कालाई सम्मान नगर्ने संस्कृतिको विकास गर्न नखोजिएका होइन । एउटाको
अधिकार खोसेर अर्कोले लिने नारा पनि नआएको होइन । बिगत पंचायतकालमा थोरै
वर्गले अधिकार कब्जामा राखेका थिए । समय परिवर्तनशील छ, धेरै परिवर्तन
भइसकेका छ । बिभिन्न समयमा भएका संघर्षले बिगतको बिरासतलाई तोडिदिएको छ ।
बिभिन्न समुदायबीच स्वस्थ्य प्रतिस्पर्धा हुनु स्वभाविक छ । बिगत १० वर्षे
युद्धजस्तो दुश्मनीले एकअर्काको अस्तित्व अस्वीकार गर्छ । जतिसुकै युद्ध भए
पनि अन्तत: सम्झौता र सहमतिमा धेरै कुराको समाधान हँुदै आएको छ । अहिले
हेरौ, कांग्रेस, एमाले, एमाओवादी प्रतिस्पर्धाबीच सहकार्यमा अघि बढेका छन् ।
उनीहरुले संविधान जारी गरेका छन्, संविधानप्रति असन्तुष्टि जनाए पनि मधेसी
दलको माग सम्बोधन हुने क्रममा छ ।
अब यस्तो दिन पनि आउने छ, गैरमधेसी समुदायलाई टोपी उपहार दिनेछन्, मधेसी
समुदायले गैरमधेसी समुदायलाई धोती उपहार दिनेछन् । अरु समुदायले आफ्नो
बिशेषता अनुसार उपहार दिनेछन् । यो त्यस्तो सुखद क्षण हुनेछ, त्यसबेला
हामीलाई कसैले जित्न सक्ने छैन । हामी भिड्दा हारेको र मिल्दा जितेको
इतिहास हाम्रो सामु छ । १० वर्षे युद्धमा न माओवादीले जित्यो, न राज्यले ।
अन्तत: सहकार्यमा आएपछि दुबैले जिते, मुलुकमा गणतन्त्र आयो । त्यही जितको
सिंढी चढेर हामी अघि बढिरहेका छौ । मिल्न सक्नुनै जितको धरातल बनाउनु हो
भन्ने इतिहास सिद्ध गरिसकेको छ ।
हामीबीच बेलाबेलामा मनमुटाव नभएको होइन, सँगै बस्दा घोचपेच हुनु स्वभाविक
हो । एउटै घरमा बस्दा झगडा पनि हुन्छ, मेलमिलाप पनि हुन्छ । झगडा भयो
भन्दैमा घरमा आगो लगाउने भने खरानी हेरेर पछुताउनु बाहेक अरु हँुदैन । रिस
नउठ्ने मानवप्राणाी को होला र ? हामी रिसाउन पनि जानेका छौ, मिल्न ।
अहिलेको अवस्थामा मधेसी समुदाय बढी रिसाएका होलान्, वार्ता जारी छ । एक दिन
मिल्ने अवस्था आउने छ, एकले अर्कालाई सम्मान गर्ने संस्कृति पुरानै हो ।
त्यसमै हाम्रो हित छ । हैन भने हामी लडिरह्यौ भने एक दिन हामी धोती न टोपी
हुने अवस्था आउन सक्छ ।
Sunday, January 17, 2016
सहिदकी छोरी
यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि
चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा
लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु ।
बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय यही हो । बिहानी आफैंमा
क्रान्तिकारी नाम लाग्न सक्छ । यसमा केही सत्यता नभएको पनि होइन । तर,
त्योभन्दा सत्य उनको छोटो जीवनमा आएको उतारचढावको कथामा छ । दिनको बिहानीमा
जसरी पूर्व क्षितिजमा लाली छाउँछ, बिहानी बुढाथोकीको जीवनमा भने त्यो
कहिल्यै आएन ।
करिब नौ वर्षअघिको कुरा– उनी सात वर्ष जतिकी थिइन् । नौलो मान्छेसँग बोल्न
डराउँथिन् । नौलो मान्छे देख्यो कि घरभित्र वा छाडीतिर लुक्थिन् । उनलाई डर
लाग्थ्यो । उनी सानो छँदा साँच्चिकै डरलाग्दो अवस्था थियो । मुलुकमा ‘दुई
सरकार’ थिए, श्री ५ को सरकार र ‘माओवादी सरकार’ । दुवैको टकरावबाट डरैडर
उत्पन्न भएको थियो । त्यही डरको भुमरीमा परेकी थिइन्, बिहानी ।
मैले त्यस बेला उनलाई देख्दा आमासँग रोइरहेकी थिइन् । उनकी आमा भन्दै
थिइन्, कापी किन्ने पैसा नभएर रोइरहेकी छ । कापी किन्ने पैसा पाएपछि उनको
अनुहारमा चम्किएको थियो, चन्द्रमाको जूनजस्तै, बिहानीको लालीजस्तै सुन्दर ।
------
बिहानीका लागि धेरै वर्ष एउटा प्रश्न अनुत्तरित रह्यो । उनी शब्द, अनि
वाक्य बोल्न सिकेदेखि त्यो प्रश्न गरिरहिन्, बाबा खै ? कलिलो मस्तिष्कमा
नकारात्मक प्रभाव नपरोस् भनेर उनकी आमा भन्थिन्, ‘बाबा कालापहाड (भारत)
जानुभएको छ । फर्केर आउँदा मिठाई लिएर आउनुहुन्छ ।’ बिहानीले त्यो कुरा
पत्याइन् । मानिसहरु कालापहाड गइरहन्थे । बाबा आउलान् र मिठाई खाने भन्ने
आसमा उनी दिनरात, महिना वर्ष दिन पर्खिरहिन र आमालाई निरन्तर प्रश्न
गरिरहिन् । तर, बाबा आएनन् । अलि बुझ्ने भएपछि भने बिहानीलाई बाबा कति
निर्दयी रहेछन् भन्ने लाग्यो । वर्षौं भइसक्यो, बाबा घर आएनन् ! सबै साथी
भाइका बाबा छन्, तर उनका छैनन् । उनलाई निरन्तर लागिरहन्थ्यो, बाबा किन
आएनन् ? उनकी आमाले पनि निरन्तर ढाँटिरहिन्– बाबा आउँछन् र मिठाई ल्याउँछन्
।
एक दिन बिहानीकी मिल्ने साथीले उनका बाबाबारे रहस्य खोलिदिइन् । तिम्रा
बाबा कालापहाड गएका छैनन् । सहिद भएका हुन् रे ! अब कहिल्यै घर आउँदैनन् रे
! ती साथीले सुनाइन्, ‘युद्धमा मारिएकालाई सहिद भन्छन् रे । हो, त्यही
भएको हो ।’ मेरा बाबा छैनन्, अब हामीले कसलाई बा भन्ने ? उनलाई बाबा भन्ने
शब्दले सताइरह्यो । उनलाई आमासंँग रिस उठ्यो । उनले आमासँग झगडा गरिन्,
‘आमा तिमीले किन ढाँट्यौ ।’ त्यसबेला उनकी आमाले जवाफ दिन सकिनन्, बरु उनका
आँखाबाट आँसु झर्न थाले । आमा छोरी डाँकै छोडेर रोए । त्यसपछि उनले बा
युद्धमा मारिएको सुनिन् । तर, उनलाई आमाले लिएको आसले पिरोल्न भने छोडेन ।
कतै बाबा कालापहाडबाट आइहाल्छन् कि ?
------
बिहानीका बाबा सानैदेखि लडाकू स्वभावका थिए । माओवादी युद्ध उत्कर्षमा
पुगेका बेला लक्का जवान भइसकेका थिए । माओवादी युद्धले उनलाई तान्यो र उनी
लडाकू बने । दर्जनौं मोर्चामा सहभागी भएका उनी खाराको दोस्रो आक्रमणमा
मारिए । माओवादी तत्कालीन शाही नेपाली सेनाबाट पराजित भएपछि आफ्नो बाटो
लाग्ने क्रममा थिए । त्यसबेला खाराभन्दा केही टाढा सेना र माओवादी लडाकूबीच
भिडन्त भयो, सेनाले राइफल छोडेर पछि हटे । त्यही क्रममा राइफल लिन जाँदा
उनी मारिएका थिए । उक्त खबर धेरै दिनपछि मात्र बिहानीकी आमालाई सुनाइएको
थियो ।
------
चार वर्षअघि रुकुम पुग्दा बिहानीसँग फेरि भेट भयो, घाँसको भारी लिएर
फर्कंदै थिइन् उनी । सात कक्षामा पढ्थिन् त्यसबेला । मैले सोधें, ‘पढाइ
कस्तो छ बिहानी ?’
‘के पढाइ हुनु र बाजे ? पढ्ने समय नै हुँदैन (उनले मलाई बाजे भन्नुपर्छ) ।
आमालाई सहयोग गर्नुपर्छ । काम नगरे खान पाइँदैन ।’ कलिली बिहानीको मुख्य
काम घरको कामकाज र सहायक काम पढाइ थियो । पहाडमा सबैजना मिलेर काम नगरे
बारी, खेतमा अनाज फल्दैन । गाईवस्तु नपाले गोबर हुँदैन, गोबर नभए बारीमा
हाल्ने मल हुँदैन । बिहानी दिनरात त्यही काममा लाग्थिन्, बचेको समयमा
पढ्थिन् । उनकी आमा आफू काममा जोतिएर भए पनि छोरा र छोरीलाई पढाउनुपर्छ
भन्थिन् । काम गर्ने मान्छे नपाउँदा बिहानीकी आमाले आफैं हलो जोत्थिन् ।
‘मैले जति काम गरेकी छु, यिनै बच्चाका लागि हो, यिनकै लागि बाँचेको जस्तो
भएको छ,’ उनी भन्थिन् ।
आमाले हलो जोतेको देख्दा बिहानीलाई अनौठो लाग्थ्यो । अरू घरमा पुरुषले हलो
जोत्छन्, हाम्रोचाहिँ आमाले ? कहिलकाहीं बिहानी आफैंले सकिनसकी हलो जोतिन्,
आमालाई अलिकति सहयोग होस् भनेर ।
आफ्नी आमाको साहस देखेर बिहानी छक्क पर्थिन्, कलिलो उमेरमा बिधवा भएर आमाले
कति काम गर्न सकेकी ? बिहानीका आमा प्रौढ कक्षा पढेर अक्षर पढ्ने भएकी
हुन् । त्यसकारण जस्तो दु:ख गरेर भए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने
उनलाई लागेको हो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि बिहानीकी आमाले सरकारबाट एक लाख रुपैयाँ
सहयोग पाइन्, त्यही रकम नै छोराछोरी पढाउने साहस बन्यो । एक लाख बुझेको दिन
बिहानीकी आमाको आत्मबल हु्वात्तै बढ्यो । युद्धमा कसले जित्यो, हार्यो
उनलाई खासै वास्ता छैन । द्वन्द्वपीडितका नाममा रकमले उनको मनोबल बढाइदियो ।
त्यो रकम छोरोछोरी पढाउने ठूलो आधार बन्यो ।
------
बिहानीलाई बाबाको अनुहार याद छैन । ठूला बाबाको अनुहार हेरेर यस्तै थिए,
होलान् भन्ने लख काट्छिन् । पेटारोमा राखेका बाबाका कम्ब्याटसहितको फोटो
हेरेर चित्त बुझाउँछिन् । कहिलेकाहीं एक्लै बाबाको फोटो हेरेर आँसु
झार्छिन् । उनका बाबा सहिद नभएको भए सायद यतिबेला नेपाली सेनामा समायोजन
हुने थिए वा पाँच, सात लाख रुपैयाँ लिएर अवकाश लिन्थे ।
अब भने बिहानीलाई लाग्न थालेको छ, बाबा नभए पनि आमाले सबै काम गरेकी छन् ।
बाबा र आमाको माया आमाले दिएकी छन् । कुखुराले बच्चा हुर्काएझैं तीन सन्तान
हुर्काएकी छन् । सकेसम्म पढाएकी छन् । यो नै बिहानीकी आमाको युद्ध हो, जति
छोराछोरी पढ्दै जान्छिन्, उनले युद्ध जित्दै जान्छिन् ।
------
यो तिहारमा रुकुम जाँदा बिहानीको मुहार उज्यालो थियो । हलक्क बढिसकेकी
रहिछन् । एक क्षण चिन्नै गाह्रो भो । ‘बिहानी खै त ?’ मैले सोधें । ‘म हुँ
बाजे,’ उनले आफूलाई चिनाइन् । १० कक्षा पढ्छ्यौ ? ‘होइन, एसएलसी पास
गरिसकें, अनमी पढ्छु बाजे,’ उनले थपिन् । उनले त्यसो भनिरहँदा अनुहार
चम्किरहेको थियो । तिहारको बेला अँगेनोमा रोटी पकाइरहकी उनमा आत्मबल थियो ।
अगेनोमा दाउरा राम्ररी बलिरहेको थिएन, त्यसबाट निस्केको धूवाँले बिहानीको
अनुहार छोप्न खोज्थ्यो, उनी आगो फुकेर बाल्थिन् । धूवाँ धपाउँथिन् ।
कुनै बेला कापी किन्ने पैसा नपाएर रुने बिहानी र अहिलेको बिहानीमा धेरै फरक
आइसकेको थियो । अहिले उनी केही बुझ्ने भएकी छन् । आफ्नी आमा, भाइ, बहिनी र
भविष्यप्रति चिन्ता छ । रुकुमको दुर्गम गाउँबाट बाहिर निस्केकी छन् ।
दुनियाँ बुझ्दै छिन् ।
अहिले कपी किन्ने पैसा छ, कि छैन ? मैले ८ वर्षअघिको कुरा सम्झाएँ । ‘छ
बाजे,’ उनले मुस्काउँदै भनिन् । बिहानीलाई आमाले घरको खसीबोका, कुखुरा,
अन्नपात, दाउरा बेचेर मासिक पाँच हजार तिरेर पढ्ने पैसा जुटाइदिएकी छन् ।
उनलाई तिहारपछि पाल्पा हिँड्न हतार थियो, सल्यान, दाङ, बुटवल हुँदै पाल्पा
यात्रा तय भइसकेको थियो । तर, घर छाड्न अप्ठ्यारो लागिरहेको थियो ।
आमाको दु:खमा साथ दिने उनको चाहना थियो, तर उनकी आमाकै चाहनाअनुसार घर
छाडेर पढ्न गएकी छन् । घर नजिकै उच्च शिक्षा पढ्ने कलेज नभएका होइनन्,
प्राविधिक शिक्षा पढेपछि जागिर पाइन्छ कि भन्ने झिनो आसले बिहानीलाई पाल्पा
पुर्याएको हो ।
------
बाबुको युद्धमा मृत्यु भए पनि बिहानीको माओवादीका केन्द्रीय नेतासंँग पहुच
छैन । यतिबेला ओझेलमा परेका सहिदलाई सम्झने माओवादीलाई फुर्सद भए पो ।
सहिदको नाममा धेरै माओवादी, गैरमाओवादीका छोराछोरीले सुविधा लिइसके ।
राम्रो ठाउँमा उच्च शिक्षा लिइरहेकी छन् । उनी भने आमाले हाड घोटेर कमाएको
रकमले बल्ल अनमी पढ्ने भएकी छन् । उनका सहिद बाबाको सपना राज्य सत्ता कब्जा
गर्ने थियो । माओवादी चार, पाँचपटक सत्तामा पुगिसकेको छ । दुईपटक सरकारको
नेतृत्व पनि गरिसकेको छ । तर, बिहानीको बिहान अझै आएको छैन ।
बिहानीसंँग त्यस्तो ठूलो सपना केही छैन । दुई हात जोड्न पुग्ने सामान्य
जागिरको भोकले उनी रुकुमबाट पाल्पा पुगेकी छन् । कतै उनको यो सपनामा
तुषारापात हुने हो कि भन्ने चिन्ता ३० वर्ष मात्र पुगेकी उनकी विधवा आमालाई
छ ।
प्रकाशित: माघ २, २०७२
http://kantipur.ekantipur.com/printedition/news/2016-01-16/20160116093416.html
http://kantipur.ekantipur.com/printedition/news/2016-01-16/20160116093416.html
Subscribe to:
Posts (Atom)