Sunday, January 15, 2017

बहुचर्चित चुनवाङमा सेल्फीको वर्षा

१२ वर्षपछि प्रचण्ड चुनवाङ फर्कंदा...

-

माघ , २०७३- चुनबाङ जाने रहर धेरै पहिलेदेखि नै हो मौका मिलेको थिएन चार साताअघि जाने मौका मिल्यो आफैमा चुनबाङ केही थिएन, त्यो रुकुमको एउटा दूर्गम गाउँ बाहेक केही होइन कुनै ठाउँ एकाएक चर्चामा आउछन् पछि पछिसम्म पनि सम्झनामा आइरहन्छन् चुनबाङ पनि त्यस्तै एउटा गाउँ हो, जसलाई माओवादीले एकाएक चर्चामा ल्याइदियो यति मात्र होइन, माओवादीले चुनवाङमा बैठक गर्नु संयोग थियो त्यो संयोगले माओवादीको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा डोर्यायो नेपालीका लागि त्यो सुखद संयोग हुन गयो युद्धको सुरक्षित अवतरण नभएको भए हालसम्म लाख मान्छे मारिसक्थे सायद त्यसैले मान्छेले चुनवाङलाई सम्झन्छन् जहा युद्ध समाप्त गर्ने रेखा कोरिएको थियो
कुनैबेला चुनवाङ चर्चित भए पनि विस्तारै ओझेल पर्दै गएको थियो किनकी माओवादी ऐतिहासक केन्द्रीय समिति बैठक भए पनि यो स्थानलाई खासै वास्ता गरिएन भन्ने गुनासो थियो युद्धको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि चुनवाङ सुरक्षित स्थान थियो त्यसकारण पनि भूमिगत कालमा प्रचण्ड लुकिछिपी एक साता हिडेर त्यहा पुगेकमा थिए प्रचण्डलाई माया लागेको होला बिगतमा सुरक्षित रुपमा बसेको स्थानको शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डलाई सायद भूमिगतकालमा बसेकमा सबै स्थान सम्झने फुर्सद छैन मनमा भए पनि जान सक्ने समय अवस्था कमै हुन्छ १२ बर्षपछि बगेको खोला फर्कन्छ भन्ने पुरानो भनाइ समय कालले मान्छे बाँचिरहे भने नफर्कने कुरै हुँदैन त्यस्तै भयो प्रचण्डका लागि पनि चुनवाङ प्रचण्ड राजधानी पसेपछि चुनावाङ पुग्न १२ बर्ष कुर्नु पर्यो तल चुनवाङ खोला उस्तै गरी निरन्तर बगिरहेको यो रोकिने छैन उसले कसैलाई पर्खदैन
त्यस दिन माहौल तातेको थियो चुनवाङको भेडीगोठ सानो गाउ झिलिमिली सिंगारिएको थियो वरिपरिका गाउबाछ मान्छे ओइरिएका थिए पानी नपरेकाले बारीमा गहुँ राम्ररी हुर्कन पाएको थिएन चिसो मौसमले चुनवाङ डाँडालाई चिस्याएको थियो माथिको वन झोक्रिएको देखिन्थ्यो रुखका पात झर्न सुरु भइसकेका थिए आकाश भने अचाक्ली खुलेको, सुन्दर युवतीको मुहारजस्तो सूर्यले चुनवाङलाई छरेको उज्यालो रहर लाग्दो त्यसदिन चुनवाङ भेडीगोठले काँचुली फेरेको थियो ध्वजापताका, सरसफाइ छदै थियो, त्यहा आएका युवायुवती अरुको जिउमा पनि पनि सुकिला लुगा थिए किनकी त्यसदिन मुलुकको कार्यकारी अर्थात् प्रधानमन्त्री प्रचण्ड ओर्लनेवाला थिए सबैको आँखा आकाशतिरै थिए रुकुमे भाषामा भटभटे अर्थात् हेलिकप्टर आउनेवाला थियो कहिलै हेलिकप्टर नजिकबाट नदेखेकाहरुका लागि त्यो गजबको मौका पनि थियो हेलिकप्टर हेर्ने
काठमाडौं सेनाको हवाइ अड्डाबाट एमआइ १७ हेलिकप्टर उडेपछि माओवादी नेताले स्मार्ट फोनबाट निरन्तर तस्विर लिइरहेका थिए माओवादी वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु बर्षमान पुन, गणेशमान पुनले रमाइलो दृश्य देखिनेबित्तिकै हेलिकप्टरको झ्यालबाट तस्बीर लिन व्यस्त देखिन्थे माओवादी नेता पूर्ण घर्तीको हातमा ठूलो क्यामेरा थियो तस्बीर लिन सबभन्दा व्यस्त पनि उनीनै देखिन्थे उनी माओवादी आन्दोलनमा संगीतका साधनसंग रमाएका एक शौखिन नेता पनि हुन् उनी खासमा चुनवाङका बासिन्दा पनि हुन् उनी त्यसदिन बढी उत्साही पनि देखिन्थे प्रचण्ड पुत्र प्रकाश प्रविधिमा सिपालु छन् उनी गुगुलम्यापबाट हेलिकप्टर कुन ठाउको आकाशमा भनेर देखाउदै थिए बेलाबेला बुवा प्रचण्डलाई ठाउको ब्याख्या गर्थे थवाङको आकाशमाथि हेलिकप्टर पुगेपछि भने प्रधानमन्त्री प्रचण्डलगायत सबै नेता हेलिकप्टरको दाया झ्यालतिर झुम्मिए तस्बीर लिने प्रतिस्पर्धा जस्तै चल्यो केहीबेर
मधुरो हेलिकप्टरको आवाज सुनियो आकाशमा सबैका कान ठाडा भए अब पक्का भो, प्रचण्ड आउने पंचायतकालदेखिनै चर्चामा रहेको रोल्पाको थवाङको आकाश चुमेर हेलिकप्टर रुकुमको महत हुदै चुनवाङतिर लाग्यो आकाशबाट देखियो माओवादी शान्ति प्रक्रियामा जाने निर्णय भएको चुनवाङको भेडीगोठ भन्ने स्थान रंगीबिरंगी फूलफुलेजस्तो मान्छे बिभिन्न पहिरनमा झुमि्मएका थिए हेलिकप्टरले चुनवाङको आकाशमा एक फन्को लगाएर बारीको पाटामा बस्दाको माहौल रमाइलो थियो त्यहा भेला भएका अधिकांश युवायुवतीको हातमा स्मार्ट फोन थिए उनीहरुले स्मार्ट फोनले स्मार्ट ढंगले भिडियो तस्बीर लिइरहको दृश्य गजब थियो नेपालको भौतिक पूर्वाधारको विकास धिमा गतिले चलिरहे पनि प्रविधिमा भने छलाङ मारेको दृश्य चुनवाङमा पनि देखियो मुलुकको कुनै पनि कुनामा जसको हातमा पनि यतिबेला स्मार्ट फोन त्यसले विविध काम गरिरहेको
 
......
प्रचण्ड चुनवाङमा ओर्लिएपछि सबभन्दा बढी युवायुवतीहरु जोशिएका थिए आफू फुच्चे हुदा सुनेका प्रचण्डलाई देख्ने गजबको मौका त्यही थियो हेलिकप्टर ओर्लिएको बारीको पाटाबाट कार्यक्रम स्थलसम्म आउने दुई मिनेटको बाटोमा ती युवायुवतीले मोबाइलबाट प्रशस्त तस्बीर लिइसकेका थिए धेरैले सेल्फी लिइसकेका थिए केहीको हातमा सेल्फी स्टिक थियो अरु दिनमा हातमा हँसिया, डोको नाम्लो लिने युवायुवतीहरु त्यसदिन भने सेल्फी स्टीक लिएका थिए तस्बीर धमाधम सेल्फी, वफी लिइरहेको दृश्य साच्चिकै रोचक थियो माओवादीको राजनीतिक क्रान्तिभन्दा प्रविधिको क्रान्तिले धेरै छलाङ मारिसकेको कुनै बेला माओवादी नेता तथा कार्यकर्ताको हातमा भरुवा बन्दुकदेखि एके ४७ सम्मका अत्याधुनिक हतियार थिए ती हतियार थन्किसकेका छन् हाल माओवादी युवायुवतीको हातमा प्रविधिका हतियार छन्, मोबाइल, क्यामेर आदि आदि
युवाको भिडमा मिसिएर गफ गर्ने मनसायले त्यता लागे फरासिला युवायुवती खुलेका थिए उनीहरुले अरु जेजस्तो भए पनि विकास गाउ पुग्नु पर्ने चाह पोखे अरु राजनीतिबारे खासै मतलब थिएन विकास, शिक्षा, रोजगार बढी चासो त्यही थियो युवाको समूह त्यसदिन प्रधानमन्त्री प्रचण्डलगायत नेताहरुलाई स्थानीय सांस्कृतिक झाँकी देखाउन आएको थियो भाषणको कार्यक्रम चल्दै थियो युवायुवती भाषणमा त्यति रमेका थिएनन् छोटो गफ सकिएपछि उनीहरुले भने, दाइ एउटा सेल्फी लिऔ उनीहरु मेरो मोबाइल अगाडि भुम्मिए दुई तीन सेल्फी चल्यो ती युवायुवती लालीगुरासजस्ता भरिला थिए चुनवाङमा माघ फागुनमा जसरी फुल्छ लालीगुरास, त्यसरीनै उनीहरु झुम्मिएका थिए अब उनीहरुका हातमा स्मार्ट फोन छुट्ने छैन किनकी उनीहरुले जीवनका धेरै तस्बीर कैद गर्नुछ फेसबुकमा जीवनका तस्बीर अपलोड गर्नुछ जीवनलाई एउटा बिशाल दुनियामा प्रवेश गराउन चुनवाङी युवायुवतीले सिकिसकेका छन् पछाडि फर्कने फुर्सद उनीहरुलाई छैन गीतको लयमा भन्दै थिए, .... चुनवाङको मायाले ल्यायो डोऱ्याउदै नेताहरुलाई पनि १२ बर्षपछि चुनवाङको मायाले डोर्याएर त्यहा पुर्याएको थियो  
.............
माओवादी युद्धमा सहभागी नभएका नेता नारायणकाजी श्रेष्ठ पहिलोपटक चुनवाङ ओर्लिएका थिए माओवादी शान्ति प्रक्रियामा आउन सहजकता बनेका उनी हाल माओवादी केन्द्रका वरिष्ठ नेता हुन् केही दर्जन तस्बीर उनले पनि लिए सायदउनलाई पनि रमाइलै लाग्यो उनलाई माओवादीका प्रभावशाली नेता वर्षमान पुन चुनवाङ बैठक भएको गोठमा जुन स्थानमा बसेका थिए, त्यही थचक्क बसेर केही बेर के के सोचे अरुलाई भनेनन् १२ बर्ष अघि उनी ३५ वर्षका थिए, लडाकू कमान्ड केही बेर नेताहरुले सामूहिक तस्बीर लिए वाचा गरे, फेरि फर्के आउनेछौ
 
..........
नेपाली सेनाको हेलिकप्टरले चुनवाङको जमिन छोड्दा प्रधानमन्त्री प्रचण्ड भावुक देखिन्थे त्यसको केहीबेर अघि भाषण गर्ने क्रममा उनको बोली अवरुद्ध भएको थियो साथ दिंदै स्थानीय पनि सुक्कसुक्क गरेको देखिन्थ्यो मान्छे किन रुन्छ ? हृदयमा कुनै तरंग आएपछि सायद प्रचण्डलाई चुनवाङको मायाले त्यसदिन तरंग पैदा गरेको थियो त्यसदिन प्रचण्ड पत्नी सीता दाहाललाई पनि चुनवाङको मायाले त्यहा पुर्याएको थियो कस्तो लाग्यो १२ बर्षपछि चुनवाङ आउदा ? प्रचण्डले प्याट्टै भने, भावुक बनायो राजनीतिलाई नयाँ दिशा दिने केही विचार आयो ? उनले थपे, केही केही उर्जा अवश्य पैदा भएको जुन जगले प्रचण्डलाई शक्ति सत्तामा पुर्यायो, त्यही जग भुल्न गाह्रो पनि हुन्छ चुनवाङ एउटा त्यस्तै जग हो   हेलिकप्टरले चुनवाङका आकाश छोड्दासम्म प्रचण्डले स्थानीयलाई हात हल्लाएर अभिवादन गरिरहे उनको बडिल्याङ्गेजले भन्दै  थियो, चुनवाङको मायाले ल्यायो डोर्याउदै

प्रकाशित: माघ , २०७३

No comments: